Thursday, August 15, 2019

काठमाडौमा मनाइयो भारतको ७३ औ स्वतन्त्रता दिवस

काठमाडौं स्थित भारतीय राजदूतावासले विहिवार भारतको ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । दिवसको शुभारम्भ नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तोलन गरेर भएको थियो । राजदूत पुरीले भारतका राष्ट्रपतिकोे सन्देश पढेर सुनाउदै  गएको ७२ वर्षमा भारतले विविध क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धिहरू बारे जानकारी दिएका थिए । राजदूतद्वारा तीन वीर नारी, पाँच एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई ५ करोड ३१ लाख नगद तथा कम्मल वितरण गरी सम्मान समेत गरियो ।


स्वतन्त्रता दिवसके अवसरमा राजदूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरूलाई पुस्तक उपहार स्वरुप प्रदान गरेको छ । राजदूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गरायो । यसले भारत सरकारको नेपालको सामाजिक–साँस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको दूतावासको भनाई छ ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ, जसले हजारौँ नेपाली जनताहरुलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै हजारौँ विद्यार्थीहरुका शैक्षिक आवश्यकताको पूर्ति गरेको छ ।

छिमेकी मित्रराष्ट्र भारतको ७३औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा राजदूतावासका कर्मचारीहरु तथा उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागिता रहेको जनाइएको छ । उक्त समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौं केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीतहरु प्रस्तुत गरे । नेपाल आर्मी ब्याण्डको सुमधुर प्रस्तुतीसँगै सो समारोहको समापन गरिएको थियो ।


No comments:

Post a Comment