जनकपुरधाम । हिन्दु मिथकअनुसार भगवान रामचन्द्रको शासनलाई भ्रष्टाचार र बेथितिबाट मुक्त ‘राम राज्य’ मानिन्छ । तर, तिनै भगवान रामचन्द्रको ससुराली घर मानिने जनकपुर धाममा यतिबेला ‘राम राज्य’को साटो भ्रष्टाचारी र भूमाफियाहरुले ‘हराम- राज्य’ चलाइरहेका छन् ।
धनुषाको जनकपुर नगरपालिकाभित्र मात्रै १४ वटा राजगुठीहरु छन् । जानकी मन्दिर, सीताकुण्ड र वीरपुर गुठी भने छुटगुठी अन्तरगत राखिएका छन् । यहाँका सबै गुठीहरु अतिक्रमणमा परेका छन् । प्रशिद्ध जानकी मन्दिरको जमीनमा सबैभन्दा बढी अतिक्रमण भएको छ ।
जनकपुर नगरपालिका क्षेत्रको गुठीको जमीनमा कतिसम्म अतिक्रमण भएको छ भने राममन्दिरको साविक २ हजार ८ सय ६७ विगाहा जग्गामध्ये २५ सय विगाहा अतिक्रमणमा परिसकेको छ ।
जानकी मन्दिरको ६ सय विगाहमध्ये ५ सय ३० विगाह, लक्ष्मण मन्दिरको ४ सय १० विगाहामध्ये ३ सय ९० विगाहा र रत्नसागरको ६५ विगाहामध्ये ४२ विगाहा जमीन अतिक्रमणमा परेको छ ।
त्यस्तै कुवा मठको ४ सय ८५ विगाहामध्ये ४ सय ६० विगाहा र हनुमान मठको १ सय ४३ विगाहा मध्ये १ सय ३० विगाहा जमीन अतिक्रमणमा परेको छ ।
गुठीकोे शरणमा आएका महन्थहरुले नै गुठीको श्रीसम्पति नै विनाश गर्ने खेलको अगुवाइ गरेकाले देवभूमिमा भूमाफियाको व्यापार चलिरहेको छ । यसमा गुठी संस्थान, मालपोत, नापी कार्यालय र महन्थ मात्र होइनन्, अपराधकर्मीहरु समेत सक्रिय देखिएका छन् ।
जनकपुरधाममा ७२ तलाउ, १५ कूप ९कुवा०, १५ शिवालय, २४ देवीपीठ, ५ उपवन, २६ ऋषि आश्रम बनेको तथ्यांकमा देखिन्छ । तर, ती मठमन्दिर, कुटी, सरोवर र कुण्ड आदि अतिक्रमणमा परेर लोपोन्मुख छन् ।
रामानन्द सम्प्रदायका उन्नायक सन्त रामानन्दको गुठी जमीनसमेत भूमाफियाको हातबाट बेचिइसकेको छ । वैष्णव सन्त रामानन्दका नाममा अहिले सार्वजनिक चोकमात्रै बाँकी छ ।
जानकी माताका लागि बनेको पवित्रतम् पयश्विनी सर पोखरी मासेर निरन्जन साहले मानकी होटल खडा गरेका छन् । पवित्र जनक सरोवरलाई वकिल टोलका वासिन्दाले लोप गराइसकेका छन् ।अमृतकुण्ड, बलदेवसर र गोपालसरलगायतको जमीन व्यापारीहरुले कब्जा गरेर मांस मदिरा बेच्ने बजार बनाएका छन् ।
त्यस्तै जनकपुरका प्रशिद्ध तैलघृतिकासर, मण्डनसर, चन्द्रकुप, रामसागर, मुरली(सर, पादप्रक्षालन ९गोडधोई०सर, पुरन्दरसर, पाकवतीसर, दीर्घिकासर, लक्ष्मणसर, सेवामन्तकसर, धूतपापसर, सीताकुण्ड, पापमोचनीसर आदिले पनि निरन्तर अतिक्रमण झेल्दैछन् ।
भारत टिकमगढकी महारानी वृषभानु कुँवरले जानकीको जन्म क्षेत्रलाई धार्मिक र दैविक पहिचान दिन सन् १९९८ मा जानकी मन्दिर बनाइदिएकी थिइन् । यसै मन्दिरको संरक्षणका लागि धनुषा र महोत्तरी जिल्लामा विभिन्न २३ गुठी खडा भई ६ हजार विगाहाभन्दा बढी जमीनको देवगुठी स्थापित भएको थियो । यी गुठीको ५ हजार विगाहा भन्दा बढी जमिन व्यक्तिको भोगचलनमा पुगिसकेको छ ।