Wednesday, June 4, 2014

एम्बुलेन्स व्यापार - तिम्रो बिरामी 'लैनो' कि 'बकेर्नो' ?




स्याङजा पकवादीका मधुमेहका रोगी ६७ वर्षीय पूर्णबहादुर रानाको खुट्टा नचल्ने भएपछि लुम्बिनी मेडिकल कलेज पाल्पाले अप्रेसन गरिदियो। मधुमेहका कारण घाउ निको भएन। थप उपचारका लागि एक महिनापछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जको इमर्जेन्सीमा भर्ना भए। त्यहाँ केही दिनपछि डिस्चार्ज गरेर ओपीडीमा बोलायो। ओपीडीले चाहिँ 'अवस्था नाजुक छ' भनेर फेरि भर्ना गरिदियो। अस्पतालको शौचालय जान लाग्दा अचेत भएर लडेपछि चिकित्सकले आईसीयूमा भर्ना गर्न रेफर गरे। तर अस्पतालले आईसीयू खाली नभएको भन्दै ब्लुक्रस लैजान सुझाए। ब्लुक्रसले ३० हजार धरौटी लिएर आईसीयूमा भर्ना गरिदियो। तर बिल भने २५ हजार लेखिएको थियो। पूर्णबहादुरका छोरा अरुणले भने, '५ हजार कमको बिल किन नि भनेर सोध्दा त्यो भेन्टिलेटरको शुल्क हो, लेख्नु पर्दैन भने। हामीले आईसीयू पायौं। पैसा तिरियो।'

अरुणलाई अस्पताल प्रशासनले धरौटीबाहेक आईसीयूको दैनिक ६ हजार, चेकअप र औषधिको छुट्टै चार्ज लाग्छ भनेका थिए। तर तेस्रो दिन भेन्टिलेटरका लागि थप ६ हजार लाग्छ भने। अरुणले दुखेसो गरे, 'पछि त दैनिक १५ हजारका दरले बिल दिए। दस दिनको एक लाख ७५ हजारजति तिरें। तर बाबा बाँचेनन्।'
धादिङ कटुञ्जेका लालबाबु सुनारलाई पत्थरी भयो। धादिङको सहिद मेमोरियल अस्पतालमा लैजाँदा अस्पतालले 'दुईवटा पत्थरी छ। यहाँ साधन छैन' भनेर फर्काएपछि राजधानीको मनमोहन मेमोरियल अस्पताल आए। त्यहाँबाट कलंकीको सिटी सेन्टर हस्पिटलमा पठाइदियो। पत्नी सुनिता सुनारले भनिन्, 'त्यहाँ आईसीयूको धरौटी २० हजार लियो। चार दिन राख्दा ७५ हजार तिरियो।'

स्याङ्जाका अरुण र धादिङकी सुनितामात्र होइन, निजी अस्पतालमा उपचार गराउन आउने जोकोहीले पनि यसरी नै धेरै पैसा खर्च गर्नुपर्छ। महँगो धरौटी तिर्न नसक्नेले उपचारै पाउँदैनन्। निजी अस्पतालहरू किन यति महँगा छन्? खोज्दै जाँदा अस्पतालले बिरामीलाई चार्ज गर्ने पैसा एम्बुलेन्स ड्राइभर र दलालसम्म पुगेको पाइयो।


लैनो कि बकेर्नो

पहिले डाँकुहरूले सुराकी लगाएर लैनो (दुधालु, धनी) कि बकेर्नो (थोरै दूध दिने, गरिब) भन्ने सोधेर सिकारलाई टाढैबाट चिन्थे रे। निजी अस्पतालहरूले पनि बाटैमा बिरामीको आर्थिक अवस्था जान्न एम्बुलेन्स ड्राइभरलाई सोध्छन्, 'बिरामी कस्तो हो?' ड्राइभरलाई फकाउँछन्, 'लिएर आउनुस्। बिरामी हेरेर ५ देखि १० हजारसम्म दिन्छौं।' बिरामी लैनो परे एम्बुलेन्स ड्राइभरलाई १० हजार, बकेर्नो परे ५ हजार। यसरी अस्पतालले बिरामीलाई कस्तो उपचार दिने भन्दा पनि उसबाट कति दुहुन सकिन्छ भनेर अग्रीम निक्र्योल गर्छन्।

