Wednesday, July 26, 2017

मधेशको परम्परागत पेशामा पलायनको पहिरो

सामाजिक सम्मान र व्यावसायिक अनुकूलताको अभावमा मधेशको आर्थिक मेरुदण्डको रुपमा रहेका जातिगत पेशाहरूमा पलायनको पहिरो गइरहेको छ ।

तराई–मधेशको अर्थतन्त्रमा देखिएको फेरबदलमा जातीय पेशा परिवर्तनले संकटको अवस्था सिर्जना गरेको छ । जातिगत पेशाबाट मधेशको अर्थतन्त्र थेगिएको थियो । त्यसले जातीय अन्तरनिर्भरता पनि कायम गरेको थियो । जातको जञ्जालले मधेशी समाजमा पछौटेपनको कहर निम्त्याएको स्वीकारोक्ति हुदै गर्ला, तर जातीय पेशाहरूले निर्माण गरेको अर्थतन्त्र, त्यससँग जोडिएको गतिशीलता र अबको तयारीबारे पनि विमर्श आवश्यक छ । हिजो कुनै जातिविशेषले गर्ने कामलाई त्यही समूहले निरन्तरता दिन्थे । त्यो बन्धन खुकुलो हुँदा एक जातिको पेशा–व्यवसायहरूमा अन्य जातिहरूको आगमन पनि बढ्दो छ । यस अर्थमा जातीय पेशाहरूलाई व्यावसायिक अवसरको रूपमा फिंजाउनुपर्ने खाँचो पनि छ ।

मधेशमा जातीय व्यवसायको लामो परम्परा छ । वर्णरत्नाकर पुस्तकमा सिम्रौनगढ राज्यको जातीय परम्पराहरू उल्लेख छ । त्यसबेला जातिगत पेशाहरू नै उद्योग–व्यवसाय थिए, जुन अहिलेसम्म चलेर आयो । पारम्परिक व्यवसायहरू दुई किसिमका हुन्छन्– एउटा, जाति निरपेक्ष र अर्को जातीय । जाति निरपेक्ष पेशा–व्यवसायमा सबै जातका मानिस संलग्न हुन सक्थे, हुन्छन् । यसमा कृषि, रेसम उद्योग, पशुपालन, घरामी (गृह निर्माण) आदि यसका उदाहरण हुन् ।

जातीय व्यवसायमा भने कुनै खास जातिविशेषको पारम्परिक एकाधिकार रहेको हुन्छ । ती जातिविशेषको चिनारी पनि पेशाको आधारमा बन्छ । जस्तो– कपाल काट्ने हजाम, कपडा धुने धोबी, फलामको काम गर्ने लोहार, सुन कमाउने सोनार, माटोको काम गर्ने कुम्हार आदि । मधेशको आर्थिक–सामाजिक संरचनामा यी व्यावसायिक जातिहरूको महत्वपूर्ण स्थान छ । यिनीहरूको क्रियाशीलता विना हिजोको समाज सुचारु हुन सक्दैनथ्यो । विभिन्न सामाजिक संस्कारमा जातिविशेषहरूको फरक–फरक भूमिकामा संलग्नता अनिवार्य थियो । यसरी विविध जातीय संलग्नताबाट मधेशको सांस्कृतिक जीवन चलेको थियो, सबैको स्वीकार्यता स्थापित थियो । अहिले भने जातीय पेशाप्रति सम्बन्धित जातिहरूकै नयाँ मनोविज्ञानले आर्थिक–सामाजिक–सांस्कृतिक परिवेशलाई संकटापन्न बनाएको छ ।

जातजातिमा मधेश धनी छ । मधेशका बरई, डोम, कुम्हार, मलाह, तत्मा, जोलाहा, पटवा, धोबी, धुनिया, लोहार, सोनार, कानु, हलुवाई, तेली, नुनिया, वरई, पासी, कलवार, लहेरी, चमार, माली आदि कुनै खास पेशा–व्यवसायसँग जोडिएका जातिहरू हुन ्। अहिले यीमध्ये कतिमा आफ्नो जातीय पेशा–व्यवसायप्रति अरुचि पलाएको छ भने कतिको पेशा नै समयको चपेटामा परिसकेको छ । जस्तो, उहिले नुनिया जातिले नुन बनाउने काम गर्थे । अहिले नुनिया छन, तर नुन बनाउने व्यवसाय छैन ।
 
मधेशको पारम्परिक जीवनमा विभिन्न जातिका पारम्परिक पेशा–व्यवसाय र तीसँग जोडिएका सीपहरू एकबाट अर्को पुस्तामा हस्तान्तरण हुदै आए । सीप हस्तान्तरणको प्रक्रिया अहिले विचलित भए पनि त्यसको आवश्यकता अद्यापि छ । तिनमा पनि खाद्य, पेय र प्रसाधन सम्बन्धी जातीय सीपको त झनै आवश्यकता छ ।
 
पेशामा परिष्कार

मूल समस्या के भयो भने, जातीय पेशाहरूले सामाजिक सम्मान र व्यावसायिक अनुकूलता पाएनन् । जस्तो, जुत्ता बनाउने, कपडा धुने जस्ता कामलाई अझै पनि हेय दृष्टिले हेर्ने गरिन्छ । बाँसको टोकरी, माटाका भाँडा बनाउने जस्ता जातीय कलालाई सस्तो र सुलभ बनेको प्लाष्टिकले विस्थापित नै गरिसक्यो । यसरी सामाजिक र व्यावसायिक रूपमा समेत किनारमा परेपछि परम्परागत पेशा अँगाल्ने इच्छा हराउनु अस्वाभाविक भएन ।
 
अहिले हजाम, धोबी, लोहार जे–जति जातीय पेशामा रहेका भए पनि ऊ चाहन्छ– सन्तानले अन्य काम गरून । परम्परागत पेशा भन्दा कठोर र कम कमाइ हुने भए पनि मनोवैज्ञानिक हिसाबले त्राण मिल्ने काम गरून । अर्थात, सामाजिक प्रतिष्ठाको लालसाले पुरानो पेशाको महत्व समाप्त पार्न अझ् सघाएको छ । परम्परागत जातीय पेशामा सामाजिक स्वीकार्यताको कमीले गर्दा नयाँ पुस्ता त झन् आफ्नो उत्तराधिकारबाट टाढिएका छन । त्यसमाथि पेशामा व्यावसायिकताको अभावले जीविकोपार्जन समेत कठिन भएको अवस्था छँदैछ ।
कुम्हार, धोबी, हजाम, बरई, डोम आदिका परम्परागत पेशाको भविष्य छ, तर अहिलेकै ढर्रामा टिकाउ हुदैन । तिनलाई टिकाउ बनाउन व्यावसायिक बनाउनु आवश्यक छ– व्यक्तिगत र सामूहिक दुवै रूपमा । जातीय पेशाहरूलाई स्यालन, लन्ड्री, जुत्ता मर्मत केन्द्र वा फर्निचर उद्योग जस्ता स्वरुप दिए सामूहिक रोजगारी पनि बढ्छ ।

पहिला खेती कर्म गर्नेहरूले आफ्नो पेशासँग गाँसिएका हजाम, लोहार, माली, डोम, बरई आदिलाई वार्षिक उब्जनीको केही हिस्सा दिन्थे । त्यसको अर्को फाइदा के थियो भने बसोबास मिश्रित बन्थ्यो, जसले गर्दा एकअर्काका आवश्यकताहरू परिपूर्ति हुनसकोस । अब पारस्परिकतामा आधुनिकीकरण अत्यावश्यक भएको छ । त्यसको लागि पूँजी चाहिन्छ । जातीय पेशामा लगानी भए त्यो व्यावसायिक त हुन्छ नै आयमूलक, आकर्षक र आत्मसम्मानयुक्त पनि हुन पुग्छ । पारम्परिक सीपहरूको संरक्षण हुन्छ र पेशाको स्वीकार्यता पनि बढ्छ ।

मधेशका शहर हुन् वा गाउँ, शिक्षित हुन् वा निरक्षरस सीप भएका हुन् वा नभएका, बेरोजगारी व्याप्त छ । यसको समाधान केहीलाई जागीर दिएर हुँदैन । यसका लागि रोजगारीको यस्तो चक्र सिर्जना हुनुपर्छ, जसले निरन्तर अवसर सिर्जना गरिराखोस । पूँजी उपलब्ध गराएर परम्परागत पेशामा आधुनिकीकरण गर्ने हो भने त्यसले व्यावसायिक अवसर सिर्जना गछ । यसमा अब स्थानीय सरकारहरूले विशेष भूमिका खेलेर खास–खास जातिका पेशाहरूलाई सबैको लागि आकर्षक बनाउनुपर्छ । स्थानीय सरकार भनेकै स्थानीय परम्परा र संस्कृतिको सम्वर्द्धन गर्ने निकाय भएबाट अब यसतर्फ तत्कालै सकारात्मक पहलको अपेक्षा गर्न सकिन्छ ।

