Saturday, August 16, 2014

धनुषामा महिला हिंसाको घटना दोब्बरले बढ्यो



महिला हिंसा नियन्त्रणको नाउमा यहांस्थित गैरसरकारी संघसंस्थाहरुले जनचेतनामूलक कार्यक्रमहरु भइरहेको दावी गरिरहदा धनुषामा भने महिला हिंसाको घटना दोब्बरले बढेको छ ।
जिल्लास्थित आधा दर्जन बढी गैरसरकारी संघसंस्थाहरु महिला हिंसा न्युनिकरण गर्न अभियान चलाउदै आएका छन् । अभियान चलाउन ती गैरसरकारी संघसंस्थाले दातृ निकायको सहयोगको ठूलो भाग यसैमा खर्चेको देखाउदै आएको छ ।
 
ती संघसंस्थामा कार्यरत्त महिला कर्मचारीहरुले पनि महिला हिंसा न्युनिकरण भएको दावी गर्दै आएका छन् । तर, जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलको तथ्यांकले भने उनीहरुको दावीलाई गलत मात्रै तुल्याएको छैन् ती संघसंस्थाको कामकाजमा समेत सवाल खडा गरेको छ ।
 
जिल्लामा विभिन्न दातृ निकायको सहयोगबाट महिला हिंसा न्युनिकरणको नाउमा वर्षेनी यस्ता गैरसरकारी संस्थाहरुले लाखौ रुपैया कमाउदै आएको तथ्य समेत स्पष्ट हुन गएको छ । बरु पछिल्लो दिनमा एकपछि अर्को गर्दै महिला हिंसाका कहाली लाग्दा घटनाहरु सार्वजनिक भएको छ । लम्बिदो राजनीतिक संक्रमणकालिन अवस्था, फितलो कानूनी व्यवस्था, पीडकलाई राजनीतिक संरक्षण लगायतका समस्याले गर्दा महिला हिंसा न्युनिकरण गर्न नसकिएको सरोकारबालाहरुको तर्क छ ।
 
गएको आर्थिक वर्षमा मात्रै धनुषा जिल्लामा कुटपीट, घर निकाला, किशोरी फरार, खान लगाउन नदिने, अंश सम्बन्धी, बहु विवाह लगायतका ६ सय ९९ घटनाहरु भएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलले जनाए ।


सेल प्रमुख सुभद्रा आलेका अनुसार घरेलु हिंसा र किशोरी फरारको घटना ह्वातै बढेको छ । घरेलु हिंसा र किशोरी फरारको घटना दिनैपिच्छे आइरहेको उनले थपे ।

मोबाइल र फेसबुकले गर्दा किशोर किशोरी फरार हुने घटना भएको दावी आलेले गरिन् ।
विदेशिएकाहरुले स साना छोराछोरीलाई पनि किम्मती मोबाइल प्रयोग गर्न दिएका छन् । उनी अगाडी थप्छन्–उपयोग नगरेर दुरुपयोग गर्न थालेको प्रकाष्टा हो, किशोरकिशोरी फरार ।

फरार हुने किशोरकिशोरीमा अधिकांश १३ देखि १५ वर्ष उमेर समूहका रहेका छन् । कक्षा ८ देखि १० मा अध्ययनरत्त किशोरकिशोरीहरुले भागेर आउने गरेको घटना बढ्दै गएको उनले सुनाइन् । महिला हिंसाका घटनालाई घरेलु मामिला र सामाजिक परिवेश भनेर हल्का रुपमा लिने गरेकाले घटनामा कमी नआएको उनले भनिन् । महिला हिंसाका घटनामा सबै निकाय संवेदनशिल नभएसम्म कमी नआउने महिला सेलकी आले भन्छन् ।
 
महिला हिंसाको घटनालाई यहास्थित गैरसरकारी संघसंस्थाले कमाउने भांडोको रुपमा प्रयोग गरेको छ । आर्थिक वर्ष २०७०/७१ मा मात्रै ६ सय ९९ घटना दर्ता भएको छ । २०६९/०७० मा भने त्यो संख्या ३ सय ५८ थियो ।
जनकपुर टुडे

No comments:

Post a Comment