Wednesday, December 7, 2016

मधेशी नेतामा मनभेद

मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच बोलचाल छैन । कम्तीमा नौ महिनादेखि यी दुई नेता एकआपसमा बोल्दैनन् । मोर्चाको बैठक, सार्वजनिक अरू कार्यक्रमहरू वा सरकारसँगको वार्तामा पनि यी दुई सँगै देखिन्छन् । तर दुईबीच औपचारिक कुराकानी हुदैन  । कुरै नहुने अवस्था त्यो बखतदेखि सुरु भयो, जुनबेला महतोलाई स्पष्टीकरण सोधियो र सचेत गराइयो । सचेत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गराएको थियो । सन्दर्भ, २०७२ माघ अन्तिम साताको हो ।
 
भर्खरै भारतले लगाएको ६ महिने नाकाबन्दी केही खुकुलो हँुदै थियो । मोर्चाले बन्द, हड्ताल फिर्ता लिए पनि आन्दोलनको स्वरूपमा परिवर्तन गर्दै थियो । अन्य नाका सुचारु भए पनि वीरगन्ज नाका खुलेको थिएन । वीरगन्ज नाकाको आन्दोलनका इन्चार्ज महतो थिए । स्थानीय व्यापारीहरूले अरु नाका खुलेको अवस्थामा वीरगन्ज मात्रै किन बन्द भनेर उनीमाथि दबाब दिंदै थिए । त्यसैबीच बिराटनगर पुगेका महतोले मधेशी मोर्चाका नेताहरूलाई लक्षित गर्दै भने ‘खोल्ने भए सबै नाका खोलौं । वीरगन्ज मात्रै किन बन्द गर्ने ?’
 
महतोको उक्त भनाई आएको भोलिपल्टै वीरगन्ज सुचारु हुन थाल्यो । मोर्चाले औपचारिक निर्णय नगर्दै वीरगन्ज पनि सुचारु हुन थालेपछि नेताहरू महतोसँग खनिए । आधिकारिक निर्णय नभई किन बोलेको ? भनेर उनीमाथि प्रश्न मात्रै सोधिएन, ‘अब उप्रान्त आन्दोलन विरोधी गतिविधि नहोस्’ भनेर लिखित चेतावनी नै दिए । पत्रैबाट चेतावनी दिने कुरामा उपेन्द्रको भूमिका बढी थियो ।

उपेन्द्र–राजेन्द्र मनमुटाव

पहिलो मधेश आन्दोलनबाट फोरम नेपालसँगै उपेन्द्र यादव पनि राजनीतिको केन्द्रमा देखा परे । यता राजेन्द्र महतोचाहिँ सद्भावना विभाजनको पीडामा थिए । उनले आफ्नै नेतृत्वमा सद्भावना पार्टी गठन गरे । उपेन्द्र र राजेन्द्रबीचको राजनीतिक सम्बन्ध त्यही आन्दोलनका दौरान बनेको थियो । यी दुई नेताको अग्रसरतामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गठन भएको थियो । सो मोर्चामा तराई–मधेश लोकतान्त्रिक पार्टी जन्मिएपछि माघ, ०६४ मा दोस्रो मधेश आन्दोलन भएको थियो ।
 
दोस्रो मधेश आन्दोलनपछि संविधानसभा भयो, जहा“ मधेशी दलहरू पनि सरिक भए । पहिलो संविधानसभाबाट फोरम, तमलोपा र सद्भावना तीन वटा राजनीतिक दल मधेशका बलियो पार्टीका रूपमा आए । पहिलो संविधानसभापछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा फोरम र सद्भावना सहभागी भए । तमलोपाले बाहिरबाट समर्थन ग¥यो । यतिन्जेलसम्म मधेशका पार्टीहरूमा जीतको उत्साह थियो र मनमुटावहरू सतहमा आएका थिएनन् ।
 
कटवाल प्रकरणले प्रधानमन्त्री दाहालले राजीनामा दिएपछि एमाले नेता माधव नेपालको प्रधानमन्त्रीत्वमा अर्को गठबन्धन सरकार बन्यो । त्यसमा पनि मधेशी दलहरू सहभागी भए । सरकारमा सहभागी हुने क्रममा मधेशी जनअधिकार फोरमचाहिँ विभाजित भयो । फोरमका बरिष्ठ नेता र संसदीय दलका नेता समेत रहेका विजय गच्छेदारले नया“ दल फोरम लोकतान्त्रिक गठन गरे र नेपाल सरकारमा गए । उपेन्द्र सरकार बाहिरै रहे ।
 
सरकारमा संयुक्त मधेशी मोर्चामा रहेका दलहरू तमलोपा र सद्भावना पनि गए । उपेन्द्रचाहिँ मोर्चा र सरकार दुवै बाहिर रहे । राजेन्द्र महतोले गच्छेदारलाई काखी च्यापेर मोर्चामा सरिक गराउँदै सरकारसम्मको यात्रामा साथ दिएपछि त्यसबाट उपेन्द्र रुष्ट भए । पार्टी विभाजनमा कहीँ न कहीँ महतोलगायतका मधेशी नेताहरूको पनि भूमिका भएको हुनसक्ने ठानेर उनी महतो र ठाकुरसँग चिढिए । उनले सार्वजनिक भाषणमै महतो र ठाकुरलाई ‘गद्दार’ भनेर आलोचना गरे ।
 
मधेशी राजनीतिमा सत्ता र प्रतिपक्षको भूमिकामा देखिए यी नेताहरू । महन्थ, राजेन्द्रहरू सत्तामा जा“दा उपेन्द्र बाहिर बस्ने उपेन्द्र सरकारमा हु“दा मोर्चा सरकार बाहिरको परिस्थिति बन्यो । नेपाल सरकारपछि एमाले नेता झलनाथ खनालको नेतृत्वमा सरकार बन्यो, जहा“ उपेन्द्र यादव नेतृत्वको फोरम सामेल भयो । खनाल सरकारपछि बाबुराम भट्टराई नेतृत्वको सरकार बन्यो, जहा“ उपेन्द्र सरकार बाहिर रहे । संयुक्त मधेशी मोर्चा सरकारमा गयो । सरकारमा हु“दा होस् वा सडकमा हु“दा उपेन्द्र–राजेन्द्र मनमुटाव हटेको छैन । बरु एकले अर्कालाई अहिले पनि दोषारोपण गर्नमै रमाउ“छन् । ‘आन्दोलनमा खट्ने हामी, अनि काठमाडौंमा भाषण गरेर हिड्ने अनि उल्टै हामीसँग चिढिने’, सद्भावनाका नेता महतो निकटस्थहरूसँग उपेन्द्रबारे टिप्पणी गर्ने गर्छन् ‘मधेशको मसिहा ठान्ने भ्रमबाट उनी चा“डै निस्कियुन् ।’
 
मधेशको राजनीतिमा मनमुटाव राख्ने यादव र महतो मात्रै होइनन् । अरू नेताहरूबीचको सम्बन्धमा पनि चिसोपना देखिन्छ । एक अर्का प्रति अविश्वास, शंका गर्नेमात्रै होइन, जातीय समीकरण बनाएर बस्न रुचाउ“छन् । यी मधेशी दलहरूबीच कुनै सैद्धान्तिक मतभेद छैन । सबैले मधेशको मुद्दालाई बोकेका छन् । केन्द्रीय राजनीतिबाट अपहेलित भएको मधेशलाई अधिकारसम्पन्न बनाउने सबैको घोषित उद्देश्य रहेको छ । तर पनि नेतृत्वको गलत आकांक्षा, सत्तामुखी प्रवृत्तिका कारण मधेशी नेता एकआपसमै धु्रवीकृत छन् । ‘मधेशी नेताहरू विभाजित हु“दा त्यसले हाम्रो मुद्दालाई प्रभावित पारेको छ’, जनकपुरका वुद्धिजीवी तथा वरिष्ठ साहित्यकार राजेन्द्र विमल भन्छन, ‘यी नेताहरूको आपसी द्वन्द्व छताछुल्ल हँुदा जनता निराश हुने गरेका छन् ।’
 
आरोप–प्रत्यारोप श्रृङ्खला

पहिलो  र दोस्रो मधेश आन्दोलनका बेला मधेशी नेताहरूबीच कमै मनमुटाव देखियो । सबैमा ‘एक सय एक क्रान्तिकारी’ हुने होड थियो । जब सरकारमा जाने आउने क्रम सुरु भयो । द्वेष र मनमुटाव पनि सतहमा देखिन थाले ।
 
पहिलो सविधानसभा विघटन हुनुपूर्व २ जेठ ०६९ गते प्रमुख दलहरूबीच १० प्रदेशमा जाने सहमति भयो । जसमा तत्कालीन मोर्चाको तर्फबाट महन्थ ठाकुर र विजय गच्छदारले सहमती जनाए । तर उक्त सहमति सद्भावनालाई स्वीकार्य भएन । अध्यक्ष महतोले ठाकुर र गच्छदारलाई ‘गद्दार’ को पगरी भिराइहाले । सहमतिको विरोधमा महतो मधेश दौडाहा हुँदै काठमाडौंमा अनसन बस्न समेत आइपुगे ।
 
अन्ततः जेठ २ को सहमति कार्यान्वयन भएन र संविधानसभा विघटन नै भयो । भट्टराई सरकार विघटन भयो । गैरदलीय नेतृत्व प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा सरकार बन्यो । जुन सरकारले दोस्रो संविधानसभा चुनाव गर्ने तय भएको थियो । सरकारबाट बाहिर रह“दा मधेशी दलहरूबीचको द्वन्द्व र मनमुटाव खासै चर्चामा हँुदैन । दोस्रो संविधानसभाको तयारी चल्दै गर्दा तमलोपाका अध्यक्ष ठाकुरले मधेशी पार्टीहरूबीच एकीकरणको अभियान थाल्ने घोषणा गरे । उनले सबै मधेशी दलका अध्यक्षहरूलाई चिया बैठकमा डाके । तर उक्त बैठकमा उपेन्द्र यादव, विजय गच्छेदार, राजेन्द्र महतो कोही पनि आएन । त्यो अभियान त्यहीँ तुहियो । ‘हिरो हुन खोज्ने’ भन्दै नेताहरू ठाकुरले बोलाउँदा नगएको जानकारहरू बताउ“छन् । ‘निर्वाचनलाई लक्षित गरेर सके एकीकरण नसके मोर्चावन्दी गर्ने ठाकुरको प्रयास थियो । तर त्यसमा उनी सफल भएनन्’, राजविराज निवासी प्रा. पिताम्बर यादव भन्छन् । यादव मधेशमा रहेका सवै नेताहरू मिलेर एउटा पार्टी बनाउनुपर्ने धारणा राख्छन् ।  भन्छन, त्यसो नगरी नेताहरू एक आपसमा लड्दा उनीहरूको विश्वनीयतामाथि प्रश्न उठ्छ ।’
 
मंसिर ०७० मा दोस्रो सविधानसभाको निर्वाचन भयो । त्यसमा मधेशी पार्टीहरूले नराम्रो पराजय भोगे । पहिलो संविधानसभामा ८४ सिट जितेर सभाको चौथो शक्ति बनेका मधेशी दल दोस्रो सभामा ३७ सिटमा सीमित भए । चुनाव हारेर काठमाडौं फिरेपछि गच्छेदार फोरम बाहेक अरू मधेशी दलहरू समीक्षामा जुटे । समीक्षाका क्रममा पार्टी एकीकरण गर्ने कुरा उठ्यो । ठाकुरले चुनावअघि गरेको प्रयासमा सहयोग नगरेकोमा उपेन्द्र यादव, राजेन्द्र महतो आदिले पश्चाताप पनि गरे । झण्डै सात महिना पार्टी एकीकरण गर्ने भनेर दर्जनौं बैठक र छलफल भयो । तर पछि पदीय भागबण्डा नमिलेपछि एकीकरणको कुरा तुहिदियो । खासमा एकीकृत मधेशी पार्टीको अध्यक्ष उपेन्द्र आफैं हुन चाहन्थे र महन्थलाई बरिष्ठ नेता बनाइनुपर्ने धारणा राख्थे तर अरू मधेशीहरू महन्थलाई बनाउने पक्षमा थिए । अध्यक्ष को हुने भन्ने कुरा नमिलेपछि मधेशीहरूबीचको एकीकृत पार्टी बन्ने योजना तुहियो । तर, चुनाव पराजयको हारले कमजोर भएका मधेशी दलहरू नमिली सुखै थिएन । राष्ट्रिय राजनीतिमा आफ्नो ‘बार्गेनिङ पावर’ घटेको थियो । केही हदसम्म भएपनि त्यो फर्काउन मिल्नै पथ्र्यो । त्यसकारण उनीहरूले विगतको मोर्चा ब्यूँझायो । जहा“ मोर्चाबाट बाहिरिएको उपेन्द्र यादव पनि फर्किन राजी भयो । यादव भन्छन् ‘राजनीतिमा एक अर्काको विरोध र सहकार्यलाई परिस्थिति अनुसार हेर्नुपर्छ । समय, पात्र र परिस्थितिले धेरै कुराको निर्धारण गर्छ ।’ यहा“नेर महतो पनि यादवसँग सहमत देखिए । ‘मोर्चा भनेकै धेरै जनासँग मिलेर काम गर्ने हो’, उनी भन्छन् ‘धेरै जनासँगै काम गर्दा असहमति देखिनु असामान्य होइन ।’
यता माओवादीले पनि दोस्रो सभामा नराम्रो हार बेहोरेको थियो । उनीहरू पनि आफ्नो शक्ति बढाउन मोर्चाबन्दीको तयारीमा थिए । त्यसैक्रममा मधेशीहरूको मोर्चा र माओवादी मिलेर संघीय गणतान्त्रिक मोर्चा बनाए । दोस्रो संविधानसभापछि कांग्रेस–एमालेको गठबन्ध सरकार बन्यो । एकलौटी ढंगले संविधान निर्माण हुन नदिन संघीय गणतान्त्रिक मोर्चा आन्दोलनमा उत्रियो ।
 
