Wednesday, March 4, 2015

मधेसको राजनीतिमा गच्छदारको चर्चा




मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले केही दिनअघि काठमाडौंमा पत्रकारहरुसँग भनेका थिए म आन्दोलनको पक्षमा छैन । गच्छदार मधेसी-एमाओवादी नेतृत्वको विपक्षी गठवन्धनमा सामेल छन्, जुन गठवन्धन हाल आन्दोलनरत छ । फागुन १६ गते यही विपक्षी गठवन्धनले काठमाडौमा जनशक्ति प्रर्दशन गर्‍यो, जहाँ गच्छदार भाषण गर्दै भने कि सत्तापक्ष सहमतिमा नआए ठूलो आन्दोलन हुन्छ । 

गच्छदारले केही हप्ताअघि काठमाडौमा आफुहरु आन्दोलनमा नरहेको बताएको ठीक दुई दिनपश्चात मधेसी मोर्चाकै एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगञ्जमा पत्रकारहरुसँग कुरा गर्दै भने, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार चाँडै काँग्रेसमा फर्कन लागेका छन्, उनलाई किन चाहियो आन्दोलन ?

 
विपक्षी मोर्चाले आन्दोलनका कार्यक्रम अघि सारेदेखि नै गच्छदारले  आफु आन्दोलनको पक्षमा नरहेको जनाउ सार्वजनिकरुपमै दिँदै आइरहेका छन् । यतिसम्म कि उनले ११ माघको सेरोफोरोमा विना संघीयता नै नयाँ संविधान जारी गर्न सक्ने सहितको नयाँ प्रस्ताव अघि सारेका थिए । उक्त प्रस्तावका कारण गच्छदार विपक्षी मोर्चा भन्दा पनि सत्तापक्षीय मोर्चामा बढी स्वीकार्य पात्रका रुपमा देखिएका छन् । नेपाली मिडियामा गच्छदारको चर्चा बढेको छ ।


के हो ‘गच्छदार’ प्रवृत्ति ?


दोस्रो संविधानसभा पश्चात मधेसी पार्टीवीच चलेको एकीकरण र मोर्चाबन्दीको प्रयास सुरु हुँदा त्यसमा गच्छदार सामेल थिएनन् । उनको तीव्र चाहनाका बावजुद पनि उनलाई सहभागी गराउन चाहँदैनथे महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो ।

 
कतिपय भित्रियाहरुले त्यस समयमा दिएको जानकारी अनुसार उक्त एकीकरण अभियानमा गच्छदार सहभागी नहुन् भन्ने चाहना दक्षिणतिरको थियो । त्यहीअनुरुप गच्छदारलाई सहभागी नगराइएको बताइन्छ । यद्यपि त्यो एकता अभियान यतिबेला मोर्चाबन्दीमात्रै सीमित भएको छ । गच्छदार एकीकरण अभियानमा सहभागी नभएको केही महिनापश्चात एकीकरणको हौवा सेलाएको छ ।

 
मधेसी दलहरुवीच एकीकरण नहुने लगभग पक्का देखिएपछि गच्छदार एकजना मधेसी पार्टीका नेतासँग भलाकुसारी गर्न उनको निवासमा पुगेका थिए । उनले ती नेतासँग आफुलाई मधेस राजनीतिभित्र महन्थ ठाकुर र उपेन्द्र यादव मिलेर एक्ल्याउन खोजेको गुनासो पोखे ।

 
त्यहीबेला गच्छदारले आफू नयाँ संविधान जारी भएपछि कांग्रेसमै र्फकन लागेको बताएको सूत्रहरुको दाबी छ । यो पंक्तिकारसँगको एउटा चिया गफमा ती मधेसी नेताले भने,’हैन गच्छदारले त काग्रेसमा र्फकनका लागि गृहकार्य पनि सुरु गरिसकेको बताए त ?

 
सूत्रका अनुसार गच्छदारले त्यतिबेला कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री पूर्णबहादुर खडकासँग पटक-पटक छलफल गरिसकेको बताएका थिए । दाबी गरिए अनुसार गच्छदारले आफू मधेसी पार्टीहरुमा सबैभन्दा ठूलो पार्टीको अध्यक्ष भए पनि आफूलाई महन्थ ठाकुरभन्दा तलको स्थान कतिपय शक्तिकेन्द्रहरुले दिने गरेको गुनासो पोखेका थिए ।

 
यही परिपेक्षमा माघ ११ मा प्रकट भएको गच्छदारको भूमिकालाई विशलेषण गर्दा कुराको चुरोमा पुग्न त्यति गाह्रो हुँदैन ।

 
‘अन्योल’ मा मधेस

 
गच्छदारसहित सबै मधेसी पार्टीहरुका अध्यक्षहरुले आ(आफ्नै डम्फु बजाएका कारण होला, मधेसको राजनीतिमा अन्योल देखिएको छ । यद्यपि आम मधेसीहरु राज्य व्यवस्थाप्रति आक्रोशित देखिन्छन् ।

 
दोस्रो संविधानसभामा संविधान निर्माणको प्रक्रिया सुरु भएसँगै दलहरु दुई ध्रुवमा विभाजित छन । मधेसी पार्टीहरुले एमाओवादी आन्दोलनको पुच्छर बनेर जाने मनस्थिति बनाएका छन् । दोस्रो संविधानसभामा पराजय भोगेका मधेसी पार्टीहरु मधेसमा आन्दोलन भयो भने आफ्नो शक्ति पुर्नगठन हुने आँकलनमा छन् ।

 
मधेसमा पछिल्लो समयमा भइरहेका अनेकन गतिविधिले मधेसलाई थप अन्योलग्रस्त बनाउँदै लगेको देखिन्छ, जुन कुनै पनि प्रकारले विष्फोटन हुन सक्छ ।

मधेसमा एक साथ अनेकन अभ्यासहरु जारी छन् । गएको सेफटेम्बरमा प्रहरीले सिके राउतलाई समातेपछि मधेसका जिल्लाहरुमा उनको गतिविधि तीव्र बनेको छ ।

पूर्वएमाओवादी नेता मातृका यादव पछिल्लो समयमा संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिति बनाएर मधेसमा सक्रिय छन् ।

गएको एक वर्षदेखि जेपी गुप्ता तराई मधेस राष्ट्रिय अभियान बनाएर मधेसमा छुट्टै सक्रिय छन् । मधेसी पार्टीहरुको आ- आफनै स्थानमा छँदै छन् ।

दोस्रो संविधानसभाको सेरोफेरोमा मधेस केन्द्रित सशस्त्र समूहका केही प्रमुख नाइकेहरु पक्राउ परेपछि मधेसमा सशस्त्र समुहहरु नै सकिएको आँकलन थियो । तर, हालै मधेसका केही जिल्लाहरुमा जयकृष्ण गोइतको संगठनसमेत पुनर्गठन हुन थालेको छ ।

मधेस राजनीतिको धरातलीय मनोविज्ञान परिवर्तन हुँदैछ, जसलाई मधेसी पार्टीहरुका नेताहरुले अझै आत्मसाथ गरेको पाइँदैन, जसका कारण सिके राउत जस्ता पक्ष मजबुत हुने खतरा मधेसमा बढेर गएको देखिन्छ ।

संघीयतासहित नयाँ संविधान जारी भएको भए वातावरण विस्तारै अर्कै बन्दै जाने थियो, तर अहिले आएर संघीयतामै विवाद हुनुले मधेसमा सिके राउतका अभियानीहरु हौसिएका छन् ।

एक मधेस प्रदेशको आफनो मागबाट लचक हुँदै दुई मधेस प्रदेशमा झरेका मधेसी पार्टीहरु लागि ‘गर या मर’को अवस्था छ । काँग्रेस एमाले संख्यात्मक हिसाबले अहिले आफुहरु मजवुत भएको दम्भमा मधेस आन्दोलनको म्यान्डेट उल्टाउने पक्षमा देखिन्छन् ।

मधेसमा पछिल्लो समयमा अभिव्यक्त भइरहेका विभिन्न विचार र गतिविधिलाई मूल्याकंन नगर्नु कांग्रेसको परम्परागत कमजोरी हो भने एमालेको बलमिच्याइँ । यस्तै अनेकन बलमिच्याइँका कारण एमाओवादीले मधेसमा व्यापक क्षति व्यहोरेको छ ।

त्यसैले दुई मधेस प्रदेशमा सहमत हुन तयार मधेसी पार्टीलाई अनाहकमा किचोलेर नयाँ संविधान जारी गर्न ढिलाइ गर्नेतिर कांग्रेस एमाले नजाने हो भने समस्या समाधान हुने र मधेस शान्त हुने देखिन्छ ।

No comments:

Post a Comment