Sunday, April 30, 2017

कसरी भयो मधेशी मिलाप ?

सधै आपसी मतभेदमा रुमल्लिएको मधेश राजनितीमा मधेशी मोर्चा सम्बद्ध ६ पार्टीको एकिकरणले नया तरङ पैदा गरेको छ । कसरी सम्भव  भयो  यो एकीकरण ? 

६ बैशाख, अबेर राती मधेशी मोर्चाका पांच अध्यक्ष ( तमलोपा–महन्थ ठाकुर, सद्भावना–राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टी–शरदसिंह भण्डारी, तराई मधेस सद्भावना पार्टी–महेन्द्र यादव, फोरम गणतान्त्रिक–राजकिशोर यादव) ले एउटै पार्टी बनाउने निर्णय गरे । र, ७ बैसाखमा घोषणाको कार्यक्रम तय गरियो । 

७ बैसाख विहानैदेखि पांच अध्यक्षहरुले नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झालाई पनि नवोदित पार्टीमा मिसिन आग्रह गरे । तर झाले तत्कालका लागि उक्त एकीकरणमा सहभागी नहुने जवाफ फर्काए ।

घोषणा कार्यक्रम निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भयो । पांचै जना अध्यक्षले कार्यक्रममा बोले । पुछारमा तमलोपाका ठाकुर बोल्दै थिए । त्यही बेला झा टुप्लुक्क सभास्थल झुल्किए । हृदयेस त्रिपाठी र वशेषचन्द्रलालले उनलाई मञ्चमा डोराएर लगे भने राजकिशोर यादवले फुलमाला लगाइ दिए । केही घण्टा अघि एकीकरणमा तत्काल सामेल नहुने अडानमा रहेका झा किन एकाएक फेरिए । नेपाल सद्भावना पार्टीका महासचिव राजीव झा भन्छन्–‘आम मधेसी जनता र कार्यकर्ताको दवाब थेग्न नसकेपछि एकीकरणमा सहभागी भयौं ।’

तर, स्रोतको दावी छ, झाले लैनचौरको सल्लाह र दबाबका कारण अन्तिम समयमा एकीकरण प्रक्रियामा सामेल भएका थिए । ७ बैसाख विहानै झा लैनचौरस्थित भारतीय दुतावास पुगेका थिए । दुतावासका अधिकारीसंग उनले एकीकरणमा विस्तारै सहभागी होउला भनेर आफ्नो धारणा सुनाएका थिए । जवाफमा ती अधिकारीले ‘आफ्नो राजनीतिक भविष्य हेरेर जे निर्णय लिंदा पनि हुन्छ’ भनेपछि फर्किएका झा अन्ततः एकीकरण प्रक्रियामा सामेल हुन ढिलोगरी कार्यक्रम स्थल पुगेका थिए ।

स्रोत भन्छ, राजनीतिक भविष्यमै जोखिममा पर्ने देखेपछि झा त्यसै दिन एकीकरणमा सामेल भएका हुन् । उनी निकट राजीव झा भन्छन्–‘अढाई दशक लामो सदभावनाको इतिहास समाप्त हुने गरी हामी एकिकरणमा सहभागी भयौ ।’
 
भारतीय चासो
 
६ वटा मधेसी दल मिलेर राष्ट्रिय जनता पार्टी गठन हुनुका पछाडि केही महत्वपूर्ण कारण छन् । जसमध्ये पहिलो हो, हालै पारित राजनीतिक दल सम्बन्धी कानून । जुन कानूनले राष्ट्रिय मान्यता प्राप्त दल हुनका लागि निर्वाचनमा खसेको मतको न्यूनतम तीन प्रतिशत मत सम्बन्धित पार्टीले पाउनै पर्ने सीमा कोरिदियो । अर्थात् ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्थाले साना र विभाजित रुपमा रहेका दलहरु मिल्न उत्प्रेरित भए ।
 
मधेसी दलहरुवीचको एकीकरणको एउटा कारण यही थ्रेसहोल्ड हो । राजपाका नेता बृषेशचन्द्र लाल भन्छन, ‘मधेशी पार्टीहरुको एकिकरणमा थ्रेहोल्डको भुमिका महत्वपुर्ण सावित भयो ।’
 
