Tuesday, August 26, 2014

नियण्त्रणकारी ऐनको दुरुपयोग हुनाले तराईमा आतङ्क र अपराध निरन्तर


धेरै पहिले डाँकुहरुबाट सुरक्षित हुनाकालागि तराईका जमिन्दारहरुले घरेलु हतियार राख्थे । राजा महेन्द्रले “कू” गरेपछि तराईमा राजनीति गर्नेहरुले अवैध हतियार भित्राए । तराईको राजनीतिक माग पूरा गराउन उसबेला रामजी मिश्र समेतले तराई मुक्ति मोर्चाको गठन गरेर अवैध हतियार भित्राएका थिए । उनी जून १९६३मा प्रहरीद्वारा मारिए । यसपछि अवैध हतियार र तराईको राजनीतिवीच गहिरो नाता गाँसियो । तराईमा हतियार प्रयोग गर्नेहरुमा नेताहरुसंगै अपराधीहरु पनि थपिए । खोपकेको अनुसन्धानमा सार्वजनिक शान्ति सुरक्षा कायम राख्न बनाईएको हातहतियार तथा खरखजाना ऐन (२०१९) तराईमा प्रभावकारी हुन नसकेपछि हत्या, अपहरण, लागू औषध कारोवार र अवैध हातहतियार आतङ्कका कारण तराईका १३ जिल्ला पीडित र प्रताडित छन् ।


 


 २०७० चैत्र २८ गते बिहारको सीतामढीमा अवैध हतियार तथा लागू औषध कारोवार नियण्त्रण गर्ने विषयमा नेपाल— भारत सीमा प्रहरीवीच वैठक बस्यो । त्यस वैठकमा भाग लिएर फर्केका महोत्तरीका एक प्रहरी अधिकृतले भने,“अवैध हतियार कारोवार वा प्रयोग गर्नेले छुट पाए भने समाजमा आतङ्क फैलन्छ भन्ने निष्कर्षमा दुवै देशका प्रहरी पुगेका छन् । दुवैे देशका प्रहरी अवैध हतियार र लागू पदार्थको कारोवार रोक्न प्रतिवद्ध हुने निष्कर्ष निकालिएको छ ।”सीमाका प्रहरीवीच यस्ता वैठकहरु नियमित रुपमा हुन्छन्् । निष्कर्ष उही निस्कन्छ ।
 
तर २०५७ देखि यताका वर्षमा नेपालको सीमा क्षेत्रका कपिलवस्तुदेखि मोरङ्गसम्मका १३ जिल्लामा ज्यान मार्ने, अपहरण गर्ने, लागू औषध भित्राउने र अवैध हातहतियारको कारोवार गर्ने अपराध ६ हजार भन्दा बढी भए ।    सुनसरी, रुपन्देही, नवलपरासी र मोरङ्गमा ज्यान मार्ने अपराध बढी छ भने सप्तरी, महोत्तरी, मोरङ्ग र रौतहट अपहरणमा । पर्सा, रुपन्देही, मोरङ्ग र सुनसरी लागूऔषधको व्यापारमा र पूर्वी तराईका ५ जिल्ला—मोरङ्ग, धनुषा÷सर्लाही, सिरहा र सुनसरी अवैध हतियारको कारोवारमा । मोरङ्ग जिल्ला यी चारै किसिमका अपराधले पीडित छ । सप्तरी, महोत्तरी, बारा र रुपन्देहीलाई अपराधकर्मीहरुले सुरक्षित सेल्टरका रुपमा प्रयोग गरेका छन् । पीडितहरु भन्छन्—अवैध हतियारका कारण तराईमा अपराध र आतङ्क बढेको हो । प्रहरी भन्छन्, सुरक्षा गस्ती बढाएका छौं ।


गम्भीर मामिला - नरम व्यवहार
 
तराईमा अवैध हातहतियारको कारोवार र अपराधको सम्बन्धको अध्ययन गरिरहेका अधिवक्ता बिकरु यादव भन्छन्— हातहतियार तथा खरखजाना ऐन प्रभावकारी नहुँदा तराईमा धेरै समस्या आएको छ । प्रजिअले यो ऐन चलाउँदासम्म तराईमा अपराध नियण्त्रण सम्भव देखिँदैन । किनभने प्रजिअ र स्थानीय नेता अनि नेता र अपराधीवीच नङ—मासुको सम्बन्ध हुन्छ ।

२०६१ भदौ २६ गते, महोत्तरीका प्रहरी सहायक निरीक्षक हेमकुमार ढुंगेलको विशेष टोलीले जलेश्वर ५ सारी जाने बाटोबाट महोत्तरी बनौटा गाविस वडा नं ६ का विशेषकुमार यादवलाई कटुवा पेस्तोल एक थान र त्यसको ३वटा गोली समेत साँझ ६ः३० बजे पक्राउ गरे । सरकारी वकिल समक्ष बयान दिँदा यादवले आफ्नो साथबाट कटुवा पेस्तोल र त्यसको गोली पक्राउ परेको हो, तर पेस्तोल र गोली भूवन महतोले दिएको हो भनि बयान दियो ।
(हे. बयान)

judgement 1


यसै बयानको आधारमा प्रहरीले हतियार र गोली सहित पक्राउ परेको विशेष यादव र निजले पोलेको भूवन महतोलाई हदैसम्मको कारवाहीको माग गरि महोत्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी जयमुकुन्द खनाल (हाल कृषि सचिव) समक्ष पेश ग¥यो ।

विशेष यादवले प्रजिअ खनाल समक्ष प्रहरीले झूठो कागज गराएको हो भनि बयान दियो । यस बयानलाई आधार मानेर ०६२ फागुन २५ गते बसेको प्रजिअ जयमुकुन्द खनालको ईजलासले, “विशेष यादवले हातहतियार खरखजाना ऐनको दफा ५ (१) र ३ (२) अनुसार कसुर गरेको ठहर गर्दै “रु.एक हजार जरिवाना”लिएर छाडिदिनु भनेर फैसला दियो ।
 
प्रजिअ जयमुकुन्द खनालले आधार लिएको ऐनको दफामा, हातहतियार तथा खरखजाना मामिलामा कसुरवार ठहरिएको मानिलाई “रु.१००० जरिवाना” गरेर उन्मुक्ति दिने प्रावधान छैन । ऐनको दफा २०मा गरिएको दण्ड सजायको व्यवस्था अनुसार, उपरोक्त कसुर गर्नेलाई ३ वर्षदेखि ५ वर्षसम्मको कैद वा ६० हजारदेखि १लाख रुपैयाँ सम्मको जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

ऐनको प्रतिलिपि
 Ain ko Pratilipi



प्रजिअले हजार रुपैया दण्ड तिराएर छोडेपछि, विशेष यादवलाई हदैसम्मको कारवाहीको माग गरि जाहेरी दिने प्रहरीले पनि चित्त बुझायो । अधिवक्ता विकरु भन्छन्—हतियार तथा खरखजाना मामिलामा कसुरवार ठह¥याएपछि १,००० जरिवाना गर्नु भनेको कारवाही गरेको जस्तो गर्नु मात्र हो । यसरी अवैध हतियार जस्तो गम्भीर मुद्धाहरु पनि फासफुस हुन पुग्छन् ।
 


प्रहरीको उदासीनता

विशेष यादवलाई हतियार दिएको आरोप लागेको भूवन महतो प्रजिअको ईजलासमा उपस्थित नै भएनन् । भूवन महतो जनकपुरको सम्राट लजमा बस्छ भनेर विशेष यादवले दिएको बयान प्रहरी रेकर्डमै उल्लेख भएता पनि प्रहरीले खोजी गरेन । प्रजिअले भूवनलाई भगौडा अपराधी भएको फैसला गरी २ वर्ष कैद र रु. ६ हजार जरिवाना हुने फैसला सुनाए पनि महोत्तरी प्रहरीले खोजी गरेन ।
 
प्रहरीले झुटो मुद्धा लगाएर दुख दिएको भनेर प्रजिअको फैसला विरुद्ध महतो पुनरावेदन जनकपुर गए । पुनरावेदनले ४९ हजार ५०० धरौटी लिएर तारेखमा छोडिदियो । फौजदारी कानूनविद् भन्छन्—प्रजिअले हातहतियार तथा खरखजाना मुद्धामा कसुरवार ठह¥याएको व्यक्तिले सजाय भोग्नु पर्ने हो । तर विशेष यादव र भूवन महतो दुवै खुला छन् ।


 धेरै उम्कन्छन्


महोत्तरी जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजानाका मुद्धामा भएका फैसलाहरु धेरै विवादित छन् । २०७१ साल वैशाखमा सरुवा हुनु भन्दा अघि प्रजिअ रामप्रसाद थपलियाले हातहतियार तथा खरखजाना मामिलाका धेरै आरोपीको मुद्धा फैसला गरे । प्रजिअ थपलियाले दावी गरे— पहिले अधिकारको दुरुपयोग भयो होला । तर मैले धेरै कडाई गरेको छु । तर महोत्तरी प्रजिअले फैसला गरेका ६वटा मुद्धामा जिल्ला सरकारी वकिल गोविन्दराज गौलीले पुनरावेदन गरेका छन् ।

२०७० पौष १३ गते महोत्तरी सशस्त्र प्रहरीले धीरापुरका जमालुद्धिन अन्सारी (२८) र हलखोरीका मो.कमर रजा       (३५)लाई सानो साईजको एयरगनसहित मटिहानीबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझायो । प्रहरीले जिल्ला सरकारी वकिल मार्फत् पौष २५ गते हातहतियार तथा खरखजाना ऐनको दफा २०(२) बमोजिम हदैसम्मको सजायको माग दावी गरेर प्रजिअ रामप्रसाद थपलियाको ईजलासमा प्रस्तुत गरे । त्यसको ३ दिनपछि, पौष २८ गते फैसला हुँदा, हतियार सहित पक्राउ परेका मो.कमर रजाले सफाई पाए ।

२०६८ माघ २९ गते महोत्तरी सुन्दरपुर बस्ने जयनारायण महतोलाई एक थान नलकटुवा सहित प्रहरीले पक्राउ गरेर हदैसम्मको कारवाहीको माग मुद्धा दर्ता गरे । २०७० भाद्र ९ गते प्रजिअ रामप्रसाद थपलियाको ईजलासले ६० हजार जरिवाना गरेर छाडिदिए । ०६८ चैत्र ७ गते नलकटुवा सहित पक्राउ परेका गौशाला ९ बस्ने विहारी महतोलाई पनि ०७० माघ ५ गते बसेको प्रजिअ थपलियाको ईजलासले ६१ हजार जरिवाना तिराएर छाडिदिए । पेस्तोल सहित पक्राउ परेका शिवकुमार महतो र रामबाबु ठाकुर विरुद्ध प्रहरीले २०७० जेठ २७ गते मुद्धा दर्ता गर्यो । प्रजिअ थपलियाको २०७० असोज २४को ईजलासले शिवकुमार महतोलाई सफाई दिए । वर्दिवासका लालबहादुर भूजेल सहित ५ जनालाई पेस्तोल सहित जंगलमा पक्राउ गरेर प्रहरीले २०६७ जेठ ६ गते मुद्धा चलायो । प्रजिअको थपलियाको २०७० साउन १६ गतेको ईजलासबाट भूजेलवाहेक अन्य ४ जनाले सफाई पाए ।

५० रुपैयाँमा छिनोफानो

२०७० साल असार १ गतेको महोत्तरी जिल्ला प्रशासनको फैसलामा साजिद नदाफलाई हातहतियार तथा खरखजाना ऐन (२०१९)को दफा १८ बमोजिम कसुर गरेको प्रमाणित गरेर  ५० रुपैया जरिवाना तिराएर सफाई दिएको छ । हातहतियार तथा खरखजाना ऐनको दण्ड सजायको महल दफा २०(२)ले कम्तीमा ३ वर्ष कैद वा ६० हजार जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । यस भन्दा न्यूनतम् जरिवाना वा कैदको व्यवस्था ऐनमा छैन ।

फैसलाको प्रभाव

महोत्तरी सीमा चौकीका एक प्रहरी अधिकृतले गुनासो गरे—अवैध हतियार र लागूपदार्थ कारोवारीलाई पक्राउ गरेर कारवाहीको लागि बुझायो, उनीहरु सामान्य जरिवाना तिरेर छुट्छन् । अनि कसरी नियण्त्रण हुन्छ ? जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले थपे, ‘हतियारसहित पक्राउ पर्ने बित्तिकै उसलाई सामान्य तारिख वा धरौटीमा छोड्न सीडिओ र प्रहरी प्रमुखलाई राजनीतिक दवाव आउँछ । पैसा तिरेर उम्कन पाएपछि, अपराध गर्नेहरुको साहस बढिहाल्छ नि ।’

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मी भन्छन्— यहाँ पटके अपराधीहरु बढ्दैछन् । प्रहरीको काम प्रमाण जुटाएर मुद्दा पठाई दिने हो । प्रजिअको ईजलासबाट भएका फैसलालाई चुनौती दिन मिल्दैन । अर्कोतिर जनतान्त्रिक तराई मुक्तिमोर्चा (ज्वाला समूह)का पूर्व केन्द्रीय सदस्य तुल्सीदास भन्ने सखीचन्द्र यादव भन्छन्—प्रहरीले मलाई दुईचोटी फसाउन खोज्यो । तर प्रजिअ समक्ष सिद्ध गर्न सकेन । म रिहा भएँ ।


भयरहित अपराधी


सीमा क्षेत्रका घर, कारागार र राजमार्ग पनि असुरक्षित् छन् । कोल्हुवा वगेयाका दिपु भन्ने विमलेन्द्रकुमार शर्माले आफ्नै घरमा बुबालाई गोली हाने । उनी पक्राउ परेपछि, बाबु र छोरावीच अवैध हतियारको मामिलामा कुरा नमिल्दा उक्त घटना भएकोे रहस्य खुल्यो ।


जलेश्वर कारागारमा सजाय काटिरहेकी ललिता सिंह (पत्रकार उमासिंहकी भाउजु)संग भेट गर्न २०७० फाल्गुण १३ गते विहार महुआहीका नवीनकुमार सिंह र मरहाकी रितासिंह आए । जेल प्रशासनले रितासिंहको हाते ब्याग जाँच गर्दा पेस्तोलमा लाग्ने गोली फेला प¥यो । तर केही कारवाही भएन ।

२०७० कार्तिक १६मा सर्लाही जिल्लाको सीमा नजिक बिशम्भरपुरमा भारतीय सीमा सुरक्षा बलले दुईजना हतियारधारीबाट ९ थान पेस्तोल, २ थान राइफल र ४६ थान गोली बरामद ग¥यो । तर उनीहरुलाई पक्राउ गरेन । कार्तिक २० गते महोत्तरीको सुगा गाउँबाट ईटालियन ट्याग लगाईएको पेस्तोल र त्यसको गोली सहित बिहार श्रीखण्डी भिठ्ठाका मिथिलेश कुमार सिंह र दिवारीका रत्नेशकुमार यादव पक्राउ परे । दुबैजनाले महोत्तरी पिपराका जयगोविन्द मिश्राले हतियार मगाएको हुनाले ल्याईदिएको बयान दिए । मिश्रा धरौटी बुझाएर छुटे ।

कार्तिक २८ गते भारतीय नागरिक विजय साह अवैध हतियार र लागू औषध सहित पक्राउ परे । तर मुद्दा चलेन । संविधानसभाको मतदानको दिन सर्लाहीको धनकौल र बलरा गाउँमा दिउँसो ११ बजे गोलीकाण्ड हुँदा १२ जना घाईते भए । पीडितहरुले गोली हान्ने मानिसहरु अमरेशकुमार सिंहका कार्यकर्ता हुन् भनेपछि प्रहरीले उजुरी नै लिएन । त्यसैदिन महोत्तरीको पर्सादेवाडमा गोली चलाउनेहरुका विरुद्ध घाईतेहरुले नामै किटेर उजुरी दिए । पीडित युवकले गुनासो गरे—प्रहरीले चुनावी मामिला भनेर अवैध हतियारको मामिला दवाई दियो । मंसिर ९ गते राती धनुषाको रामानन्द चोकमा हवाई फायर गर्ने ३६ बर्षीय प्रकाश मिश्र एक राउण्ड गोली र दुईनाले बाह्रबोर बन्दुकसहित पक्राउ परेका थिए, तर तत्कालै छुटे ।

हातहतियार तथा खरखजाना मुद्दामा सजाय काटेर हाल हतियार व्यापारी बनेका एक युवकले भने—सीमा क्षेत्रमा साना हतियार र लागू पदार्थको व्यापार राम्रो चल्छ । यता कसैको डर छैन । सीमापारी सुरसण्डका व्यापारीहरु भन्छन्— नेपालका नेताहरु साना पेस्तोल रुचाउँछन् । त्यहाँ एउटै पेस्तोल धेरैचोटी बिक्छ ।
२०७० असार २ गते, मधेशी जनअधिकार फोरम नेपालको जलेश्वरस्थित पार्टी कार्यालय र मनरा गाउँमा एक समूहले आक्रमण गरेर शैलेन्द्रकुमार मण्डल र विकासकुमार सिंहलाई गोली हाने । त्यसको लगतै अभयकुमार सिंह र सोनमकुमारी सिंहलाई गोली हाने । यो समूहले ४ दिनमा ३वटा घटना गरे पनि प्रहरीको फन्दामा पर्नु परेन । त्यसपछि यसै समूहले सरपल्लोका बिक्रम सहनीलाई अपहरण गरेर हत्या नै गरिदिए ।
जलेश्वरमा घाइते भएका फोरम कायर्कता रामप्रगाश साह तथा असार २ गते मनरामा घाइते भएका शैलेन्द्रकुमार मंडल र विकासकुमार सिंह ।

 यी भयरहित अपराधीहरुले धनुषा र महोत्तरीमा अवैध हतियार र लागूऔषध कारोवार गर्ने केन्द्र नै खडा गरे । यी दुई जिल्ला सशस्त्र समूहको सुरक्षित सेल्टरको रुपमा चिनिन्छ ।
 

एनकाउण्टर कि भीडन्त


 सीमा क्षेत्रका प्रहरीहरु भन्छन्—राजन मुक्ति, दीपक सिंह, मुकेश चौधरी जस्ता सशस्त्र समूहका नेता पक्राउ परेता पनि तिनका धेरै कार्यकर्ताहरु अझै पनि सक्रिय छन् । जिल्लामा अवैध हतियार र लागू पदार्थका व्यापारीहरु बढेकाले तिनीहरुसंग सोझो भीडन्त हुन थालेको छ ।

महोत्तरीको दुर्गमभेग हलखोरीमा २०७० माघ १९ गते र सोनमा गाउँको उखुवारीमा माघ २३ गते प्रहरी र अवैध हतियारधारी वीच सोझो भीडन्त हुँदा रामगोपालपुर दोलाठीका जकाउल्लाह नदाफ र बदिया बन्चौरीका सेराजुल मंसुरी मारिए । यी दुवै घटना राती २ बजे भएको थियो । प्रनाउ राजेन्द्रबाबु रेग्मी भन्छन्— प्रहरीसँगको भीडन्तमा मारिएका दुबै जनाको संलग्नता हतियारको कारोबारमा थियो । रात्री गस्ती गर्दा भीडन्त हुन गएको हो ।

तर मृतकका आफन्तले तत्कालै जलेश्वरमा पत्रकार सम्मेलन गरेर भने—“मो.सेराजुल मंसुरीलाई गाउँमै हत्या गरिएको हो । भीडन्तमा होईन ।” उनीहरुले प्रहरीमाथि गैरकानूनी हत्या गरेको आरोप लगाउँदै मानव अधिकार आयोग, प्रहरी तथा प्रशासन र अन्य निकायमा उजुरी दिएका छन् । स्थानीय वासिन्दाहरु भन्छन्—दुईटै घटना राती दुईबजे नै हुनु शंका लाग्दो कुरा हो ।


Press rilies



प्रजिअबाट समाधान छैन

 
advocate bikru yadav
विकरु यादव, अधिवक्ता
 


प्रजिअले ४०० भन्दा बढी ऐन कानून प्रयोग गर्छन् । हातहतियार तथा खरखजाना मुद्दा प्रमुख जिल्ला अधिकारीले सुन्ने र फैसला गर्ने व्यवस्था नै समस्याको मूल हो । जिल्लाका नेता र प्रजिअको सम्बन्ध नङ्ग र मासुको जस्तै हुन्छ । यस्ता मुद्दामा नेता, कार्यकर्ता र अपराधकर्मीहरुले प्रत्यक्ष प्रभाव पार्ने हुनाले अपराधीहरु उम्कन्छन् । यस्ता मुद्दाहरुमा प्रजिअको तजवीज चल्ने हुनाले हतियार व्यापारी र अन्य अपराधीलाई नेताहरुले संरक्षण दिन पाएका छन् । प्रजिअको अधिकार क्षेत्रबाट हटाएर न्यायालयको परिधि भित्र नल्याएसम्म यसको समाधान छैन ।


प्रजिअमै समाधान छ
 
रामप्रसाद थपलिया
प्रमुख जिल्ला अधिकारी, महोत्तरी
 

हतियार सम्बन्धी मुद्दामा झूटो आरोप र राजनीतिक प्रतिशोधको सम्भावना रहन्छ । नगरेको अपराधमा सजाय दिन मिल्दैन । अपराधी भए धरौटीमा छाड्दा पटके अपराध बढ्छ । तत्काल शान्ति सुरक्षा कायम गर्ने हतियारसँग सम्बन्धित मुद्दा प्रशासनकै मातहतमा रहनु पर्छ । शक्तिको दुरुपयोग हुन सक्छ । तर म आएदेखि कडाई गरेको छु ।

द्रष्टव्य M - ईजलासमा बसेर फैसला गर्ने अधिकारी न्यायाधिश समान हुने हुनाले प्रजिअहरुको थप प्रतिक्रिया लिन नमिल्ने हुनाले यहाँ फैसलालाई नै आधार लिईएको छ । _


२०५७÷५८देखि २०६९÷७०सम्मका मुख्य अपराधिक क्रियाकलाप
जिल्ला    ज्यान मार्ने    अपहरण    लागूऔषध    हतियार    जम्मा
मोरंग          ३०१             १६           २७९          ६३         ६५९
सुनसरी       ४०४             १३           २३६          ४४        ६९७
सप्तरी         २२५             २५            ४३          २९         ३२२
सिरहा         १९४             १५            ५५          ४८         ३१२
धनुषा         २९६             ११            १५६          ५०         ५१३
महोत्तरी        १९०             १७            ५१           ३१         २८९
सर्लाही         २००              ५             ७१          ५०         ३२६
रौटहट         १२३             १५             ४५         ३७         २२०
बारा           १६८              ९              ९६           २५         २९८
पर्सा           १२६              ४           ७३४           ३४         ८९८
नवलपरासी   ३२६             ३              ५४           १४         ३९७
रुपन्देही      ४०३             ७             ५९०           २१        १०२१
कपिलवस्तु   १२८              २               ८६           २४        २४०
         जम्मा                                                            ६१९२
 
स्रोत ः नेपाल प्रहरी


राकेश चौधरी (खोज पत्रकारिता केन्द्र)-









No comments:

Post a Comment