Tuesday, March 3, 2020

उठ्न खोज्दै थरुहट आन्दोलन

थारूवान राष्ट्रिय मोर्चाले सोमबार साँझ मसाल जुलुस निकाल्यो । पश्चिम तराईमा नवलपरासीदेखि कञ्चनपुरसम्म दुई दिन बन्दको घोषणा पनि मोर्चाको आन्दोलनको कार्यक्रमभित्र परेको छ । १७ फागुनमा बाँकेको कोहलपुरमा सम्पन्न मोर्चाको सम्मेलनले प्रचारात्मक आन्दोलनका कार्यक्रम तय गरेको थियो । त्यसैअनुसार सोमबार मसाल जुलुस निकालेको हो । अहिलेलाई प्रचारात्मक आन्दोलनमा उत्रे पनि थरुहट आन्दोलनलाई फेरि उठाउने कोसिस भएको छ । र, यसको नेतृत्व गरिरहेका छन्, लक्ष्मण थारू । 


कोहलपुर सम्मेलनमा थरुहट आन्दोलन कसरी उठाउने भन्ने मन्थन भएको थियो । झन्डै सयजना सहभागी रहेको सम्मेलनले आन्दोलन उठानका लागि थारूहरूबीच एकतामा जोड दिएको थियो । सम्मेलनपछि थरुहटरथारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारूले विज्ञप्ति निकालेर थारू आन्दोलनको अपरिहार्यतामा जोड दिए । थारू सम्बद्ध सबै शक्तिहरूको एकीकरणको पहल गर्ने बताए ।

उनले विचार र मुद्दा मिल्नेहरूसँग एकता, सहकार्य र मोर्चाबन्दीमा सम्मेलनले जोड दिएको उल्लेख गरेका छन् । यसअघि लक्ष्मण थारू नेतृत्वको मोर्चाले १२ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १४बुँदे ज्ञापनपत्र बुझाउँदै सांसद रेशम चौधरीको रिहाइ र टीकापुर घटनाका मुद्दा फिर्तासहित थारू आन्दोलनको क्रममा यसअघि भएका सम्झौताहरू कार्यान्वयन गर्न माग गरेका थिए । थारू आन्दोलनकारी र नेपाल सरकारबीच १ चैत ०६५ मा ६बुँदे र १० जेठ ०६९ मा १०बुँदे सहमति भएको थियो । उनले तिनै सहमति कार्यान्वयन गर्न माग गरेका थिए । 

त्यसपछि २२ माघमा मोर्चाले नेकपा, कांग्रेससहित सबै दललाई समेत ज्ञापनपत्र दिँदै थारूहरूको मुद्दा सम्बोधनमा सहयोग गर्न आग्रह गरेका थिए । यसअघि ८ माघमा मोर्चाले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना माग सार्वजनिक गरेको थियो । १ देखि ८ फागुनमा त लक्ष्मण स्थानीय थारू अगुवाको समर्थनमा कैलालीमा अनशनमै बसे । तर, सरकारले कुनै वास्ता नगरेपछि स्थानीय प्रशासन र नागरिक अगुवाको पहलमा ८ फागुनमा अनशन तोडेका थिए । यी दुई महिनायताका गतिविधिले पश्चिम तराईमा लक्ष्मणले थरुहट आन्दोलन उठाउन कोसिस गरिरहेको प्रस्ट देखिन्छ । उनले त थरुहट आन्दोलन छिन्नभिन्न भएकै ७ भदौको दिनबाटै सुरुवात गर्न खोजेका थिए । 

टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जना जेलमा छन् । ४२ महिना जेल बसेर निस्केका लक्ष्मण भने थरुहट राजनीतिलाई एकीकृत गर्न लागेका छन् । ७ भदौ ०७२ मा भएको टीकापुर घटनापछि थरुहट आन्दोलन मात्रै होइन, थारूसम्बद्ध राजनीतिक र सामाजिक संघसंस्थाहरू छिन्नभिन्न भएका थिए । उनीहरूले कुनै गतिविधि गर्न सकेका थिएनन् । चार वर्षपछि थारूसम्बद्ध संघसंस्थाका गतिविधि पुनः बाक्लिन थालेका हुन् ।

