Wednesday, March 18, 2015

मासिँदैछ जनकपुरधाम



जनकपुरधाम । हिन्दु मिथकअनुसार भगवान रामचन्द्रको शासनलाई भ्रष्टाचार र बेथितिबाट मुक्त ‘राम राज्य’ मानिन्छ । तर, तिनै भगवान रामचन्द्रको ससुराली घर मानिने जनकपुर धाममा यतिबेला ‘राम राज्य’को साटो भ्रष्टाचारी र भूमाफियाहरुले ‘हराम- राज्य’ चलाइरहेका छन् ।

धनुषाको जनकपुर नगरपालिकाभित्र मात्रै १४ वटा राजगुठीहरु छन् । जानकी मन्दिर, सीताकुण्ड र वीरपुर गुठी भने छुटगुठी अन्तरगत राखिएका छन् । यहाँका सबै गुठीहरु अतिक्रमणमा परेका छन् । प्रशिद्ध जानकी मन्दिरको जमीनमा सबैभन्दा बढी अतिक्रमण भएको छ ।
 
जनकपुर नगरपालिका क्षेत्रको गुठीको जमीनमा कतिसम्म अतिक्रमण भएको छ भने राममन्दिरको साविक २ हजार ८ सय ६७ विगाहा जग्गामध्ये २५ सय विगाहा अतिक्रमणमा परिसकेको छ ।
 
जानकी मन्दिरको ६ सय विगाहमध्ये ५ सय ३० विगाह, लक्ष्मण मन्दिरको ४ सय १० विगाहामध्ये ३ सय ९० विगाहा र रत्नसागरको ६५ विगाहामध्ये ४२ विगाहा जमीन अतिक्रमणमा परेको छ ।
त्यस्तै कुवा मठको ४ सय ८५ विगाहामध्ये ४ सय ६० विगाहा र हनुमान मठको १ सय ४३ विगाहा मध्ये १ सय ३० विगाहा जमीन अतिक्रमणमा परेको छ ।
 
गुठीकोे शरणमा आएका महन्थहरुले नै गुठीको श्रीसम्पति नै विनाश गर्ने खेलको अगुवाइ गरेकाले देवभूमिमा भूमाफियाको व्यापार चलिरहेको छ । यसमा गुठी संस्थान, मालपोत, नापी कार्यालय र महन्थ मात्र होइनन्, अपराधकर्मीहरु समेत सक्रिय देखिएका छन् ।
 
जनकपुरधाममा ७२ तलाउ, १५ कूप ९कुवा०, १५ शिवालय, २४ देवीपीठ, ५ उपवन, २६ ऋषि आश्रम बनेको तथ्यांकमा देखिन्छ । तर, ती मठमन्दिर, कुटी, सरोवर र कुण्ड आदि अतिक्रमणमा परेर लोपोन्मुख छन् ।
 
रामानन्द सम्प्रदायका उन्नायक सन्त रामानन्दको गुठी जमीनसमेत भूमाफियाको हातबाट बेचिइसकेको छ । वैष्णव सन्त रामानन्दका नाममा अहिले सार्वजनिक चोकमात्रै बाँकी छ ।
 
जानकी माताका लागि बनेको पवित्रतम् पयश्विनी सर पोखरी मासेर निरन्जन साहले मानकी होटल खडा गरेका छन् । पवित्र जनक सरोवरलाई वकिल टोलका वासिन्दाले लोप गराइसकेका छन् ।अमृतकुण्ड, बलदेवसर र गोपालसरलगायतको जमीन व्यापारीहरुले कब्जा गरेर मांस मदिरा बेच्ने बजार बनाएका छन् ।
 
त्यस्तै जनकपुरका प्रशिद्ध तैलघृतिकासर, मण्डनसर, चन्द्रकुप, रामसागर, मुरली(सर, पादप्रक्षालन ९गोडधोई०सर, पुरन्दरसर, पाकवतीसर, दीर्घिकासर, लक्ष्मणसर, सेवामन्तकसर, धूतपापसर, सीताकुण्ड, पापमोचनीसर आदिले पनि निरन्तर अतिक्रमण झेल्दैछन् ।
 
भारत टिकमगढकी महारानी वृषभानु कुँवरले जानकीको जन्म क्षेत्रलाई धार्मिक र दैविक पहिचान दिन सन् १९९८ मा जानकी मन्दिर बनाइदिएकी थिइन् । यसै मन्दिरको संरक्षणका लागि धनुषा र महोत्तरी जिल्लामा विभिन्न २३ गुठी खडा भई ६ हजार विगाहाभन्दा बढी जमीनको देवगुठी स्थापित भएको थियो । यी गुठीको ५ हजार विगाहा भन्दा बढी जमिन व्यक्तिको भोगचलनमा पुगिसकेको छ ।


महन्थलाई लुटको लाइसेन्स


जानकी मन्दिरको जमीन राजगुठी भए पनि छुटगुठीमा राखेर महन्थको जिम्मा लगाएदेखि नै जानकी भूमि हरणको खेल शुरु भएको देखिन्छ ।

 
यो गुठीको रेखदेख संस्थान आफैले गर्नुपर्नेमा सो नगरी मन्दिरको कुनै पनि सम्पति कुनै पनि तवरले बेचबिखन, दान दातव्य वा मनखपद्वारा कसैलाई पनि दिन नपाउने शर्तमा गुठी संस्थानले सम्पूर्ण जिम्मेवारी महन्थलाई सुम्पिएपछि गुठीको जमीनमा महन्थको मनोमानी चल्न थालेको हो । यसमा गुठी संस्थान आफैं लुटको साक्षी बनेको छ ।
 
गुठी संस्थानको जनकपुर कार्यालयले नै जानकी मन्दिरको पुरानो श्रेस्ता, अर्थात् सम्वत १९८३ को लागत गायव बनाइदिएपछि यस देवभूमिमा भूमाफियालाई कब्जा जमाउन सजिलो भएको छ । गुठीको पुरानो श्रेस्ता नभेटिएपछि, ०२९ सालमा जनकपुर अञ्चलाधीश कार्यालयले तत्कालीन महन्थ रामशरणदास वैष्णवबाट गुठीको जग्गाको फाँटवारी मागेको थियो ।
 
महन्थ रामशरणदास वैष्णवले फाँटवारी दिँदा धेरै जमीन लुकाए । तर, गुठी संस्थानले यसै फाँटवारीलाई जानकी मन्दिरको आधिकारिक दस्तावेज मान्यो ।
 
रामशरणदासले अञ्चाधीश कार्यालयलाई साविक बेल्ही बिर्ताको किशोरनगर, रजौली र पिडारी वरपरको ९७ विगाहा ८ कठ्ठा ८ धुर जतिको लगत दिएका थिए । धेरै जमीन लगतमा नपारिएपछि देवगुठीको सम्पति बेवारिसे हुन गयो ।
 
स्थानीयले गुठी संस्थानलाई हारगुहार लगाएपछि, गुठी संस्थानले छुटगुठी बनाएर रेखदेखको सम्पूर्ण जिम्मेवारी महन्थ रामशरणदास वैष्णवलाई नै सुम्पियो ।
 
यसपछि महन्थले मनोमानी गर्ने लाइसेन्स पाएजस्तो गरेर गुठीको जमीन बेचविखन गर्न थाले । रामशरणदासले बेंगा शिवपुर गाविसमा रहेको जानकी मन्दिरको जमिन स्थानीय नेता तथा व्यापारीहरुलाई प्रतिकठ्ठा २५ हजार देखि ५० हजारसम्ममा बेचविखन गरेर देवभूमि विनाशको कार्य शुरु गरेका थिए ।
महन्थको मनखप ९खाईपाई तलव०, दोकानी ९खुद्रा खर्च० तथा पूजा ९खर्च० चलाउने वहानामा रामशरण दासले देवभूमिको जमीन ०४४ देखि नै बेच्न थालेका हुन् । ०४६ सालमा व्यवस्था परिवर्तन भएको ५ वर्षे लुटको अवधिमा महन्थको दरबारमा गुठी जमीन किनबेचको ठूलो धन्धा चल्यो ।
 
महन्थले मनखप वापत आफूले गुठीको जमीन लिएर सो जमीन व्यक्तिलाई बेचिदिएको लिखत बनाइदिन्थे । त्यही लिखतका आधारमा ०५१ सालको नापीको मौका छोपेर व्यक्तिहरुले गुठीको जमिन आ(आफ्नो नाममा गराए । ०५१ सालमा नापी गरिएको जमीन गुठी संस्थान ऐन २०३३ को संसोधनसहितको दफा २५ ९३० लगाएर रैतानी दर्ता गरिएको थियो । महन्थको जालसाजपूर्ण लिखतलाई गुठी संस्थान, मालपोत कार्यालय र नापी विभागले मान्यता दिएपछि महन्थले स्थानीय भूमाफियासँग मिलेर गुठी जमीनको खुला कारोबार नै चलाए । मनगढन्ते मनखपका आधारमा जानकी मन्दिरको जमीनमा अहिले ४ सय ५० भन्दा बढी परिवारले घर र बजार बनाएका छन् ।
 

छानविन अयोगले के भन्छ ?


घिमिरे आयोगको प्रतिवेदनको २ सय ४६ औं नम्बरमा जानकी भूमि अतिक्रमणकारी भनेर एमालेका वरिष्ठ नेता रघुविर महासेठको नाम दिएको छ । दशरथ तलाउको पूर्वको जानकी मन्दिरको जमीनमा रघुविर महासेठसहित अशोक महासेठ, रामबाबु महासेठ, विजय महासेठ र मुकेश महासेठहरुको समूहले ६० कित्ता जमीन कब्जा गरेको बताइएको छ ।
 
त्यस्तै प्रतिवेदन अनुसार पिडारी चोकको गोडधोई पोखरी, अरगजा पोखरी र तेलहा पोखरीको जमीन स्थानीय ३७ परिवारले कब्जा गरेका छन् । मराह पोखरीको २४ कित्ता जमिनमा डा।रामवृक्ष साह समेतले अतिक्रमण गरेका छन् । लक्ष्मण मन्दिरको जमिनमा भने २९ ठूला घरानाले कब्जा जमाएका छन् ।
 

खान्कीका नाममा जालझेल


रामशरणदास वैष्णवको ०५३ सालको असारमा रहस्यमय मृत्यु भएपछि उनका चेला रामतपेश्वर दास जानकी मन्दिरका हर्ताकर्ता बने । यिनले ०५३ सालपछि पनि पुरानै मितिका रामदास वैष्णवका हस्ताक्षरमा नक्कली मनखप लिखत तयार पारेर गुठीको जमिन बेच्ने उद्योग शुरु गरे ।
 
घिमिरे आयोगले भनेको छ (“०५३ सालमा नापी हुँदा सर्वे नक्शामा घर नरहेको र मन्दिरका खाली रहेको जमीनमा पनि मन्दिरका महन्थद्वारा पहिलेको मितिको जालसाजी मनखप कागज तयार गराई घर बनाउन लगाए ।”
 
यसपछि अरगजा तलाउ, मराहा पोखरी, तेलाहा पोखरी, पाकवती पोखरी, रामानन्दचोक पूर्वको खाली जग्गा, जनस्वास्थ्य कार्यालय पूर्वको जग्गा, देवी चोकको जमीन, दशरथ तलाउ र मणिमण्डप तथा हनुमान मन्दिरको जग्गा रामतपेश्वरले बिक्री गरिदिए ।
 
प्रतिवेदनले किटेरै भनेको छ - “महन्थ रामतपेश्वरदास स्वयंले अनधिकृत रुपमा जानकी मन्दिरको पोखरी, त्यसको डीलको जग्गामा घर, शटर आदि बनाउन लगाए । सर्वे नापीपछि खाली रहेको जग्गालाई पुरानो मितिको कबुलियतको कागज लेखी आफ्ना स्वर्गीय गुरु रामशरणदासको नक्कली हस्ताक्षर गरी छाप लगाई आफूले हालसम्मको मनखप बुझेको भरपाई दिई विक्री गरेको छ ।”
 
यसैगरी रामचन्द्र गुठी, लक्ष्मण मन्दिर गुठी र हनुमान मन्दिर गुठीको ४ विगाहा जमीन पनि बिक्री भएको छ । रानीपाटी -तोत्रादी मठको ५ विगाहा जमीन अतिक्रमण गरेर रैकर दर्ता गराई  विक्री गरिसकेका छन् ।
०२६ सालको सर्वेनापीमा ८० बिगाहा देखिएको रत्नसागर गुठीको जमीनमध्ये महन्थ बैकुण्ठदास वैष्णवले ५५ विगाहा जति बिक्री गरिसकेका छन् । यस गुठीको १० विगाहा जमीन त राजाका नातेदार कुमार खड्गविक्रमले हडपेका थिए । उसैबेला ५ बिगाहा जमिन रैतान गरेता पनि ५ विगाहा जमीन भने रैतानी हुन पाएको थिएन ।
तर, यो जमीन पनि बिक्री भइसकेको छ । जनकपुरमा छोटो समय बसेका एसपी विश्व जबरा, स्थानीय नेता वृषेशलाल र ब्रम्हचारी रामबाबुले समेत रत्नसागर गुठीको जमीन लिन भ्याए । रत्नसागर गुठीको १७ बिगाहा जमीन वर्षको ७० हजार भाडा दिने गरी मणिपाल अस्पतालले लिएको छ ।
 
रत्नसागर मठका महन्थ वैकुण्ठदास वैष्णवले मनोमानी मनखप बनाई यहाँको जमिन बेचविखन गरी आफ्नो नाममा वैकुण्ठपुरी नामको एक बस्ती बसाएका छन् ।
दशरथ मन्दिरका महन्थ जगरनाथदासले चाहिँ गुठीको जमीन आफ्नो नाममा दर्ता गराएर निजी नम्बरी बनाएर बेचविखन गरे ।
 
लक्ष्मण मन्दिरको ३० कित्ता जमिन पनि भूमाफियाको कब्जामा परिसकेको छ । राम जानकी दुलाहा भगवान बेलाकोटीको जमिनमा जीवनाथ चौधरीले सीता प्यालेस नामको भव्य होटल खडा गरेका छन् । रामजानकी दुलहा भगवान बेलाकुटीको विन्धि गाउँको १ सय ३ कित्ता जमीनमा हीरादेवी ठाकुर, ललन झा, कृष्णकुमार झा, विनोद चौधरी, उदय चौधरी आदिले अतिक्रमण गरेका छन् ।
ललन झा मन्त्री विमलेन्द्र निधिको सिफारिसमा संविधानसभा पुगेकी नेपाली काँग्रेसकी सभासद मिनाक्षी झाका पति हुन् ।
 
हाल कुवा मन्दिरको २० विगाहा जमीनमा बेचविखन र अतिक्रमण चलिरहेको छ । कुवा फूलवारीको जमीनमा दिगम्वर झासमेत सय बढी परिवारले अतिक्रमण गरेका छन् ।
कुवा फूलवारी गुठीको ६३ कित्ता जमिन चाहिँ राजकिशोर यादव, महेन्द्र चौधरी आदिले लिएका छन् । सीताकुण्डको जमीनचाहिँ महालक्ष्मी देवी, महानन्द सिंह आदिले ओगटेका छन् । त्यहाँको सीताकुण्ड नै विलोप गराएर व्यापारीले घर ठड्याएका छन् ।
 
रामसागर पोखरीको जमीनमा २६ परिवार र धनुष सागरको जमीनमा १३ परिवारले घर बनाएका छन् । राम मन्दिरको गिरिनारी कुटीदेखि उत्तरतिरको गोडधोई पोखरीको जग्गामा जगदीश महासेठ, गणेश महासेठ, अरुण महासेठ, महेश महासेठ र सुरेश महासेठ आदिले कब्जा गरेका छन् ।
राममन्दिरकै पुरण घरसर पोखरीको जमीनमा विश्वनाथ साह, विजय साह, महेश साह, रमेश साह आदि ३४ परिवारले र वडा नं ७ को लवकी पोखरीको जमीनमा ४ परिवारले घर बनाएका छन् ।
मध्यमासर पोखरीको जमिन धोवीले ओगटेका छन् भने चन्द्रकूप भन्ने देवान पोखरीको जमीन प्रकाशलाल कर्ण आदिले ओगटेका छन् ।
 
विषहरा पोखरीको जमिनमा १८ परिवारको घरसहित महेन्द्रनारायण निधि प्रतिष्ठान बनेको छ । कदमचोक, विद्युत कार्यालयपूर्वको जमीनमा मिश्र परिवारले भोगचलन गरेका छन् ।
पिपरिया माईको जमिनमा सञ्जय साहसहित १३ परिवारले कब्जा जमाएका छन् भने यसै जमिनमा नेपाली काँग्रेसले पार्टी कार्यालय बनाएको छ ।
 
हनुमान सिनेमा हलदेखि दक्षिणको राममन्दिरको जमिनमा जालान परिवार बसेका छन् । कपालमोचनी पोखरीको जमीनमा १९ परिवार बसिसकेका छन् । यहाँ वेचविखन चलिरहेको छ ।
लक्ष्मण मन्दिरको रजौल बगैचामा महेन्द्र श्रीवास्तव र कृष्णसिंह आदिले ५५ कित्ता हडपेका छन् भने रजौलपूर्वको ३० कित्ता जमिनमा रामसागर यादव आदिले कब्जा गरेका छन् । प्रो पब्लिकले ०५९ सालमा अनुसन्धान रिपोर्ट प्रकाशित गरेर जनकपुरका नेताहरु विमलेन्द्र निधि, रामचन्द्र झा, वृषेशचन्द्र लाल, रघुवीर महासेठ लगायतका सबैले मन्दिरको जग्गाहरु लिएको प्रतिवेदनमा उल्लेख छ ।
 
घिमिरे आयोगको रिपोर्टमा भनिएको छ- ‘मन्दिरको नामबाट महन्थ तथा पुजारीले प्राप्त गरेको ठूलो धनराशी पनि मन्दिरका नाममा नभएर महन्थले निजी आर्जनमा लिएको देखिन्छ । अतिक्रमणमा परेका ऐतिहासिक पोखरीहरु तथा तिनको डिलमा महन्थले आफना भाइ भतिजा, नातेदारहरुलाई  राखेका छन् । जानकी मन्दिर वरिपरिका धार्मिक एवं संवेदनशील स्थानमा महन्थज्यूले आफै वा आफना व्यक्तिद्वारा अतिक्रमण गरी धार्मिक र सांस्कृतिक धरोहर नष्ट गर्नुभएको छ ।’
 
केही महिनाअघि जनकपुरमा बृहतर विकास परिषदको अतिक्रमण गर्ने घर टहराहरु भत्काउन लाग्दा महन्थहरुले राजनीतिक शक्ति लगाएर त्यो काम रोकिदिएका छन् ।
 

यो पनि पढ्नुहोस्

2 comments: