Tuesday, May 19, 2015

सिंगटीमा पुनर्जन्म पाएँका बिबिचन महतोको व्यथा

महाभूकम्पपछि गत २९ गते मंगलबार आएको अर्को शक्तिशाली भूकम्पमा परी दोलखामा मृत्यु हुनेको संख्या ८३ पुगेको छ। पहिरोमा पुरिएकाको अझै उद्धार हुन सकेको छैन। सिंगटी बसपार्कको पाँच तल्ले पक्की घरमा पुरिएका व्यक्तिलाई निकाल्न सकिएको छैन। भूकम्पको धक्काले सिंगटीकै बासिन्दा भने दुई जनाको मृत्यु भएको छ। भूकम्पबाट घर भत्किएपछि किनमेल गर्न आएका, सरकारी राहत लिएर फर्कंदै गरेका र सदरमुकाम चरिकोट फर्कन बसको पर्खाइमा बसेका सर्वसाधारण धेरै पुरिए। पुरिएका व्यक्तिका आफन्तले स्थानीय प्रहरी र सेनालाई चाँडो उद्धार गरिदिन आग्रह गरिरहेका छन्। सेनासँग पर्याप्त जनशक्ति छ तर निकाल्ने साधन र डोजर छैन। भूकम्पको धक्काले ढुंगामाटोले बनाइएको घर सबै भत्कियो। मंगलबार मध्याह्न भूकम्प गएपछि बिबिचन महतो पनि पुरिए। पुरिएपछि उनीहरूलाई कसरी जीवितै निकाल्न सकियो उनकै शब्दमा -


बिबिचन महतो


कोट्याएर निस्किएँ  - बिबिचन महतो

 
जन्मथलो रौतहट छाडेर १४ वर्षदेखि सिंगटीमा व्यापार गर्दै आइरहेको थिएँ। भाडामा बस्नुभन्दा आफ्नै घर हुँदा बेस भनेर जुन घरमा पसल गर्थें, त्यही घर किनें। लगानी बढाएँ। पहिलो र दोस्रो भूकम्प जाँदा चर्किए पनि सामान निकालेको थिइनँ। बजार पसल अरू बेला जस्तै सबै खुल्न  थालेपछि मैले पनि खोलें। भूकम्प जाँदा ग्राहक थिए। पैसा फिर्ता दिन खोज्दै थिएँ। भूकम्प गयो। ती ग्राहक भाग्न भ्याए। मचाहिँ पैसा दिन खोज्दा अलमलिएँ। मेरो पसलका काम दार सिजभ महतोचाहिँ ढोकामा च्यापिएछन्। घर अगाडि सडकतिर भत्किएपछि म भित्रै बिममा अडेस लगाएर बसें। माथिल्लो तल्लाले थिच्दासम्म केही भएको थिएन। जब सँगैको मिङमार शेर्पाको घर मेरै घरतिर ढलेपछि अब मरियो भन्ने लाग्यो। 

 सडकमा रुवाबासी र भागदौड भएको सुनिन्थ्यो। कोलाहल नै थियो। पुरिएपछि माथितिर हेरें, केही देखिनँ। कतै चोट लाग्यो कि भनेर छामें। केही नभएपछि आफैं बढें। टाउकोको माथिल्लो भागमा हातले कोट्याउन थालें। धेरैबेरपछि उज्यालो प्रकाश छिर्ने सानो प्वाल बनाए। अनि मैले बोलेको बाहिर सुन्ने भयो। उद्धार गरिरहेकालाई मलाई केही भएको छैन। चोट पनि लागेको छैन। बाहिर च्यापिएकालाई पहिला निकाल्नु, अनि मलाई निकाल्दा हुन्छ भनें। उद्धार टोलीले मलाई दुई घण्टापछि सकुशल निकाल्यो।

 
नोट - यो साम्रगी मंगलवारको कान्तिपुर दैनिकमा प्रकाशित मकर श्रेष्ठको समाचारवाट उद्धृत गरिएको छ

No comments:

Post a Comment