Wednesday, April 6, 2016

‘सूटर’हरू झण्डावाल गाडीमा

जनकपुरको शिवचोकमा अरुण सिंघानियालाई गोली हानेर ढालेपछि चार जना ‘सूटर’ राज्यमन्त्री संजय साहको झण्डावाल गाडी चढेर काठमाडौं आएका थिए । 

१७ चैत २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषाले एउटा सशस्त्र समूहका अध्यक्ष चन्द्रदीप यादवलाई सार्वजनिक ग¥यो । प्रहरीले आफ्नो प्रेस विज्ञप्तिको शीर्षकमै भन्यो ‘सिंघानिया हत्याका योजनाकार पक्राउ ।’ विज्ञप्तिको पहिलो वाक्यमा महत्वका साथ भनिएको थियो, ‘सिंघानिया हत्याका योजनाकार र मुख्य भूमिका खेल्ने चन्द्रदीप यादवलाई पक्राउ गर्न हामी सफल भएका छांै ।’
 
जनतान्त्रिक टाइगर जनशक्ति पार्टीको प्रमुखको आवरणमा आपराधिक गतिविधिमा थिए चन्द्रदीप यादव । उनलाई पक्राउ गरेर प्रहरीले ६ वर्षअघि जनकपुरमा मारिएका संचार उद्यमी अरुण सिंघानिया हत्याको छानबीनलाई एउटा निष्कर्षमा पु¥याएको दाबी गरेको छ ।
 
१७ फागुन २०६६ होली पर्वको दिन थियो । जनकपुरको शिवचोकमा होली मनाइरहेका सिंघानियालाई गोली हानियो । लगत्तै तराई जनतान्त्रिक पार्टी मधेश सशस्त्र समूहका मुकेश चौधरीले स्थानीय संचारकर्मीलाई फोन गरेर घटना आफूले गराएको भनेर जिम्मेवारी लिए । अर्को सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका राजन मुक्तिले पनि घटना आफूले गराएको भनेर दाबी गरे । चौधरी र मुक्ति दुवै अहिले जेलमा छन् । प्रहरीले उनीहरूलाई डेढ बर्षअघि भारतबाट पक्राउ गरेर ल्याएको थियो ।
 
चन्द्रदीप पक्राउ परेपछि अरुण सिंघानिया हत्याकाण्डको भित्री पाटो खोतल्न हामीले कारागारमा रहेका मुकेश चौधरीलाई भेट्यौं । उनले हाकाहाकी भने, ‘मलाई सिंघानियाको हत्या भए लगत्तै संजयले  ९८५४०२०२०७ नम्बरबाट फोन गरेर हत्याको जिम्मा लिन भनेका थिए । त्यसपछि मैले घटनाको जिम्मा लिएँ ।’
 
दुई डनको चक्रव्यूह 


भर्खरै पक्राउ परेका चन्द्रदीप यादवले समेत यसलाई पुष्टि गर्दै प्रहरीलाई घटनाको बेलिबिस्तार लगाएका छन् । उनको बयानले अनुसन्धानलाई निष्कर्षमा पु¥याउन सघाएको प्रहरीको भनाइ छ ।
 
२०६६ फागुनमा सिंघानियाको हत्या हुँदा संजय साह भौतिक योजना राज्यमन्त्री थिए । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका एक जना प्रभावशाली नेता पनि थिए, उनी । जनकपुर बम काण्डमा साहका मानिस पक्राउ परेपछि तिनीहरूलाई छुटाउन विजय गच्छदारले वास्ता नगरेपछि उनी केही दिन फोरम क्रान्ति नाम गरेको संगठनमा सक्रिय भए । संविधानसभाको दोस्रो चुनाव भन्दा केही अघि साह राजेन्द्र महता अध्यक्ष रहेको सद्भावना पार्टीमा प्रवेश गरेर उपाध्यक्ष भएका उनी हालसम्म पनि सोही पदमा छन् । 
 
चन्द्रदीप पक्राउ परेपछि सिंघानिया हत्याको नयाँ पाटो खुलासा भएको छ । चन्द्रदीपका अनुसार, जनकपुर टुडेमा श्रृंखलाबद्ध रूपमा प्रकाशित समाचारहरू यो हत्याको मुख्य कारण थियो ।
 
२०६५ सालपछि जिविस धनुषाका सह लेखापाल रहेका जीवनाथ चौधरी र राज्यमन्त्री भएका साह बीच सम्बन्ध बिग्रिए पछि विवादमा जनकपुर टुडे पत्रिका पनि जोडिन पुग्यो । संजय साहले जनकपुरमा भ्रष्टाचार विरोधी आन्दोलन चर्काए । आन्दोलनमा जनकपुरका युवा सक्रिय देखिए पनि त्यसको लगाम संजय साहका हातमा थियो ।
 
संयोगवश त्यही समयमा चौधरीको घरमा डकैती भयो । चौधरीले संजय साहले आफ्नो घरमा डकैती गराएको भनेर उजुरी दिए । त्यसपछि अरुण सिंघानिया प्रकाशक रहेको जनकपुर टुडे दैनिकमा डकैतीमा संजय साहको संलग्नतालाई जोडेर लगातार समाचार प्रकाशित भए । अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, त्यसपछि संजयले प्रकाशक सिंघानियालाई फोन गरेर धम्क्याएका थिए । अलि जिद्दी स्वभावका सिंघानियाले संजय साहको धम्कीलाई वास्ता गरेनन् । लगत्तै संजयकै योजनामा उनका दाहिने हात मानिने रामविनोद यादव र चन्द्रदीप यादवले सिंघानिया हत्याको योजना बनाए । १७ फागुन २०६६ मा होली मनाइरहेको बेला सिंघानियाको हत्या गरियो ।
 
‘सूटर’ मन्त्रीको गाडीमा 

घटनाको ६ बर्षपछि पक्राउ परेका चन्द्रदीप यादवले प्रहरी समक्ष नयाँ तथ्य उद्घाटन गरेका छन् । अरुण सिंघानियालाई गोली हानेपछि उनी र ‘सूटर’ हरू एकल सहनी, अन्सी राइन, मनक लामा र पवन लामा तत्कालीन राज्यमन्त्री साहको झण्डावाल गाडी चढेर राजधानी भित्रिएका थिए ।
 
प्रहरीका अनुसार, जीवनाथ चौधरीको प्रभावमा जनकपुर टुडेले आफूलाई लखेटेको भन्ने संजयलाई लागेपछि प्रकाशक सिंघानियाको हत्या गर्ने योजना बन्यो । उनले यो कामको जिम्मा मुकेश चौधरी, रामविनोद यादव र चन्द्रदीप यादव तीन जनालाई दिए । साह निकट रामविनोदमार्फत चन्द्रदीप यादवलाई १० लाख रुपैयाँ पठाएर सूटरहरूको व्यवस्था गरियो ।
 
सूटरको खोजी गर्न चन्द्रदीप बाबु थापा समूहको सम्पर्कमा पुगे । बाबु थापाको समूहले नै हो सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानेको । सोही समूहका चारजना सूटरहरू एकल सहनी, मनक लामा, पवन लामा र अन्सी राइनलाई सिंघानिया हत्याको जिम्मेवारी दिइयो ।  सहनी र राइन पक्राउ परे पनि लामाद्वय नक्कली पासपोर्ट बनाएर विदेश गइसकेको प्रहरीको बुझाइ छ ।
 
अनुसन्धान स्रोतका अनुसार, घटनाको अघिल्लो दिन चारै जना सूटरलाई जनकपुरको रामा होटलमा राखिएको थियो । रामा होटल जनकपुर टुडेको कार्यालय छेउमै पर्छ । संजय साह आफंै एउटा भारतीय नम्बरको गाडी चढेर होटलमा पुगेका थिए । उनले नै सूटरहरूलाई दुई वटा हतियार दिए, सिंघानिया हत्यामा तिनै हतियारको प्रयोग भयो ।
 
सिंघानियाको हत्या भएको साँझ चारै जना सूटरलाई लिएर राज्यमन्त्री संजय साहको गाडी काठमाडौं आयो । मन्त्रीले प्रयोग गर्ने झण्डावाल गाडी भएकोले प्रहरीले कतै पनि चेकजाँच गरेन । राज्यमन्त्री साह चाहिं भोलिपल्ट सिंघानियाको अन्त्येष्टिमा भाग लिन गए, श्रद्धाञ्जली दिएर काठमाडौं फर्के । नेपाल प्रहरीको तत्कालीन धनुषा नेतृत्वले चाहिं ‘अपराधीहरू भारततिर भागेको हुनसक्ने’ भनेर खोजबीन गर्न एउटा टोली पटनातिर पठाएको थियो ।
 
अनुसन्धान स्रोतका अनुसार साहले हत्या प्रयोजनकै लागि सूटरलाई दुई वटा मोटरसाइकल दिएका थिए । घटनापछि प्रहरीले ती मोटरसाइकल खोजे पनि फेला पार्न सकेको थिएन । रोचक पक्ष के रहेछ भने सिंघानिया हत्याको केही महीनापछि जनकपुरको स्टेसन एरियाको प्रहरी चौकीका असई विरुद्ध संजय साह र उनका समर्थकहरूले आन्दोलन गरे । मन्त्री आफैं आन्दोलनमा सहभागी थिए । त्यही आन्दोलनका क्रममा विरोध स्वरुप ती दुई मोटरसाइकलमा आगो लगाइयो । प्रमाण नष्ट गर्न योजनाबद्ध ढंगले गरिएको काम थियो, त्यो । एउटा मोटरसाइकल पूर्ण रूपमा जल्यो भने अर्को आंशिक रूपमा मात्रै जलेको थियो ।
 
आंशिक रूपमा जलेको मोटरसाइकललाई जनकपुरको एउटा वर्कशपमा लगेर फालियो । २०७० सालमा जनकपुरमा प्रहरी प्रमुखको रूपमा एसपी उत्तम सुवेदी पुगे । उनले सशस्त्र समूहमा लागेका झण्डै ७५ जनालाई समातेपछि सिंघानिया हत्यामा प्रयोग भएका ती दुई मोटरसाइकल संजय साहका मानिसले जलाएको रहस्य खुल्यो । त्यही रहस्यमय सूचना पछ्याउँदै अगाडि बढ्दा यो हत्याकाण्डमा संजय साह तानिन सक्ने सुईंको प्रहरीले पायो ।
 
सशस्त्र समूहका मानिसबाट प्रहरीले अर्को महत्वपूर्ण सूचना पायो । यो घटनामा संजय निकट रामविनोद यादव र चन्द्रदीप यादव संलग्न भएको प्रमाण खुल्यो । यसपछि मुकेश चौधरी र चन्द्रदीप यादबसम्म पक्राउ परे र घटनाको भित्री पाटो बाहिर आयो । यसरी आधा जलेको मोटरसाइकलबाट शुरु भएको सिंघानिया हत्या काण्डको छानबीन १७ चैत २०७२ मा चन्द्रदीप यादव समातिएपछि एउटा अध्याय समाप्त भएको छ । यद्यपि सिंघानियालाई गोली हान्ने काममा संग्लन रामविनोद यादव, मनक लामा र पवन लामालाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।
 
सिंघानिया हत्याको जिम्मेवारी लिने मुकेश चौधरी अहिले ललितपुरको नक्खु कारागारमा छन् । उनी अहिले के सोचिरहेका होलान् भनेर हामीले सम्पर्क ग¥यौं । मुकेशले ‘जानी नजानी आफू प्रयोग भएको स्वीकार गरे ।’ उनले भने, ‘संजयले हामीसँग सबै कुरा भन्दैनथ्यो । भित्री खेल के हो उही जानोस् तर उसको आग्रहमा सिंघानिया हत्याको जिम्मा मैले लिएको हो ।’  
 
सशस्त्र समूहको सकस 

सिंघानिया हत्याकाण्डको तीन वर्षपछि १८ वैशाख २०६९ मा जनकपुरमा बमकाण्ड भयो । संजय साह र मुकेश चौधरी सो बमकाण्डमा मुछिएका कारण जेलमा छन् । मिथिला राज्यको माग लिएर धर्नामा बसेका बेला जनकपुरको रामानन्द चोकमा बम बिस्फोट गराइएको थियो । बिस्फोटमा पाँच जनाको मृत्यु भएको थियो ।
जनकपुर बमकाण्ड र अरुण सिंघानिया हत्याकाण्डलाई जोड्ने तन्तु भनेको संजय साह र जीवनाथ चौधरीबीेचको शत्रुतापूर्ण सम्बन्ध थियो । कुनै बेला कवाडी सामान संकलन गर्ने संजय साह र जिविसका सह–लेखापाल जीवनाथ चौधरीबीचको सम्बन्ध दुश्मनीमा परिणत भएपछि आज त्यसको तनाव सिङ्गो जनकपुरले भोगिरहेको छ ।
 
जनकपुरले यो तनाव अझै कहिलेसम्म झेल्नुपर्ने हो टुङ्गो छ्रैन । किनकि प्रहरीले जनकपुर बमकाण्डका आरोपी संजय साहलाई सिंघानिया हत्या अभियोगमा समेत मुद्दा दायर गर्दैछ । कुनै चमत्कार नभए संजय तत्कालै जेल बाहिर आउन सक्ने सम्भावना देखिंदैन । तर, संजयका प्रतिद्वन्द्वी र जनकपुरको अपराध मामिलाका अर्का केन्द्र जीवनाथ चौधरी जनकपुरका एक्लो डन भएका छन् । विशेष अदालतले २०७२ असारमा जीवनाथ चौधरीलाई भ्रष्टाचारको अभियोगमा रु.३ लाख जरिवाना र १८ महीना कैद गर्ने फैसला गरिसकेको छ । तर जीवनाथले सर्वोच्च अदालतमा पुनरावेदन गरेका कारण यो फैसला कार्यान्वयन भइसकेको छैन । त्यसैले अपराधको जालोमा जेलिएको जनकपुर तत्कालै पुरानै लयमा फर्किन्छ भन्न सकिने अवस्था अझै छैन ।
खोज पत्रकारिता केन्द्रका लागी तयार पारिएको यो रिर्पोट तलको लिकंमा गएर समेत पढन सक्नु हुन्छ ।

No comments:

Post a Comment