Sunday, March 6, 2016

५२ वर्षपछि दुर्गानन्द झा सहिद घोषित


तत्कालीन सरकारले मृत्युदण्ड दिएका दुर्गानन्द झालाई ५२ वर्षपछि फागुन १९ गते सहिद घोषणा गरिएको छ । पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले पञ्चायत लादेको आक्रोशमा बम प्रहारको अपराधमा फाँसीको सजाय पाएका झालाई सरकारले आधिकारिक रुपमा सहिद घोषणा गरेको छ । झाका परिवारसहित सरोकारवालाले समेत झालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका थिए । झाको योगदानको संस्मरणमा जनकपुर हरेक वर्ष माघ १५ गते बलिदानी दिवस मनाइन्छ ।


गणतन्त्रका लागि २०१८ माघ ९ गते जनकपुरमा जानकी दर्शन गर्न पुगेका तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेकामा पक्राउ नपरेका २० वर्षीय झाले निरङ्कुशताको अन्त्यका लागि पछि आफूलाई समर्पित गरेका थिए । बम प्रहार गरेर फरार भएका झालाई भागेकामा छटपटी र पश्चाताप भएको थियो । क्रान्ति गर्ने तर भागी भागी लुक्ने भन्दै उनले तीन महिनापछि गिरफ्तारी दिए ।


नेपालकै इतिहासको प्रथम बमकाण्डको अनुसन्धान गर्न त्यतिखेर ५९ जनालाई समातेर यातना दिइएको थियो । सोही दिन जनकपुर विमानस्थलमा अरविन्दकुमार ठाकुर बमका साथ पक्राउ परिसकेका थिए । बमकाण्डमा निर्दोष मानिसलाई कुटपिट गरी यातना दिएको खबरले दुर्गानन्द तीन महिनापछि जयनगरबाट रेल समातेर गिरफ्तारी दिन जनकपुर फर्कंदा उनलाई परवाह रेल्वे स्टेसनमा प्रहरीले पक्राउ गरेर जलेश्वर कारागार पुर्याइएको थियो ।

अर्को दिन परकौली सैनिक छावनीमा ल्याएर हेलिकप्टरबाट काठमाडौँ पुर्याई विशेष अदालतद्वारा २०१९ भदौ १९ गते कुनै सुनुवाइ नै नगरी मृत्युदण्ड दिने फैसला सुनाइएको थियो । पञ्चायतकालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको इजलासबाट उक्त फैसला भएको थियो । विसं २०१९ फागुन २० मा सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले फैसलालाई सदर गरेपछि २०२० माघ १५ गते राति सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी उनको हत्या गरियो ।

ब्राह्मणलाई मृत्युदण्ड नदिइने व्यवस्था मुलुकी ऐनमा भएकोमा एेन संशोधन गरी दुर्गानन्दलाई मृत्युदण्ड दिइएको थियो ।  झालाई सहिद घोषणा गर्ने सरकारको निर्णयले धनुषावासी खुसी छन् ।
रारास /अजयकुमार साह

No comments:

Post a Comment