Sunday, February 4, 2018

प्रदेश नम्बर दुईको पहिलो बैठक सम्पन्न


दलान नेपाल /जनकपुरघाम

प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक आइतबार जनकपुरमा बसेको छ । झण्डै डेढ घण्टा चलेको आइतवारको पहिलो बैठकमा सबैदलका नेताहरुले शुभकामना व्क्तव्य दिएका थिए । जेयष्ठ सदस्य ललन लाल चौधरीको सभापतिव्तमा बसेको पहिलो बैठकले अर्को बैठक २९ गते १ वजेका लागी वोलाएको छ । बैठकले २ फागुनमा सभामुख चयन गर्ने समेत कार्यतालिका सार्वजनिक गरेको छ । आइतवार जनकपुरको कुवारामपुर स्थित शैक्षिक तालिम केन्द्रमा बसेको प्रदेश २ को पहिलो बैठक हेर्नका लागी स्थानियहरुको समेत उत्सुक देखिएका थिए । प्रदेशसभा सचिवालयले बैठकलाई टेलिभिजनहरु मार्फत प्रत्यक्ष प्रसारणको व्यस्था गरेको थियो ।

प्रदेश २ मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका नेताहरुको शनिबार साँझ बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले प्रदेशसभाको पहिलो बैठकको कार्यसूचि तय गरेको थियो ।  सर्वदलीय बैठकले फागुन २ गते बस्ने प्रदेशसभाको अर्को बैठकबाट सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो भने मस्यौदा नियमावली संशोधन माघ २९ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले गर्ने र सोही दिन बस्ने प्रदेशसभाको बैठकले सभामुख तथा उपसभामुखको निर्वाचन प्रक्रियाबारे टुंगो लगाउने निर्णय गरेको संघीय संसद सचिवालयका सहसचिव वंशिराज पौडेलले सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए ।

कार्यव्यस्था समितीले तय गरेको सुचि अनुसार  आइतवार बसेको पहिलो बैठकमा सबैभन्दा बलियो मुद्दाको रूपमा विकास र समृद्धि रह्यो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ११ बजेका लागि बैठक आह्वान गरे पनि एक घण्टा ढिलो गरी बसेको थियो । पहिलो बैठकको सभामुखको भूमिकामा ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाएका थिए । त्यसपछि राष्ट्रिय धुन बजेको थियो ।
 

बैठकबाट प्रदेशसभाको अन्तरिम कार्य्विधि पारित भएपछि शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । बैठक सुरु हुनेबित्तिकै मधेस आन्दोलनका सहिदहरुको तस्बिर सभामुखको कुर्सीको पछाडिको भित्तामा किन राखिएन भन्दै राजपाका नेताहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै राजपाका नेताहरु मनिष सुमन, डिम्पल झा, परमेश्वर साह लगायतकाले सहिदकै बलिदानीका कारण आफूहरू आज ऐतिहासिक बैठकमा बस्न पाउने मौका पाएकाले सहिदको तस्बिर नराखिएकोमा आपत्ति जनाए ।
 
विधायकहरुको विरोधलाई हेर्दै सभामुख चौधरीले सङ्घीय संसद् सचिवालयका सहसचिव वंशिराज पौडेलसँग सल्लाह गरेर तुरुन्तै सहिदहरुको तस्बिर बैठक कक्षमा राख्ने आदेश दिएपछि बैठक अघि बढेको थियो ।

बैठकमा सघीय फोरमका तर्फबाट लालबाबु राउत, राजपाका तर्फबाट जितेन्द्र सोनल, नेपाली कांग्रेसका तर्फबाट रामसरोज यादव, एमालेका तर्फबाट सत्यनारायण मण्डल र शत्रुधन महतो र स्वतन्त्र उम्मेदवार शेख अब्दुल कलाम आजादले शुभकामना मन्तव्य राखेका थिए ।

सांसदहरूको मन्तव्य पश्चात् सभामुख चौधरीले आगामी फाल्गुन २ गते बस्ने प्रदेशसभाको अर्को बैठकबाट सभामुखको निर्वाचन गरिने बताए । अर्को  बैठक माघ २९ गते दिउँसो १ बजेका लागि तय गरी स्थगित भएको छ ।
 
संसदीय दलका नेता छान्न दललाई सकस 

प्रदेश नम्बर दुईको संसदीय दलका नेता छनोट गर्न राजनीतिक दलभित्र सकस देखिएको छ । शनिबार जनकपुरमा राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेपाली कांग्रसको बैठक बसेपनि संसदीय दलको नेता छनोट हुन सकेनन ।
 

राजपाको केन्द्रीय पदाधिकारीको जनकपुरको सीताशरण होटेलमा बसेको बैठकमा संसदीय दलको नेता चयनको विषयले प्रवेशसमेत पाउन सकेन् । बैठकमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, महेन्द्रनारायण यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा लगायतको सहभागिता रहेको थियो । 
 
प्रदेशसभाको प्रथम बैठक बस्नु अगावै संसदीय दलको नेता चयन गर्ने उद्देश्यले बैठक बसेपनि उक्त विषयमा प्रवेश नै नभएर टुंगिएको अध्यक्ष मण्डलका नेताहरुले  बताए । बैठकले प्रदेशसभा अन्तर्गत गठन हुन लागेको समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुको नामको मात्र टुंगो लगाउन सकेको हो । संसदीय दलको नेता चयनको विषयमा अर्को बैठकबाट निर्णय हुने एक नेताले बताए ।
 
राजपाको बैठकले प्रदेशसभाको पहिलो बैठकको तयारी स्वरुप हुने सर्वदलीय बैठकमा सुरिता साह, अभिराम शर्मा र परमेश्वर पठाएको थियो । त्यसैगरी पैनल अध्यक्षतामा नवल किशोर साहको नाममा सहमती भएको थियो । कार्यव्यवस्था परामर्श समितिमा सुरिता साह र मनिष सुमनलाई राखिएको छ भने नियमावली मस्यौदा समितिमा राम नरेश राय, डिम्पल झा र रमेश पटेल रहेका छन । आइतबार हुने पहिलो प्रदेश सभा बैठकमा राजपाको तर्फबाट जितेन्द्र सोनलले शुभकामना मन्तव्य दिएका थिए ।
 
नेपाली कांग्रेसले पनि संसदीय दलको नेताको टुंगो लगाउन नसकेको र शनिबारको बैठकले मात्र प्रदेश सभाको प्रथम बैठकको तयारीमा सिमित भएको कांग्रेस धनुषाका सभापति रामसरोज यादवले बताए । कांग्रेसको तर्फबाट कार्यव्यवस्था परामर्श समितिमा रामरोज यादव र शोभा लामाले प्रतिनिधित्व गरेका छन् भने प्रथम बैठकमा स्वागत मन्तव्य रामसरोज यादवले राखेका थिए । माओवादी केन्द्रले समेत संसदीय दलको नेता छनोट गर्न सकेन ।
 
माओवादी केन्द्रको बैठकबाट कार्यव्यवस्था तथा परामर्श समितिमा रामकुमार यादवले प्रतिनिधित्व गरेका छन् भने प्रथम बैठकमा भरत साहले मन्तव्य राखेका छन ।


No comments:

Post a Comment