Category: औपचारिक

  • मन्त्रीमण्डल गठन- सधैंको सकस

    मन्त्रीमण्डल गठन- सधैंको सकस

    वर्तमान देउवा सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्रीको सपथ लिएको भोलिपल्टै एक कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले टिप्पणी गर्दै भनेका थिए, ‘म कति पटक मन्त्री भएँ, मै आफैँलाई थाहा छैन । मन्त्री भन्ने चिज मलाई त केहीजस्तो लाग्दैन ।’ गच्छदारको टिप्प्णीसँगै उनको भावले नेपालको मन्त्रीजस्तो गरिमामय पदलाई गिज्याइरहेको भान थियो । तर, उनी मक्ख पर्दै थारू अगुवाहरूलाई भन्दै थिए, ‘अब त उपप्रधानमन्त्री भएको पनि केही खास लाग्दैन ।

    म प्रधानमन्त्री भएपछि मात्रै शुभकामना दिनोस् है ।’ गच्छदारलाई त्यस्तो लाग्नुलाई अस्वाभाविक ठान्दैनन्, जानकारहरू । किनकि, उनी विगत २६ वर्षको अवधिमा वर्तमान सरकारमा १३ औँ पटक मन्त्री पदको जिम्मेवारी सम्हालेका हुन् । ०४६ सातको प्रजातान्त्रिक आन्दोलन सफल भएपछि बनेको पहिलो निर्वाचित सरकारदेखि संविधानसभासम्मको यात्रामा गच्छदार लगातार कुनै न कुनै मन्त्री भएकै छन् । संविधान जारी भएसँगै मधेशरथरूहट आन्दोलन चर्के पनि उनी मन्त्री भइराखे ।

    त्यसैले होला, मन्त्री भन्ने बित्तिकै ‘गच्छदार प्रवृति’ एउटा थेगो नै बनिसकेको छ । राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘सत्ताका लागि हुने अस्वथ्य प्रतिस्पर्धाको प्रतिफल हो यो ।’ उनका अनुसार सत्ताका लागि जस्तोसुकै चलन बसाउने प्रवृत्ति हामीमा हाबी भयो, यसले दिन÷प्रतिदिन प्रधानमन्त्रीदेखि मन्त्री पदको गरिमा क्षयीकरण हुँदै गएको छ । त्यसो त पछिल्ला कैंयौ वर्षदेखि हरेक सरकार गठनको बेला मन्त्रिपरिषद् विस्तारमा विभिन्न परिदृश्य देखिन आउँछ । मन्त्रालय फुटाउनेदेखि एक मात्रै सासंद भएको पार्टीको मन्त्री मोहदेखि मन्त्रीहरूको वरीयता विवादसम्मको घटनाहरू सार्वजनिक रूपमै छताछुल्ल हुने गर्छ । निवर्तमान प्रचण्ड नेतृत्वको सरकार घोषित रूपमै विघटन हुने मिति तय भइसक्दा पनि मन्त्री थप्ने सम्मको घटनाहरू दृश्यमा आए । शेरबहादुर देउवा सरकार गठनको महिना दिन बितिसकेको छ ।

    तर, मन्त्रिपरिषद् विस्तार हुन नसक्दा ‘कुन पार्टीबाट को–को बन्दैछन्’ मन्त्री भन्ने शीर्षकको समाचार दिनहुँजसो छापा, अनलाइनमा पढ्न पाइन्छ । वर्तमान प्रधानमन्त्री देउवा गत २४ जेठमा सपथ लिने क्रममा कांग्रेसकै अर्का नेता रामचन्द्र पौडेलको ‘सपथ बहिष्कार’ भन्ने समाचार आयो । मन्त्री छनोटको क्रममा पार्टी सभापति देउवाले आफ्नो समूहलाई उचित स्थान नदिएको भन्दै पौडेल रुष्ट थिए । पछि देउवासँगको फोन संवादपश्चात् पौडेल कार्यक्रममा गए पनि आफ्नो समूहबाट मन्त्रीहरूको नामावली दिएनन् । कांग्र्रेस गुटभित्रको यो तातो विवाद अझै पनि सेलाएको छैन । यसले स्थानीय चुनावलगत्तै वर्तमान मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि हुन सकेको छैन ।

    २७ असारमा सरकारले विभिन्न दलसँग गरेको संवादपश्चात् पुनः केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने कुरा सल्बलाएको छ । शुरुमा संविधान संशोधन गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएको सरकारी पक्ष अब मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक गृहकार्यमा जुटेको छ । स्रोतका अनुसार सत्तारूढ घटक कांग्रेस र माओवादीले एउटा अनौपचारिक तहको कार्यदल नै बनाएर मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेका छन्, जसमा नेताहरू विमलेन्द्र निधि, कृष्णबहादुर महरा र वर्षमान पुन छन् । यद्यपि, कांग्रेस नेता अर्जुननरसिंह केसी भन्छन्, ‘मन्त्रिपरिषद् विस्तारको कुरा सञ्चारमाध्यममा सुनिए पनि पार्टीभित्र त्यसबारे कुनै औपचारिक छलफल नै भएको छैन ।’ केसीका अनुसार पार्टीबाट मन्त्री बन्नेहरूको मापदण्डबारे पार्टी विधानमा उल्लेख भए पनि त्यो कार्यान्वयन नहँुदा यस्तो अन्योल प्रत्येकपटकको गठनमा देखिन्छ । प्रायः हरेक प्रमुख पार्टीहरूले यसरी नै समूहगत सिफारिसको आधारमा मन्त्री पठाउने चलन व्याप्त देखिन्छ ।

