Monday, April 27, 2020

जनता समाजवादी पार्टी गठनबारे निर्वाचन आयोग र संसद्लाई जानकारी

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका नेताहरूले पार्टी एकीकरण गरी जनता समाजवादी पार्टी गठन गर्ने सहमति गरेको जानकारी निर्वाचन आयोगमा गराएका छन् । उनीहरूले संसद् सचिवालयलाई पनि त्यसको जानकारी दिएका छन् । दुई पार्टीबीच बुधबार मध्यराति पार्टी एकीकरण गर्ने सहमति भएको थियो । बिहीबार बिहान साढे १० बजे उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, शरत्सिंह भण्डारीसहितका नेताहरू आयोगमा पुगेर लिखित जानकारी दिएका हुन् । उनीहरूले पार्टी एकताका लागि भएको सहमतिको पत्र पनि आयोगमा पेस गरेका छन् । त्यसलगत्तै नेताहरू सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पार्टी एकीकरण गर्नेबारे जानकारी गराएका थिए ।


दुई पार्टीबीच एकीकरणका लागि एक वर्षअघिदेखि छलफल चलिरहेको थियो । तर, सहमतिमा पुग्न सकेका थिएनन् । सरकारले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि भने उनीहरूमाथि एकीकरण गर्न दबाब सिर्जना भएको थियो ।

सरकारकै सहयोगमा समाजवादी पार्टी फुटाउने कसरत तीव्र भएपछि बुधबार मध्यराति दुई पार्टीले एकीकरणको सहमति गरेका थिए ।

आयोगमा जानकारी गराएपछि नेताहरूले पार्टी विभाजन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रयासलाई विफल बनाएको बताए । ‘प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर हामीलाई तर्साउन खोजेका थिए, तर हामीले थप एकजुट भएर देखाइदियौँ ।

प्रधानमन्त्री ओलीले अलि बढी नै सपनाहरू देख्ने गरेका छन्, तर उहाँका सपना सधैँ कहाँ पूरा हुन्छन् र रु’ आयोग परिसरमा नेता उपेन्द्र यादवले भने ।
 
अर्का नेता राजेन्द्र महतोले प्रधानमन्त्रीले मधेसकेन्द्रित दल फुटाउने उद्देश्यसहित विधेयक ल्याए पनि अब उनकै पार्टी फुट्ने दाबी गरे । ‘हामीले त एकीकरण गरेर जवाफ दिएका छौँ, अब उहाँहरू आफैँ फुट्नुहुन्छ,’ उनले भने । अध्यादेश फिर्ता नभए आन्दोलन गर्ने चेतावनी पनि उनले दिए ।

एक वर्षअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी र पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण गरी समाजवादी पार्टी गठन भएको थियो । त्यही वेलामा राजपासँग पनि एकीकरण गर्न छलफल सुरु भएको थियो ।
 
एकताका लागि राजपा नेपालले राजेन्द्र महतो र समाजवादी पार्टीले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति बनाएर छलफल गरिरहेका थिए । यी समितिले नेतृत्वको व्यवस्थापनबाहेक एकीकरणका अन्य सबै विषय टुंगो लगाइसकेको थियो । तर, पटक–पटक संवाद गर्दा पनि त्यसमा कुरा नमिल्दा एकीकरण हुन सकेको थिएन । सरकारको अध्यादेशले दबाब बढाएपछि त्यसमा पनि नेताहरूले प्रारम्भिक सहमति गरेका छन् ।
 
नेताहरूका अनुसार बुधबार राति भएको एकीकरण बैठकमा महन्थ ठाकुरलाई पहिलो वरीयतामा राख्दै त्यसपछि क्रमशः पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ रहने गरी सहमति भएको छ । त्यस्तै, दुवै पार्टीको केन्द्रीय तहमा रहेका नेताहरूको पद यथावत् राख्ने सहमति पनि बैठकमा भएको छ ।
 
नेता राजेन्द्र श्रेष्ठले समाजवादी र राजपाबीच समानताका आधारमा एकीकरण भएको बताए । ‘हामी सबै कुरा समान ढंगले टुंग्याउँछौँ, लकडाउन अलि खुकुलो भएपछि सबै विषय विधिवत् रूपमा सार्वजनिक गर्छौं,’ उनले भने । जनता समाजवादी पार्टीको झन्डा यसअघि समाजवादी पार्टीले प्रयोग गर्दै आएको राख्ने र चुनाव चिह्न राजपाले प्रयोग गरिरहेको छाता राख्ने सहमति नेताहरूबीच भएको छ ।

No comments:

Post a Comment