Friday, April 1, 2016

पारिको आकर्षण बढ्दो

सिमावर्ती भारतीय बजारहरु मुज्जफरपुर, भिठ्ठामोड र लखउनमा नेपालीको बढ्दो उपस्थिति र लोभलाग्दो प्रगतीले पारिको आकर्षण बढ्दो छ भन्ने देखाउँछ । 



चितलाङ्गका अमरकुमार श्रेष्ठ मज्जफरपुरमा अमर कुमारका नामले चिनिन्छन् । काठमाडौ थानकोट भन्दा तलको पहाडी बस्तिका अमर भारतको विहार राज्यमा पर्ने व्यापारिक शहर मज्जफरपुरमा जमेर बसेका छन् । त्यँहा बसोबास गरेको ३० बर्ष हुन लाग्यो । उनी त्यहाँका नागरिक हुन । २५ बर्ष अघि उत्तैबाट चितवनकी गितासंग विवाह गरे । विवाह पछि गिता प्रधानको नाम गितादेवी भयो । एउटा स्थानीय औषधी कारखानामा काम गर्ने अमरले घरमा छुटै सानो उद्योग पनि संचालन गरेका छन । मुज्जफरपुरको जेल चौकमा सानदार तीन तल्ले घर छ । अमर र गिताका दुई छोरा र १ छोरी छन् । दुई छोराले भर्खरै स्नातक सके । अमर भन्छन, ‘सरकारी जागीरको तयारी गर्दैछन् उनीहरु ।’
 
मज्जफरपुरको मुसहरी टोलका छोटु कुमार त्यँहाका नामुद जग्गा दलाल हुन । छोटूका दाई गणेशबहादुर चाहिँ मज्जफरपुरमै भारत सरकारको कृषी विभागमा काम गर्छन । छोटु नेपालको पुर्वी पहाड ताप्लेजुडका हुन । उनको विवाह बुटवलकी केटीसंग भयो । छोटु भन्छन, ‘काम गर्न आएपछि यतै सेटल भएँ । नेपाल फर्कन मन लागेन । घर बनाइयो, काम धन्दा यतै सुरु गरियो ।’
 
उनका दुई छोरालाई पनि पुख्यौली थलो नेपालसंग खासै सरोकार छैन । छोटु भन्छन ‘अब त ससुराली खलकका मानिस पो यता आउने योजना बनाउदै छन ।’ अहिले उनको परिवारमा कसैसंग पनि नेपाली नागरिकता छैन ।’ छोटु भन्छन, ‘अब यतै बस्ने भयौ, नेपाली नागरिकता बनाउदैनौ होला ।’


मज्जफरपुर जेल चौककी शोभादेवी थापा सपरिवार त्यहाँ बस्न थालेको २५ बर्ष भयो । काठमाडौ नयाँ बानेश्वरकी शोभाका श्रीमान शम्शेरबहादुर थापा कम्प्युटर पसलमा काम गर्छन । ४ मध्ये ३ छोरी विश्वविद्यालय स्तरको पढाईसंगै काम पनि गर्छन । शोभादेखी भन्छिन, ‘हामी उहिल्यै यताका भईसक्यौ । नेपाल तिरको कुनै कागजात पनि छैन । अब त छोरीहरुको उताजाने इच्छा पनि छैन ।’
 
मज्जफरपुरको जेल चौकमा घर बनाउदै गरेकी शोभाका दुई छोरी एउटा स्थानीय बैंकमा काम गर्छन । सरकारी जागित खाने उनीहरुको लक्ष्य छ त्यसैले सरकारी सेवाको तयारी गर्दैछन । माईली छोरी आरतीसँगै उभिएकी शोभाले भनिन् ‘यिनीहरुको विवाह चाहिँ नेपालतिर गर्न पाए हुन्थ्यो ।’ 
 
भारतको दैनिक अखवार जागरणका मज्जफरपुर संस्करणमा कार्यरत वरिष्ठ पत्रकार प्रमोद कुमारका अनुसार, ‘मज्जफपुरमा १ हजार भन्दा बढी नेपालीको नाम त्यहाँको मतदाता सूचीमा छ ।’ गएको लोकसभा निर्वाचनमा नेपाली मतदाताको भोट आफनो पक्षमा पार्न केही नेताहरु अहोरात्र खटेका थिए । फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादव नेपाली मतदाताको भोट भारतीय जनता पार्टीका पक्षमा पार्न एक साता त्यहाँ बसेका थिए । यादव भन्छन, ‘भाजपाको स्थानीय नेताहरुको अग्रहमा त्यहाँ गएर नेपाली मुलका मतदातालाई मोदीका पक्षमा भोट हाल्न वातावरण बनायो ।’
 
एउटा बाल क्लब समेत चलाईरहेका पत्रकार कुमारका अनुसार मज्जफरपुरमा ३ हजार भन्दा वढी नेपाली समुदायका मानिस छन् । केही समय अघिसम्म मज्जफरपुरको जोगिया मठ नजिक नेपाली टोल नै थियो । विस्तारै उनीहरु आ–आफनो घरहरु बनाउदै अन्यत्र सर्दै गएकोले अहिले त्यो टोलको अस्तित्व छैन । 
मज्जफरपुरको मुसहरी टोल, जेल चौक, अमसद्ध चौक वरिपरि ठूलो सख्याँमा नेपाली बस्ने गर्छन । पत्रकार प्रमोद कुमारका अनुसार, उनीहरु कोही व्यापार गरेर बसेका छन भने कोही सरकारी जागीरमा छन । कति त ठुलठुला उद्योगमा काम गर्ने पनि छन् ।’ 

 
रासनकार्डको चक्कर
 
 

बिहार मोतिहारीका अरुण खेम्काले २० बर्ष अगाडी जलेश्वरकी केटीसंग विवाह गरे । त्यसपछि नेपाली नागरिकता बनाएर नेपालमै व्यापार गर्न थाले । शुरुमा जलेश्वरमा बरफ कम्पनी र कपडा व्यापार गरेका खेम्का १० बर्ष अघि के सोचेर हो फेरि भारत छिरे । अहिले भिठामोडमा उनको नेपाल–भारत साडी संगम नाम गरेको चल्तीको कपडा पसल छ । खेम्का भन्छन ‘हिजो नेपाली नागरिकता बनाएर जलेश्वरमा घरजम र ब्यापार गरियो । अहिले मलाई भिठामोडमा व्यापार गर्न पनि समस्या छैन । किनकी मेरो जन्म घर विहारको मोतिहारीमा छ ।’ खेम्का परिवारका सवै सदस्य अहिले भारतका नागरिक भइसकेका छन् ।
 
भिठामोडमा भेटिएका ब्यापारी विक्रम अग्रवालले आफुलाई बिहार सुपौल जिल्ला निवासी भएको बताए । उनले भने, ‘बुबा नेपालबाट आउनु भएको हो । उहाँसंग नेपाली नागरिकता छ्रैन । तर, हामी दाजूभाई दुवैसंग नेपाली नागरिकता छ ।’ सुपौलको ठुलो जमिन्दार भएको बताउने अग्रवालका जेठा दाजू नारायणघाटमा हार्डवेयर पसल चलाएर बसेका छन् ।
 
कुराकानी गर्दैजाँदा विक्रमले आफना पुर्खाको बखान गर्न भ्याइहाले । उनले भने, ‘हामी मारवाडी भनेका राजस्थानी हौ । समयक्रममा हामी व्यापार गर्दै नेपालसम्म पुगेका हौँ । कुनै मारवाडी नेपालका मुल बासीन्दा होईनन् । तर अहिले प्राय सबैले नेपाली नागरिकता लिईसकेका छन ।’ नागरिकता लिएपछि व्यापार र घरजम गर्न सजिलो हुने भन्दै उनले भने, ‘मैले त विहे नै जलेश्वरकी केटीसंग गरेको छु ।’ विक्रमले चलाउँदै आएको भिठामोडको पसल बुबाको नाममा छ ।
 
भिठामोडका अर्का व्यापारी रामजशो दास महोत्तरी मरैयका हुन । उनले बिहारमा रहेका आफन्तको सहारामा व्यापार गरिरहेका छन् । दास भन्छन, ‘पसल दर्ता गरेर शुरु गर्न यहाँ आफन्तले सघाएका छन । अब यहीँबाट रासनकार्ड निकाल्ने बारे सोचिरहेको छु ।’ भारतमा नेपालीले रासन कार्ड वा नागरिकता सरहको प्रमाण–पत्र ‘पहिचान पत्र’ निकाल्दा नेपालमा जस्तो राष्ट्रियताको नाममा हल्लाखल्ला मच्दिैनन । केहि महिना अगाडी मात्रै भिठामोडमा व्यापार गर्न छिरेका एकजना नेपाली भन्छन, ‘पैसा खर्च गरेपछि यहाँ नेपाल भन्दा पनि सजिलै सवै कुरा मिल्छ ।’ उनका भनाइमा, त्यस्तो कागजात र कारोबारसंग यहाँका स्थानीयको कुनै सरोकार हुदैन । कर्मचारीतन्त्र भ्रष्ट छ, पैसा तिरे पछि रासन कार्डदेखि पहिचान पत्र समेत घरमै ल्याइ दिन्छन ।’
 
मारवाडी - चन्दा दिने गाई 
भिठामोडका प्रसिद्ध किराना व्यापारी ऋषीकुमार मुरारका भारतमा ब्यापार गरेपनि हाकाहाकी आफु नेपाली भएको बताउँछन् । भिठामोड नजिकै रहेको ‘नेपाली गाँउ’ मलिवारमा आफनो जग्गाजमिन रहेको मुरारकाले बताए । उनका काकाहरु जनकपुरका स्थायी बासिन्दा हुन् ।
 
तपाँइले किन नेपाल छाड्नु भयो भन्दा मुरारका भन्छन, ‘तनावले ।’ उनले आफनो दुःखको बेलिबिस्तार लाउँदै भने, ‘५ बर्ष अघि जस्तो लाग्छ, घरमा पटकपटक फोन आउथ्यो । कहिले भारतीय नम्बर त कहिले नेपाली नम्बरबाट । बच्चाहरुको नामै लिथ्यो, स्कुलको नामै लिन्थ्यो । यती पैसा चाहियो भन्थ्यो । चन्दा आतङ्कले व्यापार दिनप्रति दिन धरासायी हुदै गएपछि नेपाल छाड्ने टुङ्गोमा पुगेँ ।’ 
 
अहिले उनी भिठामोडका नाम चलेका होलसेल व्यापारी हुन । पांच बर्ष अघि उनले महोत्तरीमा रहेको आफनो सम्पुर्ण व्यापार बन्द गरे । सदरमुकाम जलेश्वरवाट ३ किमी दक्षीणमा रहेको सिमावर्ती भारतीय बजार भिठामोडमा बस्न थाले । आवश्यक कागजात बनाए । अहिले उनी त्यहाँका स्थायी बासिन्दा भइसकेका छन् ।
२५ बर्षदेखि महोत्तरीको मरैय बजारमा कपडा व्यापार गदै आएका रामजसो दास पनि ३ बर्षदेखि भिठामोड बजारमा ब्यापार गर्छन । खुश्वू बस्त्रालयको नामले प्रख्यात उनको पसल त्यहाँका चिनिने मध्येमा पर्छ । दास अधिल्लो मधेश आन्दोलन पछि विस्थापित भएका थिए । उनी भन्छन्, ‘मरैय बजारमा घर थियो । बस्न नसक्ने अवस्था आएपछि भारत पसेँ ।’  
 
महोत्तरी थरुवाहीका २५ बर्षीय दिलीप मंडल २ बर्ष अगाडी भारतको अरुणाञ्चल प्रदेशबाट केहि पैसा कमाएर नेपाल फर्किएका थिए । गाउँमा व्यापार गर्ने योजना सुनाउँदा परिवारका सदस्यले बस्नै दिएनन् । दिनै पिच्छेको बन्द, च्याउसरी जन्मिएका सशस्त्र समुह र नानाथरी संस्थाको चन्दा आतङ्कले परिवार हैरानीमा थियो । त्यसपछि उनले सिमावर्ती भारतीय सहरमा गएर व्यापार सुरु गरे । ईलेक्ट्रोनिक्सको होलसेल पसल चलाएर बसेका मंडल अहिले भारतीय हुने प्रक्रियामा छन् । उनी भन्छन ‘म आफनै देशमा बसेर व्यापार गर्न चाहन्थे तर परिस्थितिले त्यहाँ बस्नै दिएन ।’ व्यापार गर्ने क्रममा उनले ‘भारतको नागरिक भए धेरै सजिलो हुने’ थाहा पाए । त्यसपछि रासन कार्ड लगायतका कागजातहरु बनाउन थाले । एकजना किराना व्यापारी भन्छन, ‘कानुनत रासन कार्डका लागी यहाँ चार बर्ष बसे पछि प्रक्रियामा गएर बनाउन मिल्ने हो तर स्थानीय सरकारी अधिकारीसंग कुरा मिलाएर छिट्टै पनि बनाउन सकिन्छ ।’
 
बाँके सितापुरका फुटबल खेलाडी धनबहादुर वली फुटबल खेल्न नेपालगन्जको क्लबबाट लखनउ गइ रहन्थे । खेल्दै जाँदा उनी लखनउको सहारा क्लबमा आबद्ध भए । उनले सहारा क्लबबाट थुप्रै खेल खेले । अहिले उनी क्लवको मेनेजर भएका छन् । उनी सहारा बैकमा पनि काम गर्छन । बच्चाहरु लखनउमै पढ्छन । पछिल्ला दिनमा उनी लखनउमै ‘सेटल’ भएका छन । उनका बाल्यकालका साथी खेल पत्रकार टिएस ठकुरीका भनाइमा, ‘उ लखनउबासी भयो ।’ 
 
नेपालगञ्ज उपमहानगर पालिकाका पुर्ब मेयर एवं भारत्तोलनका अन्र्तराष्ट्रिय खेलाडि शमसुद्धिन सिद्दिकीका दुइ भाई स–परिवार लखनउमा बस्दै आएका छन् । काइला भाई चाद अलि सिद्दिकी समाजबादी पार्टीमा आबद्ध छन । उनको ठेक्का पट्टाको व्यवसाय पनि छ । उनी उत्तर प्रदेश नगर निगमको ‘क’ बर्गको कन्ट्याक्टर हुन । उनको बार्षिक ४०÷५० करोडको कारोबार हुन्छ । 
 
शमसुद्धिनका कान्छा भाई आफताब सिद्दिकी स्पोर्टस सप्लायर्स छन् । लखनउको केशरबाग नजिकै रहेको जयहिन्द कम्प्लेक्समा उनको भब्य पसल छ । आफताब पनि ब्यबसायमा राम्रैसंग जमेका छन् । पुर्ब उपमेयर सिद्दिकी भन्छन,  ‘दुबै भाई उत्तै सेटल भए । अब फर्कदैनन् ।’
 
नेपालगन्जका चर्चित ब्यापारी मामराज अग्रवालका छोरा राजेश अग्रवाल एक दशकदेखि स–परिबार लखनउमा छन् । जग्गा प्लटिङको ब्यापार गरिरहेका राजेश नेपालमा संकटकाल लागेपछि लखनउ छिरेका हुन । छोराको बसोबास उत्तै भएपछि बुवा मामाराज पनि ६ महिना लखनउ र ६ महिना नेपालगन्ज बस्न थालेका छन् ।
 
बर्दिया गुलरियाका ४२ बर्षीया अशोक गुप्ता भारतको लखनउमा बस्न थालेको २० बर्ष भयो । क्याम्पस पढ्न लखनउ गएका अशोकले त्यहिँ बिहेबारी गरे । उनी अहिले समाजबादी पाटीकोे युवा संगठनका केन्द्रिय तहका कार्यकर्ता हुन । गुप्ता सो पार्टीका युवा नेता तथा उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादवका विश्वास पात्र मानिन्छन् । 
 
पारिको आकर्षण  
महोत्तरी साहूजी पटीका अनिल साह केहि समयदेखि भारतीय बजार भिठामोठमा कस्मेटिक पसल चलाउँदै आएका छन् । जलेश्वर बजारको पुरानो ‘टेन्ट हाउस’ का मालिक साह भन्छन, ‘मान्छेले अवसर खोज्ने हो । जता अवसर पाइन्छ, त्यतै जान्छ ।’ साहका अनुसार, ‘सिमावर्ती नेपाली सहरबाट पछिल्लो समय धेरै नेपाली भारत छिरेका छन् । उदेश्य र गन्त्व्य फरक फरक भएपनि चाहना सम्बृद्धी हो ।’
 
भिठामोडमा होलसेल व्यापार गरिरहेका जलेश्वर १३ का शम्भुप्रसाद शाहका भनाइमा, ‘पहिला आवश्यकता अनि मात्रै समाज, राजनीति र प्रशासनिक सम्बन्ध हुँदो रहेछ ।’ उनले थपे, ‘यताको उता र उताको यता अब समान्य भयो । मान्छे बस्ने, रमाउने भनेको समाजको चरित्रसंग जोडिएको विषय हो ।’ साहका बुझाइमा, ‘राम्रो अवसर र उपयुक्त वातावरणको खाजीले मानिसलाई तानेर लैजाने हो, बाँकी कुरा त्यस पछि मात्रै आउँछन् ।’ भिठामोडका किराना व्यापारी श्रवण मुरारका झन् स्पष्ट छन् । मुरारका भन्छन, ‘जसले जे सुकै भनोस मानिस जहिले पनि सम्भावनाको पछि लाग्छ ।’


अवसरनै महत्वपुर्ण र अन्तिम लक्ष्य हो -  विद्याविर सिंह कंसाकार, वरिष्ठ भुगोलविद्ध  

नेपाल र भारत बीच खुल्ला सिमाका कारण यताको उता र उताको यता सत्य हो । दुई देशको सांस्कृतिक सम्बन्ध नै हजारौ बर्ष पुराना छन् । अहिले विश्वब्यापी रुपमा मानिस अवसरको पछाडी दौडी रहेको छ । सन १९६४ मा भारत र नेपालको मुद्रा स्थिती वरावरीमा थियो, त्यसपछि भारतको वढयो, हाम्रो बढेन । त्यहि बेलादेखि नेपालबाट भारत काम गर्न जाने जमात बढ्यो । मुख्य गरी हरियाना र पन्जावमा जव हरित क्रान्ति सुरु भयो, त्यहाँ कामदारको व्यापक खाचो देखियो ।
 
नेपालको तराईबाट ह्वातै उता जान थाले । त्यहाँ बाह्रै महिना काम पाउन थालेपछि यहाँ को बसुन ? ज्याला पनि भारतीय रुपैयामा आउने । त्यसपछि मात्रै हो तराई मधेशमा खेतमा काम गर्नेहरुको ज्यालामा वृद्धि भएको । पछिल्लो दशकमा भारतले टेक्नोलोजीको व्यापक फडको मार्न थालेको छ  । यसले अब यहाँका पढन लेख्ने जमातलाई पनि तान्न थालेको छ । म यसलाई स्वभाविक रुपमा लिन्छु । किनकी मानिस आफुसंग पढाई लेखाई भएपछि त्यही अनुसारको काम र सेवा र सुविधाहरु खोज्छ ।
 
जस्तो कि सुरु सुरुमा किसानहरु हरियान र पंन्जाव जान्थे । पछि उनीहरु त्यहा भन्दा धेरै पैसा आउने कतार र मलेसिया जान थाले । अब नेपालको पढे लेखेको जमातले भारतमा अवसर देखिरहेको छ त्यता लाग्छ । यो स्वभाविक हो । पन्चायतकालमा नेपालमा निर्माण कामको अवसर हुँदा त्यताबाट धेरै जना यता आए उनीहरुले राम्रो अवसरहरु पनि पाए । यो भइराख्छ, यसलाई कसैले रोक्न सक्दैन । अवसर नै
मानिसको अन्तिम र सवै भन्दा महत्वपुर्ण लक्ष्य हो, जसले उसको जीवन व्यवस्थीत हुन्छ ।  

खोज पत्रकारिता केन्द्रका लागी तयार पारिएको यो रिर्पोट तलको लिकंमा गएर समेत पढन सकिन्छ 

1 comment:

  1. नविन जी आशा गर्छु की भबिष्यमा पनी यस्ता खोजमुलक लेख पढ्न पाइयोस |

    ReplyDelete