Friday, July 11, 2014

४ दिनमा ४ करोड सिध्याए रौतहट जिविसले





जिल्ला विकास समितिको कार्यालय रौतहटले आर्थिक वर्षको अन्त्यमा आएर व्यापक रकम अनियमितता गरेको छ । बजेट सिध्याउनका लागि जिल्ला विकास समितिका सम्पूर्ण कर्मचारी  मध्यरातसम्म पनि कार्यादेश वितरण र भुक्तानी दिँदै ४ दिनमा झन्डै ४ करोड रुपैयाँ सिध्याएका छन् । स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारीकै प्रत्यक्ष संलग्नतामा विभिन्न राजनीतिक दल र संघसंस्थाले कामै नगरी भुक्तानी लिएपछि स्थानीयले बुधबार जिल्ला विकासको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

असार मसान्तभित्र सक्नुपर्ने कामको कार्यादेश पनि एलडीओ भण्डारीले केही दिनअघिसम्म बाँडेको स्थानीयको आरोप छ । यही असार मसान्तभित्र सकिनुपर्ने सडकका १० योजनाहरूमा १५ प्रतिशत मात्रै काम भए पनि ठेकेदारलाई रनिङ बिलका आधारमा बढी भुक्तानी गरिएको छ । सडकका लागि छुट्ट्याइएको २ करोड ५० लाख रुपैयाँमा प्राविधिकहरूको सहयोगमा ठेकेदारलाई भुक्तानी दिइएको स्रोतको दाबी छ ।

यसैगरी ग्रामीण पूर्वाधार सुधार कार्यक्रमअन्तर्गत ५५ लाखको योजना पनि मसान्तमा व्यापक हिनामिना भएको छ ।  ६४ करोड १६ लाख १७ हजार कुल बजेट भएको जिल्ला विकास समितिमा जेठ महिनासम्म ९ करोड १२ लाख ५५ हजार बाँकी रहँदा अहिले सोही बाँकी रकम फ्रिज हुन नदिन भागबन्डा मिलाइएको छ । स्थानीय विकास अधिकारीको निवासमै योजना र कार्यादेश लिन राजनीतिक दलको भीड बढेको छ ।
जथाभावी रकम बाँडफाँडका बारेमा स्थानीय विकास अधिकारीले भण्डारीले प्रतिक्रिया दिन चाहेनन् । गलत गतिविधिका कारण कार्यलयका लेखापालसमेत कार्यालय आउन छाडेको स्रोतले जनाएको छ ।
 
४ दिनअघिदेखि बाँडिएका सबै कार्यादेश रद्द गर्नुपर्ने माग गर्दै मूल ढोकामै स्थानीयले तालाबन्दी गरेपछि प्रहरीले ताला फुटाएको थियो । विगत ४ दिनमा स्थानीय विकास अधिकारीले राजनीतिक दललाई झन्डै ७१ लाख रुपैयाँ बाँडेका छन । अधिकारी भण्डारीले राजनीतिक दलका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूलाई विभिन्न योजनाको भुक्तानी भन्दै सो रकम बाँडेको कार्यालय स्रोत बताएको छ । यसैगरी एलजीसीडीपीको २७ लाख र लक्षित वर्गका लागि आएको ८० लाख रुपैयाँ आफ्नै कर्मचारी र संघसंस्थालाई तालिम र गोष्ठीका लागि हचुवाको भरमा बाँडेको स्रोतले बताएको छ ।
स्रोत - कारोबार
 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete