Monday, April 27, 2020

यसरी ‘सेटअप’ मिलाउँदै छ जनता समाजवादी पार्टी

नवगठित जनता समाजवादी पार्टी, नेपाल मुख्य चुनौती रहेको नेतृत्व व्यवस्थापनसँगै पार्टी संरचना मिलाउन जुटेको छ । शीर्ष नेतालाई फरक–फरक समितिको नेतृत्व, ५१ सदस्यीय पदाधिकारी समिति र सात सय वा आठ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने तय गरेको छ । 

राजपा र समाजवादी पार्टीबीच १० वैशाख मध्यराति एकाएक एकीकरण भएर जनता समाजवादी पार्टी, जसपा नेपाल गठन भएसँगै नेतृत्व व्यवस्थापन पहिलो खुट्किलो बनेको छ । त्यससँगै पार्टी संरचना मिलाउन नयाँ पार्टी जसपालाई अर्को चुनौती रहेको छ । तथापि, जसपा नेताहरूले गृहकार्य सुरु गरेका छन् । टुटफुटका लागि बदनाम मधेसकेन्द्रित दलका नेताहरू पछिल्लो समय एकीकरणका लागि तल्लीन हुँदै आएका छन् ।

जनता समाजवादी पार्टी गठनबारे निर्वाचन आयोग र संसद्लाई जानकारी

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका नेताहरूले पार्टी एकीकरण गरी जनता समाजवादी पार्टी गठन गर्ने सहमति गरेको जानकारी निर्वाचन आयोगमा गराएका छन् । उनीहरूले संसद् सचिवालयलाई पनि त्यसको जानकारी दिएका छन् । दुई पार्टीबीच बुधबार मध्यराति पार्टी एकीकरण गर्ने सहमति भएको थियो । बिहीबार बिहान साढे १० बजे उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, शरत्सिंह भण्डारीसहितका नेताहरू आयोगमा पुगेर लिखित जानकारी दिएका हुन् । उनीहरूले पार्टी एकताका लागि भएको सहमतिको पत्र पनि आयोगमा पेस गरेका छन् । त्यसलगत्तै नेताहरू सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पार्टी एकीकरण गर्नेबारे जानकारी गराएका थिए ।

मध्यरातमा राजपा-समाजवादी विच एकता

सरकारले पार्टी विभाजनका लागि खुकुलो हुने गरी अध्यादेश ल्याएको तेस्रो दिन दुई पार्टी एकीकरण भएका छन् । समाजवादी पार्टी र राजपाबीच पार्टी एकतापछि संसद्मा ३४ सांसदसहितको शक्ति बनाउने तयारी छ । एकताको कानुनी प्रक्रिया टुंगो नलाग्दै समाजवादी पार्टी विभाजन गराउने तयारी पनि अर्को पक्षबाट तीव्र छ ।  बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टी र महन्थ ठाकुरलगायतका नेताले नेतृत्व गरेको राजपाबीच पार्टी एकता भएको घोषणा भएको छ । राजपाका राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी पनि एकीकरणमा सामेल भएका छन् । तर, राजकिशोर यादव र अनिल झा भने प्रक्रियामा सामेल भएका छैनन् ।  नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने र चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको छाता हुने गरी सहमतिमा हस्ताक्षर भएको छ । त्यस्तै झन्डा भने समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा राख्ने सहमति भएको छ ।