Sunday, June 4, 2017

मधेसको माहोल

राजनीतिक दलहरूबीच दोस्रो चरणको निर्वाचनका लागि सहमति नबन्दा मधेश अन्योलता छाएको छ । 

जनकपुर - जनकपुरको रामानन्द चोकमा लहरै रहेका चिया पसलहरूमा अचेल झन् भीडभाड छ । बिहानदेखि बेलुकीसम्म हुने जमघटमा मुख्य चर्चाको विषय हुन्छ, दोस्रो चरणको निर्वाचन, राजपाको आन्दोलन, उपेन्द्र यादवको निर्वाचनमा सहभागिता र प्रमुख दलहरूबीच  काठमाडौमा हुने छलफल र वार्ता ।

चुनाव होला कि नहोला ? राजपाले चुनावमा सहभागी हुन्छ कि हुदैन ? आदि यस्तै विषयहरूमा ‘चिया गफ’ चलिरहेको हुन्छ । चिया गफमा रमाइरहेका युवा मनोज साह निर्वाचन र राजपाको आन्दोलन दुवैप्रति संशय व्यक्त गर्दै थिए । कतारको एउटा कन्स्ट्रक्सन कम्पनीमा फाइनान्स म्यानेजरको रूपमा कार्यरत साह पछिल्लो एक महिनादेखि बिदामा घर आएका छन् । उनी भन्छन्, ‘मधेश आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन नगरी प्रमुख दलहरूले पेलेर अघि बढे चुनाव हिंसात्मक हुन सक्छ ।’

३१ वैशाखमा तीन वटा प्रदेशमा निर्वाचन सम्पन्न भइसकेको छ भने दोस्रो चरणको निर्वाचन ३१ जेठबाट सरेर ९ असार हुँदै १४ असारमा हुने भएको छ । पटक पटक चुनाव सर्दै गरेको र दलहरूवीच सहमति नभइसकेको अवस्थामा जनकपुरमा अधिकांश एउटै प्रश्न गर्छन्, के दोस्रो चरणको निर्वाचन मधेशमा होला ?


जनकपुरको रामानन्द चोकको मनोदशा अरू मधेशका अरू ठाउमा पनि देख्न सकिन्छ । संवाददाता, धनुषा, महोत्तरी, वीरगञ्ज, लाहान आदि विभिन्न ठाउ“ घुमेर जनतासँग अन्तक्र्रिया गर्दा उनीहरू चुनावको पक्षमा देखिन्छन् तर चुनाव हुन्छ वा हुँदैन भन्नेमा चाहिँ ढुक्क छैनन् ।

६ वटा मधेशी पार्टीहरू एकीकृत भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल आफूहरूको मागबमोजिम संविधान संशोधन नभएकाले निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको बताएका छन् । राजपाले आन्दोलनस्वरूप मसाल जुलुस, लाठी जुलुस प्रदर्शन गरिसकेको छ भने स्थानीय निर्वाचन कार्यालयलाई लक्षित गरेर निर्वाचन विथोल्ने गतिविधिहरू गरिरहेको छ ।

जसले गर्दा निर्वाचनको माहोल तात्न सकिरहेको छैन । दलहरू भित्री रूपमा चुनावको तयारीमा छन् भने बाहिर जुन रूपमा गतिविधि हुनुपथ्र्यो, त्यो देखिँदैन ।

निर्वाचन आयोग भने चुनावी तयारीमा सक्रियता साथ जुटेको छ । स्थानीय निर्वाचन कार्यालयहरूले मतदाता शिक्षा कार्यक्रम गरिरहेको आयोगले जनाएको छ । प्रमुख दलहरूले आन्तरिक रूपमा उम्मेदवार छनोटको प्रक्रिया अघि बढाए पनि खुला प्रचारप्रसार कार्यक्रम शुरु गरिसकेका छैनन् । 

