Thursday, April 17, 2014

मधेशमा पनि झोलुङ्गे पुल



महोत्तरी सदरमुकाम जलेश्वर र अन्कार गाविसको बेला टोलबीचको रातु नदीमा तीन मिटर चौडाई र ७९ मिटर लाम्बाइको झोलुङ्गे पुल बनाउन थालेको पाँच बर्ष वितिसकेको छ । एक बर्षभित्रै पुल बनाउने ठेक्का लिएको काठमाण्डौंको जेभी मकालु कन्स्ट्रक्सनले थप चार महिनामा पुल बनाइदिने दिएको आश्वासनमा तुसारापात प¥यो । झोलुङ्गे पुल बन्न नसक्दा बेला गाउँको सनराइज क्लवले नदीमा बाँसको पुल बनाएको छ ।

तत्कालिन स्थानीय विकास अधिकारी हरिलोचन शर्माले कागजी प्रकृया पूरा गरी ठेक्केदारलाई २३ लाख १३ हजार रुपैया दिइसकेको छ । रातु नदीको दुवै किनारामा बनाइएको तटबन्धका कारण अब झोलुङ्गे पुल बनाइएपनि बर्षायाममा डुब्ने स्थानीय अशोक साहले बताए । पुल बनाउनकै लागि नदीको दुबै किनारमा निर्माण गरिएको पर्खाल र भ¥याङ्ग भत्किने अवस्थामा छ ।

सन् २००९ को जुलाईदेखि नेपाल सरकार र दातृ निकायको सहयोगमा बनाइएको पंचबर्षिय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम(स्वाप)ले देशभरमा दुई हजार दुई सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रम अन्तर्गत मध्य तराईका आठसहित १० वटा जिल्लालाई समथर अर्थात तराईमद्येश क्षेत्रमा राखएको छ । पहिलो बर्षमा तीनसय, दोस्रो बर्षमा चार सय तथा तेस्रोदेखि पाँचौ बर्षसम्ममा पाँचसय वटा पुल बनाउने लक्ष्य छ ।

यस कार्यक्रमले सप्तरीदेखि पर्सासम्मका आठ तथा झापा र रुपन्देही गरी दशवटा जिल्लामा कम्तिमा पनि यस बर्ष मात्रै पचास वटा पुल निर्माण गर्ने लक्ष्य राखेको हो । सन् २००७ सालसम्ममा तराईको रुपन्देहीमा तीन र महोत्तरीमा एकवटा मात्र यस्ता पुल थियो ।

स्वाप अन्तर्गत महोत्तरीमा यस बर्ष पाँच वटा झोलुङ्ग पुलको निर्माण कार्यको तयारी शुरु भएको छ । पुल निर्माणका लागि सर्वे काम भएकोे ट्रेल ब्रिज सपोर्ट युनिट (टीबीएसयु) का टोली उपनेता संतन अर्यालले बताए । महोत्तरी वाहेक सर्लाही, बारा, धुनषा सहितको तराईका जिल्लाबाट समेत पुलको माग गरिएको छ । हुनतः जिल्ला विकास समिति महोत्तरीले १४ वटा भmोलुङ्गे पुलको माग गरेको थियो । जलेश्वरमा केही महिना अगाडि ‘हेल्भिटास’को  आयोजना संचालित कार्यक्रममा जिल्लाको १५ ठाउँमा झोलुङ्गे पुल आवश्यक रहेको निर्णय गरिएको थियो ।

सरपल्लो र वलवा गाविसलाई जोड्ने अंकुसी नदीको झोलुङ्गे पुलकै छेउमा गत बर्ष पक्की पुल बनाइयो । स्थानीय विकास मन्त्रालय (स्थाविम) ले करिब १२ बर्ष अगाडि बनाएको झोलुङ्गे पुलकै ठाउँमा भौतिक योजना तथा निर्माण मन्त्रालयले पक्की पुल बनाउँदा स्थानीयहरु पहिला भन्दापनि बढी खुशी भएका छन् । पक्की पुल बनेपछि बलवाको सडक सम्बन्ध जलेश्वर–बर्दीवास सडक मार्गसंग जोडिएको छ । पक्की पुलको ठेक्का बाह्र बर्ष अगाडि नै लागेको थियो । विभिन्न कारणले गत बर्ष मात्र पक्की पुल बन्न सकेको मध्यमाञ्चल सडक डिभिजन कार्यालय जनकपुरका इन्जिनियर दरोगा प्रसादले बताए ।
समथर भूभागमा पक्की पुल नै बढी लाभदायक हुने भन्दा बढी राम्रै कमिशन आउने देखेर स्थानीय राजनीतिक दलको निर्णयमा तत्कालिन स्थानीय विकास अधिकारी शर्माले आर्थिक बर्ष ०६५÷६६ मा निकासा भएको झोलुङ्गे पुल तर्फको एक करोड ३० लाख ३ हजार रुपैया कलभर्ट निमार्ण कार्यक्रममा खर्च गरेका थिए ।
झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको पंचबर्षिय योजना सम्पन्न गर्न नेपाल सरकारले २५ मिलियन र दातृ निकायबाट ५० मिलियन अमेरिकी डलरको ‘बास्केट फण्ड’ बनाइएको छ । दातृ निकायमा एशियाली विकास बैंक, डीएफआइडी, एसडीसी, जीटीजेड, जाइका, विश्व बैंक र विश्व खाद्य कार्यक्रम छन् ।
झोलुङ्गे पुल निर्माणको लागि फण्डबाट ९२, जिविस र गाविसले तीन तीन तथा समुदायले दुई प्रतिशत रकम खर्च गर्नुपर्ने प्रावधान छ ।
महोत्तरीका नदीहरुमा मोटर गुड्ने पुल बनाउन धेरै ढिलाई हुने गरेकाले झोलुङ्गे पुल बनाउनेमा सहमति जनाएको नेपाली काँग्रेसका नेता बजरंग नेपालीले बताए । त्यही नेकपा एमालेका नेता सुरेश सिंहले भने, “सुगुम भूबनोट भएकोले यस्ता पुलले दिर्घकालिन फाइदा दिदैन । पक्की पुल बनाइए बढी फाइदा हुनसक्छ । ”
साना दलका प्रतिनिधिहरुलाई कुनै निर्णय गर्दा सुझाव नलिइने गरिएको गुनासो गर्दै सदभावना पार्टी आनन्दीदेवीका जिल्ला अध्यक्ष कोमल यादवले झोलुङ्गे पुल निर्माण औचित्यहिन रहेको बताउँदै स्थानीय विकास अधिकारीकै कोठामा विभिन्न योजना बनाइने गरिएका आरोप लगाए । न्यून्तम सर्त पुरा नगरेको र कार्यसम्पादन सन्तोषजनक नभएकोले यस बर्ष महोत्तरीले पाउने अनुदानमा चार करोड ८३ लाख कटौती गरिएको छ ।
सरकारका केन्द्रीय निकायहरु, स्थानीय निकायहरु, दातृ संस्थाहरुका साथै अन्य संघ संस्थाहरु झोलुङ्गे पुल निर्माणमा सक्रिय रहेकोले सम्बद्ध विभिन्न संस्थाहरुले अपनाउने प्रविधि, स्टेन्डर्ड, नम्र्स तथा स्पेसिफिकेसनमा एकरुपता तथा समान प्रकृया आवलम्बनका लागि २०६२ सालमा झोलुङ्गे पुल रणनीति ल्याइएको हो । यही नीतिलाई आधार मान्दै झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम संचालित छ ।
समुदायलाई प्राविधिक एवं संगठनात्मक सहयोग प्रदान गर्ने गैर सरकारी संस्थालाई निर्माण खर्चको छ प्रतिशत रकम दिइनेछ । तीन प्रतिशत प्राविधिक र तीन प्रतिशत व्यवस्थापनमा खर्च गर्नुपर्ने प्रावधान रहेको टोली उपनेता अर्यालले बताए । उनले युनिटबाटै १५ प्रतिशत रकम बराबरको निर्माण सामग्री पठाइने गरिएको जनाए ।सुगममा झोलुङ्गे पुल बनाउनुको रहष्य यसै बाटै प्रष्ट हुन्छ । हनतः सितैमा पाए ‘अलकत्रा’ पनि खाने उखान चरितार्थ गर्न महोत्तरीका राजनीतिदलका नेता तथा स्थानीय विकास अधिकारी लागि परेका हुन् ।
पिपरा–भ्रमरपुराकोे विग्हीमा ३२, रामगोपालपुर–रौजाको अंकसीमा ११५, रौजा–लोहारपट्टिको रातुमा ११८, बनौटा–टिकुलियाको अंकुसीमा १२० र लोचना–सिरसियाको कुटमेश्वरी नदीमा १०० मिटर लम्बाई भएको झोलुङ्गे पुल निर्माणका लागि जिविसले केन्द्रमा दुई करोड ७१ लाख ६० हजार रुपैयाको बजेट प्रस्ताव विभागमा पठाएको थियो । पुलहरुको सर्वे कार्य पूरा भएपनि विस्तृत बजेट आउन नसकेको ओभरसियर अरुण झाले बताए । विभिन्न राजनीतिक दलबीचको मतभिन्नताका कारण तीन बर्षपछि यही फागुन १६ गते भएको १४ औं जिल्ला परिषदबाट आर्थिक बर्षमा विनियोजित २० लाखमा झोलुङ्गे पुलको मैचिङ्ग फण्ड १० लाख र बाँकि रकम रामजानकी पथ देखि खैरवा जाने सडकमा कलभर्ट निर्माणमा खर्च गरिने स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । अगामी आर्थिक बर्षको प्रस्तावित बजेटमा २५ लाख मध्ये कल्भर्ट निमार्ण कार्यक्रममा २० लाख तथा झोलुङ्गे पुलको मैचिङ्ग फण्डमा पाँच लाख रुपैया मात्र खर्च हुने देखाइएको छ । 
रामगोपालपुरदेखि समसी जोड्ने जंगहा नदीमा यही बर्ष पक्की पुल बनाउने काम शुरु भइसकेको छ । एक÷दुई बर्ष भित्रै जनकपुरसम्म सडक बिस्तार गर्ने योजना रहेकोले रौजाको दुबै नदीमा पनि पक्की पुल बन्ने निश्चित छ । सिरसिया गाउँलाई सदरमुकाम जलेश्वरसंग जोड्न सिमरदहीमा सडक विभागले बनाउन लागेको पक्की पुल केही महिनामै तयार हुने देखिन्छ । विभिन्न दातृ निकायले जनकपुर–लोहारपट्टि–समसी सडकलाई प्राथमिकतामा राखेका छन् । झोलुङ्गे पुल बनाउँदा एक÷दुई बर्षभित्रै विस्थापित हुने अवस्था श्रृजना हुन नदिन  सुगम क्षेत्रमा ‘मोटरेवल ब्रिज’ लाई ‘बास्केट फण्ड’ले प्राथमिकतामा राख्नुपर्ने सडक डिभिजन कार्यालयका इन्जिनियर प्रसादले सुझाव दिए । उनले भने,“सडक विभागले काम गरिरहेकै ठाउँमा स्थानीय विकास मन्त्रालयसंगै अन्य दातृ संस्था काम गराउँछन् । बरु एउटा सडकमा सरोकारवाला मन्त्रालयले एकीकृत योजना ल्याउनुपथ्र्यो । तर यस तर्फ कसैको ध्यान जान सकेको छैन् ।”
भारत सरकारको सहयोगमा रहेको हुलाकी राजमार्ग आयोजना अन्तर्गत तेस्रो चरणमा जनकपुरदेखि महोत्तरीको भ्रमरपुरा–मनरा सडकको निर्माण कार्य शुरु हुने इन्जिनियर शाशांक मिश्राले जानकारी दिए । यो राजमार्ग बनेपछि पिपरा–भ्रमरपुरामा कल्र्भट अथवा पक्की पुल अति आवश्यक हुने देखिन्छ । यस कुरासंग नेकपा(एमाले) कै नेता रामदयाल मण्डल सहमत छन् । उनी पनि आफ्नो दलसंग कुनै परामर्श नगरिएको आरोप जिविसमाथि लगाए ।
रौजाको अंकुसी र रातु नदीमा झोलुङ्गे पुल स्विकृत भएपछि स्थानीय गुलाम अन्सारीलाई खुशीले खासै छोएको छैन् । उनले भने,“रौजामा शताब्दियौं पुरानो मुस्लिमहरुको धार्मिक स्थल रौजा मजार छ । दैनिक जसो श्रद्धालुहरु आएपनि  चैतको नवमीका दिन भव्य मेला लाग्छ । दुवै नदीमा पक्की पुल बनेको भए मोटर गुडाउँदै सर्लाही सदरमुकाम मलंगवा र धनुषा सदरमुकाम जनकपुरसम्म पुग्न सकिन्थ्यो ।”
राकेश चौधरी

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete