Tuesday, April 4, 2017

फाटयो हुलाकीको हुस्सु

पुरा हुदै हुलाकी सडकको सपना
सरकारले बजेट विनियोजन गरेर काम अगाडि बढाएपछि हुलाकी सडक निर्माणको २६ वर्षको सपना विपना बन्दै ।

भौतिक योजना मन्त्री रमेश लेखकले २८ पुसमा हुलाकी राजमार्गको माईस्थान–गौशाला खण्ड शिलान्यास गरे । त्यतिबेलासम्म महोत्तरी गौशालाका रामबाबु यादवलाई उक्त सडक बन्ने विश्वास थिएन । दुई दशकदेखिको सपना पुरा हुने आशा पलाएको छ अहिले उनमा । ‘यो सडक बन्न थालेको कुरा पनि सपनाजस्तो पो लाग्छ,’ यादव भन्छन्, ‘यसबाट तराई मधेशको कायापलट हुने आशा छ ।’ डेढ दशकदेखि वर्षामा हिलो र हिउदमा धुलोबाट आक्रान्त छन्, सडक आसपासका बासिन्दा । दक्षिणको भारत सीमावर्ती इलाकाका बासिन्दामा बल्ल चिल्लो कालोपत्रे सडकमा हुइकिन पाइने आशा पलाएको छ । महोत्तरीको सम्सी नाकासम्म सडक जोडिदा निकट भविष्यमै व्यापार/व्यवशाय मौलाउने आशामा छन् उक्त जिल्लाका बासिन्दा ।

राणाशासन कालमा चिठ्ठीपत्र बोक्ने हल्कारा (हुलाकी)हरू हिड्ने परम्परागत मार्ग पछ्याउदै यस राजमार्गको रेखांकन गरिएको हो । त्यही परम्परागत पहिचानमा आधारित भएर हुलाकी राजमार्ग नामाकरण भएको हो, जुन पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्म जोडिन्छ । पूर्वपश्चिम राजमार्गकै समानान्तर सडक हो यो, जसको लम्बाइ एक हजार सात सय ९२ किलोमिटर छ । १९ वटा विन्दुमा पूर्वपश्चिम राजमार्गसग उक्त सडक जोडिएको छ ।

२०४७ सालमा नेपाल भ्रमणमा आएका तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले हुलाकी राजमार्ग आफ्नो मुलुकले निर्माण गरिदिने आश्वासन दिएका थिए । तर, त्यसको १४ वर्षपछि अर्थात् ०६१ सालमा मात्र भारतले यसको निर्माण गरिदिने सम्झौता भयो । त्यतिबेलासम्ममा ६४ दशमलव ८४ किमि सडक मात्र कालोपत्रे भएको थियो । उक्त सडक पुरा हुन एक सय ४९ वटा पक्की पुल निर्माण गर्नुपर्छ । तीमध्ये ५८ वटा मात्र निर्माणाधीन छन् ।

विपना बन्ने क्रममा

मधेशको मुहार फेर्ने मेरुदण्ड मानिएको यो सडक हालसम्म कागजमै सीमित थियो । वर्षौंदेखि यसले दलहरूको चुनावी एजेन्डाका रूपमा स्थान पनि पायो । तर, निर्वाचनपछि बिर्सिइने धेरै विकासे परियोजनाकै नियती बेहोर्दै आएको थियो । ‘वर्षौंदेखि लथालिंग रहेको हुलाकी सडकको काम अगाडि बढिसक्यो,’ परियोजना प्रमुख बलराम मिश्रमा उत्साह देखिन्छ ।

स्वर्गीय गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीले शुरुवाती चरणमा यसलाई आफ्नो प्रतिष्ठाको विषय बताउने गरेको थियो । ०६३ र ०६४ सालका मधेश आन्दोलनपछि मात्र अन्य दलको पनि ध्यान तानिएको हो यसप्रति । भारतसग सम्झौता भएपछि पनि भारतीय ठेकेदारले बीचमै काम छाडेर हिड्ने समस्या चर्को देखियो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण क्रममा वर्षदिनअघि यसबारे ठोस सम्झौता भएको हो । यद्यपि, भारतसग चिसिएको सम्बन्धका कारण उक्त सम्झौता कार्यान्वयनमा आएको थिएन । गत साउनपछि मात्र यसमा प्रगति भएको हो । गत असोजमा भारत भ्रमणमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल यसलाई दुवै मुलुकको प्राथमिकतामा पार्न सफल भए । सोहीअनुसार नेपाली पक्षको दायित्वमा पर्ने बजेट उपलब्ध गराउन थालियो । परियोजनाले मुर्त रूप पाउने आस बढ्नुको कारण पनि त्यही हो ।

नारा बढी, काम कम

यो राजमार्ग निर्माणमा प्रगतिको बाधक नारा बढी र काम कम हुनुलाई मानिन्छ । संसदको विकास समिति सभापति रविन्द्र अधिकारी नेतृत्वको टोलीले चरणबद्ध स्थलगत अवलोकन गरेर सरकारमाथि दबाब सिर्जना गराएको थियो । अधिकारी भन्छन्, ‘समस्या आएपछि त्यसलाई केलाउनेभन्दा हामी आरोप÷प्रत्यारोपमा समय खर्चेर थप काम बिगार्छांै । हुलाकी सडक निर्माण नहुनुमा नेपाल र भारत दुवै पक्ष उत्तिकै जिम्मेवार छन् ।’ विरोधका लागि विरोध मात्रै गर्ने प्रवृत्तिका कारण उक्त काम अगाडि नबढेको निष्कर्ष निकालेका छन् उनले । भन्छन्, ‘काम रोकेर, छेकेर ठूलो मान्छे बन्ने प्रवृत्ति पनि यसमा अवरोधका रूपमा देखिएको छ ।’

उनको बुझाइमा प्राविधिक कमजोरीहरू समाधान गर्न नेपाल र भारत दुवै पक्षले ठीकसग ‘डिल’ गर्न नसकेको पाइएको छ । समितिको स्थलगत रिपोर्टअनुसार भारतबाट तल्लोस्तरका ठेकेदार र उच्च तहका परामर्शदाता पठाइनाले पनि समस्या बल्झाएको हो । हुलाकी सडकबारे अध्ययन गरेका इन्जिनियर राजेशकुमार दास भन्छन्, ‘भारतले सहयोग गरेर मात्र निर्माण हुने अवस्था थिएन । पछिल्लो समय नेपाली पक्षले पनि तत्परता काम अगाडि बढेको हो ।’

यस राजमार्गले राजनीतिक रंग पाउनु नै हुलाकी सडक विवादको चपेटामा फस्नुको कारण हो । मन्त्री फेरिदैपिच्छे हुलाकी सडकहरू सूची पनि अलग–अलग बन्ने गरेका थिए । र, ती सबै सूची भारतीय पक्षलाई थमाइएको थियो ।

सबैजसो मधेशी दलले उक्त सडकलाई आफ्नो चुनावी एजेन्डा र घोषणा पत्रमा उल्लेख गरेका छन् । फोरम नेपाल, तमलोपा, सद्भावना पार्टीलगायत दलको विकासे चुनावी एजेन्डा मात्र बन्दै आएको छ यो । बाबुराम भट्टराई नेतृत्वको सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा ग¥यो । तर, काम अगाडि बढाउन सकेन ।

नेतापिच्छे सडक

हुलाकी सडकको  प्रारम्भिक लम्बाइ एक हजार चार सय ५० किमि थियो । तर, राजनीतिक दलका नेताहरूले आ–आफ्ना क्षेत्रका सडकसमेत थपेका कारण अहिले एक हजार सात सय ९२ किमि पुगेको हो । अर्थात्, तीन सय ४२ किमि लम्बाइ राजनीतिक पहुचका आधारमा थपिएको हो । परियोजना प्रमुख मिश्रका अनुसार यसको पूर्व–पश्चिम लम्बाइ नौ सय ७५ किमि छ । यसमा जोडिएका ३२ वटा ‘फिडर रोड’को लम्बाइ आठ सय १७ किमि छ । राजनीतिक दलका नेताहरूले सात किमिका सडकलाई पनि हुलाकी राजमार्ग परियोजनामा पारेका छन् ।

निर्माणको जिम्मा लिएको भारतीय पक्षलाई ठेक्का लगाउनका समस्या आउनुको कारण पनि त्यही हो । ३० किमिभन्दा लामो दूरी भए मात्र टेन्डर आह्वान गर्न सहज हुने भारतीय पक्षले बताउदै आएको छ । राजमार्गको सबै खण्ड आफ्नै ठेकेदारले निर्माण गर्ने भारतीय शर्त थियो, सोहीअनुसार सम्झौता पनि भयो । तर, भारतकै परामर्शदाता र ठेकेदारबीच विवाद आएपछि सबै स्वदेश फर्किए । उक्त विवाद अद्यापि कायम छ । काम शुरु भएपछि भने भारतले पुरानै सम्झौताअनुसार बजेट र परामर्शदाता पठाएको छ ।

यसरी हट्यो अन्योल

माथिका दृष्टान्तबाटै स्पष्ट हुन्छ, राजनीतिक दल र तिनका नेताहरूको निहित स्वार्थको चक्रमा पिल्सिदै आएको हो यो सडक । गत असोजमा सरकारले साढे पाच अर्ब रुपैया विनियोजन गरेपछि मात्र निर्माणको कामले मुर्त रूप पाउन थालेको हो । अहिले नेपाल र भारत दुवै सरकारको संयुक्त लगानीमा निर्माण र स्तरोन्नती शुरु भएको हो ।

शुरुमा यसको चौडाइ एक लेनको मात्र थियो । हालका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भौतिक योजना मन्त्री रहेको समयमा दुई लेनको बनाउने निर्णय भएको हो ।

दुई चरणमा सम्पन्न हुनेगरी काम अगाडि बढाइएको छ अहिले । पहिलो चरणमा १९ वटा सडकको काम अगाडि बढेको छ । हुलाकी राजमार्गले तराईका १९ वटा जिल्ला सदरमुकामलाई जोड्छ । राजमार्ग पुरा हुन मुख्य चुनौती पक्की पुल निर्माण थियो, जुन पछिल्ला दिनमा समाधान हुदै गएको छ । परियोजना प्रमुख मिश्र भन्छन्, ‘६० वटा पुल बनिसकेका छन् भने ४० वटाको काम तीव्र गतिमा छ । बाकीलाई पनि ठेक्का प्रक्रियामा लगिएको छ । यही गति कायम रहे दुई वर्षभित्रै हुलाकी राजमार्गको सबै काम सकिने छ ।’ 
- अन्नपुर्ण टुडेबाट

No comments:

Post a Comment