धनुषा सिंग्याहीका राजकुमार साह भन्छन्, ‘निर्वाचनसम्बन्धी गतिविधि सार्वजनिक रूपमा नदेखे पनि आन्तरिक रूपमा दलहरूले तीव्र तयारी गरिरहेको आभास हुन्छ । तर, छिन–छिनमा पूरै राजनीतिक स्थिति नै परिर्वतन हुने भएकाले दलका नेताहरूसमेत संशकित छन् ।’

दुई वर्षअघि संविधान जारी भएको विरुद्धमा आन्दोलनका सहयात्री रहेका मधेशी शक्तिहरू निर्वाचनको समयमा दुई धारमा बाँडिएका छन्, यसले मधेशी मतसमेत विभाजित भएको देखिन्छ ।

अन्योलको भुमरी
पर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ताको बुझाइमा निर्वाचनप्रति मधेशका नागरिकदेखि राजनीतिक दलहरूको सबैको चासो भए पनि मधेशमा अन्योलता व्याप्त छ । उनी भन्छन्, ‘मधेशलाई सम्बोधन नगरीकन प्रमुख दलहरूलाई पनि चुनावी मैदानमा उत्रिन समस्या हुने देखिन्छ ।’ उनका अनुसार संविधानविरुद्ध मधेशमा जुन मनोविज्ञान पैदा भयो, त्यसलाई हटाउनुपर्ने पहिलो काम हो । राजपाले पुनः आन्दोलनको उठान गर्दा आम मधेशीमा पहिले संविधान जारी हुँदाको समयको आन्दोलनको अवस्था पैदा भएको छ । 



वीरगन्जमा राजपाको आन्दोलन कमान्ड सम्हालेका उक्त पार्टीका महासचिव शिव पटेल भन्छन्, ‘पहिलो चरणको निर्वाचनपछि मधेशमा पनि निर्वाचनप्रति उत्सुकता सबै ठाउँमा व्यापक रूपमा देखिएको छ, यद्यपि राजपा अन्योल देखिएकोले वातावरणले सार्वजनिक रूप ग्रहण गर्न नसकेको हो ।’

यही अन्योलका कारण हो, राजपासँगै निर्वाचनविरुद्धको आन्दोलनमा रहेका जनकपुरका विभिन्न युवा संघसंस्थाको अगुवाइ गरिरहेका सरोज मिश्र यस्तो अवस्थामा निर्वाचन भएमा हिंसा हुन सक्ने विश्लेषण गर्छन् । मधेश अधिकार संघर्ष समितिका संयोजकसमेत रहेका मिश्र भन्छन्, ‘कुनै एक पक्ष बाहिर रहेर निर्वाचन भएमा, त्यसले निर्वाचनको माहोललाई पूर्ण रूपमा प्रभावित पार्नेछ । तरल रहेको तराई–मधेशमा यसले हिंसात्मक वातावरणलाई प्रश्रय दिनेछ ।’

जनकपुरका अगुवा बुद्धिजीवी तथा साहित्यकार राजेन्द्र विमल राजपासँगको बिनासहमति प्रमुख दलहरू निर्वाचनमा गए त्यो ऐतिहासिक भुल हुने टिप्पणी गर्छन् । उनी भन्छन्, ‘जसरी सविधान जारी गर्दा उनीहरूलाई बाहिर राखेर मुलुकले अहिलेसम्म समस्या खेपिरहेको छ, यसले झनै त्योभन्दा बढी समस्या उत्पन्न गराउन सक्छ ।’

निरास मतदाता
केही महिनाअघि राजपामा समाहित भएको सद्भावना पार्टीका नेता राजु गुप्ता फोरम नेपाल प्रवेश गरेका छन् । लहानवासी उनले मधेश आन्दोलनताका यस क्षेत्रमा आन्दोलनको कमान्ड सम्हालेका थिए । गुप्ताको बुझाइमा आम मधेशी मतदाता निरास छन् । उनी भन्छन्, ‘निर्वाचनमा मत खसाल्नु एउटा कुरा हो तर मधेशी मनोवैज्ञानिक रूपमै निरास देखिन्छन् । लगातार भइरहेको आन्दोलन र संघर्षले मधेशीहरूले केही पनि पाएनन् भन्ने मनोभाव मधेशका शहरदेखि गाउँसम्म व्याप्त छ ।’ उनका अनुसार निर्वाचन गराउन खोजिएमा मधेशमा निर्वाचन नै हुँदैन भन्ने होइन तर मधेशी मतदाताहरू खुशी र उत्साहका साथ मतदानमा सरिक हुन्छन् जस्तो लाग्दैन । गुप्ताले यसो भने पनि फोरम नेपालका सबै नेताहरू उम्मेदवार छनोटदेखि चुनावका अन्य गतिविधिमा व्यस्त देखिन्छन् ।



बिनासंशोधन पहिलो चरणकै निर्वाचनमा भाग लिएको भन्दै उपेन्द्र यादवलाई राजपाका नेताहरूले संघीय गठबन्धनको संयोजकबाट हटाएर महन्थ ठाकुरलाई संयोजक बनाए । यादवले भने निर्वाचनमा भाग लिनुपर्ने बारेमा आफ्नै तर्कहरू दिँदै आएका छन् । यद्यपि, मधेशमा उनले चर्को आलोचना खेपिरहेका छन् ।

फोरम नेपालका राजनीतिक समिति सदस्य सप्तरीका शैलेन्द्र साह स्वयं पनि घुमाउरो रूपमा त्यसलाई स्वीकार्छन् । भन्छन्, ‘नचाहँदा नचाहँदै पनि हामी निर्वाचनमा गयौँ, यसको अर्थ हामीले एजेन्डा नै छाडेको हो भन्ने होइन ।’ उनका अनुसार मधेशमा निर्वाचन नै बहिष्कार गर्न सक्ने अवस्था नदेखेकाले पनि निर्वाचनमा जाने निर्णय पार्टीले लिएको हो । उनी भन्छन्, ‘निर्वाचन जस्तोसुकै परिस्थितिमा भए पनि मधेशीहरू भोट खसाल्न अवश्य जानेछन् ।’

आ–आफनै बुझाइ
उता जनकपुर उपमहानगरपालिका १४ का स्थानीय नन्दकिशोर महतो  निर्वाचन हुनै नसक्ने दाबी गर्छन् । पलम्बर मिस्त्री रहेका उनका अनुसार आन्दोलनको त्रासले अधिकांश मधेशी भोट खसाल्ने मनस्थितिमा छैनन् । तर, राजकुमार साह भने महतोको भनाइसँग सहमत छैनन् । उनी भन्छन्, ‘भोट कमैले हाल्लान्, त्यो अलग कुरा हो । तर, चुनाव नै हँुदैन भन्ने मलाई लाग्दैन ।’ यसरी महतो र साहजस्तै मधेशमा अचेल निर्वाचनलाई लिएर थरी–थरीको विमर्श भइरहेको देखिन्छ ।