यसको सुरुवातका लागि टीकापुर घटनाको वार्षिकोत्सव पारेर ७ भदौमा टीकापुरमै थरुहटरथारूवान संयुक्त संघर्ष समितिले तीनदिने थारू सम्मेलनको नै आयोजना ग¥यो । सम्मेलनमा समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, राजपा नेता लक्ष्मणलाल कर्ण, खगेन्द्र संग्रौला, किशोर नेपाल र युग पाठक सहभागी थिए । तीनदिने सम्मेलनमा थारूसम्बद्ध सबै संघसंस्था सहभागी थिए । टीकापुर घटनाले छिन्नभिन्न भएको थरुहट आन्दोलन उठाउन टीकापुरबाटै सुरुवात गरिएको लक्ष्मण बताउँछन् । थारूहटको राजनीतिक शक्ति एकीकृत हुन अझै समय लाग्ने उनको ठम्याइ छ । ‘हामी अहिले प्रचारात्मक कार्यक्रमहरूसँगै सबैलाई जोड्न लागिपरेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यो आवेगमा आएर दुई–चार दिनमै हुने कुरा होइन ।’ 

थरुहट राजनीतिलाई नजिकबाट नियालिरहेका विश्लेषक सिएन थारू पनि टीकापुर घटनापछि सुषुप्त अवस्थामा रहेका थरुहट क्षेत्रका संघसंस्थाहरू पछिल्लो केही महिनायता पुनः जुरमुराउन थालेको बताउँछन् । ‘टीकापुर घटना थरुहट राजनीति छिन्नभिन्न हुने बिन्दु बन्न पुगेको छ,’ सिएन भन्छन्, ‘अब के हुन्छ, त्यो अहिले नै भन्न सकिन्न । तर, थारू समुदायमा ठूलो असन्तुष्टिचाहिँ छ ।’ थरुहट राजनीतिलाई नजिकबाट नियालिरहेका लेखक तथा पत्रकार कृष्णराज सर्वहारी पनि टीकापुर घटनाबाट छिन्नभिन्न भएको थरुहट आन्दोलन फेरि जुरमुराउन थालेको बताउँछन् । कुनै वेला ‘एक मधेस, एक प्रदेश’को आन्दोलनको प्रतिवादमा उठेको थरुहट पछिल्लो समय मधेसकेन्द्रित दलहरूसँगै नजिकिएको उनको भनाइ छ । ‘टीकापुरमा ७ भदौमा भएको थरुहट सम्मेलनमा राजपा र समाजवादी पार्टीका नेताहरू देखिनु त्यसको प्रमाण हो,’ उनी भन्छन् ।

सशक्त आन्दोलनको तयारीमा छौँ
लक्ष्मण थारू, संयोजक
थरुहटरथारूवान राष्ट्रिय मोर्चा  

टीकापुर घटनापश्चात् थारूहरूलाई जसरी मनोवैज्ञानिक रूपमा दबाइयो, सयौँको संख्यामा फसाइएको छ, ती सबैको सफाइका लागि पटकपटक सरकार र सरोकारवालालाई हारगुहार गरेका छौँ । तर, कतैबाट पनि सकारात्मक कदम चालिएको छैन । गत माघमै प्रधानमन्त्रीलाई नै ज्ञापनपत्र दियौँ, तर अहिलेसम्म केही भएन । यसअघि पनि थारूसम्बद्ध धेरै सरोकारवाला विभिन्न मुद्दा उठाइराख्नुभएको छ । तर, कसैको केही सुनवाइ हुने छाँटकाँट छैन ।

विगतमा सरकार र थारू आन्दोलनकारीसँग दुईपटक सम्झौता भएको छ । त्यसको कार्यान्वयन गर्ने कुनै संकेत छैन । त्यही भएर हामी तयारीका साथ आन्दोलनमा जाने रणनीतिमा छौँ । कोहलपुरमा भएको मोर्चाको राष्ट्रिय भेलाले बन्द, हड्तालजस्ता कार्यक्रमहरूसमेत ल्याएको छ । तर, यो सबै अहिले आन्दोलनको प्रचारात्मक स्वरूपअन्र्तगत गरिराखेका छौँ । यसअघि मेरै नेतृत्वमा कैलालीको धनगढीमा आमरण अनशनसमेत बस्यौँ । यसले सबैतिर थारूहरूका माग र राजनीतिप्रति चासो बढाउँदै लगेको छ । हामी एउटा सशक्त तयारी गरेर आन्दोलनमा जानुपर्छ भन्नेमा छौँ । 



