Monday, July 15, 2019

बाढीले प्रदेश दुईमा व्यापक क्षती

लगातारको बर्षापछि आएको बाढीका कारण प्रदेशका आठ जिल्लामा १५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् । सबैभन्दा बढी रौतहटमा ५ जनाको मृत्यु भएको छ । धनुषा, महोत्तरी, बारा र पर्सामा २÷२ जनाको तथा सिरहामा १ जनाको मृत्यु भएको छ । उनीहरुको बाढी र डुबान तथा सर्पदंशका कारण ज्यान गएको प्रहरीको भनाई छ । धनुषाको चारनाथ नगरपालिकास्थित चारनाथ नदीमा डुबेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् । ५५ बर्षको जस्तो देखिने उनको सनाखत हुन सकेको छैन् । जनकनन्दनी गाउँपालिकामा डुबेर मृत्यु भएको अवस्थामा एक बृद्वको शव फेला परेको छ । अन्दाजी ६७ बर्षीय उनको पनि पहिचान खुल्न सकेको छैन् ।


रौतहट सदरमुकाम गौर नगरपालिका ३ निवासी शिवमंगल पटेलको टिकुलिया नदीमा डुबेर ज्यान गएको छ । सोही ठाउँका उमेश राउतको समेत डुबेर ज्यान गएको छ । यस्तै इशानाथ नगरपालिका १ मा डेरा गरी बस्ने भारतीय नागरिकको अत्यधिक बर्षाकाबीच छतमाथि शौच गर्न जाँदा त्यहींबाट लडेर मृत्यु भएको छ । यमनुनामाक्ष्ए गाउँपालिका १ मा २५ बर्षीय गायत्रीदेवी साहको भने सर्पदंशबाट मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

रौतहटको दुर्गाभगवती गाउँपालिका ४ का बिरेन्द्र मिश्रको पनि कल्भर्टमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बारामा दुई जना बालकको डुबेर मृत्यु भएको छ । परवानीपुर गाउँपालिक १ निवासी अरबिन्द यादवको १८ महिने छोरा बिकी यादवको घर नजिकै जमेको पानीमा तथा कलैया १३ निवासी १३ वर्षीय बालक अजित साहको बाटो बनाउन खनिएको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

पर्सा सदरमुकाम वीरगञ्ज महानगरपालिका १३ निवासी १४ वर्षीय बालक अनुप पटेलको सबैठा खोलामा डुबेर मृत्यु भएको छ । पर्साकै पर्सागढी नगरपालिका १ का १० वर्षीय निखिल पटेलको सिंयाही खोलामा बगेर ज्यान गएको छ । महोतरीमा एक युवकको शव डुबेर मृत्यु भएको अवस्थामा फेला परेको छ । भंगहा नगरपालिका ४ स्थित रातु खोलामा सनाखत हुन नसकेका १५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै बलवा नगरपालिका २ का ७० बर्षीय हमिद मियाँको रातु खोलामा बगेर ज्यान गएको छ ।

सिरहामा बाख्रा चराउन गएकी बालिकाको पनि जमेको पानीमा डुबेर मृत्यु भएको छ । मिर्चैया नगरपालिका ४ निवासी १० वर्षीया रागनी कुमारी महतोको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाको कल्याणपुर नगरपालिका ४ निवासी ५५ बर्षीय कामेश्वर यादव कमला नदीमा, सिरहाकै कर्जन्हा नगरपालिका १ का ७५ बर्षीय भोला साहको धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ स्थित कमला नदीमा, महोत्तरीको पिप्रा गाउँपालिका १३ बर्षीय युवराज ठाकुर जलेश्वर नगरपालिका ८ स्थित कल्भर्टमा डुबेर वेपत्ता भएका छन् ।

रेल्वे लिक पनि बाढीको चपेटमा

रेल सेवा सुरु नहुँदै जयनगर–जनकपुर रेल्बे लिक बाढीले बगाएको छ । लगातारको अविरल वर्षापछि आएको बाढीले जनकनन्दनी गाउँपालिकाको खजुरी स्टेशन नजिकै करिब ७० मिटर रेल्बे लिक बगाएको हो ।

नेपाल रेलवे साइट कार्यालयका इन्जिनियर विनोद ओझाले खजुरी स्टेशन नजिकै रहेको इनर्वामा करिब ६५–७० मिटर लिक बाढीले भत्काएको बताए । उनका अनुसार महोत्तरीको खुट्टापिपडाढीमा पनि लिक बाढीले भत्काएको छ ।

इन्जिनियर ओझाले बाढीले लिक भत्काएको विषयमा भारतीय पक्षलाई जानकारी गराइसकेको जानकारी दिए । पानीको बहाबले तलको माटो बगाएपछि लिक भत्केको उनको भनाई छ ।
 
बर्षाले जनकपुर उपमहानगरपालिकाको कुर्था स्टेशनको पर्खाल समेत भत्काएको छ ।


No comments:

Post a Comment