स्थानीय आवश्यकता र गाउँघरको कच्चा पदार्थमा आधारित जातीय पेशा–व्यवसाय यसै पनि रोजगारी उपलब्ध गराउन सकिने एउटा दिगो क्षेत्रको रूपमा रहेको छ । मधेशका गाउँगाउँमा यस्ता उद्योगधन्दा संचालन गर्न सकिन्छ । त्यसका लागि ठूलो पूँजी र जटिल प्रविधि पनि चाहिन्न । परम्परागत सीप, बदलिएको समाज र बजारको आवश्यकता अनुसार लगानी गरे पुग्छ । त्यो अवस्थामा जातीय पेशाहरूको परिमार्जन र परिष्कार समेत भएर उद्योग र अवसरको अवस्था सिर्जना हुन्छ ।

श्रमप्रति सामाजिक सम्मान
गएको दुई दशकमा मधेशमा सडक, संचार र विद्युत् सेवा विस्तार भएको छ । गाउँहरू बजारमा रूपान्तरित हुँदै गएका छन् । उद्योग–व्यवसायको माग बढ्दो छ, माहोल पनि बन्दो छ । टेलिभिजन, रेफ्रिजेरेटर, मोटर, मोटरसाइकल, ट्रयाक्टर आदिको प्रयोग बढ्दो छ । यो माहोल अनुसार श्रमशक्तिको माग बढ्दो छ । मोबाइल, फ्रिजलगायत उपकरण मर्मत गर्ने मिस्त्रीदेखि नयाँ–नयाँ डिजाइन र प्रविधिका घर बनाउने जनशक्तिको माग थपिएको छ । अर्थात, मधेश फेरिएको छ ।

केही पहिलासम्म काठमाडौं र अन्य पहाडी शहरहरूको भवन निर्माण, तरकारी–फलफूल बिक्री, स्यालन, टेलरिङ र कवाड संकलनदेखि प्लम्बिङ र इलेक्ट्रिसियनसम्मका काममा रहेको भारतीयको पकड अहिले मधेशीहरूको हातमा आइसकेको छ । अवसरको पहिचान र त्यस अनुसार प्रशिक्षण भए रोजगारीका क्षेत्रमा यसरी सफलता पाइने रहेछ । अब स्थानीय सरकारहरूले बदलिंदो मधेशमा जातीय हस्तक्षेपको परम्परालाई कुन रूपमा बुझेर, कसरी सम्बोधन गर्छन, मधेशको अर्थतन्त्रले नयाँ टेवा पाउने, नपाउने कुरा त्यसैमा निर्भर हुनेछ । सबभन्दा महत्वपूर्ण कुरा चाहिं जातीय पेशासँग जोडिएको श्रमप्रति सामाजिक सम्मान बढाउन सक्नु नै हुनेछ ।

नोट - यो साम्रगी वरिष्ठ पत्रकार चन्द्रकिशोरले लेखेका हुन । हामीले यो साम्रगी हिमालखवर बाट साभार गरेका हौ ।

1 comment:

  1. FINANCIAL RESTORATION: fundingloanplc@yahoo.com

    Hello am Nathan Davidson a businessman who was able to revive his dying business through the help of a Godsent lender known as Jason Raymond the CEO of FUNDING CIRCLE INC. Am resident at 1542 Main St, Buffalo, NY.. Well are you trying to start a business, settle your debt, expand your existing one, need money to purchase supplies. Have you been having problem trying to secure a Good Credit Facility, I want you to know that FUNDING CIRCLE INC. is the right place for you to resolve all your financial problem because am a living testimony and i can't just keep this to myself when others are looking for a way to be financially lifted.. I want you all to contact this Godsent lender using the details as stated in other to be a partaker of this great opportunity Email: fundingloanplc@yahoo.com OR Call/Text +14067326622


    ReplyDelete