अडियो १

रिसेप्सन : हेलो, लाइफकेयर हस्पिटल।
पत्रकार : म चितवनको एम्बुलेन्स ड्राइभर हो। बिरामी ल्याउँदा कस्तो व्यवस्था हुन्छ भनेर।
रिसेप्सन : लिएर आउनुस्। बिरामी हेरेर ५ देखि १० हजारसम्म दिन्छम्।
पत्रकार : सधैं त्यहाँ ल्यायो भने कस्तो हुन्छ नि?
रिसेप्सन : सधैं ल्याउन थाल्यो भने बढाइदिँदै जानुहुन्छ।
पत्रकार : क्यास दिनुहुन्छ कि?.........
रिसेप्सन : बिरामीको आफन्तले डिपोजिट नगरेको अवस्थामा एकदुई दिनपछि जान्छ। नत्र ल्याउने बेलामै दिन्छौं।
पत्रकार : राति आइपुगियो भने के गर्ने? रिसेप्सन बन्द हुन्छ होला?
रिसेप्सन : यहाँ आएर मलाई सोध्दा पनि हुन्छ। मेरो नाम जसना शाक्य। नत्र हाम्री देवश्री श्रेष्ठ दिदी हुनुहुन्छ। उहाँसँग कुरा गर्दा पनि हुन्छ।

अडियो २

देवश्री श्रेष्ठ : हेलो।
पत्रकार : दिदी नमस्कार। म ड्राइभर। नयाँ परें। कस्तो व्यवस्था हुन्छ, थाहा छैन मलाई। भर्खरै रिसेप्सनमा फोन गर्दा हजुरलाई फोन गर्न भने।
देवश्री श्रेष्ठ : केही समस्या हुँदैन। भाइ, तपाईं जानुस्। म फोन गरिदिन्छु।
पत्रकार : कति हुन्छ भन्नु न दिदी।
देवश्री श्रेष्ठ : कति बेरमा पुग्नुहुन्छ?
पत्रकार : अब हिँड्न लागेको।
देवश्री श्रेष्ठ : ५/६ घन्टा पछि?
पत्रकार : त्यस्तै। कति पाउँछु बिरामी लगें भने?
देवश्री श्रेष्ठ : तपाईं जानेबित्तिकै डिपोजिट गराउनु। पाइहाल्नुहुन्छ। पत्रकार : कति?
देवश्री श्रेष्ठ : १० हजार।
पत्रकार : सधैं बिरामी ल्याएँ भने कस्तो व्यवस्था छ?
देवश्री श्रेष्ठ : अहिले घरमा छु। बोल्न मिल्दैन के। भोलि फोन गर्छु नि।
पत्रकार : हुन्छ।

आईसीयू व्यापार
निजी अस्पतालहरूले आईसीयूको व्यापार चलाउन कर्मचारी र एजेन्ट खटाएका हुन्छन्। तिनको काम एम्बुलेन्स चालकहरूसँग लगातार सम्पर्कमा रहनु हुन्छ। राजधानीबाहिरबाट बिरामी ल्याउँदै गरेका एम्बुलेन्स चालकले पनि अस्पतालसँग कमिसनको बार्गेनिङ गरिरहेका हुन्छन्।

अडियो ३

ग्रिनसिटी हस्पिटल
रिसेप्सन : हजुर भन्‍नुस् त।
पत्रकार : चितवनबाट बिरामी ल्याउँदैछु, आईसीयूका लागि। कति दिनुहुन्छ भनेर?
रिसेप्सन : आईसीयूका लागि हो भने वन थाउजेन्ड (एक हजार) हुन्छ। बिरामी कहाँ भर्ना हुन्छ, त्यसमा भर पर्छ।
पत्रकार : जम्मा? अन्त त धेरै दिन्छन् नि।
रिसेप्सन : त्यसो भए म बुझ्छु, एक्कैछिन ल।
रिसेप्सन : बिरामी आईसीयूमै ल्याउने हो नि?
पत्रकार : हो, हो।
रिसेप्सन : त्यसो भए थ्री थाउजेन्ड पाउँछ रे। ल्याउँदा हुन्छ। क्यास नै दिन्छौं।

अडियो ४

अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल
काउन्टर : हजुर।
पत्रकार : बिरामी ल्याए कति पाउँछु भनेर।
काउन्टर : आईसीयूमा हो भने पाँच सय।
पत्रकार : अन्त त धेरै दिन्छन् नि?
काउन्टर : यहाँ त यत्ति नै हो रेट।
पत्रकार : त्यहाँ आएर कसलाई भेट्ने?
काउन्टर : यहाँ काउन्टरमा आउनुस्, भैहाल्छ।
थापाथलीको 'नर्भिक इन्टरनेसनल हस्पिटल' र त्रिपुरेश्वरको 'ब्लु क्रस हस्पिटल' ले आईसीयूमा एउटा बिरामी ल्याइदिएबापत एम्बुलेन्स चालकलाई ३/४ हजार रुपैयाँसम्म कमिसन दिन्छन्।

अडियो ५
पत्रकार : दिदी नमस्कार।
रिसेप्सन : नमस्कार।
पत्रकार : म एम्बुलेन्स ड्राइभर। त्यहाँ बिरामी ल्याउँदा के छ व्यवस्था?
रिसेप्सन : एकछिन है। म सेक्युरिटीमा दिन्छु। फेरि कल गर्न भनियो।
पत्रकार : दिदी अघि फोन गरेको थिएँ।
रिसेप्सन : ए, चितवनबाट होइन?
पत्रकार : अँ।
रिसेप्सन : त्यहाँ हाम्रो अंकित सर हुनुहुन्छ। उहाँलाई कुरा गर्दिएको छु। उहाँले फोनमा कुरा गराइदिनू भन्नुभएको छ। उहाँको नम्बर म दिन्छु तपाईंलाई। उहाँसँग कुरा गर्नु न।
पत्रकार : नम्बर दिनु न।
रिसेप्सन : ९८५१०५००८६, यो अंकित सरको नम्बर हो। उहाँलाई भन्नुस्।
पत्रकार : अंकित के दिदी?
रिसेप्सन : अंकित अग्रवाल।
पत्रकार : ल। अंकितलाई फोन गर्दा
पत्रकार : सर नमस्कार।
अंकित : नमस्कार।
पत्रकार : हजुरलाई फोन गर्न भनेर गरेको। म ड्राइभर हो।
अंकित : यातायातको हो कि अरू बिरामी?
पत्रकार : मुटुसम्बन्धी हो। रेफर गरेको।
अंकित : कहाँ रेफर गरेको?
पत्रकार : त्यहाँ ल्याउँदा केकस्तो छ हामीलाई भनेर।
अंकित : बढी त हुँदैन। मिलाएर गर्दिउँला नि।
पत्रकार : कति हो भन्ने थाहा नभई कसरी ल्याउनु?
अंकित : रोग हेर्नुपर्‍यो। पेसेन्ट भर्ना नै भएन भने के गर्ने?
पत्रकार : आईसीयूकै बिरामी हो के।
अंकित : मिलाएर गर्दिउँला नि हजुरलाई।
पत्रकार : कति दिनुहुन्छ त?
अंकित : हजुरको आस कति छ?
पत्रकार : अन्त ६/७ हजार दिँदा रैछन्।
अंकित : ६/७ हजार त हुँदैन।
पत्रकार : कति दिने भन्नु न।
अंकित : म ३/४ हजारसम्म गराइदिन्छु।

अडियो ६

रिसेप्सन : नमस्ते ब्लु क्रस हस्पिटल।
पत्रकार : नमस्ते।
रिसेप्सन : भन्नुस्।
पत्रकार : सर म चितवनबाट, एम्बुलेन्स ड्राइभर हो। एउटा बिरामी छ, आईसीयूमा लैजानुपर्ने।
रिसेप्सन : आईसीयूमा कुरा गरिसक्नुभयो र?
पत्रकार : गरेको छैन।
रिसेप्सन : तपाईं आउनुस्। बिरामी भर्ना होस्। आईसीयूमा ल्याउन ड्युटी डाक्टरसँग कुरा गर्नुपर्छ। तपाईंको सेल नम्बर दिनुस् न। पत्रकार : आइसीयू खाली छ भने त म ल्याइहाल्छु। तर कति दिने त भन्‍नुपर्‍यो नि।
रिसेप्सन : तपाईंलाई हेरिहाल्छौं नि हामी।
पत्रकार : अन्त पनि दिन्छन्। त्यहाँ कति हुन्छ, त्यहीअनुसार ल्याउने कुरा भयो नि त।
रिसेप्सन : बिरामी भर्ना भएपछि सक्दो गरिहाल्छौं नि।
पत्रकार : यति हो भन्ने भए पो।
रिसेप्सन : एक हजार हो।
पत्रकार : जम्मा? अन्त त धेरै दिन्छन् नि?
रिसेप्सन : हाम्रो त त्यहीअनुसार हो। केही समयपछि श्रीप्रसाद तिवारीले कलब्याक गरे।
श्रीप्रसाद : गुरुजी बोल्नुभको होइन?
पत्रकार : हो।
श्रीप्रसाद : म ब्लु क्रस हस्पिटलबाट के।
पत्रकार : अँ भन्नु त।
श्रीप्रसाद : अघि फोन गर्नुभएको रैछ हैन?
पत्रकार : हो, गरेको थिएँ।
श्रीप्रसाद : चितवनबाट ल्याउने भन्‍नुभा?
पत्रकार : हो हो।
श्रीप्रसाद : ए, म पनि चितवनकै हो। यहींको स्टाफ हो म। लिएर आउनु न त। मिलाएर गरौंला नि।
पत्रकार : कति दिने भन्‍ने नै भएन? जम्मा हजार भन्छन्।
श्रीप्रसाद : मिलाउँला नि। चार हजारसम्म दिउँला।
पत्रकार : अघि फोन गर्दा जम्मा हजार भने।
श्रीप्रसाद : यहाँ हजार नै दिने प्राक्टिस छ। तपाईंलाई मिलाउँला नि। लिएर आउनुस्, पछिलाई पनि रिलेसन हुन्छ।

कलंकीको 'यती अस्पताल' र 'सिटी सेन्टर अस्पताल', बल्खुको 'स्टार हस्पिटल' र 'शिवज्योति अस्पताल' ले आईसीयूमा राख्ने बिरामीका लागि ५-५ हजार रुपैयाँ दिएर एम्बुलेन्स चालकलाई नै किन्छन्। वसुन्धराको 'ग्रिन सिटी हस्पिटल' ले ३ हजार, जाउलाखेलको 'अल्का अस्पताल' ले १ हजार, 'दियाज अस्पताल' र 'अन्तर्राष्ट्रिय बालमैत्री' अस्पतालले पाँचपाँच सय रुपैयाँ दिन्छन्।

गम्भीर रोगीको व्यापार
बिरामीको अवस्था गम्भीर भए एम्बुलेन्स चालकको बार्गेनिङ शक्ति बढ्छ। आईसीयूमा बिरामी ल्याउन लागेको थाहा पाउनेबित्तिकै अस्पतालले चालकलाई फकाउन थाल्छन्। बिरामी सिकिस्त भए कमिसन पनि बढ्छ।


