Sunday, January 11, 2015

देवभूमिका संहारकर्ता

जनकपुरको अपराध कथा 


 जनकपुरधामको संरक्षण र संवद्र्धनकालागि अनेकन दाताहरुले दान गरेका ६ हजार विगाहाको गुठी जमिनमध्ये ५हजार विगाहा जमिन स्थानीय सशस्त्र समूहको आड लिएर मठ मन्दिरकै महन्थहरुले बेचेर सिध्याएका छन् । सम्पति जोड्ने होडवाजीमा लागेका यहाँका महन्थ तथा मानमहन्थहरुले धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक पोखरी र मठ मन्दिरको जग र जमिन समेत मासेर अरबौंको निजी सम्पति जोडेका छन् ।
 

पूर्व सचिव भोजराज घिमिरेको संयोजकत्वमा गठित एक सरकारी आयोगले ३ महिना लगाएर तयार पारेको, तर अझैसम्म गोप्य राखिएको छानविन प्रतिवेदनले प्रष्ट पारेको छ—जनकपुरधामका विभिन्न गुठीको जमिनमा ६५० भन्दा बढी परिवारले अतिक्रमण गरेर भोगचलन गरिरहेका छन् । यसरी देवभूमि अतिक्रमण गर्नेहरुमा राष्ट्रिय तथा स्थानीय तहका राजनीतिक नेतादेखि ठूला व्यापारिक घरानाका परिवार र आपराधिक समूहका सदस्य समेत संलग्न छन् ।    


यसवर्ष विवाह पञ्चमीमा, भारत उत्तर प्रदेशको अयोध्याबाट पुरुषोत्तम रामको जन्ती बनेर ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु जनकपुरधाम आए । उनीहरु जानकीको माईतीदेशमा बनेकोे वैदिककालीन रामजानकी विवाह मण्डपमा सजिन पाएनन् । किनभने पवित्र मणिमण्डपको विस्तृत क्षेत्र भूमाफियाको कब्जामा परिसकेको थियो । जनकपुरधामको ऐतिहासिक तथा साँस्कृतिक धरोहर, राम जानकी विवाह मण्डपको विशाल भूमिमा आज मांस—मदिराका व्यापारीहरुको पञ्जामा परेको छ । रानीबजार क्षेत्रमा रहेको पवित्र मणिमण्डप भूमिमा राम र उनका भाईहरुको एकैचोटी स्वयंवर भएको विश्वास गरिन्छ । यो स्वयंवर हेर्न यहाँ लाखौं श्रद्धालु आउँछन् । तर अहिले भने उनीहरु यहाँ उभिन पनि पाउँदैनन् । यस पवित्र भूमिको २५ विगाहा जति जमिन त जानकी मन्दिरका पूर्व महन्थ रामशरणदास वैष्णवले विभिन्न व्यक्तिलाई बेचिदिएका थिए । त्यसैले अयोध्याबाट आउने जन्तीले मणिमण्डप क्षेत्रमा वास पाउँदैनन् ।

महन्थ रामशरणदास वैष्णवले आफ्नो कार्यकालमै विवाह मण्डपको साईनवोर्डमा जानकी मन्दिरको नाम सानो अक्षरमा र छुटगुठी चाहिँ ठूलो अक्षरमा लेख्न थालेपछि मन्दिरको सम्पति महन्थको विर्ता सरह हुन पुग्यो । यस भूमिको वेचविखन यतिसम्म हुन पुग्यो कि आज जनकपुरधामका धार्मिक र साँस्कृतिक प्रतीकहरु छिन्नभिन्न हुन थाले ।   
  


देवभूमिको जमिनमा जथाभावी अतिक्रमण हुँदा जनकपुर शहर नै नरकपुर हुन लागिसकेको छ । यहाँको अतिक्रमण हटाउन लाग्दा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले नै पहल फिर्ता लिनु परेको छ । मन्त्री विमलेन्द्र निधिका प्रियपात्र जीवनाथ चौधरी र देवभूमिको जमिन बेचेर संकट थपिदिने धनकुवेर महन्थहरु तथा भूमाफियाहरुले भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री विमलेन्द्र निधिको शक्ति प्रयोग गरेर हाललाई अतिक्रमण हटाउने काम रोकिदिएका छन् । जसका कारण जनकपुरधामलाई आधुनिक शहरको स्तरमा पुर्याउन एशियाली विकास बैंकले १ अर्ब ९० करोड रुपैया लगाएर वृहत्तर जनकपुर विकास परिषद मार्फत गर्न लागेको काम पनि रोकिन पुगेको छ । तर मन्त्री निधिले हालै जनकपुरमा आयोजना गरिएको एक कार्यक्रममा भने, म यो विकास कार्यक्रमलाई लागु गराएरै छाड्छु ।

 

गुठी खाने धमिरा
 


जनकपुर नगरपालिका भित्र मात्र १४ वटा राजगुठीहरु छन् । जानकी मन्दिर, सीताकुण्ड र वीरपुर गुठी भने छुटगुठीमा राखिएका छन् । यहाँका सवै गुठीहरु अतिक्रमणमा परेका छन् तर जानकी मन्दिरको जमिनमा सबैभन्दा बढी अतिक्रमण भएको छ ।

नगरपालिका क्षेत्रको गुठीको जमिनमा कति सम्म अतिक्रमण भएको छ भने राममन्दिरको साविक २८६७ विगाहामध्ये २५सय विगाहा अतिक्रमणमा परेको छ । जानकी मन्दिरको साविक ६०० विगाहा ५३० विगाहा, लक्ष्मण मन्दिरको साविक ४१० विगाहा मध्ये ३९० विगाहा, रत्नसागरको साविक ६५ विगाहा मध्ये ४२ विगाहा, कुवा मठको ४८५ विगाहामध्ये ४६० विगाहा, हनुमान मठको १४३ विगाहा मध्ये १३० विगाहा जमिन अतिक्रमणमा परेको छ । गुठीकोे शरणमा आएका महन्थहरुले गुठी श्री सम्पति नै विनाश गर्ने खेलको अगुवाई गरेकाले देवभूमिमा भूमाफियाको व्यापार चलिरहेको छ । यसमा गुठी संस्थान, मालपोत, नापी र महन्थ मात्र होईनन्,अपराधकर्मीहरु समेत सक्रिय देखिएका छन् ।

जनकपुरधामका ७२ तलाउ, १५ कूप (कुवा), १५ शिवालय, २४ देवीपीठ, ५उपवन, २६ ऋषि आश्रम बनेको रेकर्ड छ । तर ती मठमन्दिर, कुटी, सरोवर र कुण्ड आदि अतिक्रमणमा परेर लोपोन्मुख छन् । रामानन्द सम्प्रदायका उन्नायक सन्त रामानन्दको गुठी जमिन समेत भूमाफियाको हातबाट बेचिई सकेको छ, वैष्णव सन्त रामानन्दको नाममा अहिले सार्वजनिक चोकमात्र बाँकी छ । जानकी माताको लागि बनेको पवित्रतम्् पयश्विनी सर (पोखरी) मासेर निरन्जन साहले मानकी होटल खडा गरेका छन् । पवित्र जनक सरोवरलाई वकिल टोलका वासिन्दाले लोप गराई सकेका छन् । अमृतकुण्ड, बलदेवसर र गोपालसर लगायतको जमिनमा व्यापारीहरुले कब्जा गरेर मांस मदिरा बेच्ने बजार बनाएका छन् । तैलघृतिकासर, मण्डनसर, चन्द्रकुप, रामसागर, मुरली—सर, पादप्रक्षालन (गोडधोई)सर, पुरन्दर—सर, पाकवती—सर, दीर्घिका—सर, लक्ष्मण—सर, सेवामन्तक—सर, धूतपाप—सर, सीताकुण्ड, पापमोचनीसर आदिले निरन्तर अतिक्रमण झेल्दैछन् ।

भारत टिकमगढकी महारानी वृषभानु कुँवरले जानकीको जन्म क्षेत्रलाई धार्मिक र दैविक पहिचान दिन सन् १९९८मा जानकी मन्दिर बनाई दिएकी थिईन् । यसै मन्दिरको संरक्षणकालागि धनुषा र महोत्तरी जिल्लामा विभिन्न २३ गुठी खडा भै ६ हजार विगाहा भन्दा वढी जमिनको देवगुठी स्थापित भएको थियो । यस गुठीको ५ हजार विगाहा भन्दा बढी जमिन व्यक्तिको भोगचलनमा पुगिसकेको छ ।

 

महन्थलाई लुटको लाईसेन्स
 


जानकी मन्दिरको जमिन राजगुठी भएपनि छुटगुठी राखेर महन्थको जिम्मा लगाएदेखि जानकीभूमि हरणको खेल शुरु भएको देखिन्छ । यस गुठीको रेखदेख संस्थान आफैले गर्नु पर्नेमा सो नगरी मन्दिरको कुनै पनि सम्पति कुनै पनि तवरले वेचविखन, दान दातव्य वा मनखपद्धारा कसैलाई पनि दिन नपाउने शर्तमा गुठी संस्थानले सम्पूर्ण जिम्मेवारी महन्थलाई सुम्पिएपछि गुठीको जमिनमा महन्थको मनोमानी चल्न थाल्यो । गुठी संस्थान भने लुटको साक्षी बस्यो ।

गुठी संस्थान जनकपुर कार्यालयले जानकी मन्दिरको पुरानो श्रेस्ता, अर्थात् सम्वत १९८३ को लागत गायव बनाई दिएपछि यस देवभूमिमा भूमाफियाले कब्जा जमाए । गुठीको पुरानो श्रेस्ता नभेटिएपछि, २०२९ सालमा जनकपुर अञ्चलाधीश कार्यालयले तत्कालीन महन्थ रामशरणदास वैष्णवबाट गुठीको जग्गाको फाँटवारी माग्यो । महन्थ रामशरणदास वैष्णवले फाँटवारी दिँदा धेरै जमिन लुकाए । तर गुठी संस्थानले यसै फाँटवारीलाई जानकी मन्दिरको आधिकारिक दास्तावेज मानिदियो ।

रामशरणदासले अञ्चाधीश कार्यालयलाई साविक बेल्ही विर्ताको किशोर नगर, रजौली र पिडारी वरपरको ९७ विगाहा ८ कठ्ठा ८ धुर जतिको लगत दिएका थिए । धेरै जमिन लगतमा नपारिएपछि देवगुठी सम्पति वेवारिसे हुन गयो । स्थानीयले गुठी संस्थानलाई हारगुहार लगाएपछि, गुठी संस्थानले छुटगुठी बनाएर रेखदेखको सम्पूर्ण जिम्मेवारी महन्थ रामशरणदास वैष्णवलाई नै सुम्पिदियो । 

यसपछि महन्थले मनोमानी गर्ने आधिकारिकता पाए जस्तो गरेर गुठी जमिन बेचविखन गर्न थाले । रामशरणदासले वेंगा शिवपुर गाविसमा रहेको जानकी मन्दिरको जमिन स्थानीय नेता तथा व्यापारीहरुलाई प्रतिकठ्ठा २५ हजार देखि ५० हजारसम्ममा बेचविखन गरेर देवभूमि विनाशको कार्य शुरु गरेका थिए ।

महन्थको मनखप ( खाईपाई तलव), दोकानी (खुद्रा खर्च) तथा पूजा (खर्च) चलाउने वहानामा रामशरण दासले देवभूमिको जमिन २०४४देखि नै बेच्न थालेका थिए । २०४६ सालमा व्यवस्था परिवर्तन भएको ५ वर्षे लुटको अवधिमा महन्थको दरवारमा गुठी जमिन किनबेचको ठूलो धन्धा शुरु भयो ।

महन्थले मनखप वापत आफूले गुठीको जमिन लिएर सो जमिन व्यक्तिलाई बेचिदिएको दिएको लिखत बनाई दिन्थे । यसै लिखतको आधारमा २०५१सालको नापीको मौका छोपेर व्यक्तिहरुले गुठीको जमिन आआफ्नो नाममा गराए ।०५१ सालमा नापी गरिएको जमिन गुठी संस्थान ऐन २०३३को संसोधन सहितको दफा २५(३) लगाएर रैतानी दर्ता गरिएको थियो । महन्थको जालसाजपूर्ण लिखतलाई गुठी संस्थान, मालपोत कार्यालय र नापी विभागले मान्यता दिएपछि महन्थले स्थानीय भूमाफियासंग मिलेर गुठी जमिनको खुला कारोवार नै चलाए । मनगढन्ते मनखपको आधारमा जानकी मन्दिरको जमिनमा अहिले ४५० भन्दा बढी परिवारले घर—बजार बनाएका छन् ।

घिमिरे आयोगको प्रतिवेदनको २४६औं नम्बरमा जानकीभूमि अतिक्रमणकारी भनेर एमालेका वरिष्ठ नेता रघुविर महासेठको नाम दिएको छ । दशरथ तलाउको पूर्वको जानकी मन्दिरको जमिनमा रघुविर महासेठ सहित अशोक महासेठ, रामबाबु महासेठ, विजय महासेठ र मुकेश महासेठहरुको समूहले ६० कित्ता जमिन कब्जा गरेका छन् । पिडारी चोकको गोडधोई पोखरी, अरगजा पोखरी र तेलहा पोखरीको जमिन स्थानीय ३७ परिवारले कब्जा गरेका छन् । मराह पोखरीको २४ कित्ता जमिनमा डा.रामवृक्ष साह समेतले अतिक्रमण गरेका छन् ।  लक्ष्मण मन्दिरको जमिनमा भने २९ ठूला घरानाले कब्जा जमाएका छन् ।

 

जाली मनखप



रामशरणदास वैष्णवको ०५३ सालको असारमा रहस्यमय मृत्यु भएपछि उनका चेला रामतपेश्वर दास जानकी मन्दिरका हर्ताकर्ता बने । यिनले २०५३ सालपछि पनि पुरानै मितिका रामदास वैष्णवका हस्ताक्षरमा नक्कली मनखप लिखत तयार पारेर गुठीको जमिन बेच्नेउद्योग शुरु गरे । घिमिरे आयोगले भनेको छ —“२०५३ सालमा नापी हुँदा सर्वे नक्शामा घर नरहेको र मन्दिरका खाली रहेको जमिनमा पनि मन्दिरका महन्थद्वारा नापी पहिलेको मितिको जालसाजी मनखप कागज तयार गराई घर बनाउन लगाए ।”

यसपछि अरगजा तलाउ, मराहा पोखरी, तेलाहा पोखरी, पाकवती पोखरी, रामानन्दचोक पूर्वको खाली जग्गा,जनस्वास्थ्य कार्यालय पूर्वको जग्गा, देवी चोकको जमिन, दशरथ तलाउ र मणिमण्डप तथा हनुमान मन्दिरको जग्गा रामतपेश्वरले विक्री गरिदिए । घिमिरे प्रतिवेदनले किटेरै भनेको छ— “महन्थ रामतपेश्वरदास स्वयंले अनधिकृत रुपमा जानकी मन्दिरको पोखरी, त्यसको डीलको जग्गामा घर, शटर आदि बनाउन लगाए ।सर्वे नापी पछि खाली रहेको जग्गालाई पुरानो मितिको कवुलियतको कागज लेखी आफ्ना स्वर्गीय गुरु रामशरणदासको नक्कली हस्ताक्षर गरि छाप लगाई आफूले हालसम्मको मनखप बुझेको भरपाई दिई विक्री गरेको छ ।” 

यसैगरि रामचन्द्र गुठी, लक्ष्मण मन्दिर गुठी र हनुमान मन्दिर गुठीको ४ विगाहा जमिन पनि विक्री हुन गयो । रानीपाटी (तोत्रादी मठ)को ५ विगाहा जमिन अतिक्रमण गरेर रैकर दर्ता गराई  विक्रि गरिसकेका छन् ।


२०२६ सालको सर्वे नापीमा ८० विगाहा देखिएको रत्नसागर गुठीको जमिन मध्ये महन्थ बैकुण्ठदास वैष्णवले ५५ विगाहा जति विक्री गरिसकेका छन् । यस गुठीको १० विगाहा जमिन त राजाका नातेदार कुमार खड्ग विक्रमले हडपेका थिए । उसैबेला ५ विगाहा जमिन रैतान गरेता पनि ५ विगाहा जमिन भने रैतानी हुन पाएको थिएन । तर यो जमिन पनि बिक्रि भैसकेको छ । जनकपुरमा छोटो समय बसेका एसपी विश्व जबरा, स्थानीय नेता वृषेशलाल र ब्रम्हचारी रामबाबुले समेत रत्नसागर गुठीको जमिन लिन भ्याए । रत्नसागर गुठीको १७ विगाहा जमिन वर्षको ७०हजार भाडा दिने गरि मणिपाल अस्पतालले लिएको छ । रत्नसागर मठका महन्थ वैकुण्ठदास वैष्णवले मनोमानी मनखप बनाई यहाँको जमिन बेचविखन गरी आफ्नो नाममा वैकुण्ठपुरी नामको एक बस्ती बसाएका छन् ।

 

पृथ्वीको वैकुण्ठपुरी



रामानन्दचोकको पश्चिम—उत्तरतिरको रत्नसागर मठको खेतमा भूमाफिया लगाएर प्लटिंग गराएपछि सो जमिन विभिन्न व्यक्तिलाई बेचियो । महन्थ वैकुण्ठदास वैष्णवले बेचेको गुठीको जमिनमा नयाँ बस्ती बसेको हुनाले यस बस्तीको नाम वैकुण्ठपुरी रहनगयो । यो बस्ती रामानन्दचोक देखि पश्चिमतिर परिक्रमा सडकसम्म फैलिएको छ । यसको उत्तरमा पिडारी गाउँ छ भने दक्षिणमा महोत्तरीको भमरपुरा । महन्थ वैकुण्ठदास वैष्णव भन्छन्—मैले आफ्नो गुरुको सम्मानकालागि यो गाउँको नाम राखिदिएको हो ।  

दशरथ मन्दिरका महन्थ जगरनाथदासले चाहिँ गुठीको जमिन आफ्नो नाममा दर्ता गराएर निजी नम्बरी बनाएर वेचविखन गरे । लक्ष्मण मन्दिरको ३० कित्ता जमिन पनि भूमाफियाको कब्जामा परिसकेको छ । राम जानकी दुलाहा भगवान बेलाकोटीको जमिनमा जीवनाथ चौधरीको सीता प्यालेस नामको भव्य होटल खडा गरेका छन् । रामजानकी दुलहा भगवान बेलाकुटीको विन्धि गाउँको १०३ कित्ता जमिनमा हीरादेवी ठाकुर, ललन झा, कृष्णकुमार झा, विनोद चौधरी, उदय चौधरी आदिले अतिक्रमण गरेका छन् । ललन झा, मन्त्री विमलेन्द्र निधिको सिफारिसमा संविधानसभा पुगेकी नेपाली काँग्रेसकी सभासद मिनाक्षी झाका पति हुन् ।


हाल कुवामन्दिरको २० विगाहा जमिनमा बेचविखन र अतिक्रमण चलिरहेको छ । कुवा फूलवारीको जमिनमा दिगम्वर झा समेत सय बढी परिवारले अतिक्रमण गरेका छन् । कुवा फूलवारी गुठीको ६३ कित्ता जमिन चाहिँ राजकिशोर यादव, महेन्द्र चौधरी आदिले लिएका छन् । सीताकुण्डको जमिन चाहिँ महालक्ष्मी देवी, महानन्द सिंह आदिले ओगटेका छन् । यहाँ सीताकुण्ड नै विलोप गराएर व्यापारीले घर ठड्याएका छन् ।
रामसागर पोखरीको जमिनमा २६ परिवार र धनुषसागरको जमिनमा १३ परिवारले घर बनाएका छन् । राम मन्दिरको गिरिनारी कुटीदेखि उत्तरतिरको गोडधोई पोखरीको जग्गामा जगदीश महासेठ, गणेश महासेठ, अरुण महासेठ, महेश महासेठ र सुरेश महासेठ आदिले कब्जा गरेका छन् । राममन्दिरकै पुरण घरसर पोखरीको जमिनमा विश्वनाथ साह, विजय साह, महेश साह, रमेश साह आदि ३४ परिवारले र वडा नं ७को लवकी पोखरीको जमिनमा ४ परिवारले घर बनाएका छन् । मध्यमासर पोखरीको जमिन धोवीले ओगटेका छन् भने चन्द्रकूप भन्ने देवान पोखरीको जमिन प्रकाशलाल कर्ण आदिले ओगटेका छन् । विषहरा पोखरीको जमिनमा १८ परिवारको घर सहित महेन्द्र नारायण निधि प्रतिष्ठान बनेको छ । कदमचोक, विद्युत कार्यालय पूर्वको जमिनमा मिश्र परिवारले भोगचलन गरेका छन् ।  पिपरिया माईको जमिनमा सञ्जय साह सहित १३ परिवारले कब्जा जमाएका छन् भने यसै जमिनमा नेपाली काँग्रेसले पार्टी कार्यालय बनाएको छ । हनुमान सिनेमा हलदेखि दक्षिणको राममन्दिरको जमिनमा जालान परिवार बसेका छन् । कपालमोचनी पोखरीको जमिनमा १९ परिवार बसिसकेका छन् । यहाँ वेचविखन चलिरहेको छ ।  लक्ष्मण मन्दिरको रजौल बगैचामा महेन्द्र श्रीवास्तव र कृष्णसिंह आदिले ५५ कित्ता हडपेका छन् भने रजौल पूर्वको ३० कित्ता जमिनमा रामसागर यादव आदिले कब्जा गरेका छन् । प्रो पब्लिकले ०५९ सालमा अनुसन्धान रिपोर्ट प्रकाशित गरेर जनकपुरका नेताहरु विमलेन्द्र निधि, रामचन्द्र झा, वृषेशचन्द्र लाल, रघुविर महासेठ लगायतका सबैले मन्दिरको जग्गाहरु लिएको तथ्याँक दिएको थियो ।

घिमिरे आयोगको रिपोर्टमा भनिएको छ—मन्दिरको नामवाट महन्थ तथा पुजारीले प्राप्त गरेको ठूलो धनराशी पनि मन्दिरको नाममा नभएर महन्थले निजी आर्जनमा लिएको देखिन्छ । अतिक्रमणमा परेका ऐतिहासिक पोखरीहरु तथा तिनको डिलमा महन्थले आफना भाई भतिजा, नातेदारहरुलाई  राखेका छन् । जानकी मन्दिर वरिपरीका धार्मिक एवं संवेदनशिल स्थानमा महन्थज्यूले आफै वा आफना व्यक्तिद्धारा अतिक्रमण गरी धार्मिक र सांस्कृतिक धरोहर नष्ट गर्नुभएको छ ।

केही महिना अघि जनकपुरमा बृहतर विकास परिषदको अतिक्रमण गर्ने घर टहराहरु भत्काउन लाग्दा महन्थहरुले राजनीतिक शक्ति लगाएर त्यो काम रोकिदिएका छन् ।

 

तेलहा मडाहा पोखरी



जानकी मन्दिरको ठीक अगाडि पट्टिको उत्तरतिर तेलहा मडहा पोखरी थियो । महन्थ रामतपेश्वर दासले यसको डीलमा आफ्ना मानिसहरु बसाएर अतिक्रमण गराएपछि स्थानीयहरुलाई बेचिदिए । वृहत्तर जनकपुर विकास परिषदले यहाँ अतिक्रमण गर्ने घरहरु भत्काएर पोखरी पुनस्र्थापना गर्न खोजेका छन् । तर सकेका छैनन् ।  

 

अपराधको मञ्चन



धनुषाका पूर्वप्रहरी प्रमुख उत्तम सुवेदी भन्छन्—“मध्य र पूर्वी तराईमा अपराधकर्ममा संलग्न रहेका सशस्त्र समूहका अधिकाँश सदस्यहरुको सम्बन्ध जनकपुरधामको जग्गाको वेचविखन र दलालीबाट आएको अवैध कमाईसंग गाँसिएको पाईएको छ । देवभूमिको जमिन बेच्ने महन्थहरुवीच आपसी रञ्जिस हुँदा सशस्त्र समूहहरु परिचालित भएर अपहरण गर्ने, फिरौती असुल्ने र हत्या गर्नेसम्मको अपराध भएको तथ्य प्रहरी अनुसन्धानबाट देखिएको छ ।”

२०४६सालपछि जनकपुर क्षेत्रमा जीवनाथ—सञ्जय साहको जोडी ठूलो कारोवारीको रुपमा देखा पर्न गयो । यिनले नेता, महन्थ, मानमहन्थ गुठी कर्मचारी र प्रहरी प्रशासनका हाकिमहरुलाई समेत संयोजन गरेर जनकपुरधामको धार्मिक गुठीको जमिन बेचविखन गर्न थाले । जम्माजम्मी १० वर्षको अवधिमा यी दुई भूलालहरु कौडी कवाडीबाट अरबपति बन्न पुगे ।

२०६२/६३मा मधेश आन्दोलन उठेर तराई—मधेशमा सय भन्दा बढी भूमिगत सशस्त्र समूह स्थापना भए । यी सशस्त्र समूह राजनीतिक उद्धेश्यले नभएर आर्थिक अपराध गर्नकोे लागि भूमाफियाहरुबाट गठन भएको अवैध शक्ति थियो भन्ने कुरा राजन मुक्ति समूहका प्रमुख रंजित झा पक्राउ परेपछि मात्र खुल्न गयो । जीवनाथ चौधरी र सञ्जय साह टक्लाको जोडीले अनेकौं सशस्त्र समूहको निर्माण र सञ्चालन गरेको कुरा जनकपुरको रामानन्दचोक विष्फोट काण्डमा पक्राउ परेका मुकेश चौधरीले अदालतमा बयान दिएर पुष्टि गरे । जीवनाथ उपर बम प्रहार गर्न गएका मुकेशले प्रहरीलाई बयान दिँदै भने, सञ्जय टक्लाको आदेशमा काम गरेता पनि जीवनाथसंग कारोवारी सम्बन्ध रहेकोले उनलाई बचाउन भूमिका खेलें । 

धेरैवर्ष संगै काम गरेका चौधरी—साहको जोडीलाई महन्थहरुवीचको रञ्जिसले फुटाई दिएको थियो । फुट भएपछि राजनीतिक समूह पनि फरक हुन गयो । संजय साह टक्ला, सद्भावना पार्टीतिर लागे भने जीवनाथ चौधरी विमलेन्द्र निधिको संरक्षणमा गए । यसैवीच सञ्जय साहले जीवनाथ चौधरीको हत्या गर्ने योजना बनाएर रामानन्दचौकमा बम विष्फोट गराउँदा नागरिक समाजका निर्दोष मानिस मारिए । अहिले साह यसै अपराधमा सिराहा जेलमा छन् । जीवनाथ चौधरी भने जिल्ला विकास समितिका भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार धाउँदैछन् ।

 

महन्थवीच सुपारी युद्ध



वैकुण्ठदास र रामतपेश्वरदास दुवै अरबपति महन्थ हुन् । वैकुण्ठदासलाई भारतीय भगौडा अपराधी भएको र वतन ढाँटेर नेपाली नागरिकता लिएको तथा गुठीको श्रीसम्पति हिनामिना गरेको आरोप लागेको छ । रामतपेश्वर गरीवका सन्तान हुन्, तर धन कमाउनाका लागि उनीमाथि गुठी मासेको, चोरी गरेको र आपराधिक समूह सञ्चालन गरेको आरोप लागेको छ । यी दुईवीच एकले अर्कालाई सिध्याउने खेल चलिरहेको छ । यस्ता खेललाई जनकपुरवासीले “महन्थहरुवीचको सुपारी युद्ध” भनेर चर्चा गर्ने गरेका छन् ।

रामानन्दचोक बम विष्फोट काण्डमा  पक्राउ गरेका सशस्त्र समूहका राजनमुक्ति (रंजीत झा), पृथ्वी सिंह (श्याम यादव), स्वामीजी (उमेश यादव), अजयमुक्ति (दीपक सिंह) र अर्जुन सिंह (मुकेश चौधरी) जस्ता अपराधीहरु गुठी जग्गाको कारोबार गर्ने माफिया समूहसंग सम्वद्ध थिए । रत्नसागर मठका महन्थ वैकुण्ठदास र जानकी मन्दिरका महन्थ रामतपेश्वरदासवीच शीतयुद्ध परेपछि “महन्थहरुवीचको सुपारी युद्ध”मा उनीहरु प्रयोगमा आए ।

राजन मुक्ति (रंजित झा)ले अदालतलाई वयान दिँद गुठीका महन्थहरु नै अपराधको केन्द्रमा रहेको खुलासा गरे । उनले वयानमा भनका छन्—“रत्नसागर मठका महन्थ वैठकुण्ठदासको निर्देशनमा ०६७ कार्तिक ११ गते (मैले) लालकिशोर झाको हत्या  गरेको हुँ । लालकिशोर झा मटियानी मठका मानमहन्थ जगरनाथदासका भतिजा थिए । (रामतपेश्वर दासको संरक्षणमा रहेका) जगरनाथदासको कारोवार लालकिशोर झाले हेर्थे । (लालकिशोर)झा र रत्नसागरमठका महन्थ बैकुण्ठदासबीच गुठीको जग्गा बेचबिखनमा मनमुटाव भयो । सोही रिसईबीका कारण बैकुण्ठदासले (लालकिशोर) झालाई मार्न म (राजन मुक्ति) र भाष्करमुक्ति भन्ने दीपक सिंहलाई सम्पर्क गरी, तपाईहरुलाई चन्दा (सुपारी) दिन्छु मेरो काम गरिदिनु भनेर प्रस्ताव गरे । ...बैकुण्ठदाससंग भारतको सितामढीमा बैठक गरेर १० लाखमा डिल भयो.....सहमति बमोजिम दासले मलाई ७ लाख रुपैया दिए, बाँकी रकम मेरा कार्यकर्ताहरु सुनिल कुमार, राकेश पाण्डे, शिवकुमार ठाकुरलाई दिए ।’

तर रत्नसागर मठका महन्थ बैकुण्ठदास भन्छन्,—“मलाई फसाउन जानकी मन्दिरका महन्थ रामतपेश्वरदास सहित केही महन्थहरु लागेका छन् । तिनले यस्तो अफवाह फैलाएका छन् । तर तिनको केही चल्दैन ।”

धनुषाको गंगुली गाउँस्थित श्री मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र शिक्षण अस्पतालका मालिक जानकी मन्दिरका महन्थ रामतपेश्वर दास हुन् । अत्यन्त गरीव परिवारका सन्तान रामतपेश्वर दास अहिले साढे ६ विगाहा जमिनमा बनाईएको यस भव्य अस्पतालको ६० प्रतिशत शेयरको धनी छन् । यसको बाँकी ४० प्रतिशत शेयर पनि उनकै हो तर नातेदार निर्मला ठाकुरको नाममा राखिएको छ । अस्पतालको जग्गा र भवनको सम्पति मात्रै ३९ करोडको छ । कलेजका निर्देशक राकेश झा पनि महन्थ रामतपेश्वर दासका आफ्नै भतिजा छन् । आयुर्वेद चिकित्सा शिक्षण हुने यस कलेजका विद्यार्थीको शुल्क १० देखि १६लाख सम्म लिईन्छ । जानकी मन्दिरबाट बार्षिक २ करोड भन्दा वढी उठ्ने भेटी र चढौना समेत रामतपेश्वरले निजी तवरले खर्च गर्छन् । भगवान वेलाकुटीबाट राधाकृष्णको बहुमुल्य मूर्ति चोरी भएपछि केन्द्रिय प्रहरी अनुसन्धान व्युरोले एकवर्ष लगाएर खोजी गर्दा सो मूर्ति रामतपेश्वर दासकै कुटीमा फेला पर्यो । तर प्रहरीले कारवाही चलाउन सकेन ।  यसबारेमा पत्रकार मनोज साहले पत्रपत्रिका मार्फत खुलासा गरेपछि ०६४माघ ३ गते पत्रकार साहमाथि प्राणघातक आक्रमण भयो  ।  मनोज साहमाथि संघातिक हमला गर्ने तीनजना आक्रमणकारीलाई प्रहरीले पक्राउ गर्यो । ति अभियुक्तहरुले अदालत समक्ष बयान दिएर आफूहरुलाई महन्थ रामतपेश्वर दासले (सुपारी दिएर) अपराधकर्म गर्न लगाएको खुलासा गरे ।

मनोज साह जानकी मन्दिरको गुठीको वारेमा लेख्ने जनकपुरका पत्रकार थिए । पहिलो संविद्यानसभाको निर्वाचन पश्चात माओवादी सरकारमा आउदा उनी गुठी संस्थानको केन्द्रीय सदस्य समेत भए । साह भन्छन, जनकपुरको गुठीको सम्पति विनासमा मन्दिरका महन्थहरुको मूख्य भूमिका छ । यही विषयमा कलम चलाउँदा जानकी मन्दिरका महन्थबाट म माथि संघातिक हमला भयो ।

 

राज्यलाई चुनौती



जनकपुरधामका मन्दिर र जमिन गुठी संस्थान अन्र्तगतका भएपनि प्रत्येक ५ बर्षमा महन्थहरुको नियुक्ति गर्छ । तर कुनै पनि महन्थले गुठी संस्थानलाई टेर्दैनन् । गतवर्ष गुठी संस्थानले जानकी मन्दिरमा नयाँ महन्थ नियुक्त गर्ने प्रक्रिया अघि बढाउँदा महन्थहरुले आन्दोलन गरेर संस्थानको प्रयास विफल पारिदिए । नाम उल्लेख नगर्ने शर्तमा गुठी संस्थानका एक अधिकारी भन्छन्—महन्थ रामतपेश्वर दासलाई जीवनाथ चौधरी मार्फत विमलेन्द्र निधिको संरक्षण प्राप्त छ । महन्थ बैकुण्ठ दासको पक्षमा सञ्जय साह थिए, उनी जेल परेपछि महासेठ र रामचन्द्र झाहरुले संरक्षण दिएका छन् । किनभने गतसाल मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा जानकी मन्दिरका महन्थले विमलेन्द्र निधिलाई र रत्नसागर मठका बैकुण्ठ दासले भने सञ्जय साह टक्लालाई चुनावी खर्चमा सघाएका थिए । यस्ता अपराधिहरुलाई परिचालन गरेर बसेका महन्थहरु कानूनी दायरामा आएनन् भने राज्यलाई अझ ठूलो चुनौति थपिने छ ।

 

महन्थको अपराधै अपराध

 

जनकपुरको वेलाकुटीमा शोभायमान राधाकृष्णको बहुमुल्य मूर्ति  चोरी भयो । यस सम्बन्धमा केन्द्रिय प्रहरी अनुसन्धान व्युरोले १ बर्ष अगाडि अनुसन्धान र छानविन गर्दा उक्त मूर्ति जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले लुकाई राखेको फेला पारे ।


 ०६४माघ ३ गते  मनोज साहमाथि संघातिक हमला भयो । यस काण्डमा प्रहरीले पक्राउ गरेका तीन जनाले अदालत समक्ष बयान दिँदै आफुहरुले जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको योजना बमोजिम, पैसा लिएर हमला गरेको बताए ।  

अख्तियारले गुठी संस्थानलाई हालै मात्र अत्यन्त जरुरी सुचना सहितको एक पत्र लेखेर जनकपुरको जानकी मन्दिरको नाममा रहेको हजारौं विगाहा जग्गा जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले गैरकानुनी रुपमा बेचविखन गरेको र केही जमिन आफना नातागोताको नाउमा राखेको भन्दै त्यस सम्बन्धी तथ्यसत्य जानकारी दिन आग्रह ग¥यो

 जनकपुरको अर्को महत्वपूर्ण मठ रत्नसागरका महन्थ बैकुण्ठ दासलाई सशस्त्र समुहका नाईके राजन मुक्तिले हालै अदालतमा बयान दिएर महन्थ बैकुण्ठ दाससंग भएको रु. १० लाखको डिलमा आफुले महोतरीको शिक्षा कार्यलयका अधिकृत लालकिशोर झाको हत्या  गरेको स्वीकार गरे ।  

बैकुण्ठ दास भारतीय नागरिक भएर पनि गैरकानुनी रुपमा जनकपुरवाट नेपाली नागरिकता लिएको भनेर अख्तियारले उनी विरुद्ध पक्राउ पूर्जी नै जारी गरिसकेको छ ।
 

 महन्थ बैकुण्ठ दासले पनि गैर कानुनी तवरले जनकपुरको रत्नसागरको अर्बौं मूल्य पर्ने जग्गाहरु बेचविखन गरेको भनेर अख्तियारले गुठी संस्थानलाई त्यस सम्बन्धी छानविन गरि तत्काल जानकारी गराउन पत्र लेखेको छ ।    

 खोज पत्रकारिता केन्द्र 

No comments:

Post a Comment