९ चैत, ०७३ मा संसदले थ्रेसहोल्ड पारित गरिरहदा मोर्चाका केही शीर्ष नेता तमलोपाको पार्टी कार्यलयमा अनौपचारिक छलफलमा थिए । थ्रेसहोल्ड सम्बन्धी समाचार सुनेपछि एकना अध्यक्ष..ले भने, अब हामीहरु नमिली सुखै छैन । तमलोपा अध्यक्ष ठाकुरले थपे, ‘अधिकारको लडाईमा पनि मधेसीहरु एक हुदा सजिलो हुन्छ ।’
 
पहिलो संविधानसभामा बलियो उपस्थिति भएका मधेसी दल दोस्रो संविधानसभा सम्म आइपुग्दा पटक पटक विभाजित र कमजोर भइसकेका थिए । अहिले मिलेका ६ दलको संसदमा २५ सिट छ । यी बाहेक अब मधेसमा उपेन्द्र यादव नेतृत्वको फोरम छ भने विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक छ । जसको संसदमा क्रमसः १४ र १७ सिट छ ।
 
दोस्रो, मधेसी दलहरु मधेसमै आलोचित हुदै थिए । सत्ता राजनीतिलाइ बढि प्राथामिकता दिने मधेसी दलहरु सत्ताकै लागि भनेर पटक–पटक विभाजित भएका छन् । धेरै समूहमा बाडिएका मधेसी दलप्रति जनस्तरमा गतिलो छाप थिएन र यी पार्टीहरु एक हुनुपर्छ भन्ने धारणा धेरै मधेसीहरुमा थियो । मधेसी बुद्धिजीवी, लेखक, एक्टीभिस्टहरुको पनि मधेसी दलहरु एकीकरण हुनुपर्छ भन्ने धारणा राख्दै आएका थिए । त्यो दबाबले पनि यी दलहरु एक हुन सहायक भएको छ ।
 
तेस्रो, मधेसी दलहरुको उपस्थिति कमजोर हुदै जानु । संविधान जारी गरेपछि मधेसी दलहरु असन्तुष्ट भएर आन्दोलनमा उत्रिए । भारतले नाकाबन्दी लगाउने अवस्था सम्म आयो तर त्यसले मधेसी दलहरुको मुद्दा सम्बोधित भएन । त्यसकारण मधेसी दलहरुले गर्ने आन्दोलन पनि कमजोर हुदै गयो । आन्दोलन कमजोर र कम प्रभावकारी हुदै गएपछि नेताहरुमा एकीकरणको भाव जन्मिएको विश्लेषकहरु दावी गर्छन् ।
 
चौथो महत्वपूर्ण कारण हो, भारतीय रुचि । भारतले नेपाली राजनीतिमा मधेसलाई एउटा ‘कार्ड’का रुपमा प्रयोग गर्दै आएको छ । त्यो पटक–पटक सतहमा प्रतिविम्बित भएको छ । हुन त नेपाली राजनीतिमा अरु राष्ट्रिय र ठूला दलहरुमा पनि भारतीय प्रभाव नभएको होइन । कतिसम्म भने, अहिलेको पुष्पकमल दाहाल गठबन्धन समेत भारतकै चासोमा बनेको भनिन्छ । तथापि भारत नेपालमा बलियो ‘प्रो इण्डियन’ पार्टी निर्माण गर्न चाहान्छ, जहा उसको प्रभाव अधिक होस् । ‘मधेसी दलहरुवीच एकता हुने हो भने त्यस्तो दल बन्न सक्ने भारतीय अधिकारीहरुको ठम्याई रहेकैले यो एकीकरणलाई उनीहरुले पनि सहयोग गरे’, एक मधेसी नेता भन्छन्–‘एकीकरण प्रक्रिया चल्दै गर्दा थुप्रै पटक भारतीय दुतावासका अधिकारीहरुसंग छलफल भएपछि यसले मुर्तरुप लिएको हो ।’
 
