Monday, March 27, 2017

मलहम खोज्दै मलेठ

मलेठ (सप्तरी) - सप्तरीको मलेठ गाउँ यतिखेर  शोकमग्न छ । आन्दोलनमा नाउमा त्यस गाउँका तीन जनाको ज्यान जाँदा २३ फागुनको रातिदेखि नै गाउँका अधिकांशको घरमा धेरै सम्म चुलो जलेनन ।  गाउँका तीन जनाको ज्यान गएपछि सिंगो गाउँ नै शोकमग्न छ । मृत्यु भएका तीनै जना कुनै पनि राजनीतिक दलका व्यक्ति नभएको गाउँलेहरूको भनाइ छ । घटना लगतै त्याहा पुगेका मधेशी नेताहरु मध्ये उपेन्द्र यादव र राजेन्द्र महतोले मृतक परिवारहरुलाई रु २५ हजारको दरले सहयोग गरेका थिए । त्यस पछि त्याहा गएका तमलोपा अध्यक्ष महन्थ ठाकुरले मृतक परिवारहरुलाई जनही २५ हजारको दरले सहयोग गरे । हुनत मधेशी मोर्चामा आबद्ध सप्तरीका नेताहरुले समेत जिल्लामा विभिन्न तहवाट आर्थिक सहयोग संकलन गरेर पिडित परिवारहरुलाई उपलब्ध गराउने ध्येयमा देखिन्छ । यद्यपी घटनाको १५ दिन विति सक्दा पनि मलेठको अवस्था समान्य देखिदैनन ।
 
परिवार बेसहारा

मृतकमध्ये माओवादी द्वन्द्वकालमा प्रहरीको जागिर छाडेका वीरेन्द्र महतो मलेठ २ स्थित ससुराली घरमा बसेर कृषि व्यवसाय गर्थे । द्रौपदीदेवीको पतिको मृत्युपछि उनकी एक मात्र सन्तान रञ्जना नै उत्तराधिकारी भएकीले वीरेन्द्र सर्लाहीको घर छाडी घरज्वाइँ बसेका थिए । मृतकका नाबालक तीन छोरी र एक छोरा छन् । घरको सम्पूर्ण जिम्मेवारी बोक्ने वीरेन्द्रको मृत्युपछि परिवार बेसहारा बनेको छ ।

उनका सहकर्मी महादेव साह भन्छन्, ‘वैशाख २० गते अष्टजाम पूजा गरेर घर प्रवेश गर्ने योजना बनाएका थिए तर अब यो संसारमै रहेनन् ।’ उनको मृत्युपछि तीन छोरी, एक छोरा टुहुरा बनेका छन् । घटना सुनेदेखि नै खान पिउन छाडेकी उनकी पत्नी रञ्जना र सासू द्रौपदीको बेहोस अवस्थामा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

 
परिवार चलाउने चिन्ता

घरमा रङरोगन गर्ने मजदुरी गर्दै आएका मलेठ ४ जोलहरीका अर्का मृतक पीताम्बर मण्डलको परिवार पनि अहिले शोकमा डुबेको छ । पत्नी सोमनी तीन दिनदेखि अर्धमूर्छित अवस्थामा बर्बराइरहेकी छन् । करिब १० धुर ऐलानी जग्गामा बनेको टिनको घरमा रङरोगनको मजदुरी गरेर पत्नी, दुई छोरा, ७५ वर्षका वृद्ध बाबु गोसाइ मण्डलको भरणपोषण गर्दै आएका उनको घरमा रुवाबासी चलिरहेको छ । मण्डलको पेटमा गोली लागेको थियो । रङरोगन गरेर परिवारको जीवन चलाइरहेका मण्डलका दुई छोरा बेरोजगार छन् ।

बुढेसकालको सहारा रहेका छोराको मृत्युले ७५ वर्षीय गोसाइ मण्डल स्तब्ध छन् । उनका आँखा अझै ओभाएका छैनन् । वृद्ध ससुरा र बेरोजगार छोराहरूको स्याहार गर्नुपर्ने पीताम्बरकी पत्नी सोमनीदेवीले भक्कानिँदै भनिन्, ‘मेरो त संसार नै उजाडियो ।’

 
अधिकृतको तयारी गर्दै थिए सञ्जन 
प्रहरीको गोली टाउकोमा लागि घटनास्थलमै ज्यान गुमाएका सञ्जन मेहता नौ महिनाअघि मात्र वैवाहिक बन्धनमा बाँधिएका थिए । पत्नी सविता मूर्छित अवस्थामा विराटनगरस्थित निजी अस्पतालमा उपचार गराइरहेकी छन् । भाइको मृत्युको खबरले दाजु रञ्जनलाई पनि हृदयघात भएको छ ।तीन दाजुभाइमध्ये माइला सञ्जन गाउँकै नहरचोकमा किराना तथा पान पसल चलाइरहेका थिए ।

दिउँसो खाना खाएर पसलतिर गइरहेका बेला प्रहरीको गोलीको शिकार भएको बाबु लक्ष्मणले जानकारी दिए । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसबाट बीबीएस गरेका छोरालाई कतै जागिर लगाउने सोचमा थिइन्, आमा शान्तिदेवी । भन्छिन्, ‘भगवानले हामीउपर ठूलो खेलबाड ग¥यो ।’ छोराको मृत्युले उनी पनि छिन–छिनमा मूर्छा पर्छिन् । खेतीपाती गर्ने एक धुर जग्गासमेत नभएका सञ्जनको कमाइमा १० जनाको परिवार आश्रित थियो । उनका भाइ सुनिल भन्छन्, ‘दाजु पसल चलाउँदै लोकसेवा आयोगको अधिकृत तहको परीक्षा दिने तयारीसमेत गर्दै थिए ।’

 
स्वास्थ्यकर्मी पनि मारिए 
घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाउने आनन्द साह डिमनस्थित स्वास्थ्य चौकीमा सिनियर अहेब थिए । प्रसवनी ४ बनौली घर भएका साह राजविराज ९ राजदेवी टोलमा परिवारसहित बस्थे । त्यस दिन आफ्नो क्षेत्रमा पाँच वर्षमुनिका बालबालिकाका लागि सञ्चालन गरिएको पोलियो खोप कार्यक्रमका लागि निस्किएका थिए । साहले पत्नीलाई ‘केही बेरमा फर्किंदैछु’ भन्दै फोन गरेका थिए । तर, कहिल्यै नफर्किने गरी गए । उनका पत्नी र दुई छोरा छन् । जेठा छोरा अभिशेष कक्षा ११ तथा कान्छा अनुज सातमा अध्ययनरत छन् ।



No comments:

Post a Comment