Tuesday, December 17, 2013

मधेशवाद के हो ?

- मधेशी हितप्रति समर्पित राजनीतिक जीवन दृष्टि नै मधेशवाद हो । — सिके लाल, राजनीतिक विश्लेषक
 
- एउटा भूमि, संस्कृति र गौरवपूर्ण इतिहास बोकेको मधेश र मधेशीको पहिचान, समानता र समन्यायका लागि गरिने चिन्तन नै मधेशवाद हो । मधेशवाद भनेको विभेद विरुद्धको संघर्ष पनि हो ।  — महन्थ ठाकुर, अध्यक्ष, तराई–मधेश लोकतान्त्रि पार्टी 

- विभेद, उत्पीडन र बहिष्कारणमा पारिएका मधेशी समुदायको सम्मान, पहिचान र अधिकारमाथि केन्द्रित राजनीतिक दर्शन नै मधेशवाद हो । विभेदको अन्त्य, समृद्ध मधेश र सम्पन्न देशको निर्माण नै मधेशवादको दर्शन हो । —  शरत्सिंह भण्डारी, अध्यक्ष, राष्ट्रिय मधेश समाजवादी पार्टी
 
- मधेश विद्रोहले कायम गरेको “मधेशवाद” सर्वमान्य हो जसले मधेशलाई आन्तरिक उपनिवेशवाद मुक्त गराई संघीय स्वशासनको प्रत्याभूति दिलाउँदै राष्ट्रिय साझेदारी प्राप्त गरी देशलाई समृद्धशाली बनाउने अभिभारा पूरा गर्दछ ।  — उपेन्द्र झा, राजनीतिक विश्लेषक 

- सम्पूर्ण मधेशीको जीवन दर्शनबारे बुझ्ने वाद नै मधेशवाद हो । जसले मधेशी समुदायलाई विभेदमुक्त वातावरणमा बाँच्ने र विकास गर्ने अधिकारलाई सुनिश्चित गर्छ ।  — राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी
 
- मधेशवाद भनेको मूल रुपमा मधेशीको पहिचान, सम्मान तथा अधिकारको प्रत्याभूमि अन्तर्निहित रहेको सिद्धान्त हो । — राष्ट्रिय मधेश समाजवादी पार्टी, संविधानसभा निर्वाचन–२०७० घोषणापत्र, 



        महोतरीको जिल्ला वन कार्यलयमा नेपाल सरकारको ठाउमा मधेश सरकार लेखिएको

विचारबाट विचारधारा र विचारधाराले सैद्धान्तिक आवरण ग्रहण गरिसकेपछिको रुपान्तरणले ‘वाद’ को निर्माण गर्छ । वास्तवमा वाद विचारहरूको विकसित र सैद्धान्तिक रुप हो । ज्ञान बिनाको सैद्धान्तिक राजनीतिले विषयको वस्तुपरक पहिचान र दीर्घकालीन समाधान दिन सक्दैन । विकास वा परिवर्तन समाजको स्वाभाविक यात्राक्रम हो र यो योजनाबद्ध भएन भने विभेद निम्त्याउँछ । विभेदले विद्रोह र विद्रोहले अलगाव (विखण्डन) लाई जन्म दिन्छ । विभेद र बहिष्कारणको विरुद्ध ऐक्यबद्धता र वैचारिक सचेतना सँगसँगै अगाडि बढ्न सकेन भने ध्रुवीकरण हुनसक्छ । भूमि, जात, धर्म, वर्ग, लिंग र समुदायको आधारमा हुने ध्रुवीकरणले अन्यायलाई संस्थागत गर्न खोज्छ ।

मधेशवादको नाममा राजनीति गर्दै आएकाहरूले पनि मधेशवादको व्यवस्थापन, नामांकन, प्रयोजन, प्रयोग र परिणामबारे खासै प्रष्ट वा सचेत छैनन् । गैरमधेशी वर्चश्वको प्रतिरोधमा आधारित अर्थ राजनीतिक कार्यक्रमलाई मधेशवादको नाम दिँदै मधेशी नेताहरूले भावनामा बगेर अन्य समुदायमाथि दोषारोपण गरेर आजसम्म टिक्न सफल रहे पनि मधेशवादमाथि सर्वपक्षीय  गहन वैचारिक अध्ययन, अनुसन्धान र सम्भवनाको खोजी हुनुपर्ने हो । जनसांख्यिक उपस्थिति, राजनीतिक चाहना एवं आस्थाको बारेमा बुझ्दै जाँदा विविधतामा एकताको प्रतिकको रुपमा जन्मेको “मधेशवाद” मधेश आन्दोलन तथा राज्यद्वारा अनुमोदित त भई नै सकेको छ । नेपाली राजनीति, संचार र समाजमा बहुचर्चित शब्दको रुपमा स्थानसमेत पाउँदै आएको छ । यसले आफ्नो औचित्य मधेश आन्दोलनमार्फत् साबित गरिसकेको छ । मधेशी जनताको परिवर्तित राजनीतिक आकांक्षा अनुकूल संघीयतासहित समानतामा आधारित संविधान नआउँदा वि.स. २०६३ मा प्रथम मधेश विद्रोह भएको हो । मधेशका सवालमा नियतवश उपेक्षा गर्न थालिएको अनुभूति भएपछि सात दलको सरकारका विरुद्ध दोस्रो मधेश विद्रोह भएको हो । मधेशमा बढ्दै गएको राजनीतिक सचेतना, अवसर र सम्भावनालाई आधार बनाएर विभिन्न विचारधारा र शक्ति केन्द्रहरूले आफ्नो आधिपत्य स्थापित गर्न खोजेको कुरा विगतका इतिहास, राजनीतिक कालखण्ड र जनचाहनाले प्रमाणित गरेकै छ । मधेशवादकै नाममा अहिले दुई दर्जनभन्दा बढी मधेश केन्द्रित राजनीतिक दल मधेशमै सक्रिय छन् भने प्रत्येक ठूला दलमा मधेशवादी भ्रातृ संगठन, मोर्चा, संघ–संस्था, संचारमाध्यम र वैचारिक केन्द्रहरूको गणना गरी साध्य छैन ।