अडियो ७

रिसेप्सन : गुड इभिनिङ, सिटी सेन्टर हस्पिटल।
पत्रकार : म एम्बुलेन्स ड्राइभर। बिरामी ल्याउँदा केकस्तो व्यवस्था छ भनेर।
रिसेप्सन : के केस हो?
पत्रकार : लङ्स (फोक्सो) सँग सम्बन्धित हो।
रिसेप्सन : एकैछिन ल। इमर्जेन्सीमा ट्रान्सफर गर्छु।
पत्रकार : हुन्छ। इमर्जेन्सीमा दिएपछि
इमर्जेन्सी : हजुर दाइ।
पत्रकार : कस्तो व्यवस्था हुन्छ भनेर फोन गरेको के।
इमर्जेन्सी : कहाँ आइपुग्नुभयो?
पत्रकार : मुग्लिन।
इमर्जेन्सी : एकैछिन ल, म डाक्टरलाई नै दिन्छु। फेरि रिसेप्सनमा रिसेप्सन : कति दिने गरेको छ, त्यो हामीलाई थाहा हुँदैन। बिरामी ल्याइसकेपछि सरहरूले कुरा गरेर बिलिङबाट दिने गर्नुभएको छ। पत्रकार : सरहरूलाई फोन गरेर बुझ्न सकिँदैन?
रिसेप्सन : त्यसो भए म बुझेर कल गर्छु नि ल।
पत्रकार : हुन्छ। नवराज थापाले कल ब्याक गरे।
नवराज : रिसेप्सनमा फोन गर्नुभएको रैछ?
पत्रकार : हो, कति व्यवस्था छ भनेर?
नवराज : चण्डिभन्ज्याङको नवराज थापा मै हो। म पनि एम्बुलेन्स चलाउँछु के।
पत्रकार : कति व्यवस्था हुन्छ?
नवराज : आउनु न। फरकै पर्दैन। के केस हो?
पत्रकार : फोक्सोको हो।
नवराज : आउनुस्। चित्त बुझाएर पठाइदिम्ला।
पत्रकार : कति हो? थोरै भए अन्तै लैजान्छु।
नवराज : पाँच हजारसम्म दिन्छु।

अडियो ८
रिसेप्सन : नमस्ते, यती हस्पिटल।
पत्रकार : म एम्बुलेन्स ड्राइभर। बिरामी ल्याउन खोजेको। कस्तो व्यवस्था छ।
रिसेप्सन : व्यवस्था त छ। यहाँ सरसँग कुरा गर्नु न। सुरेन्द्रले बोले। सुरेन्द्र : कहाँबाट हो हजुर?
पत्रकार : फोक्सोसम्बन्धी हो। मलाई कति आउँछ?
सुरेन्द्र : आउनुस् न। डा. सुनिल यहीं हुनुहुन्छ। दिउँला नि चार, साढे चार हजार।

बम्पर उपहार
आईसीयूमा बिरामी ल्याइदिएबापत 'बम्पर उपहार' दिने गरेको सुन्धाराको लाइफ केयर अस्पतालले एम्बुलेन्स चालकलाई थप 'पुरस्कार' को पनि व्यवस्था गरेको छ। अस्पतालले ल्याएको 'नयाँ स्किम' अनुसार तीन महिनामा १० वटा बिरामी ल्याए एम्बुलेन्स चालकले एउटा मोटरसाइकल पाउँछ।

अडियो ९

पत्रकार : हेलो।
देवश्री श्रेष्ठ : म लाइफ केयरबाट। हिजो बिरामी ल्याएनछौ त? पत्रकार : बिरामीका आफन्तले अन्तै लग्ने भने। अनि ल्याउन पाइनँ।
देवश्री श्रेष्ठ : ल भाइ ठीकै छ। हिजो घरमा कुरा गर्न मिलेन के। एकपटक मलाई भेट्न आउनु। अहिले कुरा गर्न मिल्छ तपाईंसँग? पत्रकार : अँ मिल्छ।
देवश्री श्रेष्ठ : यस्तो छ के भाइ। तपाईं आउनेबित्तिकै हामीले १० हजार रुपैयाँ दिन्छौं। अहिले हामीले एउटा स्किम ल्याएका छौं के। त्यो भनेको के भने फागुन, चैत र वैशाखभित्रमा एउटै ड्राइभरले १० केस पुर्‍यायो भने एउटा मोटरसाइकल दिन्छौं।
पत्रकार : कुन मोटरसाइकल नि?
देवश्री श्रेष्ठ : खै, मोटरसाइकलको नाम त मलाई आउँदैन। जे होस् एउटै गाडीको १० केस पुग्यो भने दिन्छौं।
पत्रकार : हुन्छ दिदी।

अस्पतालको चिटिङ

बिरामीको खडेरी परेमा अस्पतालले रेट बढाएर कमिसन दिन्छन्। यो रकम बिरामीबाट असुलिन्छ। बिरामी भर्ना हुनुअघि नै कमिसनसमेत जोडेर डिपोजिट गर्न लगाउँछन्। चितवनको कलेज अफ मेडिकल साइन्सेसले आकस्मिक र आईसीयूमा एउटा बिरामी ल्याउने चालकलाई चार सय रुपैयाँ दिन्छ। बिरामी लिएर आएपछि चालकहरूले सुरक्षा गार्डबाट स्लिप पाउँछन्। त्यो स्लिप काउन्टरमा देखाएपछि चालकले चार सय रुपैयाँ पाउँछ। चितवनको एनपीआई नारायणी सामुदायिक अस्पतालले एम्बुलेन्स चालकलाई वार्षिक कमिसन दिन्छ। चालकहरू भन्छन्, 'बिरामीपिच्छे लिनुभन्दा वार्षिक लिनु राम्रो भो।'

लुट गर्ने छुट

धेरै अस्पतालले बिरामी किन्न उपहार कार्यक्रमसमेत चलाएर नेपाल मेडिकल काउन्सिलको हुर्मत लिइरहेको देखियो।

मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले यो विषय व्यक्तिमा भन्दा संस्थासँग जोडिएकाले आफूहरूले केही गर्न नसक्ने बताए। 'चिकित्सकले इन्डिभिजुअल रूपमा यस्तो क्रियाकलाप गरेको हो भने हामीले कारबाही गर्न सक्थ्यौं', गजुरेलले भने, 'यो म्यानेजमेन्टसँग जोडिएकाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हो।'

वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले भने, 'सरकारले स्पष्ट मापदण्ड ल्याउन नसकेको हुनाले अस्पतालहरूले मनपरी गरेका छन्। अस्पतालहरूले बिरामी भर्ना लिँदा वा नियमित परीक्षण गर्दा कति शुल्क चार्ज लिने भन्ने कुराको स्पष्ट मापदण्ड छैन। सरकारले उचित मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने थियो, गरेको छैन।'

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. बाबुराम मरासिनी गुनासो गर्छन्, 'बिरामीहरू मर्कामा परिरहेका छन् तर मापदण्ड बनाउन विभागलाई मन्त्रालयले नै स्वीकृति दिएको छैन।'
स्वास्थ्यमन्त्री खगराज अधिकारी भन्छन्, 'कमिसनको खेलले निजी अस्पताल महँगा भएका हुन् भनेको सुनेको छु तर प्रमाण पाइएको छैन। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा खेलबाड गर्नेलाई छूट दिइनेछैन।' अस्पतालको अनुगमन गर्ने विधि बनाउन नसक्ने स्वास्थ्य मन्त्रालयको यही कमजोरीको फाइदा उठाएर अस्पतालले बिरामीहरूलाई अनेक तरहले लुटिरहेका छन्। मन्त्रालयसँग यसको निदान छैन। 

-खोजपत्रकारिता केन्द्र / प्रमोद आचार्य

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete