Friday, May 16, 2014

मधेशमा शिक्षा अधिकारीहरुको ताण्डव


 
शैक्षिक बजेट दुरुपयोगको अभियोगमा मधेशवाट विभिन्न जिल्लाका शिक्षा अधिकारी जिशिअ पक्राउ पर्न थालेका छन् । प्रधानाध्यापक, स्रोत व्यक्ति तथा इन्जिनियरहरूको सेटिङ मा हुने घूसखोरी जिशिअ तहसम्मै रहेको पाइएको हो ।

सप्तरीको गम्हरिया -४, पट्टीप्रवाहास्थित राष्ट्रिय प्राविलाई तीनवटा दुईकोठे भवन बनाउन शिक्षा कार्यालयबाट १६ लाख ५० हजार रुपैयाँ निकासा भएको थियो । तर काम भएको छैन, रकम बैंकमा पनि छैन, विद्यालयका प्रधानाध्यापक चन्द्रदेवकुमार यादवको भनाइ उद्धृत गर्दै अख्तियार स्रोतले भन्यो, चेक काटेर झिकेको ११ लाख रुपैयाँ केदार तिवारी जिशिअ लाई दिएँ, रकम पाएपछि उनले विद्यालयमा बर्सेनि थप बजेट दिन थाले । पक्राउ परेका  प्रधानाध्यापक यादवले आर्थिक वर्ष २०६६र६७ मा निकासा भएको साढे पाँच लाख रुपैयाँ अर्का जिशिअ शत्रुघन यादवलाई दिएको स्विकारेको स्रोतले बतायो । आयोगको छानबिनबाट व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकले जिल्ला शिक्षा अधिकारीदेखि प्राविधिक, लेखापाल, निरीक्षक र स्रोत व्यक्तिलाई घूस दिएको खुलेको हो ।


जिशिअ तिवारीले तपाईंको रकम सुरक्षित हुन्छ, मेरो जिम्मामा दिनुहोस्, भवन बनाउने बेला माग्नुहोला भनेको स्विकारेका छन् । यादवले भरपाईबिनै जिशिअलाई राख्न दिएको रकम कहिल्यै मागेनन् । त्यसको साटो हरेक वर्ष नयाँ योजनामा थप बजेट निकासा लिन सफल भए । चार वर्षमा उसले शिक्षक तलबबाहेक ५२ लाख निकासा लिए पनि दुई लाख ६९ हजार रुपैयाँ मात्रै भवन निर्माण खर्चेको भेटियो ।

गत सोमबार अख्तियारले दायर गरेको सप्तरी गम्हरियाकै अर्को सामुदायिक प्राविमा भएको भ्रष्टाचारमा मुछिएका १६ जनामध्ये तीन जना जिशिअ छन् । रुद्रहरि भण्डारी, शत्रुघन यादव, दोलराज पाण्डेमाथि मातहतका कर्मचारीहरूबाट मिलेमतो गरेर आर्थिक लाभ लिएको अभियोग लगाइएको छ ।

जिशिअ मुछिएका हरेक घटनामा मिलेमतोमा बर्सेनि बजेट निकासा गर्ने र त्यसका आधारमा रकमको चलखेल हुने प्रमाण भेटिएको छ, अख्तियार स्रोतले भन्यो, अहिलेसम्मको छानबिनले १० जनाभन्दा बढी जिशिअ मुछिइसकेका छन् । विद्यालयको अस्तित्व भएकाले झोले विद्यालयु भनिहाल्न नमिले पनि यस्ता विद्यालयमा भौतिक निर्माणदेखि शैक्षिक रकम दुरुपयोग भएको अख्तियारका अधिकारीहरूले बताए । अख्तियारले पहिलो चरणमा ५० भन्दा बढी मुद्दाको तयारी थालेको स्रोतले बतायो ।

पहिले एकरदुई जनामा प्रवृत्तिका रूपमा समस्या थियो, शिक्षा क्षेत्रको अनियमितताबारे जानकार पूर्वसचिव जयराम गिरीले भने, कतैबाट कारबाही नहुँदा दण्डहीनता मौलाएपछि त्यसले संस्कारको रूप लिएको हो । विद्यालयक्षेत्रमा भारी बजेट परिचालनले सरुवारबढुवामा चलखेल विस्तारित भएको भन्दै उनले त्यसमा राजनीतिक संरक्षणले थप प्रोत्साहन मिलेको बताए । शिक्षाका विभिन्न अनियमितता छानबिन समितिमा रहेर काम गरिसकेका गिरीले विभागदेखि मन्त्रालयसम्म यस्तो सञ्जाल हुन सक्ने औंल्याए ।

सामुदायिक प्राविको घटनामा लेखा अधिकृत कामेश्वर साह, कार्यक्रम अधिकृत फाल्गुनी काफ्ले, रामदेव चौधरी, स्रोत व्यक्तिहरू रासिन्द्र यादव, रामप्रसाद चौधरी, सुनील कुमार प्रसाद, लेखापाल जनकबहादुर खड्का, गणेश कटवाल, प्राविका प्रअ कुशेश्वर साह, मिथिलेश्वर साह, इन्जिनियर उपेन्द्रप्रसाद साह, सब(इन्जिनियर योगेशकुमार साह, व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद साह तेलीविरुद्ध ४४ लाख ८० हजार रुपैयाँ बिगो मागदाबी छ ।

विद्यालय अनुगमनको सबैभन्दा ठूलो जिम्मा स्रोतव्यक्तिको हो । कमिसन चक्करले स्रोत व्यक्तिले फर्जी विद्यार्थी संख्या पेस गर्दा विद्यालयको यथार्थ अवस्था थाहा पाउन कठिन भएको तराईका एक जिशिअले बताए । कमिसन दिए दोब्बर र नदिए आधा विद्यार्थी संख्या लेखिदिने आरपी स्रोतव्यक्ति छ्यापछ्याप्ती छन्, उनले भने, झोले स्कुल र फर्जी मदरसामा कडाइ गरेपछि मलाई धपाउने धम्की दिइरहेका छन् । ती जिशिअको भनाइलाई अख्तियारले अभियुक्त बनाएका स्रोतव्यक्तिद्वय रासिन्द्र प्रसाद यादव र सुनील कुमार प्रसादले पुष्टि गरेका छन् ।

राष्ट्रिय प्राविको घटनामा प्रअले लेखा अधिकृत कामेश्वर यादवलाई हरेक निकासामा १०र१५ हजारका दरले रकम दिने गरेको खुलेको छ । उनले जिशिअ शत्रुघनलाई थप ७५ हजार दिएको अख्तियार स्रोतले जनायो । श्रोतव्यक्ति रासिन्द्रले राष्ट्रिय प्राविमा ५ सय १५ देखि ५ सय २५ जना विद्यार्थी रहेको विवरण दिएका छन् । कुमारले भने २०६७ मा विद्यालयमा ५ सय ५५ विद्यार्थी रहेको विवरण पेसेका छन् । व्यवस्थापन समिति अध्यक्ष उमेशकुमार यादवले ३ सय पनि नरहेको बताएका छन् । २०६७ सालको टाउको गनाइ मा १ सय ४१ विद्यार्थी मात्रै भेटिएका थिए ।
समाचारस्रोत - कान्तिपुर दैनिक

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete