Sunday, January 8, 2017

ओरालोतिर थरुहट राजनीति


कृष्णराज सर्वहारी
थारूहरूको नयाँ वर्ष र मिलनको चाड माघी नजिकिँदै गर्दा थरुहट तराई पार्टी नेपालमा फुट देखिएको छ । पार्टीकी उपाध्यक्ष तथा सांसद गंगा चौधरी सत्गौवाले २०७३ पुस १०मा थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) नामक अर्को पार्टी गठन गरेको खुलासा गरिन् । उता अध्यक्ष भानुराम समूहले उनलाई सांसद पदबाट फिर्ता बोलाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको विज्ञप्ति जारी गरे । स्थापना भएको ४ वर्षपछि पार्टी फुट सतहमा देखिए पनि वास्तवमा यसको भ्रुणमै फुटको बीउ रोपिएको थियो ।

थरुहट तराई पार्टीका संस्थापक लक्ष्मण थारू पार्टी दर्ता नहुँदै मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) छिरेका थिए । केन्द्रीय सदस्यसमेत रहेका उनले ४ पुसमा विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी फोरमबाट राजीनामा दिए । टीकापुर घटनाको अभियोगमा १६ महिनादेखि जेलजीवन बिताउँदै आएका उनी हाल धनगढी कारागारमा छन् ।
 
थरुहट तराई पार्टीको जन्म
०६५ फागुनमा १३ दिने र ०६६ वैशाखमा १२ दिने थरुहट आन्दोलनलगत्तै थरुहट पार्टी गठन गर्नुपर्ने महशुस आन्दोलनका अगुवाहरूबाट भएको थियो । आन्दोलनको समीक्षा गर्न ०६६ जेठ ३० र ३१ मा थरुहट संयुक्त संघर्ष समिति (थसंसस) तथा आदिवासी जनजाति दलित गणतान्त्रिक मोर्चाको संयुक्त आयोजनामा वीरगन्जमा भएको भेलामा ६ बुँदे वीरगन्ज घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा स्थानीय सत्ता बहिष्कार गर्दै जनताको थरुहट सरकारको अभ्यास गर्ने प्रस्तावदेखि लिएर थसंससलाई अझ सशक्त बनाउन वडा स्तरसम्मको संगठन विस्तार गर्ने प्रस्ताव पारित गरिएको थियो । साथै, भावी कार्यनीतिक योजनाअन्तर्गत आदिवासी थारूलगायत सबै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको वर्ग, अल्पसंख्यक, उत्पीडित, जातजाति, क्षेत्र आदिलाई समेटेर नयाँ, बृहत् र सबल राष्ट्रिय राजनीतिक शक्ति स्थापना गर्ने संकल्प पारित गरिएको थियो । राष्ट्रिय राजनीतिक शक्ति स्थापना गर्ने योजनाअनुरूप नयाँ सम्भावित पार्टीका लागि विधान मस्यौदा समितिसमेत बनाइएको थियो । उक्त समितिका एक सदस्य हाल फोरम लोकतान्त्रिकका प्रमुख सचेतक तथा सांसद योगेन्द्र चौधरीका अनुसार, त्यसबेला थरुहट संयुक्त संघर्ष समितिका दुई घटक थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष लक्ष्मण थारू थिए भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र गच्छदार थिए । संविधान सभामा ती घटकका क्रमशः २ र १ जना सभासद् थिए । त्यसैले, ती दुईले एकैपटक नयाँ पार्टी खोल्ने साहस नगर्दा नयाँ पार्टी जन्मिन सकेन । उपेन्द्र गच्छदारले सबै घटकलाई लोकतान्त्रिक समाजवादी दलमा आवद्ध हुन आह्वान गरेकोमा अरूले स्वीकारेनन् ।

 
विभिन्न उतारचढावपछि थरुहट तराई पार्टी नेपाल दल नेपालगञ्जमा आमसभा आयोजना गरी २७ साउन ०६८ मा घोषणा भएको थियो । पार्टी घोषणाको करिब डेढ वर्षपछि ०६९ पुस ४ मा मात्र निर्वाचन आयोगमा विधिवत् रूपमा दर्ता भयो । पार्टी दर्ता नहुँदै १८ असोज ०६९ मा यस पार्टीका संस्थापक अध्यक्ष लक्ष्मण थारूसहित अर्का थरुहट नेता योगेन्द्र चौधरी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)मा प्रवेश गरेका थिए । यस घटनाले थरुहट कार्यकर्तामा ठूलै खैलाबैला मच्चाएको थियो ।
 
लक्ष्मणकै बोलवाला
थरुहट तराई पार्टी नेपाल स्थापना गरी गच्छदारको बाहुली समातेर हिँडे पनि थरुहटको राजनीति लक्ष्मण थारूकै वरिपरि केन्द्रित देखिन्छ । १० वर्षे द्वन्द्वको क्रममा माओवादीले दाङदेखि पश्चिम कञ्चनपुरसम्म तराईका ५ जिल्लालाई थारूवान प्रदेशको नामाकरण गरी खाका ल्याएपछि थरुहट/थारूवान पहिचानको मुद्दा सतहमा आएको हो । जनआन्दोलन २०६२/६३ को आन्दोलनले यसलाई थप उचाइमा पु¥यायो । तत्कालीन नेकपा माओवादीका सेती÷महाकाली प्रमुख लेखराज भट्टलगायतले कैलाली, कन्चनपुरलाई थरुहटबाट हटाइ सेती ÷महाकालीमा गाभ्नुपर्ने धारणा राख्न थालेपछि थरुहटको मुद्दा सुनुवाई नगरेको आरोप लगाउँदै तत्कालीन कैलाली इन्चार्ज लक्ष्मण थारूले ०६३ फागुनमा माओवादीबाट विद्रोह गरी संयुक्त थारू राष्ट्रिय मोर्चा नेपाल गठन गरेका थिए । ०६५ जेठ २७मा दाङमा ‘संयुक्त थारू राष्ट्रिय मोर्चा’को पहिलो राष्ट्रिय सम्मेलन गरी मोर्चालाई ‘थरुहट स्वायत्त राज्य परिषद्’ नामकरण गरिएको थियो, त्यसको संयोजक पनि लक्ष्मण नै थिए ।
 
२१ माघ ०६५ मा बसेको मन्त्रिपरिषद्को निर्णयले ‘तराई’लाई ‘मधेश’ नामाकरण गरेपछि लक्ष्मण थारूकै अगुवाईमा विभिन्न दल तथा थारू संघ/संस्थाको पहलमा गठित थरुहट संयुक्त संघर्ष समितिले थरुहट जोगाऔं अभियानलाई आन्दोलनको रूप दियो, जसलाई पछि थाकसले पनि सघाएको थियो । १९ फागुन ०६५देखि अनिश्चित रूपमा सम्पूर्ण तराई बन्दको आन्दोलन सुरु गरेको थियो । जसको असर पूर्व चितवनदेखि पश्चिम कन्चनपुरसम्म परेको थियो । सो क्षेत्र १३ दिनसम्म ठप्प रह्यो । लक्ष्मण थारू यस आन्दोलनको अगुवाइ गरेका कारण चर्चामा रहे, जसले गर्दा थरुहट तराई पार्टी गठन भएपछि उनलाई निर्विकल्प  अध्यक्ष चुनिएको थियो ।
 
थरुहट तराई पार्टी नेपालको विधानमा आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको वर्ग, अल्पसंख्यक, उत्पीडित, जातजाति, वर्ग, क्षेत्र आदिलाई समेट्ने भनिएको छ । तर, त्यहाँ बाहुन/क्षेत्रीलाई भने अघोषित रूपमा निषेध गरिएको छ । थरुहट तराई पार्टी नेपाल विधिवत् रूपमा निर्वाचन आयोगमा दर्ता भएको जानकारी गराउन २१ पुस ०६९ ललितपुरको सानेपामा गरिएको भेलामा उक्त पार्टीका वरिष्ठ नेता गोपाल दहितले बाहुन/क्षेत्रीलाई पार्टीको मुख्य पद दिन नसकिने धारणा राखेका थिए । हाल पनि पार्टीको ४९ सदस्यीय केन्द्रीय समितिमा ७ जना मात्रै गैरथारू छन् । यसले पार्टीलाई संकुचनमा राखिएको देखाउँछ ।
 