गएको सोमबार राजपाले आन्दोलनको कार्यक्रमअन्तर्गत मधेशका सबै जिल्लामा अन्तक्र्रिया कार्यक्रम राखेको थियो । जनकपुरको व्यापार संघमा आयोजना गरिएको राजपाको सो कार्यक्रममा सहभागीहरूले मधेशी नेताहरूलाई प्रश्नमाथि प्रश्न तेस्र्याएका थिए, फलस्वरूप राजपाका स्थानीय नेताहरूले केन्द्रले निर्वाचनमा भाग लिने निर्णय गरे पनि आफूहरूबिना संशोधनमा भाग नलिने वाचा गरेका थिए । त्यसो त यसअघि नै महोत्तरी, धनुषा र रौतहटका राजपाको स्थानीय कार्यसमितिहरूले सार्वजनिक रूपमै विज्ञप्ति निकालेर बिनासंशोधन आफूहरू निर्वाचनमा नजाने अडान सार्वजनिक गरेका छन् । यसले केन्द्रीय नेताहरूलाई नैतिक दबाब परेको छ । सोमबार पुनः जनकपुरका युवाहरूले राजपाको नियतमाथि प्रश्न उठाएपछि स्थानीय अध्यक्षहरू परमेश्वर साह, संजय सिंहलगायत नेताहरूले आफूहरू प्रतिबद्ध रहेको सार्वजनिक उद्घोष गरे । सिंह भन्छन्, ‘विगतमा मधेशी नेताहरूले पटक–पटक धोका दिएकाले आम जनतामा गुनासाहरू व्याप्त देखिन्छन् । पछिल्लोपटक उपेन्द्रजी त्यतिकै सहभागी भइदिँदा हामीमाथि समेत अनेकन् प्रश्नहरू तेर्सिने गरेका छन् ।’

यसरी राजपाको एउटा खेमाको अडान प्रकट भए पनि मधेशमा अर्कोतर्फ कांग्रेस, एमाले, माओवादी केन्द्र र फोरम नेपाल, लोकतान्त्रिक फोरम उम्मेदवार छनौट गर्न व्यस्त छन् । सार्वजनिक रूपमा उनीहरूको खास गतिविधि नदेखिए पनि आन्तरिक रूपमा व्यस्त छन् ।
सोमवार वेलुकी नै धनुषाको तिनकौरियाका सुर्यनारायण गोइत फोरम नेपालबाट उक्त गाउँपालिकाको अध्यक्षको टिकट पाउने पक्का भएपछि उनले जनकपुरको एउटा होटलमा पार्टी दिए । उमेदवार बन्ने ‘सिग्नल’ पाएपछि ३२ हजार भन्दा बढी रुपैयाँको रक्सी आफ्ना आसेपासेहरूलाई खुवाए । शंकर नाम बताउने सो होटलका मालिक भन्छन्, ‘बल्ल पो चुनाव आएजस्तो लाग्न थाल्या छ ।’ मधेशमा निर्वाचनको माहोल बन्दै गर्दा उनीहरू राजधानीतिर पनि चियाइरहेका छन्, जहाँ राजपा र सरकाबीच वार्ता चल्ने गरेका छन् । यी वार्तालाई मधेशका नागरिक चासोपूर्वक हेरिरहेका छन् ।

राजपाको रडाको
१२ जेठमा राजपाले निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेयता काठमाडौमा हरेक दिन सत्तापक्षसहित प्रमुख दल र राजपाबीच वार्ता भइरहेको समाचार आइरहेको छ । राजपाका नेताहरूले प्रस्ट रूपमा मुख नखोले पनि सहमतिको वातावरण बन्न लागेको आशयसहितको अनेक समाचार आइरहेका छन् । यद्यपि, सहमति कसरी र कुन रूपमा भइरहेको छ, त्यो ‘अन्धाले हात्ती छामेजस्तो’ छ । राजपा उपाध्यक्ष वृषेशचन्द्र लाल भन्छन्, ‘सबै पक्षको बीचमा संवाद हुनु नै आफंैमा सकारात्मक पक्ष हो ।’
 
सहमतिको प्रयास घनीभूत रूपमा चलिरहेको नेताहरूले स्वीकारे पनि औपचारिक रूपमा त्यसलाई उनीहरू पुष्टि गर्न चाहँदैनन् । राजपासम्बद्ध स्रोतका अनुसार, पछिल्लो समय बैठकमा प्रमुख विपक्षी एमालेलेसमेत संविधान संशोधनप्रति केही लचकता देखाएको छ । राजपाका महासचिव सीपी सिंह भन्छन्, ‘पहिलेभन्दा एमाले केही सकारात्मक रूपमा बैठकमा पेस भए पनि अहिले नै विश्वास गर्न सक्ने अवस्था निर्माण भइसकेको छैन ।’

प्रमुख दलहरू र राजपाबीच लगातार छलफल अघि बढेपछि सरकारले ३१ जेठको दोस्रो चरणको निर्वाचन मिति सारेर ९ असारमा तोक्यो । विरोध भएपछि पुनः सारेर १४ असारमा पु¥याएको छ । यद्यपि, राजपाले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिइसकेको छैन । आन्दोलन नेताहरूले बिनासंशोधन आफूहरू निर्वाचनमा जानै नसक्ने, बरु त्यस्तै परे आफूहरूले सांकेतिक बहिष्कार गर्नेसम्मका कुराहरू अनौपचारिक रूपमा बताइरहेका छन् । 



एमालेले सविधान संशोधनका लागि निर्वाचनपछि आफूहरू तयार रहेको धारणा राजपासँगको छलफलमा राखेको छ । राजपाका नेताहरू भन्छन्, ‘संशोधनका लागि निर्वाचनपछि एमालेले सघाउने कुराको ठोस ग्यारेन्टी आएमा आफूहरू निर्वाचनमा जान सक्ने सम्भावना छ । राजपा महासचिव सिंह भन्छन्, अहिले गर्न सक्ने सबै काम गरेर संशोधनका लागि ठोस ग्यारेन्टी प्रमुख दलहरूले गरे हामी निर्वाचनमा जान सक्छौँ ।’ तर, त्यसका लागि जनसंख्याको आधारमा निर्वाचन, स्थानीय तहको संख्या बढाउनेदेखि मन्त्रिपरिषद्बाट हुने अन्य काम अहिले नै हुनुपर्ने सिंहको भनाइ छ । पहिलो चरणको निर्वाचनलगत्तै सरकारले नै तराई–मधेशमा दुई महानगरपालिकासहित २२ ओटा स्थानीय तहको संख्या बढाउने निर्णय गरेको थियो । तर, सर्वोच्चले त्यसमा रोक लगाइदिएको छ ।

काठमाडांैमा चलिरहेको संवादमा सहभागी एक शीर्ष मधेशी नेताका अनुसार सरकार र राजपा दुवै पक्षले निर्वाचनको मिति केही पर धकेलेर शून्यताको अवस्था सिर्जना गरेर मन्त्रिपरिषद्बाट हुने कामहरू फटाफट गराउने दाउमा थिए, जसमा निर्वाचन आचारसंहिता लागु नहोस् र त्यसले राजपालाई समेत निर्वाचनमा आउने बाटो खुल्ने दाउ थियो ।

सरकारले पछिल्लो साता लगातार सारिरहेको निर्वाचन मितिले आचारसंहिता कार्यान्वयन नहुने देखिएपछि सरकारले गर्नुपर्ने केही कामहरू हुन सक्ने आकलन सम्बद्ध स्रोतको छ । यद्यपि सरकारले अहिले त्यस्तो गर्न नसकेको खण्डमा दोस्रो चरणको निर्वाचन कात्तिक सम्मकै लागि पनि सार्ने तयारी चलिरहेको नेताहरू दाबी गर्छन् । एक नेता भन्छन्, ‘अहिले पहिलो प्रयासमा असारभित्रै निर्वाचन मिति सारेर कामहरू गर्ने प्रयास भइरहेको छ, यदि यो सफल भएन भने कात्तिकमा दोस्रो चरणको निर्वाचन सार्न सक्ने सम्भावना छ ।’
आफूहरूको न्यूनतम माग पूरा नभए निर्वाचनमा नजाने राजपाका केन्द्रीय नेताहरूले प्रस्टाइसकेका छन् । राजपा महासचिव केशव झाका अनुसार सरकार र सतारूढ दलहरूसहित प्रमुख दलहरू कसरी अगाडि आउँछन्, त्यसमै धेरै कुराको छिनोफानो हुनेछ ।
 
