Tuesday, January 27, 2015

हेल्लो सरकार, मखनालाई नागरिकता दिन मिल्दैन ?


 
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय तैलिहवामा सोमबार भेटिएकी वृद्धा मखना गडरियाले आँसु झार्दै भनिन् - ‘आई १० बर्ष से यि खेला होला ।’ अर्थात १० बर्षदेखि यही खेल भइरहेको छ ।

नेपाली भाषा बोल्न नजान्ने ७३ वर्षीया गडरियाले नेपाली नागरिकताका लागि १० बर्षदेखि जिल्ला प्रशासन कार्यालय धाइरहेको बताइन् । उनी कपिलवस्तुको सिशवा गाउँकी बासिन्दा हुन् ।

प्रशासनसमक्ष १० वर्ष धाउँदा जीवनको उत्तरार्धमा पुगेकी मखनालाई राज्यले नागरिकता दिएको छैन । तर, उनले वृद्धभत्ताका लागि सरकारबाट परिचयपत्र चाहिँ पाएकी छिन् । आफैले भत्ता खुवाइरहेकी ज्येष्ठ नागरिकलाई राज्यले नागरिकताका लागि भने अहिलेसम्म योग्य मानेको छैन ।

भोजपुरी भाषा बोल्ने मखनाले हातमा भएका कागज देखाउँदै भनिन् - ‘यहाँ धाएको १० बर्ष भइसक्यो, तर अहिलेसम्म मलाई नागरिकता दिइएको छैन । आज, भोलि भन्दै दौडाइरहेको छ ।’

पुनरावेदन अदालत बुटवलले समेत गत असारमा जिल्ला प्रशासन कार्यालय तौलिहवालाई आदेश दिँदै भनेको थियो - ‘मखना गडरियालाई तत्काल नागरिकता दिनू ।’
 
मखना गडरियाको नागरिकतामा स्थानीय राजनीतिको यति प्रभाव रहेछ कि सोमबार उनीसँगै आएकी अर्की महिला भन्दै थिइन् -‘सर, यहाँको कांग्रेसको अध्यक्ष छ नि, अब्दुल कलाम, त्यसले प्रशासनलाई रोकिदिएको छ । अब्दुल कलामले त हाम्रो गाउँको स्कुलमा गएर भाषणमै भने, मखनालाई नागरिकता लिन दिँदैनौं ।’

यो भनाइले झनै उत्सुकता थप्छ, आखिर के रहेछ त मखना गडरियाको कथा रु को हुन् यी मखना रु कपिलवस्तुका कांग्रेस नेता अब्दुल कलाम किन रोक्दैछन् उनको नागरिकता ?



मखनाको रामकहानी

 

 


केही समयअघि मात्रै मखनाले पाएको ज्येष्ठ नागरिक भत्ताको कार्डमा उनका पतिको नाम छ(कल्लु कडरिया ।


आफ्नै जेठाजु कल्लु गडरियासँग विक्रम संवत् ०३५ सालमा मखनाको दोस्रो विवाह भएको थियो ।

मखनाको पहिलो विवाह कल्लूकै कान्छा भाइसँग भएको थियो । कल्लुका भाइको निधनपछि मखना एकल बनेकी थिइन् ।

उता कल्लुकी श्रीमतीको पनि निधन भयो । त्यसपछि कल्लु र मखना ९जेठाजु(बुहारी० वीच प्रेम सम्बध कायम भयो । केही समयपछि मखना गर्भवती भइन् । यो कुरा गाउँमा सर्वत्र चर्चा भएपछि गाउँलेको पञ्चायतले दुबैलाई दोस्रो विवाह गराइदिए ।

कल्लुकी पहिली श्रीमतीबाट ३ छोरा थिए । मखनाका पहिलो श्रीमान पट्टिबाट एक छोरामात्रै थिए । मखनाले फेरि कल्लुबाट एक छोरा र एक छोरी जन्माइन् । तर, छोराको अकालमै मृत्यु भयो ।

समय कट्दै गएपछि मखना र कल्लु वृद्ध भए । छोराछोरीहरु जवान हुँदै गए । कल्लुकी पहिली श्रीमतीबाट जन्मेका तीन छोराहरु जवान हुन थालेपछि परिवारमा समस्या आउन थाल्यो ।

परिवारमा समस्या आउन थालेपछि मखनाले आफूसँग नागरिकता छैन, त्यसैले आफू र आफू पट्टिका छोराछोरीले सम्पति नपाउने त्रासमा कल्लुलाई नागरिकता बनाउन आग्रह गरिन् । कपिलवस्तुको सिशवा गाउँमा अहिले पनि कल्लु परिवारका नाममा ६ विघा जमीन छ ।

मखनाले नागरिकताका लागि कल्लुलाई आग्रह गर्न थालेपछि कल्लुका जेठीतर्फका छोराहरुले विरोध गर्न थाले । उनीहरुले आफ्नै पितालाई कुटपिट गरे । यसैवीच ०५७ सालमा कल्लुको मृत्यु भयो । मखना झनै विचल्लीमा परिन् ।

पति कल्लुको निधन भएपछि मखनालाई गाउँ विकास समितिबाट नागरिकताको सिफारिस गराउन पाँच बर्ष लाग्यो । त्यसपछि उनी ०६३ सालमा बल्ल जिल्ला प्रशासन कार्यालय तैलिहवाको प्राङ्गणमा पाइला राख्न सफल भइन् ।  अहिलेसम्म उनी यही कामका लागि धाइरहेकी छिन् ।

यो वीचमा गाउँमा नागरिकता टोली दुईचोटि गयो । तर, कल्लुकी पहिली श्रीमतीतर्फका छोराहरुको अवरोधका कारण मखनालाई नागरिकता लिनबाट रोक लगाइयो ।

विस्तारै कल्लुकी पहिली श्रीमतीतर्फका जेठा छोरा सिद्धी गडरीया कांग्रेसमा लागे । उनी स्थानीय कांग्रेस नेताका विश्वास पात्र बने ।

आफ्नो राजनीतिक पहुँचका कारण उनीहरु मखनालाई नागरिकता नदिने र भएको सबै सम्पति आफैं हत्याउने अभियानमा लागे ।

मखना कानुनी बाटोका लागि जिल्ला प्रशासन कार्यालयमा धाए पनि प्रमुख जिल्ला अधिकारीले उनलाई दौडाउने बाहेक अरु काम गरेनन् । पछि उनी वकिलको सल्लाहमा अदालतको शरणमा पुगिन् ।

गत असारमा पुनरावेदन अदालत बुटवलबाट जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका नाममा आदेश जारी भयो कि मखना गडरियालाई तत्काल नागरिकता दिनू । तर, अदालतको आदेश आएको ६ महिना कटिसकेको छ । प्रशासनले आलटाल गर्दै मखनालाई दौडाइरहेको छ ।

एकमहिना अगाडि कपिलवस्तु जिल्ला प्रशासनले गाउँका पाँचजनाको सनाखत गराएर ल्याउन मखनालाई भन्यो । मखनाले त्यो पनि ल्याएर दिएको १५ दिनभन्दा बढी भइसक्यो ।

सोमवार उनलाई प्रशासन फाँटका कर्मचारीले उल्टै झपारे - ‘हाकिम साहेव नभएका बेला तपाई जहिले पनि आउने र किचकिच गर्ने ?’

मखना भन्दै थिइन् - ‘मलाई अझै नागरिकता नदिने सोच छ यिनीहरुको । केही बर्षमा म मरिहाल्छु त्यसपछि भएभरको सम्पति उनीहरुको एकलौटी हुन्छ, त्यसैकै लागि आलटाल गरिरहेका छन् ।’

मधेसमा गरीब, दलित, महिला र एकल महिलामाथि सामाजिक न्यायको अवस्था कस्तो छ भन्ने कुरा मखनाको पीडाबाट प्रष्ट हुन्छ । राजनीतिक दलको नेतृत्व तहमा तिनैको पहुँच छ, जो सामाजिक न्यायको विरुद्धमा छन् ।



No comments:

Post a Comment