Wednesday, April 16, 2014

मधेशमा अवैध हतियारको साम्राज्य

राकेश चौधरी /जलेश्वर(महोतरी) 



प्रहरीले राजन मुक्ति, दीपक सिंह, मुकेश चौधरी जस्ता सशस्त्र समूहका नेतालाई पक्राउ गरेता पनि गोईत तथा ज्वालासिंह जस्ता ठूला सशस्त्र समूह तराईमा सक्रिय छन् ।  धेरै नाफा दिने र ठूलो कारवाहीमा नपरिने भएकाले हतियारको कारोवारमा सीमा क्षेत्रका साना देखि ठूला व्यापारी समेत सक्रिय हुनाले यस क्षेत्रमा हतियारको साम्राज्य चलेको छ ।

पूर्वी तराईको गाउँ गाउँमा आतंक फैलिएको छ । हतियारका व्यापारी र प्रयोगकर्ताहरु फैलिन थालेका छन् । प्रहरी भन्छन्—अपराधीहरु बढेकाले गस्ती बढाईएको छ । कतिपय ठाउँमा सोझो भीडन्त समेत पर्न थालेको छ ।
महोत्तरीको हलखोरीमा माघ १९ गते र महोत्तरीकै सोनामा गाउँको उखुवारीमा माघ २३ गते प्रहरी र अवैध हतियारधारीवीच भीडन्त हुँदा क्रमश रामगोपालपुर दोलाठीका जकाउल्लाह नदाफ र बर्दिया बन्चौरीका सेराजुल नुरीको मृत्यु भएको थियो । घटनापछि प्रहरीले पत्रकार सम्मेलन गरेर बतायो, यी दुवै घटनाका मृतकहरु लुटपाट, अपहरण लगायतका अपराधमा प्रहरीको खोजी लिष्टमा थिए । दुवै घटनामा राती २ बज सोझो भीडन्त परेको थियो ।

तर मृतक नुरी र नदाफका आफन्तले जलेश्वरमै अर्को पत्रकार सम्मेलन गरेर भने, “हाम्रो मानिसलाई प्रहरीले धेरै पहिले पक्राउ परेका थिए । भीडन्त त पछि भएको हो ।” उनीहरुले प्रहरीमाथि फर्जी मुठभेड सिर्जना गरेर गैरकानूनी हत्या गरेको आरोप लगाउँदै मानव अधिकार आयोग, प्रहरी तथा प्रशासन कार्यालयका साथै विभिन्न निकायमा उजुरी दिएका छन् । यस घटनापछि, स्थानीय बासिन्दाले  सोध्न थालेका छन्—हरेक भीडन्त रातको २ बजे नै किन हुन्छ ?


हतियारको साम्राज्य 

गत फाल्गुण १३ गते विहार महुआहीका नवीनकुमार सिंह र मरहाकी रिता सिंह जलेश्वर कारागारमा सजाय काटिरहेकी ललिता सिंह ( पत्रकार उमासिंहकी भाउजु) संग भेट गर्न आए । जेल प्रशासनले रितासिंहको ह्याण्ड ब्याग जाँच गर्दा पेस्तोलमा लाग्ने गोली फेला परेपछि उनीहरुलाई पक्राउ ग¥यो । जेल जस्तो कडा सुरक्षा व्यवस्था भएको ठाउँमा समेत साना हतियारधारीले पहुँच बनाउन खोज्नुले यस क्षेत्रमा अपराधको साम्राज्य स्थापना गर्न अवैध हतियारधारीहरु सक्रिय रहेको देखिएको छ ।
सर्लाहीको हरकठुवा लगायतका गाउँमा यस्तै अपराधीहरुले आतंक फैलाई रहेका छन् । साना हतियारको बलमा लुटपाट र अपहरण गरिरहेका छन् । मोतिपुर गाविस ३ का राजेश साह र दिनेश साह तथा खुटौनाका सुरज पासवानलाई फाल्गुण १गते, तीन थान गोली र एक थान नलकटुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेर पूर्पक्षका लागि कारागारमा राखेको छ । तर सर्लाहीमा आतंक सकिएको छैन ।
साना हतियारको बलमा राजमार्गमै यात्रुवाहक बस लुटियो । नुवाकोटका राजकुमार अधिकारी, अमरसिंह तमाङ्ग, सिन्धुलीका उत्तमबहादुर कार्की, धादिङ्गका राजकुमार गुरुङ्ग, सिरहाका समिर लामा र महोत्तरी हातिलेटका मदन गिरीले बस लुटेपछि महोत्तरीमा संरक्षण लिएका थिए । माघ २९ गते माईस्थानबाट उनीहरु पक्राउ परे । तर हतियारको आतंक रोकिएन ।
यसै दिन कोल्हुवा वगेयाका ३० बर्षीय दिपु भन्ने विमलेन्द्रकुमार शर्माले आफ्नै बुबालाई गोली हाने । विमलेन्द्र पक्राउ परेपछि, बाबु र छोरावीच हतियारको कमाई भागबण्डा नमिलेकोे रहस्य खुल्यो । हतियार व्यापार र प्रयोगको प्रतिस्पर्धाले बाबुछोरावीचमा गोली हानाहान भएको सुनेका स्थानीयहरु भन्छन्—यहाँ त हतियारको आतंक घर भित्रै घुसिसकेछ ।
दोश्रो संविधान सभाको पूर्वसन्ध्यामा, कार्तिक १४ गते नेपाल र भारतका सीमावर्ती प्रान्तका सुरक्षाकर्मीवीच सीतामढीमा जिल्लास्तरीय बैठक बसेर नेपालको मोरङ, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्ला तथा बिहारको सितामढीलाई अवैध हतियारको भय रहेको जिल्ला ठम्याए । यिनै जिल्लामा अवैध हतियारको चोरी पैठारी नियन्त्रण गर्न संयुक्त संयन्त्र पनि बनाए । नेपाली सुरक्षा स्रोतले भन्यो, यस्ता वैठक वर्षेनी हुन्छन्, तर हतियार आउन छाड्दैन ।”
दुवै देशका सीमा सुरक्षा बलले वर्षेनी यस्ता वैठक गरे पनि यस क्षेत्रमा अवैध हतियारको व्यापार र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा आउन सकेको छैन ।
नेपाल —भारतवीच संयुक्त सुरक्षा संयन्त्र बनेको २ दिन पछि, कार्तिक १६ गते राती सर्लाही जिल्लासँग जोडिएको भारतीय क्षेत्र बिशम्भरपुरबाट हतियारको खेप लिएर दुईजना हतियारधारी सीमानासम्म आए । भारतीय सीमा सुरक्षा बलले तिनलाई मेजरगंज निवासी बैधनाथ सहनी र सुरेश सहनी भनेर पहिचान गरेर उनीहरुको साथबाट ९ थान पेस्तोल, २ थान राइफल र ४६ थान गोली बरामद ग¥यो । तर हतियारधारीहरु  पक्राउ परेनन् ।

कार्तिक २० गते महोत्तरीको सुगा गाउँबाट ईटालियन ट्याग लगाईएको पेस्तोल र त्यसको गोली लिएर हिँडीरहेको अवस्थामा जलेश्वरसंग सीमा जोडिएको बिहार राज्यको श्रीखण्डी भिठ्ठाका मिथिलेश कुमार सिंह र दिवारीका रत्नेश कुमार यादव पक्राउ परे । यी दुबैजनाले प्रहरीलाई बयान दिँदा महोत्तरी पिपराका जयगोविन्द मिश्राले हतियार मगाएको हुनाले ल्याईदिएको भनि बयान दिए । जयगोविन्द मिश्रा धरौटीमा छुटेर स्वतन्त्र घुमिरहेका छन् ।
कार्तिक २८ गते महोत्तरी प्रहरीले अर्का भारतीय नागरिक विजय साहलाई हतिायार र लागू औषध सहित पक्राउ ग¥यो । साहले पनि आफ्ना ग्राहकहरुको नाम प्रहरीलाई उपलब्ध गराए । तर ती ग्राहकको नाम प्रहरी घेराभित्रै हरायो । विजय साहलाई हातहतियार तथा खरखजानाकोे मुद्दा पनि चलेन । स्थानीय व्यापारीहरु भन्छन्— “राजनीतिक शक्ति” मथि सीडिओ र प्रहरीले हातै हाल्दैनन् ।
अवैध हतियार र लागू औषध बेच्न नेपाल छिरेका यी भारतीय युवकहरु “लेग वर्कर” मात्र थिए । यिनलाई संचालन गर्ने चाहिँ नेपाल र भारतका सीमा क्षेत्रमा राजनीतिक शक्ति बनेर बसेका छन् । यिनले आफ्ना “मजदुर”लाई बचाउन “राजनीतिक शक्ति” प्रयोग गर्दै आएका छन् ।
महोत्तरीमा अवैध हतियारको व्यापार गर्न नेपाल आएका एक भारतीय कारोवारीले आफ्नो नाम नलेखिदिन अनुरोध गर्दै भने—‘हाम्रो काम पैसा र समय हेरेर ग्राहकको हातमा “माल” पु¥याई दिनु हो । नेपालमा हतियार र लागू औषधको माग धेरै छ, हामी व्यापारी हौं । “माल दिन्छौं, मोल लिन्छौं” । यसपालीको संविधानसभामा पनि हतियार बेचेकै हो ।’
पुष १३ गते महोत्तरी सशस्त्र प्रहरीले मटिहानीबाट सानो आकारको एयरगनसहित धिरापुरका २८ बर्षीय जमानुदिन अन्सारी र हलखोरीका ३५ मोहम्मद कमर राजालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझायो । तर यिनीहरु उपर हातहतियार र खरखजाना मुद्दा अभियोजन हुन सकेन ।
जलेश्वरका पुराना व्यापारीहरु भन्छन््—तराईका सीमावर्ती जिल्लाहरुमा हतियारको कारोवार सबैभन्दा फाईदाजनक व्यवसाय बन्न पुगेको छ । यहाँका भद्र व्यापारीहरु पनि मौका पाउने अवैध हतियारको व्यापार गरेर फाईदा उठाउन चुक्दैनन् ।
यिनै मध्ये एक व्यापारीले आफ्नो नाम गोप्य राखिदिन अनुरोध गर्दै भने— चुनावको समयमा हतियारको माग आउँछ । “दिग्गज नेताहरु” आपसमा भिडेको बेला व्यापार पनि राम्रो हुन्छ ।
संविधानसभा सदस्यको उम्मेदवारी दर्ता गर्ने दिनमा हतियार व्यापारी राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीको जुलुसमा समेत देखापरेका थिए । ती व्यापारीले भने—‘हतियार चलाउने मान्छे सक्रिय रहेसम्म हाम्रो व्यापार चलिरहन्छ ।”
मंसिर ४गते अर्थात संविधानसभा निर्वाचनको दिन, मतदान भैरहेको समयमा सर्लाहीको धनकौल र बलरा गाउँमा दिउँसो ११ बजे तिर एकाएक गोली चल्यो । घटनामा  १२ जना भन्दा बढी भए । घाईतेहरुलाई उपचारका लागि मलंगवा अस्पताल ल्याईएको थियो । उनीहरुले आफूहरुमाथि गोली प्रहार गर्ने मानिसहरु भनेर डा. अमरेशकुमार सिंहका कार्यकर्ताको नाम दिए । तर प्रहरीले सुनेन । यो घटना त्यसै सेलाएर गयो । मंसिर ४ गते नै महोत्तरीको पर्सादेवाडमा गोली हानाहान हुँदा एक समूहले अर्को समूह विरुद्ध नामै किटेर उजुरी दियो । तर प्रहरीले पक्राउ गर्नु त परै जावस खोज्ने प्रयास पनि गरेन ।  घटनामा पीडित एक युवकले भने—प्रहरीले चुनावी मामिला भनेर अवैध हतियारको मामिला दवाई दियो ।
मंसिर ९ गते राती धनुषाको रामानन्द चोकमा हवाई फायर गर्ने ३६ बर्षीय प्रकाश मिश्र एक राउण्ड गोली र दुईनाले बाह्रबोर बन्दुकसहित पक्राउ परे । तर उनलाई थप कारवाही भएन ।
राजनमुक्ति समूहले असार २ गते, मधेशी जनअधिकार फोरम नेपालको जलेश्वरस्थित पार्टी कार्यालयमा गोली चलाएर कार्यालय सचिव रामप्रगाश साहलाई घाइते बनायो । यही समूहले त्यसै दिन मनरामा आक्रमण गरेर शैलेन्द्रकुमार मण्डल र बिकासकुमार सिंहलाई घाइते बनायो । अनि असार ५ गते मनरामा पुन आक्रमण गरेर अभयकुमार सिंह र श्रीमती सोनमकुमारी सिंहलाई घाइते बनाई दियो ।
यस समूहले ४ दिन भित्रमा ३वटा जघन्य अपराध गरेता पनि प्रहरीको फन्दामा पर्नु परेन । घाईते भएका एक पीडित भन्छन्—प्रहरीले अपराधीको खोजी गर्नुको साटो नेता—नेतावीचको झगडा हो, उनीहरु आफै मिलाउँछन् भनेर छाडिदिए ।
यस घटनाको लगतै सरपल्लो गाविसका बिक्रम सहनी अपहरणमा परे । अपरहरणकारीहरुले उनको हत्या नै गरिदिए । तर अपराधी फेला परेनन् । यसपछि अपहरणका घटनाहरु पनि बढ्न गए । 
हतियारको अवैध कारोबार गर्नेहरु प्रहरीको फन्दामा पर्ने वित्तिकै नेताको फोन र दवाव आउँछ । महोत्तरी सीमा चौकीका एक प्रहरी अधिकृतले भने— पक्राउ गर्यो, नेताहरुले तुरुन्त छाड् भनेर धम्क्याउँछन् । आफ्नै सुरक्षाको हतियार दिएको भनेर नेताहरु नै बयान दिन आउँछन् र छुटाएर लैजान्छन् ।
नाम वताउन नचाह्ने जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले भने,‘हतियारसहित पक्राउ परेकालाई राजनीतिक दवावका कारण समान्य तारिख वा धरौटीमा छोड्न दवाव आउँछ । सीडिओ र प्रहरी प्रमुख एक मत भएपछि अपराधी छुट्छन् ।  प्रहरीलाई चित्त बुझेन भने मात्र मुद्दा चलाउँछन् ।’

धनुषा र महोत्तरी - अवैध हतियार र लागु पदार्थको व्यापार

तराईमा हतियार सप्लाई गर्नेहरुले लागूऔषधको कारोवार पनि गर्छन् । महोत्तरीको सुगा गाउँबाट कार्तिक २० गते पक्राउ परेका राजनमुक्ति समूहका एसटीएफ कमाण्डर सिंह र धनुषा उमाप्रेमपुर ६ का २६ बर्षीय दिपेन्द्र झाको साथबाट अवैध हतियार सहित ठूलो परिमाणमा लागूऔषध पनि बरामद भएको थियो ।
महोत्तरीको कर्मटोकीलाई त हतियार व्यापारीहरुले मुख्य कारोबार स्थल नै बनाएका थिए । गत वर्ष कर्मटोकीमा हतियारको कारोवार हुन लागेको सुरकी पाएर प्रहरीले छापा मार्दा  हातिलेटका मंगलसिंह बिश्वकर्मा र बिजलपुराका शिवकुमार महतो पक्राउ परे । यिनीहरुले युएसए निर्मित नौ राउण्ड गोली राख्न मिल्ने नौ एमएमको  पेस्तोल र युएसए निर्मित आर्मी ब्राण्डको ७१११ नम्बरको ५.५६ एमएमकोे पेस्तोलको व्यापार गर्न लागेका थिए ।
मंगलसिंह बिश्वकर्मा, ०३६ सालमा प्रहरी सेवा त्यागेर हतियार व्यापारी बनेका थिए । विश्वकर्माले आफूलाई भारत “सीतामढीका जामुन ठाकुरले हतियार दिएको” बताएका थिए । तर जामुन ठाकुरलाई सीमा प्रहरीले खोजी नै गरेन ।
महोत्तरीको रामनगर पनि हतियार कारोवार गर्ने स्थल बनेको थियो । यहाँबाट एकथान नलकटुवा बिक्री गर्न खोजिरहेका रामनगर—७ निवासी ३० बर्षीय जनक महत्तो असोज १ गते राती पक्राउ परेका थिए । यिनले प्रहरीलाई दिएको बयानमा भनेका थिए—बिहारको मुंगेर शहरका साहु (व्यापारी)ले नेपालका ठूला नेतालाई दिन भनेर उक्त हतियार पठाएका हुन् ।
धनुषा उमाप्रेमपुर—६ का २६ बर्षीय दिपेन्द्र झा पनि गाउँमै बसेर तीनवटा गोलीसहित एउटा पेस्तोल बेच्न लाग्दा पक्राउ परे । यिनीसंगै औरही—३का २० बर्षीय जितेन्द्र सदा पनि एकथान नलकटुवा बेच्न लागेको बेलामा पक्राउ परे ।
यी दुईले पनि प्रहरीलाई, “विहारको मुंगेर जिल्ला र सितामढीको सुरसण्डमा हतियार बनाउने कारखाना रहेको र त्यहीँबाट उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, बंगलादेश र नेपालका विभिन्न ठाउँमा हतियारहरु सप्लाई हुने बताएका थिए ।” 
सुरसण्डका हतियार व्यापारीहरु भन्छन््—अचेल देशीकट्टा भन्दा सानो पेस्तोल चलेको छ ।
धनुषाको तुल्सीयाही जब्दी ७ पनि हतियार किनबेच स्थल बनेको थियो । यहाँ अवैध हतियार किनबेच गरिरहेको अवस्थामा महोत्तरी, बथनाहा निवासी दीपकसिंह, ९ एमएमको एउटा पेस्तोल र २वटा गोली सहित पक्राउ परेका थिए ।

धनुषाका प्रहरी उपरिक्षक उत्तमराज सुवेदीको टोलीले कार्तिक १५ गते तुल्सीयाही जब्दीबाट हतियार व्यापारी दीपक सिंहलाई पक्राउ ग¥यो । पक्राउ परेपछि प्रहरीलाई बयान दिंदै  सिंहले भने—म त धनुषाको “ठूलो नेता”लाई सहयोग गर्न आएको हुँ ।
प्रहरीको भन्छन्—हामीले लाख कोशिस गर्दा पनि उनीहरुले “ठूलो नेता”को नाम बताएनन् ।
मुंगेर—नालन्दा—सुरसण्ड—नेपाल
अवैध हतियार कारोबारको अध्ययन गर्ने सिलसिलामा पटना पुगेर स्थानीय प्रहरीहरुसंग कुरा गर्दा उनीहरुले स्पष्ट भने—“मुंगेर र नालान्दा त अवैध हतियारको मुख्य सप्लायर हो । सितामढी र गयामा पनि हतियार बन्छ । नेपालमा हतियार दिने तिनीहरु नै हुन सक्छन् ।”
नेपालमा हातहतियार तथा खरखजाना मुद्दा अन्तर्गत सजाय काटिसकेका एक युवकले भने—‘सितामढीमा बनेका हतियार नेपालमा विक्छ । लोकल व्यापारीहरु नै बिचौलिया बनेर सुरसण्डसम्म ग्राहक लिएर आउँछन् ।’ सुरसण्ड बजार जलेश्वरबाट १० किलोमिटर दक्षिणमा छ ।
ती युवक अहिले हतियार व्यापारी बनेका छन् । भन्छन्—सानो समूह र नयाँ युवाहरुले देशीकट्टा अर्थात् नलकटुवा मनपरउँछन् । एउटा देशीकट्टाको भारतमा भारु. ३५ सय पर्छ । सुरसण्ड बजारमा भारु ७ हजार हुन्छ । नेपालमा नेरु. २५ हजारसम्म पाईन्छ ।
उनले थपेर भने,सीमावर्ती क्षेत्रमा नलकटुवाको व्यापार सदावहार चलिरहेको छ ।भारतमा ८ देखि १० हजार सम्म पर्छ । नेपालमा ३५ देखि ५५ हजारसम्म पाईन्छ ।
सुरसण्डका व्यापारीहरु भन्छन्—नेपालका नेताहरुले पेस्तोल मगाउँछन् । पक्राउ परेका पेस्तोलहरु आधा दाममा बिक्छ । एउटै पेस्तोल नेपालमा धेरैपटक बिक्छ । 

आतङ्कको चक्र - राजनीतिदेखि अपराधसम्म

राजा महेन्द्रले कू गरेपछि तराईमा हतियारबन्द राजनीति गर्नाका लागि हतियारको अवैध व्यापार शुरु भएको थियो । पहिला भारतीय डाँकाहरुसँग लड्न र आफ्नो सुरक्षाका लागि तराईका जमिन्दारहरुले यस्ता घरेलु हतियार राख्थे । फ्रेडरिक एच.गेजले यस विषयमा अनुसन्धान गरेर प्रकाशनमा ल्याएको नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता नामक पुस्तकमा भनिएको छ—नेपालका मैदानी क्षेत्रका मानिसहरुको माग पूरा गराउन उसबेला रामजी मिश्र समेतले तराई मुक्ति मोर्चाको गठन गरेर अवैध हतियार भित्राएका थिए । उनी जून १९६३मा प्रहरीद्वारा मारिए ।
यस घटना पछि अवैध हतियार र तराईको राजनीतिवीच गहिरो नाता रहन गयो । तराईमा हतियार प्रयोग गर्नेहरु प्रायश नेताहरु नै हुन्थे । अहिले भने अपराधीहरु पनि थपिए ।
२०६९÷७०मा मोरङ्गदेखि कपिलबस्तुसम्मका १३ जिल्लामा १०५वटा हातहतियार तथा खरखजानाको मुद्दा चले । धेरैजसो अपराधीहरु सानो तिनो कारवाही भोगेर उम्किए । प्रहरी चुस्त नभएकाले जफत गरिएका हतियारहरु पुन प्रयोगमा आउन थाले । यसरी तराईमा हतियार आतंकको चक्र चल्न थाल्यो ।

 प्रजिअबाट समाधान छैन

जलेश्वरका अधिवक्ता बिकरु यादव भन्छन्—‘हातहतियार तथा खरखजानाको मुद्दा प्रमुख जिल्ला अधिकारीले सुन्ने र फैसला गर्ने व्यवस्था नै समस्याको मूल हो । जिल्लाका नेता र प्रजिअको सम्बन्ध नङ्ग र मासुको जस्तै हुन्छ । यस्ता मुद्दामा राजनीतिक दलका नेता, कार्यकर्ताहरुले प्रत्यक्ष प्रभाव पार्छन् । त्यसैले अपराधीहरु उम्कन्छन् । यस्ता मुद्दाहरु प्रजिअको अधिकार क्षेत्रबाट हटाएर न्यायालयको परिधि भित्र नल्याएसम्म समाधान छैन ।
हतियार तथा खरखजाना मुद्दामा ३ देखि ७ बर्षसम्म कैद वा ६० हजार देखि १ लाख ४० हजारसम्म जरिवाना वा दुवै सजाय हुन्छ । साना हतियारको हकमा ३ बर्षदेखि ५ बर्षसम्म सजाय वा ६० हजारदेखि १लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिईएको छ । प्रजिअको तजवीज चल्ने हुनाले हतियार व्यापारी र अपराधीलाई नेताले संरक्षण दिन पाएका छन् ।
खोज पत्रकारिता केन्द्र
http://www.cijnepal.org.np/index.php?option=com_content&view=article&id=25:2013-11-15-11-28-25&catid=2:uncategorised&Itemid=102

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete