Thursday, August 22, 2019

प्रदेश दुईको नाम र राजधानीका लागी प्रदेशसभामा चार प्रस्ताव

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन दलहरूले बिहीबार प्रदेशसभामा आआफ्ना प्रस्ताव दर्ता गराएका छन् । राजधानीबारे केही दलमा समानता देखिए पनि नाममा भने सबैका छुट्टाछुट्टै प्रस्ताव छन् । प्रस्तावमा मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेसजस्ता नाम उल्लेख छन्। सत्तारूढ समाजवादी पार्टी र राजपाले मधेस प्रदेश राख्न सुझाएका छन्। उनीहरूले राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमाभित्र राख्ने प्रस्ताव गरेका छन्।


समाजवादी पार्टीका सचेतक शैलेन्द्र यादवले प्रदेशसभा सचिवालयमा दर्ता गराएको प्रस्तावलाई राजपा सांसद सुरिताकुमारी साह र बबिताकुमारी चौधरीले समर्थन गरेका छन्। राजपाका सचेतक प्रमेश्वर साहले दर्ता गराएको राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमाभित्र राख्ने प्रस्तावमा समाजवादी पार्टीका सांसद सञ्चमाया मोक्तान र चमेलीदेवी दासले समर्थन जनाएका छन्।

प्रमुख प्रतिपक्ष नेकपाले भने प्रदेशको नाम जानकी र राजधानी धनुषा प्रस्ताव गरेको छ। सांसद रामकुमार यादवले दर्ता गराएको नामसम्बन्धी प्रस्तावमा ज्वाला कुमारी शाह, शारदा थापा र नागेन्द्र राय यादवले समर्थन जनाएका छन्। जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषा जिल्लालाई राजधानी बनाउन नेकपा संसदीय दल नेता सत्यनरायण मण्डलले दर्ता गराएको प्रस्तावमा सांसदहरू सुन्दरबहादुर विश्वकर्मा, रवीन्द्र बैठा र बेची लुंगेलीको समर्थन छ।

प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा र राजधानी जनकपुर उपमहानगरपालिकाभित्र राख्ने प्रस्ताव दर्ता गराएको छ। काग्रेस सांसद नरेश कुमार यादवले दर्ता गराएको मिथिला भोजपुरा प्रदेशलाई सांसदहरु सरस्वती चौधरी, मंजु कुमारी र उपेन्द्र प्रसाद कुशवाहाले समर्थन गरेका छन्। काग्रेस संसदीय दलका नेता रामसरोज यादवले राजधानी जनकपुर उप महानगरपालिका भित्र राख्नु पर्ने प्रस्ताव दर्ता गराएका छन्।

नेपाली कांग्रेस पर्साका सांसदहरुले प्रदेशको नाम मध्य मधेस र राजधानी वीरगन्ज हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन्। कांग्रेस सांसद राजेश्वर प्रसाद साहले मध्य मधेसको प्रस्ताव दर्ता गराएका छन्। साहको प्रस्तावलाई कांग्रेसकै सांसदहरु ओम प्रकाश शर्मा, शंकर प्रशाद चौधरी र आशिया देवी थरुनीले समर्थन गरेका छन्। यस्तै, समाजवादी पार्टीका बारा–पर्साका केही सांसदहरुले प्रदेशको राजधानी वीरगन्ज हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन्। वीरगन्ज राजधानीका लागि बारा र पर्साका सांसदहरुले बिहान बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकमा चर्को दबाब दिएको थियो।

प्रदेशसभा संसद सचिवालयले साउन २६ गते प्रदेशको नाम र राजधानीबारे प्रस्ताव दर्ताका लागि भदौ ५ गतेसम्मको समय तोकेको थियो। बिहीबार मात्र प्रदेश सभामा प्रदेशको नामका लागि ४ र राजधानीका लागि ५ प्रस्ताव दर्ता भएको प्रदेशसभा संसद सचिवालयका उप–सचिव अवधकिशोर प्रसाद कुशवाहाले बताए। प्रदेशसभामा कुनै दलसित दुई तिहाइ बहुमत छैन। प्रदेशको नाम र राजधानी टुंग्याउन दुई तिहाइ अनिवार्य छ।

No comments:

Post a Comment