    पद्धतिभन्दा पार्टी गुट हाबी

    हरेक सरकार निर्माणको क्रममा देखिएको चलनले मन्त्रिपरिषद् गठनमा कुनै ठोस पद्धतिभन्दा पनि पार्टीगत स्वार्थ बढी हाबी भएको देखिन्छ । प्राध्यापक खनाल भन्छन्, ‘संसदीय व्यवस्थामा प्रधानमन्त्रीप्रति मन्त्रिपरिषद् सदस्य बफादार हुनुपर्ने हो । तर, हामीकहाँ मन्त्रीहरू आ–आफ्ना पार्टी सभापति वा आफ्ना गुटका नेताहरूप्रति बढी बफादार देखिन्छन् । यसले प्रधानमन्त्री असफल हुने खतरा हुन्छ,’ खनालका अनुसार त्यही भएर हाम्रा प्रधानमन्त्रीहरूले घोषणा गरेजस्तो काम गर्न सक्दैनन् । सरकार गठनको क्रममा दलका नेताहरूले विगत अढाइ दशकयता देखाएको प्रवृत्तिले आम नागरिकको तहमा नेताहरूप्रति असन्तुष्टि चुलिँदै गएको देखिन्छ ।

    वर्तमान सरकार गठन भएको महिना दिन बितिसक्दा पनि सत्तारूढ दलहरूले मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुमा शीर्ष नेताहरूको स्वार्थले काम गरेको जानकारहरू बताउँछन् । शुरुमा पार्टीभित्र असन्तुष्टि बढ्ने भएकाले निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका सत्तारूढ घटकका शीर्ष नेताहरूले पछि असन्तुष्ट साना दलहरूसँगको वार्तालाई बढी प्राथमिकतामा राखे । पूर्वमुख्यसचिव विमल कोइराला मन्त्रिपरिषद् विस्तारमा हुने अस्वस्थ राजनीतिले सरकारी संयन्त्रलाई सेवामैत्री बन्न अवरोध खडा गरिरहेको बताउँछन् । ‘आफ्नो सरकारको बढीभन्दा बढी बहुमत देखाउने चलन हाबी हुँदै गएको देखिन्छ,’ कोइराला भन्छन्, ‘यसका लागि मन्त्रालय फुटाउनेदेखि पार्टी फुटाउने नराम्रो चलनसमेत भयो ।’

    विगतमा देउवाले जम्बो मन्त्रिमण्डल बनाएको आरोप खेपेका कारण होला, उनी यसपटक सत्ताको वागडोर सम्हालेपछि उनी अलि बढी नै संयम देखिन्छन् । यता पार्टी स्थापना गर्नु भनेको सरकारमा मन्त्री बन्नु बनाउनु मात्रै हो भन्ने मान्यता स्थापित भएकाले पनि जसरी नि मन्त्री बन्ने ध्याउन्नले विकृति बढ्दै गएको कतिपयले टिप्पणी गरेका । जबकि, सरकार भनेको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीन वटै हो । प्रा। खनाल भन्छन्, ‘तर हाम्रोमा कार्यपालिकालाई मात्रै सर्वेसर्वा हो भन्ने मान्यता कायम गरियो । सरकार भनेकै मन्त्रिपरिषद् हो भन्ने ट्रेन्ड हामीले सेट गर्‍यो ।’ हुन त संसदीय प्रजातान्त्रिक व्यवस्था भएको अन्य देशहरूमा समेत मन्त्रिपरिषद् गठनको कुनै कानुनी परम्परा नभए पनि दलहरूले पार्टीभित्र हेर्ने कामको आधारमा मन्त्री बनाउने चलन छ ।

    दलहरूभित्र हुने विभागीय अभ्यासलाई नै आधार बनाएर अन्य विकसित देशहरूमा मन्त्री बनाउने चलन छ । तर, नेपालमा प्रमुख दलहरूले नै अहिलेसम्म विभागीय अभ्यास ठोस रूपमा गर्न सकेका छैनन् । प्रा। खनाल ०४८ पछि एमालेले त्यसको प्रयास गरे पनि तत्कालीन स्थिर राजनीतिले मूर्त रूप लिन नसकेको बताउँछन् । सशस्त्र युद्धताका माओवादीले नेताहरूलाई विभिन्न ठोस विभाग नै बनाएर जिम्मा दिए पनि संसदीय राजनीतिमा आएपछि उसले त्यसलाई निरन्तरता दिन सकेन । वर्तमान सरकारकै अर्थमन्त्रीको रूपमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्रीको रूपमा कृष्णबहादुर महरालाई कुन आधारमा नियुक्त गरिएको हो भनेर कांग्र्रेस र माओवादीसँग जवाफ नभएको प्रा। खनालको भनाइ छ । उनका अनुसार पद्धतिभन्दा पनि यहाँ पार्टीहरूलाई चाहिएको आफ्नाहरूलाई मात्रै जहाँ पनि पठाउने चलन स्थापित भयो ।

    गच्छदार प्रवृत्ति हाबी

    मन्त्री पदका लागि सदाबहार छाएका गच्छदारलाई एउटा प्रवृत्तिकै रूपमा स्थापित गरेको छ । हुन त गच्छदार आफंैले पनि मन्त्री पदलाई यति सस्तो ठानेका छन् कि उनी स्वयं कति पटक मन्त्री भए भन्ने कुरा उनलाई हेक्का छैन । हाल १३ औं पटक उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हालेपछि २५ जेठमा उनले हाकाहाकी भने, ‘मिडियाले लेखेपछि मात्रै मैलै कति पटक मन्त्री भएको छु भन्ने थाहा पाए ।’ शुरुमा ०४८ सालमा कोइरालाको पालामा सञ्चारमन्त्री भएका गच्छदारलाई कांग्रेस त्यागेर नेपाल लोकतान्त्रिक पार्टी गठन गरेपछि पनि अझै मन्त्री बन्ने चिठ्ठा परिरहेछ । संसद्भित्रको बहुमतको कमान्ड राख्नेदेखि पार्टीभित्रको आन्तरिक गुटगत सन्तुलन कायम राख्ने अभ्यासमा यस्ता पात्रहरू हाबी भएको प्रा।खनालको भनाइ छ । ‘गच्छदार मात्रै होइन यस्ता कैंयौ पात्रको पार्टीभित्र कुनै विभागीय दक्षता नदेखिए पनि लगातार मन्त्री भइरहेका छन्,’ उनी भन्छन् ।