लक्ष्मणको थरुहट पार्टी बर्हिगमनपछि फोरम (लोकतान्त्रिक)मा छिर्दा उनको राजनीतिक पतन भएको आकलन गरिएको थियो । तर, संविधानसभाको दोस्रो चुनावमा फोरम (लोकतान्त्रिक) बाट उनले आफ्नो गृह जिल्ला कैलालीको क्षेत्र नं ६ बाट भलै पराजय बेहोरो । तर फोरमले कैलाली १ तथा ३ नम्बर क्षेत्रबाट क्रमशः जनकराज चौधरी तथा रामजनम चौधरीलाई प्रत्यक्षमा विजयी गरायो । लक्ष्मणले थरुहट पार्टीको साखः जोगाएकाले यो विजय सम्भव भएको थियो, यसले उनी गच्छदारको मन जित्न चाँडै सफल भए । अन्ततः राजनीतिक समिति सदस्यसमेत चयन गरिए । टीकापुर आन्दोलनमा मुछिएका कारण जेल परे पनि २३ वैशाख ०७३ मा विराटनगरमा भएको पार्टीको पहिलो अधिवेशनले उनलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो । अन्ततः ४ पुसमा पार्टी परित्याग गरी स्वतन्त्र भएको अभिव्यक्ति दिएका छन् ।
 
कैलाली कारागारबाट हस्तलिखित विज्ञप्तिमा उनले आफू राजनीतिबाट नभाग्ने तर हाल कुनै पार्टीमा प्रवेश गर्ने सोच नबनाएको भन्दै जेल बसाइँ व्यक्तिगत स्वतन्त्रताका लागि राजीनामा दिएको उल्लेख गरेका छन् । अर्को प्रसंगमा भने उनले गच्छदारजस्ता राजनीतिक नेतृत्व जन्माउन थारू समाजबाट कैयौं वर्ष पर्खिनुपर्ने भन्दै प्रशंसा गर्दै तर उनी एउटा संकुचित घेरामा कैद हुँदै गएकोले पनि पार्टी परित्याग गरेको बताएका छन् । पार्टीको नामप्रति पनि उनी असन्तुष्ट रहेका छन् । वैशाखको महाधिवेशनमा ८० प्रतिनिधिहरू पार्टीको नामबाट मधेशी शब्द हटाएर लोकतान्त्रिक फोरम बनाउने मतदान गरे । तर पार्टीको नाम परिवर्तन भएन । उनले भनेका छन्, ‘आफंैले जन्माएको थरुहट पार्टी छाडेर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक छिर्दा पार्टीको नाम परिवर्तन गरी कुनै जात, समुदाय, क्षेत्रको गन्ध नआउने राष्ट्रिय पार्टी महाधिवेशनबाट बनाउने थियो । दोस्रो संविधानसभा निर्वाचनमा लाज मानी–मानी मधेशी पार्टीबाट भोट माग्यौ । तर, अब फेरि मधेशी पार्टीकै नाममा भोट माग्न सकिँदैन ।’ यसरी लक्ष्मणको मोह पुनः थरुहट पार्टीप्रति देखिन थालेको देखिन्छ । 
 
थारू नागरिक समाज, कैलालीका संयोजक दिलबहादुर चौधरी भन्छन्, ‘माघीको अवसरले थारू नेताहरूलाई ऊर्जा दिनुपर्ने हो, तर गंगाको पार्टी बहिर्गमन, अनि लक्ष्मणको पार्टी परित्यागले थरुहटको राजनीति ओरालो लागेको देखिन्छ । फुटको प्रत्यक्ष असर आगामी चुनावमा देखिनेछ ।’ संयोजक चौधरीले बीच–बीचमा पार्टी परिवर्तन भएर मन्त्री पदको भागवन्डा नमिल्दा पनि थरुहट पार्टीमा फुट भएको आकलन गर्छन् । यसको खुलासा सांसद गंगा स्वयंले गरेकी छन् । पार्टीलाई स्पष्टीकरण दिएको पत्रमा उनले अर्का सांसद गोपाल दहितलाई इंगित गर्दै उल्लेख गरेकी छिन्, ‘जब–जब सरकार परिवर्तन हुन्थ्यो, तब–तब मन्त्री बन्न नपाएकोमा मलाई नै बाधकको रूपमा हेर्ने गरिन्थ्यो ।’ उता थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरी गंगा विधायन समितिको सभापति रहेकोमा त्यो पद पनि राज्यमन्त्रीसरह रहेको तर उनी स्वयं पनि मन्त्रीको दौडमा लाग्नाले पार्टीमा फुट आएको विचार राख्छन् ।
 
थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम थारूले पार्टी उपाध्यक्ष गंगा चौधरी सत्गौवाले अर्कै पार्टी गठन गरे पनि आफूहरूको पार्टीलाई कुनै असर नगर्ने अन्नपूर्ण टुडेलाई बताए । उनले भने, ‘गंगाजीले आफ्नो गृह जिल्ला दाङको सिसिहनिया गाविस २ नम्बर वडाबाट वडा सदस्य जितेर देखाऊन्, मैले राजनीतिबाटै सन्यास लिनेछु ।’ थरुहट पार्टीलाई एमाले, नयाँ शक्ति पार्टीलगायतले फुटाएको आरोप लगाउँदै उनले भने, ‘सभामुखले गंगाको नयाँ दल दर्ताबारे प्रक्रिया बढाउन आनाकानी गरेपछि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका मुक्ति श्रेष्ठले दबाब दिएको थाहा हुन आएको छ । यसले पार्टी फुटमा चलखेल भएको देखिन्छ ।’
 
पूर्वी मधेशमा जसरी महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा, शरद्सिंह भण्डारीलगायतले विभिन्न पार्टी खोलेर क्षेत्रीय पार्टीलाई बलियो बनाउन अभ्यासरत् छन् । त्यसैगरी, पश्चिम मधेशमा आफ्नो पकड राख्न उनीहरूले भरमग्दुर कोशिस गरेका हुन् । गच्छदारले लक्ष्मण थारूको साथ लिई केही हदसम्म सफलता पनि पाएका थिए । तर यसबीचमा लक्ष्मणले उनको साथ छाडेका छन् । ७ भदौ ०७२ को टीकापुर काण्डपछि थरुहट आन्दोलन पूरै सेलाएको देखिएको छ ।
 
लेखीको आफ्नै अभियान
थरुहट आन्दोलनका एक अभियन्ता राजकुमार लेखी पनि सानो झुण्ड लिएर आफ्नै नेतृत्वको पार्टी संगठनमा सक्रिय छन् । उनले सुरुमा नेपाल नागरिक पार्टी गठन गरे पनि यसलाई निर्वाचन आयोगमा दर्ता गरिएन । सोही नामबाट अर्कैले आयोगमा पार्टी दर्ता गरेपछि लेखीले राष्ट्रिय नेपाल नागरिक पार्टी नामाकरण गरे । यद्यपि, यो पनि मोर्चाको रूपमा रह्यो, दर्ता गरिएन । २७ फागुन ०७२ मा लेखीले आफ्नै अध्यक्षतामा नागरिक समाजवादी नामक अर्को पार्टी गठन गरी निर्वाचन आयोगमा दर्तासमेत गरेका छन् । नाम चलेका कोही नेतालाई समेट्न नसकेका उनको कतिपय केन्द्रीय सदस्यहरूलाई नै आफू सो पार्टीमा रहेको समेत पत्तो छैन ।
 
थारू कल्याणकारिणी सभा (थाकस) का निवर्तमान अध्यक्ष चन्द्रनारायण चौधरीलाई लेखीले आफूले गठन गरेको पहिलेको पार्टीमा केन्द्रीय सदस्य बनाएका थिए । त्यसबेला लेखी थाकसको सचिवालय सदस्य थिए । सभासँग सल्लाह नै नगरी थरूहट संयुक्त संघर्ष समितिको नाममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतसँग २९ असार ०६८ मा आफूखुशी वार्ता गरी समझदारी गरेपछि सभाले उनीसँग स्पष्टीकरणसमेत लिएको थियो । यसले लेखी र चौधरीबीच तिक्तता बढी पार्टी गतिविधि शून्यमा झरेको थियो । चन्द्रनारायण हाल एमाओवादीमा छिरेका छन् ।
 
लेखी हाल पनि थाकसको सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख छन् । केही महिनाअघि मात्रै उनले आफ्नो गृह जिल्ला सप्तरीमा थाकसको प्रशिक्षणको बहानामा आफ्ना नागरिक समाजवादी पार्टीका कार्यकर्ताको भीड बटुलेपछि थाकस सप्तरीले कार्यक्रम नै बहिष्कार गरेको थियो । थाकसको आड लिई राजनीतिक खुड्किलो उक्लिने कोशिस गरिरहेका लेखीको सानो मण्डलीले फड्को मार्ने देखिन्न ।
 
उता संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) को अगुवाइ गरिरहेकी रुक्मिणी थारूले पनि संगठन विस्तार गर्न सकेकी छैनन् । ६ सय १ को जम्बो टोलीमा दुवैपटक समानुपातिक सांसद भएर भाग्यमानी ठहरिएकी उनलाई अबको निर्वाचनले बिनासंगठन साथ दिने अवस्था छैन ।
 
मिल्लान् त ?
कुनैबेला मधेशीको ‘म’समेत सुन्न नचाहने थरुहटका नेताहरूको अहिले मधेशी नेताहरूसँग राम्रै सम्बन्ध छ । उनीहरू पनि पश्चिम मधेशमा क्षेत्रीय पार्टीको राम्रो भविष्यको कामना गर्छन् । त्यसैले उनीहरूकै जोडबलमा पाँच नम्बर प्रदेश पहाडसँग नजोडिने संशोधन संसद्मा दर्ता छ । खाँचो छ, अहिले वृहत् थरुहट तराई पार्टीको । 

तर, ती जुट्न छाडेर फुट्न तत्पर छन् । जसरी टुँडीखेलमा १ माघमा हुन गइरहेको माघी महोत्सव पनि दुई चिरामा छ । एउटा समूहको अगुवाइ थाकसले गरिरहेको छ भने, अर्को समूहको थारू विद्यार्थी समाजले । तर, दुवै कार्यक्रमको सिरानी टुँडीखेलमा एकै ठाउँमा छ । त्यसैगरी थरुहटकेन्द्रित पार्टीको सिरानी त एउटै ठाउँमा छ, तर नेताहरू ओल्टेकोल्टे छन् । माघीले मिलनको सन्देश दिन छाडेर माघी सांस्कृतिक कार्यक्रम नै दुई ठाउँमा हुने भएपछि स–सानो निहुँमा थरुहटकेन्द्रित पार्टीका नेतामा चिरा देखिनु अन्यथा देखिन्न ।  
 
आशाको किरण देखाउँदै थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता तथा सांसद गोपाल दहितले अन्नपूर्ण टुडेसँग भने, ‘केही लोभीपापीले हाम्रो पार्टी फुटाएका छन् । तर, हामी पुनः चाँडै मिल्नेछौं ।’ एकपटक फुटेको भाँडो जोडिन गाह्रो हुन्छ । के दहितको भनाइले सार्थकता पाउला ?
नोट - यो रिर्पोट अन्नपुर्ण टुडेवाट साभार गरिएको छ ।

No comments:

Post a Comment