स्रोतका अनुसार पछिल्लो एक डेढ महिना एकीकरण प्रक्रियाले रफ्तार पकडिएको थियो । पूर्व भारतीय राजदूत रणजीत राय गएको र नया राजदूत पुरी नआइसकेकाले यसक्रममा डिसिएम विनयकुमारको सक्रियता बढि थियो । मधेसी दलहरुलाई एकीकरणका लागि उत्प्रेरणाको काम उनैले गरे । ‘भारतका नेता, व्यूरोक्रेट्स सबैले तिमीहरु एक नहुदा आन्दोलन पनि कमजोर भयो र प्रभाव पनि त्यसैले सबै एकै ठाउ आउनुको विकल्प छैन भनेर पटक पटक सुझाएका थिए’, ती नेता भन्छन्–‘प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल आउदा मधेसी नेताहरुसंगको भेटघाटमा आपलोग एक हो जाइए भनेकै हुन् ।’
 
मलेठपछि बढेको सक्रियता

मोदीले मात्रै होइन, मधेसी नेताहरु स्वयं पनि दोस्रो संविधानसभाको पराजय पछि बेलाबखत सबै एक ठाउमा आउनुपर्ने कुरा गर्थे । नेताहरुको व्यक्तिगत इगो र प्रतिष्ठाका कारण कतिपय बेला एकीकरणका प्रयास भएपनि ती वीचमै तुहिन्थे । यसपटक एमालेसंग सप्तरीमा भएको भिडन्तपछि फेरि मधेसी दलहरु एक हुनुपर्ने सोचाईमा पुगे ।
 
सप्तरी भिडन्तका क्रममा मारिएका परिवारको शोकसभा मलेठमा हुदै गर्दा यी दलवीच एकीकरणको कुरा पुनः उठेको थियो । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव भन्छन्–‘मलेठ शोकसभालाई हामीले एकीकरण अभ्यास बढाउने माध्यामका रुपमा उपयोग गर्यौ र त्यहा मधेसी दलवीच एकीकरण गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइयो ।’ उनका अनुसार, उनी लगायत महेन्द्र यादव, शरदसिंह भण्डारीले एकीकरण गरेर पार्टी बलियो बनाउने छलफल यसअघि नै गर्न थालिसकेका थिए । ‘हामी तीनै जना विच चैतको पहिलो हप्ता नै एकिकरणको वारेमा आन्त्रिक सहमती भइसकेकै थियो’, राजकिसोर भन्छन्–‘मलेठ यसलाई थप अघि बढाउने रणनीतिक थलो थियो । हामीले उपयोग गर्यौं ।’ मलेठ जानु अघि १२ चैतमा तीन नेताले बर्दिवासमा एकीकरणको मुद्दा अघि बढाउने छलफल पनि गरेका थिए ।
 
मलेठ शोकसभा पछि १५ चैतमा पुन बर्दिवासमा मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक बस्यो । १७ चैतमा राजकिशोर दिल्ली उडे भने अरु नेताहरु एकीकरण अभ्यासमा सक्रियतापूर्वक जुटे । रामनरेस राय, केशव झा, सिपी सिंह सहित दोस्रो तहका नेताहरु सक्रिय देखिए । त्यस्तै लक्ष्मणलाल कर्ण, अनिल महासेठ, हृदयेस त्रिपाठी विशेषचन्द्र लाल अािदको सक्रियता पनि बढेको थियो ।
 
भैसेपाटीस्थित सांसद निर्जला राउतको घरमा मधेसी मोर्चाका नेताहरुको अनौपचारिक छलफल पटक पटक भयो । २४ चैतमा भएको बैठकको भोलिपल्ट २५ चैतमा नया भारतीय राजदूतसंगको परिचयात्मक कार्यक्रम थियो । उक्त परिचयात्मक कार्यक्रम तथा लन्च मिटिङमा एकीकरणको प्रसंग पनि उठेको एक सहभागी नेता बताउछन् । ‘भारतीय राजदुतले त्यसको भोली पल्टै विहान पुन मधेशी अध्यक्षहरुलाई ब्रेकफाष्ट बैठकका लागी डाके’, ती नेता भन्छन्–‘२६ चैतको उक्त ब्रेकफाष्ट बैठक पछि यो प्रक्रियामा सदभावना र तमलोपा सहभागी हुन पुग्यो ।’
 
त्यस पछि २७ र २८ चैतमा राजेन्द्र महतो समेतको सहभागीतामा एकिकरणका लागी शिर्ष तहको बैठक बस्यो ।  । त्यसपछि ३० चैतमा गते पुन मधेशी अध्यक्षहरु भारतीय राजदुतको डिनर बैठक भयो । त्यस पछि २ बैशखमा राजेन्द्र महतोको घरमा एकिकरणका लागी पुन बसेको बैठकले एकिकरणको घोषणाको तयारी नै थाल्ने निष्कर्ष निकाले ।  ३ बैशाखमा  विहान र वेलुकी गरी दुइ चरणमा सासंद र्निजला राउतको भैसीपाटी स्थित घरमा पुन नेताहरु बैठक गरे । जुन बैठकले ४ सदस्यीय कार्यदल गठन गर्यो । केशव झा, रामनरेश राय, सिपी सिंह र मनिष सुमन सम्मलीत चार सदस्यीय कार्यदललाई ४ गते नै एकिकरणको सम्पुर्ण खाका बनाउन निर्देशन गरे ।
 
४ बैशाखको साझ पुन राउतकै भैसीपाटी स्थित घरमा बैठक तया भएको थियो । । तर उक्त बैठक अगावै राजेन्द्र महतोले त्यही दिन थारु अगुवा राजकुमार लेखी संग एकिकरण गरे पछि उक्त बैठकमा नेताहरु विच भनाभन भएको थियो । बृहद एकिकरण घोषणाको तयारी चलीरहदा महतोले लेखिसंग गरेको एकिकरणलाई नियतसंग जोडर प्रश्न उठाएका थिए । पछिल्लो समय विकसित समहतीय वातावरण धुमिलिन थालेपछि त्यो तनाव क मगर्न भारतीय दुतावास पुन सक्रिय भएको थियो । स्रोतका अनुसार, नेपाल स्थित भारतीय खुपीया एजेन्सी रअका प्रमुख विवेक जुहारीले सवै अध्यक्षसंग फोन सम्पर्क गरी एकीकरण प्रक्रिया अघि बढाउन आग्रग गरेका थिए । एक मधेसी नेता भन्छन्–‘त्यस पछि  ५ बैशाखमा पुन संवादको कडी जुडयो । सदभावना र तमलोपा सहित सवै दूईपक्षिय र बहुपक्षिय वार्ताहरु ५ बैशाखमा भयो ।’  ५ बैशाखकै राती ८ वजे सदभावना पार्टी कार्यलयमा नेताहरुको बैठक र एकिकरणको मोडल लिपीवद्ध गरे जुन बैठकमा राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, राजनकिशोर यादव, सहितका नेताहरु सहभागी थिए ।
 
६ बैशाखको विहानै शरदसिंग भण्डारी र महेन्द्र यादव विच  त्यही खाकाको आधारमा छलफल भयो ।  १२ वजे छलफलमा महतो सहभागी भए । यता विहानै राजकिशोर यादव र अनिल झा विच पनि छलफल भएको थियो । ६ बैशाखमा यसरी नेताहरु विच विभिन्न तहमा दिनभरी नै १ दर्जन जती बैठकहरु चलीरह्यो । जुन बैठकहरुको परिमाण स्वरुप साझ साढे ६ वजे एकिकरणको अन्तिम टुगो लाग्यो ।
 
राती साढे ८ वजे अध्यक्षहरुको मात्रै डिनर मिटंग जाउलाखेल स्थित सेलेब्स रेष्टुरेष्टमा राखियो । जाहा अनिल झा अनुपस्थित भए । ५ ओटा अध्यक्षहरु राती पौनौ ११ वजे सम्म रहे र अनिल झा नआए पनि ५ ओटै पार्टीको एकिकरण भोली ७ बैशाखमा गते घोषणा गर्ने अन्तिम निष्कर्ष निकाले । यसरी १३ चैतमा सप्त्तरीको मलेठमा आयोजना गरिएको शोकसभामा वाट सुरु भएको एकिकरणको पछिल्लो चर्चाले मुर्त रुप लियो ।  एकीकरणमा सक्रिय एक नेता केशव झा भन्छन्–‘यस पाली हामीले सुरुमै मिडियावाजी नगर्ने आन्तरिक सहमती गरेका थियौ । जुन धेरै हद सम्म सवैले पालना गरेकाले नै पछिल्लो समयमा चैत पहिला हप्ता देखि सुरु भएको प्रयासहरु अन्तत सफल भयो ।’ 
याहा पनि पढनुस -     http://today.annapurnapost.com/aawaran/354
कसरी भयो मधेशी मिलाप ?

 

No comments:

Post a Comment