थरुहट आन्दोलन त्यति सहज छैन  
कृष्णराज सर्वहारी, लेखक/पत्रकार

लक्ष्मण थारूको सक्रियता बढेको छ । काठमाडौंदेखि जिल्लासम्म छलफल र कार्यक्रम तीव्र पारेका छन् । तर, टीकापुर घटनापछि थारू आन्दोलनको मुख्य केन्द्र रेशम चौधरी बन्न पुगेका छन् । लक्ष्मण थारूको गतिविधिप्रति राजपा अहिले मौन छ । राजपाले रेशमको रिहाइको माग गरे पनि लक्ष्मण थारूको अनशनमा उसले अन्तिम दिन मात्रै समर्थन जनायो । अर्को पक्ष थारू कल्याणकारी  सभा पनि छ । थारूको मुख्य संस्था थाकसको केन्द्रीय नेतृत्व पनि अहिलेसम्म मौन छ ।

कांग्रेस र नेकपामा रहेका थारू अगुवाहरूको आन्दोलन उठेपछि मात्रै समर्थन जनाउने चलन छ । तर, थाकससहित थारूसम्बद्ध संघसंस्थाको भूमिका यसमा हुन्छ । यद्यपि, लक्ष्मण थारूले सबैलाई एकैठाउँ ल्याउन पहल पनि गरिरहेको देखिन्छ ।संघीय सरकारले राना थारूलाई छुट्टै सूचीकृत गर्ने निर्णय ग(यो । नेकपा सरकारले सुदूपश्चिममै थरुहट बसून् भन्ने सन्देश पटकपटक प्रवाह गरिरहेको छ । जुन थारू आन्दोलनका लागि चुनौतीपूर्ण छ । यस्तो अवस्थामा लक्ष्मणले पछिल्लो समयमा उठान गर्न खोजेको थरुहट आन्दोलन कसरी उठ्छ, त्यो महत्वपूर्ण हो । यसमा राजपाको भूमिकाले थप कुरा प्रस्ट्याउनेछ, जुन अहिले भन्न सकिन्न ।


केन्द्रमा रेशम चौधरी

टीकापुर घटनामा जेल परेका लक्ष्मण गत वर्ष रिहा भए । ४२ महिना जेल बसेका उनी राजनीतिक गतिविधिमा लागेका छन् । त्यही घटनामा सांसद रेशम चौधरीसहित ११ जना जेलमै छन् । त्यो घटनामा एक सय ३० जनाले मुद्दा खेपिरहेका छन् । रेशम राजपा नेपालबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । राजपाले उनको रिहाइ प्रमुख मुद्दा बनाउँदै आएको छ ।

राजपाकै अडानले गत वर्ष उनले जेलबाटै शपथ लिन पाएका थिए । अहिले पनि नेकपासँगको सत्ता साझेदारीको वार्तामा राजपाले रेशमको रिहाइलाई पहिलो सर्त बनाएको छ । १ माघमा काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशमलाई चाँडै नै जेलमुक्त गर्ने तयारी भइरहेको बताएका थिए । उनले टीकापुर घटना राजनीतिक घटना भएकाले रेशमसहित मुद्दा खेपिरहेका सबैलाई मुक्त गरिने बताएका थिए ।

आफूले रेशमसँग दिल्लीमा भेटेको सन्दर्भ निकाल्दै प्रचण्डले रेशमको रिहाइको तयारी चलिरहेको दाबी गरेका थिए ।  त्यसलगत्तै १४ माघमा टीकापुर पुगेका पर्यटनमन्त्री योगेश भट्टराईले यो घटना राजनीतिक प्रकृतिको भएकाले धेरै नउछाल्न आग्रह गरेका थिए ।

प्रचण्ड र पर्यटनमन्त्री भट्टराईको अभिव्यक्तिले थारूसम्बद्ध संघसंस्था उत्साहित बनेका छन् । विश्लेषक सिएन पनि रेशम थरुहट राजनीतिको केन्द्रमा रहेको दाबी गर्छन् । ‘रेशमलाई बाइपास गरेर अहिले कुनै पनि थारूसम्बद्ध संघसंस्थाको निर्णय नै आउँदैन,’ उनी भन्छन्, ‘यो मुद्दासँग थारू मनोविज्ञान जोडिन पुगेको छ ।’ यद्यपि, लक्ष्मण नेताहरूको आश्वासन विश्वासिलो नभएको बताउँछन् । ‘दलहरू र तिनका नेताहरूका यस्ता आश्वासनमा विश्वास गर्ने आधार नै देखिन छाडिसक्यो,’ उनी भन्छन् । तथापि, उनी थरुहट आन्दोलन पुनः उठ्नेमा विश्वस्त छन् । 


No comments:

Post a Comment