Tuesday, November 26, 2019

आपसमै सशंकित समाजवादी-राजपा

गत साताको मन्त्रिपरिषद् पुनर्गठनपश्चात समाजवादी र राजपा आपसमा संशकित भएका छन्। मधेसीको अधिकारका लागि सँगै आन्दोलन गरेका यी दुई दल प्रदेश २ मा संयुक्त सरकार चलाइरहेका छन्। गएको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा दुवैले तालमेल गरेर उम्मेदवारी दिएका थिए। पछिल्लो समय पार्टी एकीकरणकै प्रयास भइरहेको बताउँदै आएका यी दुई दल मन्त्रिपरिषद् पुनर्गठनपश्चात एक अर्का प्रति सशंकित अभिव्यक्ति सार्वजनिक रुपमै दिएका छन।

Monday, November 25, 2019

उपेन्द्र यादवद्धारा कानुन मन्त्रालयमा पद बहाली


उपप्रधान, कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले आफू संविधान संशोधन गर्ने ठाउँमा आइपुगेको बताएका छन् । आफूसँग सत्तारुढ दल नेकपाका दुई जना अध्यक्षले गरेको सहमति कार्यान्वयनको चरणमा पुगेको भन्दै उनले अब त्यसलाई अगाडि बढाउने जिम्मा आफ्नो काँधमा आइपुगेको बताए । सोमबार कानुन मन्त्रालयमा पदबहाली गर्दै मन्त्री यादवले संविधान संशोधन, कानुन निर्माण र विधिसँग सरोकार राख्ने ठाउँमा आइपुगेको बताए । मन्त्रालय हेरफेर गर्ने अधिकार प्रधानमन्त्री केपी ओलीलाई रहेको बताउँदै उनले भने, ‘त्यो पोलिटिकल कुरा, डिसिजन भएर अगाडि बढ्ने हो, संविधान संशोधन गर्ने भन्ने विषयमा दुईवर्ष अगाडि नै हस्ताक्षर भइसकेको हो, अब कार्यान्वयन गर्ने बेला आएको छ,’ उनले भने, ‘संविधान संशोधन बेला आएको छ।’

Sunday, November 24, 2019

समाजवादी पार्टीले सरकार नछाड्ने

समाजवादी पार्टी सरकारबाट तत्काल नबाहिरिने भएको छ। पार्टीको शनिबार अबेर रातिसम्म बसेको बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो। बैठकले अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठलाई सत्तारुढ नेकपासँग वार्ता गर्ने जिम्मेवारी दिने निर्णय समेत गरेको छ। यसैगरी मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीले असहमति जनाएको छ। गत बुधबार प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि समाजवादी पार्टी रुष्ट बनेको थियो। सरकारबाट बाहिरिने कि सरकारमै बसिरहने समाजवादीले शनिबार छलफल थालेको हो। उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवसँग कुनै सल्लाह नगरी प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरेपछि उनी असन्तुष्ट छन्।

Tuesday, November 12, 2019

दबाबमा उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव प्रधानमन्त्री केपी ओलीसँग रुष्ट भएका छन्। संविधान संशोधन गर्ने लिखित सहमति गरेर उनी डेढ वर्षअघि सरकारमा सहभागी भएका थिए। तर सरकार र सत्तारुढ दल नेकपाले संविधान संशोधनको पहल नगरेको र सरकारले गरिरहेका विभिन्न नियुक्तीमा समेत उनलाई कुनै भागबन्डा नदिँदा उनी आफ्नै पार्टीको दबाबमा परेका छन्। आफूसँग छलफल नगरी प्रदेश २ मा नयाँ प्रदेश प्रमुख नियुक्त गरेपछि यादव मंगलबार अचानक जनकपुर पुगेर मुख्यमन्त्री तथा पार्टीका उपाध्यक्ष लालबाबु राउतसँग छलफल गरे। उनले प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीसमेत रहेका पार्टीका प्रदेश प्रमुख विजय यादवसँग समेत छलफल गरे। छलफलपछि उनी बुधबार काठमाडौंमा बसेको पार्टीको पदाधिकारी बैठकमा सहभागी भए।