काठमाडौंमा प्रमुख दलहरूसँग पछिल्लो समयमा घनीभूत संवादमा राजपा रहे पनि उसले आन्दोलनका लागि सबै केन्द्रीय नेताहरूलाई जिल्ला जिल्लामा परिचालन गर्ने निर्णय गरिसकेको छ । जिल्ला कार्यसमितिहरूलाई संघर्ष समिति गठन गर्न सर्कुलर जारी गरिसकेको छ ।
 
यसरी काठमाडांैको संवाददेखि मधेशको ग्राउन्डमा भइरहेको अनेकन् गतिविधिले मधेशमा निर्वाचनप्रति दिनप्रतिदिन चासो बढदै गए पनि निर्वाचनको माहोल भन्ने बन्न सकेको छैन । धेरैले काठमाडौंमा राजपाका शीर्ष नेताहरूलाई निर्वाचनमा जान भारतसमेतले दबाब दिइरहेको भने पनि तिनका स्थानीय नेताहरूमा त्यसको प्रभाव देखिएको छैन । राजपा र प्रमुख दलहरूबीच संवाद बाक्लिँदै गर्दा मंगलबार राजपाका शीर्ष नेताहरू भारतीय राजदूतावास छिरेपछि काठमाडौंदेखि मधेशसम्मै त्यसले राम्रै चर्चा पाइरहेको देखिन्छ । स्थानीय मधेशी अगुवा नेताहरूसम्म खासै कुनै ठोस सूचना नआए पनि उनीहरूले केन्द्रीय नेतृत्वलाई सोमबार कडा रिर्पोटिङहरू पठाएका छन् । जिल्ला–जिल्लामा सबै पक्षसँग अन्तक्र्रिया गरेर केन्द्रलाई पठाएको बिफ्रिङमा स्थानीय नेताहरूले मुद्दाको सम्बोधनबिना निर्वाचनमा जान कुनै दबाब नथेग्न सुझाएका छन् । मंगलबार त्यसबारेमा काठमाडांैमा राजपाका अध्यक्षमण्डलका सदस्यहरूलेसमेत बिहानै छलफल गरेका थिए । त्यही दिउँसो उनीहरू दूतावास पुगेको समेत समाचार आयो । राजपाका नेताहरूले औपचारिक रूपमा अहिलेसम्म त्यस्तो दबाब भारतबाट नआएको बताउँदै आएका छन् । यद्यपि, भारतीय नीतिलाई नजिकबाट नियालिरहेका जानकारहरू राजपालाई भारतले हाललाई निर्वाचनमा जान दबाब दिइरहेको बताउने गरेका छन् ।
 
मंगलबारदेखि स्थानीय निर्वाचन कार्यालयहरूमा राजपाका आन्दोलनकारीहरूबाट तालाबन्दी गर्न थालिएपछि वातावरण असहजतातर्फ गइरहेको बेला १७ जेठमा राजपाले हाललाई सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ । यसरी वार्ताको वातावरण बन्दै गएको देखिन्छ ।
 
काठमाडौंमा प्रमुख दलहरू र राजपाबीच कहिले, कस्तो सहमति हुन्छ ? त्यसले नै मधेशमा दोस्रो चरणको स्थानीय निर्वाचनको आधार तय गर्न आधार बनाउने स्थानीय जानकारहरू बताउँछन् । नभए असार १४ को चुनाव पुनः सरेको समाचार आए कुनै आश्चार्य नमाने हुन्छ ।
 
याहा पनि पढनुस -  http://today.annapurnapost.com/politics/454
स्थानीय तह निर्वाचन : मधेश अन्योलमा
स्थानीय तह निर्वाचन : मधेश अन्योलमा
स्थानीय तह निर्वाचन : मधेश अन्योलमा
 

No comments:

Post a Comment