मधेशको पहिचानलाई विश्वव्यापी रुपमा अगाडि बढाउँदै ‘भिजिट मधेश’
काठमाडौं, ८ जेठ । तराई/मधेशको पहिचान विश्वव्यापी रुपमा डिजिटल प्लेटफर्म मार्फत चिनाउने अभियान स्वरुप अन्तर्राष्ट्रियस्तरमा ‘भिजिट मधेश’ नामक संस्था सक्रिय भएको छ ।
मधेशको पहिचानलाई विश्वव्यापीरुपमा प्रचार प्रसार गर्नका लागि वेबसाइट र मोबाइल एप समेत तयार गरिएको भिजिट मधेशका ग्लोबल संयोजक राज सर्राफले जानकारी दिएका छन् ।
मधेशको पहिचान गराउदै पर्यटन प्रवर्द्धन गर्दै मधेशको अर्थतन्त्र बलियो बनाउने, रोजगारी सिर्जना गर्ने, तराई मधेशको २२ वटै जिल्ला जोड्दै सबै अभियान जारी रहेको सर्राफले बताएका छन् ।
यी सबै जिल्लामा रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरुलाई उजागर गर्दै अभियान अगाडि बढिरहेको छ ।
यसका लागि केन्द्रीय, प्रादेशिक र प्रत्येक जिल्ला जिल्लामा टिमहरु गठन गरिएको छ । विश्वव्यापी रुममा अभियान अगाडि बढाउँदै करिब एक दर्जन देशहरुमा टिम गठन भएको र अन्य देशमा गठन प्रक्रिया अगाडि बढिरहेको संयोजक सर्राफले मधेशवाणीलाई बताएका हुन् ।
नेपालमा राष्ट्रिय संयोजकको रुपमा युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सरार्फले नेतृत्व गरिरहेका छन् भने ग्लोबल कोर्डिनेटरको रुपमा अमेरिकाबाट राज सरार्फ नेतित्व गरिरहेका छन् ।
पर्यटनसँग सम्बन्धित संघ संस्था एवं बहु तहको सरकारसंग समन्वय एवं सहकार्य गर्दै “भिजिट मधेश नेपाल २०२०“सफल गर्ने र अभियानलाई निरन्तरता दिइने उनले बताए ।