Monday, August 25, 2014

एक मधेश एक प्रदेशका लागि जुनसुकै बलिदानी दिन तयार छौं - गुप्ता




तराई मधेश राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ताले मधेशी जनताको राजनीतिक स्वशासनको संरचना मुलुकमा स्थापना नभएसम्म मधेश समस्याको समाधान नहुने बताएका छन् । मधेशी जनताको राजनीतिक स्वशासन भन्नु नै मधेशीहरुको स्वायत्त प्रदेश हो । गुप्ताले एक मधेश एक प्रदेश अनिवार्य रहेको बताएका छन् । यसको स्थापनाका लागि जुनसुकै बलिदानी दिएर लड्ने, तर आत्मसमपर्ण गर्न नहुने उनले बताए । उनले मुलुकको राजनीतिक परिस्थिति सम्वेदनशील अवस्थामा पुगेकाले ‘एक मधेश एक प्रदेश’को निर्माणका लागि ऐक्यबद्ध हुन मधेशी समुदायलाई आह्वानसमेत गरे । नयाँ संविधानमा उत्तर र दक्षिण जोडेर तराईलाई पाँ“च वा सात प्रदेशमा बाँड्ने तरखर भइरहेको भन्दै उनले त्यसो गरिए मधेशका लागि अस्वीकार्य हुने बताए । विराटनगरमा  तराई मधेश राष्ट्रिय अभियान जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको एक दिने जिल्ला प्रशिक्षण शिविरलाई सम्बोधन गर्दै संयोजक गुप्ताले यस्तो बताएका हुन् ।


संयोजक गुप्ताले मधेशीको पहिचानलाई मान्यता नदिए अब बन्ने नयाँ संविधान आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । संविधान जलाउने कुराभन्दा पनि संविधानको अस्तित्व नै अन्त्य हुने उनको भनाइ छ । ‘मधेशीको पहिचानलाई समाप्त पार्ने खेल हुँदैछ’ गुप्ताले भने, ‘यदि संविधानमा नै हाम्रो पहिचान समाप्त गरियो भने संविधान नै मृत्युतुल्य  हुनेछ ।’ मधेशी जनताको राजनीतिक एजेन्डा संविधानमा स्थापना भए मात्र आन्दोलन पुरा हुने बताउँदै गुप्ताले भने, ‘मधेशको आन्दोलन तब सार्थकता प्राप्त गर्दछ, जब मधेशी जनताको राजनीतिक स्वशासनको संरचना संविधानमा स्थापित हुन्छ ।’ मधेशको एजेन्डा स्थापित गर्न नसके भावी पुस्ता र पिढीलाई जिम्मा दिएर जाने तर, राज्य सामु घुँडा नटेक्ने उनले धारणा राखे ।
 
उनले मधेशी जनताको राजनीतिक स्वशासनको संरचना स्थापित गर्ने सडक आन्दोलनको विकल्प नरहेको बताउँदै उनले भने, ‘त्यसका लागि राजनीतिक विचारले लैस अनि प्रतिवद्ध नेता कार्यकर्ता समेटेको क्रान्तिकारी शक्तिको आवश्कता रहेको छ । वर्तमान समयमा मधेशको राजनीतिमा स्पष्ट रुपमा दुईधार देखापरेको उनले बताउँदै भने, ‘मौकापरस्त र अवसरवादीधार जसले सताका लागि मधेशको मुद्दालाई विसर्जन गर्ने र अर्को मधेशमा विकसित भएको नव–आत्मबोध र नयाँ विद्रोही चेतनालाई संगठित पादै मधेशको एजेन्डालाई आन्दोलनको बलमा स्थापित गर्ने धार रहेको छ । उनले दलहरुले जारी गर्ने भनिएको संविधानको मस्यौदा परिवर्तन र मधेशको एजेन्डालाई समेटेर जारी नगरे मुलुकको लागि दुर्भाग्य हुने चेतावनी दिए । उनले भने मस्यौदामा मधेशको राजनीतिक एजेन्डा र पहिचानको मान्यता नदिए शान्तिपूर्ण निर्णायक  संघर्षको थालनी गर्ने उद्घोष गरे । कांग्रेस–एमालेको उतर–दक्षिण गरेर पाँचदेखि सात प्रदेश बनाउने मनस्थिति रहेको बताउँदै त्यसको विरुद्धमा ‘एक मधेश प्रदेश’ स्थापना गर्ने सबैलाई एकभएर सर्षघमा उत्रिन आग्रह समेत उनले गरे ।
 
विराटनगरको सो कार्यकर्ता प्रशिक्षण शिविरलाई सम्बोधन गर्दै गुप्ताले कांग्रेस, एमाले र एमाओवादीका नेताहरु मस्यौता निर्माणको क्रममा मधेशीको पहिचानलाई समाप्त पार्ने खेलमा लागेको अरोप लगाए । प्रदेश निर्माणका क्रममा मधेशीहरुलाई कमजोर पार्ने षडयन्त्र भइरहेकाले भन्दै उनले मधेशी समुदायले आफ्नो मुद्दालाई स्थापित गर्न खबरदारी आवश्यक रहेको गुप्ताको भनाइ थियो । संविधानसभामा अहिले राज्यको पुनर्संरचनासम्बन्धि गत संविधानसभाको सिफारिशलाई तुहाउने योजनावद्ध तथा नियोजित कार्यको मंचन हुदैछ उनले भने, अहिलेको छलफलको दिशा र मुख्य राजनीतिक दलहरुले देखाएको नियतबाट प्रतिगमनको स्पष्ट संकेत देखा पर्दछ । कांग्रेस–एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेशी दलहरुको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरुलाई घोर धोका हुने निश्चित रहेको उनले बताए ।
 
अभियानका विदेश विभाग प्रमुख देवेश झाले पहिलो संविधानसभामा परिवर्तनकारी शक्ति बहुमतमा भएपनि संविधान बनाउन नसकेको उल्लेख गर्दै अहिले परिवर्तनकारी समूह नै अल्पमतमा रहेकाले मधेशको हितमा संविधान बन्ने सम्भावना कम देखिएको बताए । सोही सभामा, राजनीतिक विचारले लैस अनि प्रतिवद्ध नेता तथा कार्यकर्ताहरुले मात्र संघर्ष तथा आन्दोलनको नेतृत्व गर्नसक्ने उद्देश्यले अभियानले एकदिने शिविरको आयोजना गरेको मोरङ जिल्ला संयोजक जफर अहमद जमालीले जानकारी दिए । जमालीका अनुसार शिविरमा जिल्लाका दुई सय अगुवा नेता तथा  कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो अवसरमा मधेश आन्दोलनको क्रममा मोरङमा नेतृत्वको भूमिका निर्वाह गरेका युवा नेता सलिम अन्सारीले चार दर्जन युवाहरु सहित अभियानमा प्रवेश गरेका छन् । उनले मधेश आन्दोलनले  निर्धारण गरेको मधेशको राजनीतिक एजेन्डामा तमरा अभियान अडिग भई अग्रसर भएकाले अभियानमा प्रवेश गरेको बताए । तमरा अभियानका केन्द्रीय परिषद्का सदस्य सनातन मंडलले संचान गरेको कार्यक्रममा स्वागत अभियानका परिषद् सदस्य अञ्जय मिश्र, केन्द्रीय संगठन विभाग प्रमुख आरडी आजाद, आत्माराम साह, सिपू तिवारी, अमर मंडल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
 

No comments:

Post a Comment