Friday, August 29, 2014

मिथिला सहित मधेशमा चौरचनको रौनक



भदौ महिनाको शूक्लपक्ष चौथी तिथिका दिन मनाइने मिथिलाको लोकपर्व चौठचन्द्र शुक्रबार मथिला सहित मधेशका अन्य भागमा पनि मनाइदै छ । चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यता अनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाइ गाजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा रहेको छ । यसअघि व्रतीहरुले बिहीबार स्नान गरी नहा–खा गरेकी छन् । उनीहरुले नजिकको जलाशयमा रहेका नदी तलाउमा स्नान गरेर नहा–खा गरेका हुन् ।  यसै क्रममा चौथी तिथिकै दिन मनाइने गणेश चतुर्थीका लागि मधेशका सहरहरुमा स्थानिय क्लबहरुले  विभिन्न चोकमा गणेश पुजनोत्सवको रुपमा पनि भव्य पुजापाठ गर्ने गर्छन ।

यो पर्व चन्द्रमा पूजाको रुपमा प्रचलित छ । दिनभर निराहार रहि सांझ चन्द्रमालाई विविध पकवानका साथ फल एवम् दही अर्पण गर्ने परम्परा छ । मिथिलामा यो पर्व हेमाङग ठाकुरले प्रचलनमा ल्याएको विश्वास छ । ठाकुर आफु ज्योतिषी थिए, उनलाई यो तिथिमा शुभ फल प्राप्त भएकोले यो पर्वको सुरुवात गरेका थिए ।
स्कन्द पूराण अनुसार भगवान कृष्ण माथि लोभ वंश मित्रको हत्या गरेको आरोप लागेपछि उनी चिन्तित भएको अवस्थामा नारदको प्रेरणाबाट चन्द्रमाको पूजा गरेर आफु माथि लागेको कलंकबाट मुक्त भएका थिए ।
चौरचनको व्रत र पूजा गर्ने पुरुष एवम् स्त्री धनवान एवम् पुत्रवान हुनुका साथै प्रशन्नचित्त हुन्छन भने प्रसंग पनि पूराणमा उल्लेख छ ।  यसको पूजा आंगनमा गरिन्छ, विहानै लिपपोत गरी घर आंगन पवित्र बनाइन्छ । सांझपख आंगनमा अरिपन गरी अरिपनमाथी दहीको मटकुरी, फलफूल, खिर, पुरी, केरा मिष्ठानका साथै धुप, फूल चन्दन आदी सजाइन्छ ।


यसमा घरका पुरुष सदस्य बराबर दहीको मटकुरी र स्त्री सदस्य बराबर फलफूलको डाली राख्ने गरिन्छ ।
पूजा सामग्री सजाइसकेपछि परिवारका सबै सदस्यले हातमा फल लिइ चन्द्र दर्शन गर्छन भने जेष्ठ महिलाले अरिपनमा राखिएका मटकुरी तथा डालीहरु पालैपालो उठाई अर्घ दिन्छिन् । अर्घपछि परिवारका पुरुष सदस्य पूजामा राखिएको प्रसाद ग्रहण गर्दछन त्यसपछि परिवारका अन्य सदस्यले खानपान गर्ने चलन छ ।



No comments:

Post a Comment