आन्दोलनसँगै संवादको क्रम पनि चल्यो । एमाले नेता केपी ओली र माओवादी अध्यक्ष दाहालबीचको छलफलपछि माओवादी संविधान निर्माण प्रक्रियामा आउन सहमत भयो । आन्दोलन छोडेर माओवादी र कांग्रेस–एमाले गठबन्धनबीच १६ बु“दे सहमति बन्यो । २५ जेठ ०७२ मा बनको उक्त सहमतिको विरुद्ध मधेशी मोर्चा उत्रियो र दाहालले धोका दिएकोमा रोष प्रकट ग¥यो । मोर्चाकै एक घटक फोरम लोकतान्त्रिकका अध्यक्ष पनि १६ बु“देको पक्षमा उभिएपछि संविधान निर्माण प्रक्रिया बलियो भयो र ३ असोज ०७२ मा संविधान नै जारी हुन पुग्यो ।
 
यता मधेशी मोर्चाले फोरम लोकतान्त्रिकलाई निष्कासन गरी संविधान घोषणको विरोधमा उत्रियो । मोर्चामा रहेका चार मधेशी पार्टीले मधेशमा आन्दोलन सुरु गरे । त्यसपछि राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक, अनिल झा नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्टिय मधेश समाजवादी पार्टी, जेपी गुप्ता नेतृत्वको तराई–मधेश राष्टिय अभियान, मातृका यादव नेतृत्वको संयुक्त राष्ट्रिय जनआन्दोलन समिति आदि सबै आन्दोलनमा मिसिए । ठाकुर सबै मधेशीलाई मिलाएर वृहत मोर्चा बनाउन चाहन्थे तर उपेन्द्र र राजेन्द्रको टकरावका कारण वृहत मोर्चा बन्न सकेन । राजेन्द्र महतो नेपाल सद्भावनाका अनिल झालाई मोर्चामा सहभागी गराउन चाहदैनथे भने उपेन्द्र जेपी गुप्ता, मात्रिका, राजकिशोर आदिलाई रोक्न चाहान्थे । जसले गर्दा वृहत मोर्चाको नामबाट आन्दोलन भएन । सबैले आ–आफ्नै ढंगले आन्दोलनमा सरिक भए ।
 
१ भदौमा ०७२ मा मधेशी मोर्चाको आव्हानमा सुरु भएको आन्दोलनमा सप्तरीको भारदहमा गोली चल्दा राजीव राउतको मृत्यु भयो । २ भदौमा काठमाडौंमा सद्भावना पार्टीले संसद्बाट आफूहरू फिर्ता हुने निर्णय ग¥यो । सद्भावना पार्टीले केन्द्रीय कार्यलय मधेशकै जिल्लामा राख्ने निर्णय ग¥यो । तर उक्त निर्णयलाई मधेशी मोर्चाले स्वीकारेन । यद्यपि, महतो आन्दोलन सफल नहुन्जेल काठमाडौं नफर्कने अभिव्यक्ति दिए । यसबीच मधेश झरेका महन्थ र उपेन्द्र काठमाडौं फर्केपछि महतोले दुवैलाई ‘गद्दार’ भनी आलोचना गरे ।
आन्दोनल चलिरह“दा मधेशको नेतृत्बीच गालीगलौच चलिरह“दा त्यसको विरोध नागरिक समाजले ग¥यो । वीरगन्ज नागरिक समाजका विनोद गुप्ता भन्छन् ‘सबैले मेरै गोरुको बाह्रै टक्का भनेर सोचेपछि द्वन्द्व भइहाल्छ । अरू कसैको गोटीको रूपमा प्रयोग हुने र आपसी स्वार्थमै नेतृत्व लिप्त हँुदा मुद्दा प्रभावित भएको छ ।’
 
भारदह घटनापछिको एउटा सन्दर्भले मधेशी नेताहरूबीचको मनोमालिन्यलाई अझ प्रस्टाउँछ । भारदहमा मारिएका राउतलाई मधेश आन्दोलनमा सहिद घोषणा गरेपछि नेताहरू श्रद्धाञ्जली दिन सप्तरी पुगे । उक्त श्रद्धाञ्जली सभामा उपेन्द्रले मोर्चाका चार अध्यक्षबाहेक अनिल झा, मातृका यादव, जेपी गुप्ता आदिलाई मञ्चमा बस्न दिएनन् । मञ्चमा बस्ने÷नबस्ने विवादका कारण श्रद्धाञ्जली सभानै बिथोलियो र भोलिपल्ट मात्रै आयोजना भयो । सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहता भन्छन् ‘त्यसपछि पनि पूर्वका विराटनगर र सुनसरीमा आयोजना भएका आमसभाहरूमा मञ्चमा को बस्ने भन्ने विषयमा विवादहरू भए । पार्टी छाडेका फोरमका नेताहरूलाई यादवले मञ्चमा बस्नै दिंदैनथे ।’ जनकपुरका साहित्यकार विमल भन्छन्, ‘नेताहरूमा देखिएको जातीय संकीर्णताले मधेशी पाटीहरूलाई दिन प्रतिदिन कमजोर बनाउँदै लगेको छ ।’
 
उपेन्द्र र राजेन्द्रबीचको मनमुटावको शृंखला नाकाबन्दीका क्रममा पुनः देखियो । जतिबेला महतो जोगवनी नाकामा धर्ना बस्दा दोहोरो झडपमा परे । महतो प्रहरी झडपमा घाइते भएर धरान अस्पताल भर्ना भएका थिए । यता तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग वार्ता गरेर निस्कदै गर्दा यादवले ‘महतोले बढी देखाउने नाटक’ गरेको टिप्पणी गरे । स्वास्थ्य उपचार गराइरहेका महतोलाई यादव अथवा ठाकुर कसैले फोनबाट समेत के कसो भएको सोधेन बरु उल्टै उनको गतिविधिलाई लिएर आलोचना गरे । कुरा कतिसम्म बढ्यो भने, आफ्ना नेताले कुटाइ खादा मोर्चा नेतृत्वले वेवास्ता गरेकोमा सद्भावनाका महासचिव मनिष सुमनले महन्थ र उपेन्द्रलाई आंैला उठाएर चेतावनी दिए र सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने अडान लिए । सद्भावनाले त्यसपछि छुट्टै विरोधका कार्यक्रम बढाएको थियो ।
 
ठाकुर–महतो नजिकिए

गएको चैत अन्तिम साता मधेशी मोर्चाको आन्दोलनमा पहाडका आदिवासी, जनजाति समेटिने कुरा भयो । यादवले जनजाति, आदिवासी सबैसँग मिलेर संघीय गठवन्धनको अवधारणा अघि ल्याए । लामो मधेश बन्द हड्ताल गरेका मधेशी अध्यक्षहरू काठमाडौंमा आन्दोलन गर्ने मनस्थिति बनाइरहँदा उनको उक्त प्रस्तावमाथि सबै सकारात्मक भए । आदिवासी जनजातिहरू विभिन्न समूहहरूसँग मधेशी पार्टीहरूको गठबन्धनको घोषाण हुने कुरा भयो । जुन घोषणाका लागि काठमाडौको राष्ट्रियसभा गृहमा अन्तक्रिया कार्यक्रम गर्ने निश्चित भयो । गएको बैशाख पहिलो साता भएको उक्त कार्यक्रममार्फत् काठमाडौं केन्द्रित आन्दोलनको थालनी मधेशी पार्टीहरूको गरेको थियो । तर राष्ट्रियसभा गृहमा आयोजना गरिएको विशेष अन्तक्रिया कार्यक्रमको जिम्मा लिएका यादवले पुनः सद्भावना अध्यक्ष महतोलाई बदला लिए । जहाँ उनी मञ्चमा अन्य नेताहरू र वुद्धजीवीलाई बोलाए पनि अगाडिकै कुर्सीमा रहेका सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई मञ्चमा बोलाएनन् । कार्यक्रमलाई सम्बोधन गर्न जाँदा तमलोपाका अध्यक्ष ठाकुरले घुमाउरो रूपमा आफ्नो सम्बोधनमार्फत् यादवको कडा आलोचना गरे । र उनले कार्यक्रमको व्यवस्थापन शैली प्रति असन्तुष्टी जनाए । महतो र ठाकुरपछि संघीय गठबन्धनको बैठकहरूमा जान नै छाडे ।
 
१ जेठदेखि काठमाडौंमा सिंहदरवार घेराउ कार्यक्रम नजिकिदै जाँदा यादवले मोर्चा बैठक डाके । जहाँ महेन्द्र यादवको सिफारिसमा उनी गठबन्धनको संयोजक तोकिए । जुन बैठकमा तमलोपा र सद्भावना अनुपस्थिति थिए । तमलोपाका अध्यक्षले पछि सार्वजनिक रूपमै उपेन्द्र छापामार शैलीमा गठबन्धनको संयोजक बनेको आरोप लगाए । त्यसपछि महन्थ राजेन्द« नकिकिए । आन्दोलताका महन्थ राजेन्द्रसँग पनि टाढिएका थिए । गठबन्धनको संयोजक काण्डले महन्थ र राजेन्द्रबीच घनिष्ठता यो तहमा पुग्यो कि तमलोपा र सद्भावना एकीकरणको चर्चा चल्यो । यद्यपि, अहिलेसम्म पनि उक्त चर्चाले मूर्तरूप लिन सकेको छैन ।
 
अध्यक्षहरू मात्रै होइन, दोस्रो तहका नेताहरूबीच पनि कम मनोमालिन्य छैन, मधेशी पार्टीहरूमा । तमलोपाका हृदयेश त्रिपाठी र सद्भावनाका लक्ष्मणलाल कर्णबीचको मनमुटावका कुरा बेलाबखत सतहमा आउँछन् । यी दुबै नेता सद्भावनाका नेता गजेन्द्रनारायण सिंहबाट दीक्षित नेता हुन् । त्रिपाठीको कर्णसँग मात्रै होइन महतोसँग पनि राम्रो सम्बन्ध छैन । उनी महतो भन्दा सिनियर नेता थिए, सद्भावनामा । पहिलो मधेश आन्दोलन सँगै छिन्नभिन्न हुन पुगेको तत्कालीन सद्भावनाबाट उनी तमलोपामा आए भने महतोले छुट्टै सद्भावना बनाएर पार्टी अध्यक्ष भए । त्रिपाठी अहिले पनि महतोप्रति सकारात्मक नभएका कारण बेला–बेलामा चर्चामा तमलोपा र सद्भावना एकीकरण प्रभावित हुने गरेको भित्रियाहरू बताउँछन ।
 