    ०६३ यता सात वटा सरकारमा सहभागी भएको माओवादीले त्यसमध्ये पाँच सरकारमा महरालाई मन्त्री बनाएको देखिन्छ । त्यसैले, पछिल्लो समय महरालाई समेत ‘माओवादीभित्रको गच्छदार’ भनेर सञ्चारमाध्यमहरूले उल्लेख गर्न थालेका छन् । अन्तरिम संविधान जारी भएसँगै सहमतीय सरकारको नाममा सरकारमै गएको माओवादीले पहिलोपल्टै महरालाई सञ्चारमन्त्री बनाएको थियो । त्यसो त लगातार मन्त्री बनिराख्ने नेताहरू यसअघि पनि विभिन्न प्रवृत्तिको रूपमा चित्रित नभएका होइनन् । पञ्चायतका कट्टर हिमायती भनेर चिनिएका राप्रपाका तत्कालीन नेताहरू ०४६ को प्रजातन्त्र पुनःस्थापनापछि पाँच वर्षको अवधिमै मन्त्री बन्न भ्याए । पञ्चायत पतनका बेला मन्त्री बनेर कांगे्रस, एमाले नेताहरूलाई हायल कायल गरेका कमल थापा ०४६ पछि पुनः सत्तामा छाए । गणतन्त्र कालमा घरीघरी मन्त्री बन्ने उनको प्रवृत्तिलाई ‘मुसा प्रवृत्ति’ भनेर सञ्चारमाध्यमहरूले व्यापक आलोचना गरे ।

    २०४८ देखिकै रोग

    २०४६ को परिवर्तनपछि गठन हुन थालेका मन्त्रिपरिषद्लाई नियाल्ने हो भन्ने दलका नेताहरूको मनमौजी पारा देखिन्छ । कुनै पद्धति वा ठोस अभ्यासभन्दा पनि अस्वस्थ प्रतिस्पर्धा गर्दै दलहरूमा मन्त्रिपरिषद् गठन गर्न होडवाजी देखिन्छ । कांग्र्रेसका तर्फबाट गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शुरुमा १५ जेठ ०४८ मा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भयो । तर, सात महिना नबित्दै उनले मन्त्रिपरिषद्लाई २४ सदस्यीय बनाए । त्यसपछि ०५१ मंसिरमा एमाले नेता मनमोहन अधिकारीको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भयो, यो नै हालसम्मको सबैभन्दा सानो मन्त्रिमण्डल मानिन्छ । त्यसको नौ महिनापछि कांग्रेस नेता देउवाको नेतृत्वमा सरकार बन्यो, जुन पटक–पटक विस्तार हुँदै ४८ सदस्यीय सम्म पुग्यो । त्यसपछि लोकेन्द्रबहादुर चन्दको मन्त्रिपरिषद् पनि ३४ सदस्यीय बनेको देखिन्छ, पछि सुर्यबहादुर थापाले पनि ४७ सदस्यीय मन्त्रिपरिषद् बनाएको देखिन्छ ।
    त्यसपछि गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, पूर्वराजा ज्ञानेन्द्र शाहको सरकारसम्म पनि जम्बो टिम नै मन्त्रिपरिषद्को रूपमा रह्यो । दोस्रो जनआन्दोलनपश्चात् कोइरालाको सरकार २३ सदस्यीयसम्म पुगेको थियो भने पहिलो संविधानसभापछि पुनः पुष्पकमल दाहालदेखि माधव नेपाल हुँदै बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्रीहरूको संख्या देउवालाई पनि उछिनेर ४९ नाघ्यो । ३ असोज ०७२ मा संविधान जारी भएपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्यो, जसमा ६ जनासम्म उपप्रधानमन्त्री नै रहे । त्यसको चौतर्फी आलोचना भयो । प्रा। खनालका अनुसार ०४८ देखि नै मन्त्रिपरिषद् गठन अस्वाभाविक ढंगले बनेको देखिन्छ । शुरुमा दलहरू जनआन्दोलनबाट आएकाले विधागत पोख्त मान्छे राख्ने अवस्था थिएन तर एक÷दुई वर्षभित्रै दलहरूले त्यसलाई संस्थागत गर्न सक्थे, त्यो भएन । बरु दलहरूबीच आन्तरिक मतभेद चर्किँदै गयो, संसदीय प्रणालीमा बहुमतको सरकार बन्ने भएकाले त्यसको व्यापक गलत अभ्यासहरू गरेको पाइयो ।

    संक्रमणको नाममा झनै मनोमानी

    दलहरूबीच पहिलो चरणको संविधानसभाको निर्वाचनपछि संविधान जारी नभएसम्म सहमतीय सरकार बनाउने सहमति भयो । पहिलो संविधानसभाको निर्वाचनमा माओवादी र फोरम नेपालले अत्याधिक सिट हासिल गरेपछि सरकार निर्माणको मौका पाए । तर, उक्त सरकार पनि सानो आकारको हुन सकेन । नौ महिनामै पुष्पकमल दाहालले कटुवाल प्रकरणमार्फत् राजीनामा दिएपछि सरकार निर्माणको अनौठो अभ्यास देखियो । एमाले नेता माधव नेपालको नेतृत्वमा बनेको त्यसपछिको सरकार जम्बो मात्रै भएन, सत्ता झिनाझम्टीले फोरम नेपाल नै विभाजनको मारमा पर्‍यो । माधव नेपाल सरकारविरुद्ध माओवादी आन्दोलनमा होमिँदा एक वर्षपछि उक्त सरकार धर्मरायो । नेपालले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको १७ पटकसम्म निर्वाचन भयो, तर प्रधानमन्त्री चयन हुन सकेन ।

    महिनौँसम्म चलेको सरकार निर्माणको उक्त घटनाले अनौठो नजिर कायम गर्‍यो । लामो कसरतपछि एमालेकै झलनाथ खनाल प्रधानमन्त्री त भए तर सरकार लामो समयसम्म टिकेन । ६ महिनामै खनालले राजीनामा दिएपछि माओवादी नेता बाबुराम भट्टराईको प्रधानमन्त्री बन्ने बाटो खुल्यो । तत्कालीन मधेशी शक्तिको साथमा बनेको भट्टराई सरकारमा मधेशी पार्टीहरूलाई यथेष्ठ मन्त्रालय दिएकै कारण पनि उक्त मन्त्रिपरिषद् जम्बो बन्यो । पहिलो संविधानसभाले संविधान जारी नगर्दै विघटन भएपछि भट्टराई नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचन हुन सकेन । पछि दलहरूकै सहमतिमा सर्वोच्चका तत्कालीन प्रधानन्याधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्यो ।

    उक्त सरकारमा पूर्वसचिवहरूले मात्रै मन्त्री बन्ने सौभाग्य पाए । रेग्मीले दोस्रो चरणको निर्वाचन गराएपछि कांग्रेस र एमाले ठूलो पार्टीको रूपमा उदाए । त्यसपछि कांग्रेस–एमालेले बनाएको संयुक्त सरकारले संविधान जारी गर्‍यो । संविधान जारी भएपछि दुई दलको तिक्तताले कांग्रेस प्रतिपक्षमा बस्यो, एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार बन्यो । त्यसपछिका सत्ता गठबन्धनले पुनः साना दलहरूलाई मन्त्री बनाउन ढोका खोल्यो, सोही क्रममा ६ जनासम्म उपप्रधानमन्त्री बने ।

    मन्त्रिपरिषद् बन्ने क्रममा नानाथरी दृश्यहरू देखिए, त्यसपछि दबाब सिर्जना भई दलहरूले प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउने सहमति गरे । तर, पालना भने हुन सकेन । उच्चस्तरीय प्रशासन सुधार आयोगका प्रमुख काशीराज दाहाल भन्छन्, ‘नयाँ संविधानअनुसार हुने केन्द्रीय निर्वाचनपछि दलहरूले २५ सदस्यीयभन्दा बढी मन्त्रिमण्डल बनाउन पाउँदैनन् ।’ यद्यपि, दाहाल नेतृत्वको आयोगले केन्द्रमा १२ वटा मात्रै मन्त्रालय राख्न सरकारलाई सुझाव दिएको छ । उक्त आयोगले प्रदेश तहमा पनि बढीमा १० ओटा मात्रै मन्त्रालय राख्न पाउने व्यवस्था सिफारिस गरेको छ ।

    मापदण्ड अपनाऊ

    हरेक सरकार निर्माणको क्रममा मन्त्रिपरिषद् विस्तार हुँदा देखिने दृश्यलाई नयां संविधानले केही हदसम्म भए पनि सुधार गर्ने प्रयास गरेको छ । यद्यपि, दलहरूको कारण यस्ता कैंयौ मापदण्ड विगतमा पनि कार्यान्वयनमा नआएको भन्दै संशय कायमै देखिन्छ । एमाले युवा नेता तथा संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारी भन्छन्, ‘भागवण्डाको नाउँमा हामीले जुनखाले राजनीतिक संस्कारलाई बढावा दिँदैछौँ, त्यसले सुशासनदेखि विकाससम्मको गतिलाई प्रभावित पार्न थालेको छ ।’ दलहरूले विभागीय दक्षताको आधारमा मन्त्री बनाउनुपर्नेमा जोड दिँदै प्रा। खनाल भन्छन्, ‘यसले पार्टी र नेताहरूको छविलाई समेत उचाइमा पु¥याउने छ ।’ पूर्वमुख्यसचिव कोइराला मन्त्रिपरिषद् गठनको अस्वस्थ अभ्यासले विकृति ल्याएकाले यसप्रति दलहरू गम्भीर हुनुपर्ने देख्छन् ।

    यो रिर्पोट  ३०आषाढ, २०७४ को अन्नपुर्ण टुडे म्यागिजनमा प्रकाशित भएको थियो- http://today.annapurnapost.com/politics/580?fbclid=IwAR3mUO8t0jq7Vn7DQ_9hNxDI8uhVOrA9Q5Q4JTybuyzDpD8P-Xp5c7Fr1UU

     

  • साना दललाई छैन महाधिवेशनको हतारो

    साना दललाई छैन महाधिवेशनको हतारो

    राष्ट्रिय राजनीतिमा चर्चामा आए पनि हस्तक्षेपकारी संगठन र भूमिका नभएका साना दल धेरैलाई महाधिवेशनको कुनै हतारो छैन । महाधिवेशन गरेकाले पनि निर्वाचन आयोगको कानुन पूरा गर्न कर्मकाण्डी विधि अपनाएका छन् ।

    गत १५–१७ मा लुम्बिनीमा सम्पन्न साझा पार्टीको केन्द्रीय भेलाले १५–१७ जेठ ०७८ सम्म पहिलो महाधिवेशन गर्ने निर्णय गर्‍यो । ०७३ मा पार्टी स्थापनापछि महाधिवेशनविनै अहिलेसम्म तदर्थवादमै चलिरहेको साझा पार्टीको विधानमा चार वर्षभित्र महाधिवेशन गर्ने व्यवस्था छ । तर, पछिल्लो भेलाले स्थापनाको पाँचौँ वर्ष प्रवेशपछि मात्रै महाधिवेशन गर्ने निर्णय लियो ।

    वैकल्पिक राजनीतिक विचारको प्रतिनिधित्व गर्ने दाबीसहित आफूलाई नेकपा र कांग्रेसको विकल्प बनाउने घोषणा गरेर राजनीतिक मैदानमा उत्रिए पनि साझा पार्टीलाई ०७४ वैशाखको स्थानीय तहको निर्वाचनमा अपेक्षित नतिजा हात लागेन । त्यसपछि उसले शक्ति सञ्चयको रणनीतिअनुसार वैकल्पिक नारासहित अघि बढिरहेको अर्को दल विवेकशील नेपाली दलसँग ११ साउन ०७४ मा एकता गर्‍यो । र, संघ–प्रदेशको निर्वाचनमा सहभागी भयो । यद्यपि, एकतापछि बनेको विवेकशील साझा पार्टीले पनि अपेक्षित नतिजा ल्याउन नसकेपछि आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रचार गर्दै आएका उनीहरूबीच अन्तरविरोध चर्कियो । रवीन्द्र मिश्रले अलोकतान्त्रिक शैलीमा एकलौटी रूपमा पार्टी सञ्चालन गरेको तत्कालीन विवेकशीलका अध्यक्ष उज्जल थापा समूहको आरोप थियो ।

    उनीहरूबीचको अन्तरविरोधको एउटा प्रमुख मुद्दा थियो– पार्टी महाधिवेशन । एकताअघिको साझा पार्टीका मिश्र र विवेकशीलका थापाबीच महाधिवेशनसहितका प्रमुख मुद्दामा शक्ति संघर्ष चर्किँदै जाँदा एकीकरणको १७ महिनामै २७ पुस ०७५ मा विवेकशील साझा पार्टी विभाजित भयो । आपसी आरोप–प्रत्यारोपले विभाजनकै रूप लिएपछि दुवै दलका नेता पुरानै घरमा फर्किए ।

    संसद्का प्रमुख दल कम्युनिस्ट र कांग्रेसले देशलाई बर्बाद गरेको आरोप लगाउँदै वैकल्पिक राजनीति सुरु गर्दै अघि बढेका र महाधिवेशनकै मुद्दामा विभाजित दुवै दलले अहिलेसम्म महाधिवेशन गरेका छैनन् । विरोधको राजनीतिमा सामाजिक सञ्जालमा सधैँ चर्चामा रहने दुवै दलले साढे तीन वर्षसम्म पहिलो महाधिवेशनसमेत नगर्दा आन्तरिक लोकतन्त्रको अभ्यासमा उनीहरू कति लोकतान्त्रिक छन् भन्ने प्रश्न उठ्न थालेकोे छ ।

    उता, विवेकशील नेपाली दलले २७ असोजदेखि २ कात्तिकसम्म जनकपुरमा राष्ट्रिय भेला गरी मिलन पाण्डे अध्यक्ष रहेको २६ सदस्यीय केन्द्रीय समिति चुने पनि पार्टी महाधिवेशनको एजेन्डामा छलफलै गरेन । त्यसो त, विभाजनपछि बनेको विवेकशील पार्टी अझै वैधानिक रूपमा निर्वाचन आयोगमा दर्ता भइसकेको छैन ।

    आयोगमा दर्ता नभएसम्म पार्टी वैधानिक नहुने भएकाले पहिले त्यो काम सम्पन्न भएपछि मात्र महाधिवेशनका बारेमा छलफल गर्ने विवेकशीलकी उपाध्यक्ष अजिता राईले बताइन् । ‘साना र वैकल्पिक भनिएका दलहरूमा पनि ठूला पार्टीहरूमा झैँ महाधिवेशन नगर्ने रोग देखियो,’ राईले भनिन्, ‘भर्खरै राष्ट्रिय भेलाबाट नेतृत्व चुनेका छौँ, निर्वाचन आयोगमा दर्ता भएपछि पार्टीका गतिविधि अघि बढ्छन्, त्यसपछि मात्र महाधिवेशनका विषयमा छलफल हुनेछ ।’ उनले कानुनी बाध्यताका कारण मात्र कर्मकाण्डी महाधिवेशन गर्ने प्रवृत्ति साना दलमा देखिएको बताउँदै उनले भनिन्, ‘साना दलहरूमा महाधिवेशन गर्न सहज हुनुपर्ने हो, तर नेपालमा साना दलभित्र पनि लामो समयसम्म महाधिवेशन नगर्ने प्रवृत्ति देखिएको छ ।’

    साझा पार्टीका केन्द्रीय सचिवालयका सदस्य प्रकाशचन्द्र परियार भने आफ्नो पार्टी राष्ट्रिय भेलापछि पूरै महाधिवेशनमा केन्द्रित भएको दाबी र्छन् । ‘हाम्रो राष्ट्रिय भेलाले नै १५ देखि १७ जेठ ०७८ सम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ,’ परियारले नयाँ पत्रिकासँग भने, ‘यो बीचमा हामी सम्पूर्ण रूपमा महाधिवेशनकेन्द्रित संगठनात्मक गतिविधि गर्नेछौँ ।’ तर, महाधिवेशनकेन्द्रित सांगठनिक कार्ययोजना भने साझा पार्टीले सार्वजनिक गरेको छैन । यद्यपि, परियारले पार्टीले छिट्टै कार्ययोजना सार्वजनिक गर्ने बताए । ‘अब छिट्टै बस्ने केन्द्रीय सचिवालय बैठकले सांगठनिक कार्ययोजनासहित महाधिवेशन लक्षित पार्टीका कार्यक्रहरू तय गर्नेछ ।’ उनले भने । साझा र विवेकशील पार्टीमा जस्तै समयभित्र महाधिवेशन नगर्ने ‘रोग’ तराई–मधेसकेन्द्रित राजपा, समाजवादीदेखि ‘दक्षिणपन्थी–राप्रपा’ र साना वाम दलमा पनि देखिन्छ ।

    मसाल र नेमकिपामा पुरानै नेतृत्व कर्मकाण्डी महाधिवेशन
    साना वाम दल नेकपा मसाल र नेमकिपाले भने केही समयअघि महाधिवेशन सम्पन्न गरेका छन् । काठमाडौंमा गत जेठमा सम्पन्न मसालको महाधिवेशनबाट ८५ वर्षीय मोहनविक्रम सिंह पुनः महामन्त्रीमा निर्वाचित भएका छन् । उनी पार्टीमा ०३१ सालदेखि लगातार पार्टी नेतृत्वमा छन् । काठमाडौंको थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न आठौँ महाधिवेशनले उनलाई पाँच वर्षका लागि पुनः महामन्त्री चयन गरेको हो । उनी ०५७–०५८ सालमा केही समय कारबाहीमा पर्दा मात्र नेतृत्वमा थिएनन् । मसालको संसदीय मोर्चा राष्ट्रिय जनमोर्चा छ, जसको संघीय संसद्मा एकजना सांसद छन् ।

    त्यस्तै, गत ३ देखि ६ असोजसम्म भक्तपुरमा सम्पन्न सातौँ महाधिवेशनबाट नारायणमान बिजुक्छे सातौँपटक सर्वसम्मत अध्यक्ष निर्वाचित भएका छन् । ८२ वर्षीय बिजुक्छे ०३१ सालदेखि निरन्तर नेतृत्वमा छन् । यससँगै उनी आजीवन शक्तिशाली र निर्विकल्प नेताका रूपमा देखिएको सन्देश प्रवाह भएको छ । संसदीय राजनीतिमा संघ र प्रदेशमा १÷१ सिट जितेर पछिल्लोपटक भक्तपुरमा खुम्चिएको नेमकिपाको सातौँ महाधिवेशनमा ३३ जिल्लाबाट प्रतिनिधि सहभागी भएका थिए । महाधिवेशनले २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । मसाल र नेमकिपाले नियमित महाधिवेशन गर्दै आए पनि पुरानै नेतृत्वलाई लगातार निरन्तरता दिएर ‘कर्मकाण्डी महाधिवेशन’ सम्पन्न गर्दै आएका छन् । नेमकिपाका बिजुक्छे र मसालका सिंह दुवैले नेतृत्वमा भावी उत्तराधिकारी स्थापित गर्नसमेत सकेका छैनन् ।

    मालेको सांगठनिक अवस्था शिथिल
    टुटफुट, एकता र विभाजनको लामो इतिहास रहेको नेकपा माले सिपी मैनालीको नेतृत्वमा अघि बढिरहेको छ । गत १५ फागुनमा काठमाडौं फर्किँदै गर्दा कार दुर्घटनामा परेका माले महासचिव मैनाली अहिले ग्रान्डी अस्पतालमा उपचाररत छन् । पछिल्लो स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा जित्न नसकेपछि सुषुप्त अवस्थामा पुगेको छ । मालेको महाधिवेशन करिब चार वर्षदेखि सम्पन्न भएको छैन ।

    २९ वैशाख ०७३ मा सम्पन्न सातौँ महाधिवेशनबाट मैनाली नै महासचिवमा निर्वाचित भएका थिए । महाधिवेशनबाट ७५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको थियो  । पछिल्लोपटक सानो पार्टीको हैसियतमा रहे पनि उनी लामो समयदेखि पार्टी नेतृत्वमा छन् । ०३५ देखि ०३९ सम्म मैनाली तत्कालीन मालेको महासचिव थिए । ०५४ मा एमाले छाडेर मैनाली, वामदेव गौतमलगायतले माले पुनर्गठन गरे । वामदेव ०५८ मा एमालेमै फर्किए, तर मैनाली फर्किन मानेनन् । मैनालीले आफ्नै नेतृत्वमा सानो समूह सञ्चालन गरिरहे । माले ०५८ सालयता मैनालीकै नेतृत्वमा छ । उनको पार्टीको महाधिवेशन कहिले र कहाँ हुन्छ भन्ने खासै चर्चाको विषयसम्म बन्दैन । कानुनी बाध्यताका कारण मात्र कर्मकाण्डी महाधिवेशन हुने गरेको छ ।

    वैद्य नेतृत्वको माओवादी स् महाधिवेशनको योजना छैन
    दुई वर्षअघि राष्ट्रिय भेला गरेर नेकपा क्रान्तिकारी माओवादीको महासचिवमा मोहन वैद्य निर्वाचित भएका थिए । भेलाबाटै नेतृत्व निर्वाचित गरेर अघि बढिरहेको वैद्य नेतृत्वको माओवादी तत्कालै महाधिवेशन गर्ने योजनामा छैन । ‘हामीले दुई वर्षअघि राष्ट्रिय भेला गरेकाले अहिले महाधिवेशन गर्ने वेला भइसकेको छैन,’ नेता सिपी गजुरेलले नयाँ पत्रिकासँग भने, ‘समय आएपछि मात्र हामी महाधिवेशनको निर्णय गर्छौँ, अहिले पार्टीले छलफलको एजेन्डा बनाएको छैन ।’

    सानो पार्टीको प्रमुख बनेपछि ४० को दशकमा नेतृत्व सहज हस्तान्तरण गरेका कम्युनिस्ट नेता वैद्यलाई पनि पछिल्लोपटक नेतृत्व आफैँमा सीमित राख्न खोजेको आरोप लाग्न थालेको छ । तत्कालीन माओवादी विभाजनपछि ०६९ मा वैद्यकै नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो । त्यसपछि वैद्य पनि निरन्तर पार्टी नेतृत्वमा छन् । उनी अहिले नेकपा ९क्रान्तिकारी माओवादी० का महासचिव छन् । पहिले अध्यक्षात्मक प्रणालीमा रहेको उनको पार्टी दुई वर्षअघिको राष्ट्रिय सम्मेलनबाट महासचिव प्रणालीमा गएको हो ।

    राप्रपाको हालत पनि उस्तै
    दुई दिनअघि मात्रै एकीकरणका लागि सहमत भएका राप्रपा नेपाल र राप्रपा संयुक्तको पनि महाधिवेशन नियमित भएको छैन । कमल थापा ०६४ सालदेखि पार्टी नेतृत्वमा एकछत्र राज गरिरहेका छन् । अहिले दुवै पार्टीले एकीकरणका लागि सैद्धान्तिक सहमति गरेका छन् ।

    २०७६ फाल्गुण २८ बुधबार नयां पत्रिकामा प्रकाशित – https://www.nayapatrikadaily.com/news-details/38421/2020-03-11

  • अध्यादेशले मध्यरातमा दुई पार्टी जुटायो, समाजवादी फुटाउने कसरत पनि तीव्र

    अध्यादेशले मध्यरातमा दुई पार्टी जुटायो, समाजवादी फुटाउने कसरत पनि तीव्र

    सरकारले पार्टी विभाजनका लागि खुकुलो हुने गरी अध्यादेश ल्याएको तेस्रो दिन दुई पार्टी एकीकरण भएका छन् । समाजवादी पार्टी र राजपाबीच पार्टी एकतापछि संसद्मा ३४ सांसदसहितको शक्ति बनाउने तयारी छ । एकताको कानुनी प्रक्रिया टुंगो नलाग्दै समाजवादी पार्टी विभाजन गराउने तयारी पनि अर्को पक्षबाट तीव्र छ ।

    बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टी र महन्थ ठाकुरलगायतका नेताले नेतृत्व गरेको राजपाबीच पार्टी एकता भएको घोषणा भएको छ । राजपाका राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी पनि एकीकरणमा सामेल भएका छन् । तर, राजकिशोर यादव र अनिल झा भने प्रक्रियामा सामेल भएका छैनन् ।

    नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने र चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको छाता हुने गरी सहमतिमा हस्ताक्षर भएको छ । त्यस्तै झन्डा भने समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा राख्ने सहमति भएको छ ।

    समाजवादीका तर्फबाट डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राजपाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्र राय यादवबीच पार्टी एकता टुंगाउने विषयमा बुधबार राति अ‍ेरसम्म वार्ता भएपछि सहमति जुटेको हो ।

    ‘देशमा सात दशक लामो संघर्ष र बलिदानपश्चात् संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । विश्वासमा विकसित नवीनतम लोकतान्त्रिक मूल्य र मान्यताका दृष्टिले यसमा केही अपूर्णता रहे पनि यो आजसम्म नेपाली जनताले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो,’ सहमतिपत्रमा पार्टी एकताको औचित्य पुष्टि गर्न खोजिएको छ, ‘अबको आवश्यकता पूरा गर्न नेपालको राजनीतिमा अग्रगामी परिवर्तनकारी शक्तिको रूपमा रहेका दुई पार्टीबीच एकीकरण गर्न सहमति गरेका छौँ ।’

    समाजवादी र राजपाबीच एकता प्रयास पुरानो हो । तर, दल विभाजन सहज हुने गरी सरकारले अध्यादेश ल्याएपछि एकताको गृहकार्य तीव्र बनाइएको थियो । एकता घोषणा गर्न सके तत्काल दुवै पार्टीको विभाजनलाई रोक्न नैतिक धरातल बन्ने दुवै दलका शीर्ष नेताहरूको बुझाइ थियो ।

    अध्यादेशले समाजवादी र राजपाको भविष्यमा कालोबादल देखेपछि दुवै पार्टीका नेताहरूले बुधबार दिनभर र रातिसमेत औपचारिक–अनौपचारिक संवाद थालेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो पार्टी फुटाउने गरी खेल खेलेको निष्कर्षमा पुगेका समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले दुई पार्टीबीच एकताका लागि तत्काल पहल थालेका थिए ।

    अध्यादेशले सबैभन्दा बढी जोखिममा समाजवादी परेको थियो, जसको सम्भावित विभाजनलाई रोक्न शीर्ष नेताहरू लागेका थिए । यसअघि नै राजपा–समाजवादीबीच एकताका लागि सैद्धान्तिक सहमति जुटिसकेको थियो । केन्द्रीय तहमा दुवै तहका शीर्ष नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषय टुंगिन सकेको थिएन । तर, पछिल्लो अध्यादेश प्रकरणले एकता सम्भव बनाएको नेताहरूको दाबी छ ।

    दुई पार्टीबीच एकताको गृहकार्यसँगैै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि आकस्मिक रूपमा काठमाडौं आएका छन् । उनी मंगलबार साँझ स्थलमार्ग हुँदै जनकपुरबाट काठमाडौंका हिँडेका थिए ।

    यसअघि नै राजपाले राजेन्द्र महतो र समाजवादीले राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टी एकताका लागि वार्ताटोली बनाएका छन् । यसअघि राजपाले एकताका लागि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्ने सर्त राखेको थियो । संविधान संशोधनमा सरकार इमानदार नभएको भन्दै समाजवादी पार्टी ८ मंसिरमा सरकारबाट बाहिरिएको थियो । तर, राजपालाई सरकारमा लैजाने प्रधानमन्त्री ओलीको कोसिस रेशम चौधरीको रिहाइ हुनुपर्ने राजपाको अडानका कारण रोकिएको थियो ।

    समाजवादी पार्टी फुटाउन अन्तिम कसरत रोक्न भट्टराई र यादव सक्रिय

    दल विभाजनको प्रावधान खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ । पार्टी नेतृत्वसँग असन्तुष्ट वरिष्ठ उपाध्यक्ष रेणु यादवसहितका केही सांसदले विभाजनको तयारी गर्न थालेपछि बुधबार दिनभर अध्यक्षद्वय डा। बाबुराम भटराई र उपेन्द्र यादवले उनीहरूलाई फकाउने प्रयास जारी राखे ।

    नेताहरू अशोक राई र राजेन्द्र श्रेष्ठसहित अध्यक्ष भट्टराईले बुधबार नेतृ यादवको निवासमै पुगेर छलफल गरेका थिए । ‘उहाँहरू आउनुभएको थियो, पार्टी विभाजनसम्बन्धी बाहिर चलिरहेको हल्लाबारे जिज्ञासा राख्नुभयो,’ नेतृ यादवले नयाँ पत्रिकासँग भनिन् । तर, तपाईंहरूबीच सहमति भयो त भन्ने प्रश्नमा उनी बोल्न चाहिनन् ।

    अध्यक्ष भट्टराईले पार्टी विभाजनको हल्ला चिर्न नेतृ यादवलाई विज्ञप्ति निकाल्न आग्रह गरेका थिए । तर, उनले मानिनन् । बरु, पार्टीभित्र आफूलाई अपमानित गरिएको भन्दै गुनासो गरिन् । अध्यक्ष उपेन्द्र यादवले नै आफूलाई पार्टीको प्रदेश निर्वाचनमा हराएको आरोप पनि उनले लगाएकी थिइन् । तर, अध्यक्ष भट्टराईले भने विगतको गल्ती बिर्संदै भविष्यमा त्यस्तो गल्ती दोहोरिन नदिने वचन दिएका थिए । केही महिनाअघि प्रदेश २ मा भएको पार्टी अधिवेशनमा अध्यक्षमा उठेकी रेणु प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादवसँग पराजित भएकी थिइन् ।

    नेतृ यादव गत दुई वर्षदेखि अध्यक्ष यादवसँग असन्तुष्ट छिन् । पार्टी सरकारमा जाँदा उनलाई सहभागी नगराए पनि उनको सिफारिसमा राज्यमन्त्री बनाउने वचन अध्यक्ष यादवले दिएको उनले आफू निकटस्थलाई बताउँदै आएकी छिन् । पर्सा–१ बाट निर्वाचित सांसद प्रदीप यादवलाई स्वास्थ्य राज्यमन्त्री बनाउन रेणुले प्रस्ताव गरेकी थिइन् । तर, अध्यक्ष यादवले महोत्तरी–४ बाट निर्वाचित सांसद डा। सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाए । गत मंसिर पहिलो साता प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा डा। यादवलाई राज्यमन्त्रीबाट हटाएका थिए । स्वास्थ्यमन्त्री रहेका अध्यक्ष यादवलाई पनि जानकारी नै नदिएर कानुन मन्त्रालयमा सारिएको थियो ।

    रेणुलाई साथ दिइरहेका पूर्वमन्त्री तथा नेता मोहम्मद इस्तियाक राईसहित काठमाडौंमा उपलब्ध अन्य सांसदहरूसँग पनि अध्यक्षद्वय भट्टराई र यादवले छलफल गरेका छन् । स्रोतका अनुसार उनीहरूले विगतको गल्ती भविष्यमा नदोहो¥याउने प्रतिबद्धता गर्दै राजपासँगको एकीकरणपश्चात् सबैलाई समान ढंगले लैजाने वचन दिएका थिए ।

    अध्यक्षद्वयसँगको छलफलपछि सांसद रुही नाज र कलुदेवी विश्वकर्माले विज्ञप्ति जारी गर्दै आफू पार्टी फुटाउन लागेको हल्ला निराधार रहेको स्पष्टीकरण दिएका छिन् । पार्टी विभाजन गर्ने अभियानमा नाम जोडिएका सप्तरीका सांसद डा। सूर्यनारायण यादवले पनि आफू फुटको पक्षमा नरहेको नयाँ पत्रिकालाई बताए । केही महिनाअघि उनले सांसदबाट राजीनामा दिएका थिए, पछि फिर्ता लिए ।

    पूर्वराज्यमन्त्री डा। सुरेन्द्र यादव पनि नेतृत्वसँग असन्तुष्ट थिए । पार्टी विभाजनकै लागि बुधबार साँझ उनलाई प्रहरीले जनकपुरबाट काठमाडौं ल्याएको आरोप समाजवादी पार्टीले लगाएको छ । पार्टीको संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईका सचिवालय प्रमुख विश्वदीप पाण्डेले बुधबार साँझ फेसबुकमा आफ्नो पार्टीका सांसद तथा नेता डा। यादवलाई प्रहरीले अपहरण शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप लगाएका छन् । यद्यपि, डा। यादवको परिवार भने त्यसबारे मौन छ । ‘दिउँसोसम्म उहाँ महोत्तरीस्थित आफ्नो घरमै हुनुहुन्थ्यो, साँझको खबरबारे मलाई थाहा भएन,’ राज्यमन्त्री हुँदा डा। यादवको सचिवालयसमेत हेरेका र सम्बन्धमा सालासमेत पर्ने सञ्जय यादवले भने ।

    नेतृ यादवलाई साथ दिइरहेका केही नेता र सांसद भने काठमाडौं आउन थालेका छन् । भारतीय सीमा क्षेत्रको क्वारेन्टाइन भ्रमण गरेपछि स्थानीय प्रशासनले पर्सामा होम क्वारेन्टाइनमा राखेका सांसद प्रदीप यादव बुधबार काठमाडौं आइपुगेका छन् । दिउँसो वीरगन्जबाट काठमाडौं आएको उनले नयाँ पत्रिकालाई बताए ।

    समाजवादी पार्टीका तर्फबाट डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, प्रदीप यादव, विमलप्रसाद श्रीवास्तव, मोहम्मद इस्तियाक राई, राजेन्द्रप्रसाद श्रेष्ठ, रामबाबुकुमार यादव, रामसहायप्रसाद यादव, रुही नाज, रेनुका गुरुङ, रेनुकुमारी यादव, सरिता गिरी, सुरेन्द्रकुमार यादव, डा। सूर्यनारायण यादव ‘सुरज’ र हरिनारायण रौनियार सांसद छन् । रौनियार भने भ्रष्टाचारको मुद्दापछि निलम्बनमा छन् ।

    २०७७ बैशाख ११ बिहीबारको नयां पत्रिकामा प्रकाशितhttps://www.nayapatrikadaily.com/news-details/41890/2020-04-23