मधेशी पार्टीका नेताहरूबीच देखिने यस्ता मनभेदको कारक उनीहरूको पृष्ठभूमि हुने गरेको पाइन्छ । कम्युनिष्ट पृष्ठभूमिका यादवमाथि कांग्रेस पृष्ठिभूमिका विजय गच्छेदारदेखि जेपी गुप्तासम्मका नेताहरूले आरोप लगाउँदै पार्टी फोडेर हिंडे । यता एमाले पृष्ठिभूमिका महेन्द्र यादव कांग्रेसी पृष्ठभूमिका महन्थ ठाकुरलाई छाडेर तमलोपा फोडेर हिंडे । अहिले उपेन्द्र र महेन्द्र एउटा खेमामा देखिएका छन भने अन्य मधेशी पार्टीहरू अर्को खेमामा । साहित्यकार विमल भन्छन, ‘मधेशी नेताहरूको नेतृत्व टकरावले उनीहरूको राजनीतिक प्रतिबद्धतामाथि नै प्रश्न उठ्छ । सबैको आ–आफनै पृष्ठभूमि र स्तर भए पनि मधेशको सन्दर्भमा अहिलेसम्म पनि उनीहरू सबै एक हुन सकेका छैनन ।’

मोर्चाका नेताहरुको सबल र दुर्बल पक्ष

महन्थ ठाकुर
सवल पक्ष
–    लामो राजनीतिक अनुभव
–    अध्ययनशील
–    सुझबुझ साथ बोल्ने
दुर्वल पक्ष
–    पार्टी व्यवस्थापनमा अक्षम
–    राम्रो टिम बनाउन नसक्ने
–    आलोचना सहन नसक्ने

उपेन्द्र यादव
सबल पक्ष
–    प्रस्ट दृष्टिकोण
–    अध्ययनशील
–    खट्न सक्ने
दुर्वल पक्ष
–अव्यहवारिक
        –शंकालु स्वाभाव
        –अपारदर्शी

राजेन्द्र महतो
सबल पक्ष
–    सक्रिय
–    व्यावहारिक
–    सम्पर्कमै रहने
दुर्वल पक्ष
–अध्ययन कम, बोल्ने बढि
–विश्लेषण क्षमतामा कमी
–सस्तो लोकप्रीयता रुचाउने

महेन्द्र यादव
सबल पक्ष
–    मूल्याङ्कन क्षमता
–    विवादबाट टाढा रहन खोज्ने
–    रणनीतिकार
दुर्वल पक्ष
–    कमजोर संगठक
–    अध्ययनको कमी
–    कम सक्रियता

शरदसिंह भण्डारी
सबल पक्ष
–    बलियो संगठक
–    परिपक्व नेता
–    सधै सक्रिय
दुर्बल पक्ष
–    ‘बाहुवली’ राजनीति
–    लहैलहैमा लाग्ने
–    अध्ययनमा कमी

अनिल झा
सबल पक्ष
–    राजनीतिमा गहिरो रुचि
–    रणनितीक विश्लेषणको खुबी
–    सक्रिय
दुर्बल पक्ष
–    मपाइत्व भएका
–    अरुलाइ होच्याउने
–    चलखेलमा रुचि
 
राजकिशोर यादव
सबल पक्ष
–    प्रभाव बढाउन सक्ने
–    सक्रिय
–    अध्ययनमा रुचि
दुर्बल पक्ष
–    टिम बनाउन नसक्ने
–    पार्टी व्यवस्थापनमा कमजोर
–    आलोचना सहन नसक्ने
 
हृदयेश त्रिपाठी
सबल पक्ष
     –राजनीतिक अनुभव
     –पढलेख गर्ने बानी
     –विश्लेषण क्षमता भएका
दुर्बल
–अपारदर्शी
–टिममा मिल्न नसक्ने
–आलोचना सहन नसक्ने

लक्ष्मणलाल कर्ण
सबल पक्ष
–गहिरो अध्यान
–राजनितीक चरित्र र व्यहवार भएको व्यक्तित्व
–सहि विश्लेषणा गर्न सक्नु
दुर्बल पक्ष
–    संगठनमा कमजोर पकड
–    कमजोर सक्रियता
–    चाडै डराउने

सर्भेन्द्रनाथ शुक्ल
सबल पक्ष
स्वदेशी÷विदेशी शक्तिहरुसंगको राम्रो सम्बन्ध
लामो राजनीतिक पृष्ठभूमि
सोचेर बोल्ने

दुर्लभ पक्ष
मधेशमा कमजोर पकडक
घमन्डी
सामन्ती चरित्र
 
 यो रिर्पोट अन्नपुर्ण टुडेवाट साभार गरिएको छ । 
 



No comments:

Post a Comment