वास्तवमा मधेशसम्बन्धी कुरा गर्नु नै मधेशवाद हो । वाद विचारकै विकसित रुप हुन्छ । वर्तमान समयमा कतिपय वादहरू समयसापेक्ष हुन नसकेकाले तिनीहरूको नयाँ व्याख्या र औचित्यमाथि बहस वा अनुसन्धान हुन जरुरी छ । हुनत अहिले पनि आफ्नो परिचय र उद्देश्यका साथ थुपै्र वादहरू अस्तित्वमा छन् । जसमध्ये विश्वका प्रमुख वादका रुपमा.......
१. आदर्शवाद
२. व्यक्तिवाद
३. समाजवाद
४. फेवियनवाद
५. श्रमिक संघवाद
६. श्रेणी समाजवाद
७. साम्यवाद
८. अराजकतावाद
९. नाजीवाद
१०. फासिस्टवाद
११. उपयोगितावाद
१२. बहुलवाद
१३. राष्ट्रवाद
१४. अन्तर्राष्ट्रवाद
१५. पुँजीवाद
१६. गान्धीवाद
१७. लोकतान्त्रिक समाजवाद
बाहेक महिलावाद (नारीवाद), स्थानीयवाद (जरावाद) , नियतिवाद , माक्र्सवाद, लेनिनवाद, माओवाद, साम्राज्यवाद अर्थवाद, अध्यात्मकवाद, अराजकतावाद, अवसरवाद र प्रतिक्रियावाद, आदर्शवाद, आदिम साम्यवाद, उग्र राष्ट्रवाद, उग्रवाद, उदारतावाद, उपनिवेशवाद, ऐतिहासिक भौतिकवाद, कट्टरतावाद या जडसुत्रवाद, काल्पनिक समाजवाद द्वन्द्वत्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, नक्सलवादी, नरोदवाद, नव उपनिवेशवाद, नाजीवाद, पुँजीवाद, पुनरुत्थानवाद, प्रभुत्ववाद र हैकमवाद, प्रुधोवाद, फासिँवाद, फेवियन समाजवाद, बकुनिनवाद, बामपन्थी दुष्साहसवाद र दक्षिणपन्थी अवसरवाद, ब्लाँकीवाद, वैज्ञानिक समाजवाद, माक्र्सवाद, यहुदीवाद, यान्त्रिक भौतिकवाद, लासालवाद, विस्तारवाद, संविधानवाद, सामन्तवाद, सुधारवाद र संशोधनवादलगायतका वादहरू अस्तित्वमै छन् ।
माओले २५ नोभेम्बर १९२८ मा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकमा “चिनकाङ्ग पहाडमा संघर्ष” शिर्षकको राजनीतिक प्रतिवेदनमा स्थानीयवादको प्रयोग गरेका थिए । (चाम्लिङ्ग भोजराज ः  ; ५३, जातीय स्वतन्त्रता र आत्मनिर्णयको अधिकार)
बहसको केन्द्रमा रहेको मधेशवाद वास्तवमा वाद हो वा अन्दाज ? यदि यो अन्दाज हो भने पुँजीवाद वा साम्यवादी भएर पनि मधेशवादी हुन सकिन्छ । ठूल–ठूला सामन्तवादीहरू पनि मधेशवादी हुनसक्छन् । अन्दाज  क्षणिक हुन्छ र अन्दाजले नीति र कार्यदिशा प्रष्ट्याउँदैन जसका कारण द्वन्द्वको सिर्जना हुन्छ । अन्दाजले विचार र ज्ञानलाई दिशाहीन बनाई दिन्छ । अन्दाजले द्वन्द्वलाई थप मलजल गर्ने काम मात्रै गर्छ जसबाट कसैलाई केही लाभ मिल्दैन । कुनै समयमा नेपाली राजनीतिमा मधेशी अन्दाजले ठूलै स्थान र भूमिका पाएको थियो – गर्भसँ कहू हम मधेशी छी, विदेशी भगोडा नई धर्तीपुत्र छी । त्यतिबेला मधेशी अन्जाद पनि कसैलाई स्वीकार्य थिएन । मधेशी अन्दाजलाई वादको रुपमा रुपान्तरित गरिनुपर्छ । यसका लागि दीर्घकालीन सोच, चिन्तन र योजनाको आवश्यकता हुनसक्छ । मधेशी र नेपालीसहितको दोयम परिचयमा कुनलाई प्राथमिकता दिने भन्ने कुरामा प्रष्ट भयो भने त्यसले परिचयको विवादलाई सहज बनाए जस्तै मधेशी अन्दाज, परिवर्तनको चाहना, स्वशासनको प्रयास र विभेद विरुद्धको संघर्षलाई नामांकन गर्न सकिएन भने यसले सामञ्जस्यताको साटो सैद्धान्तिक विचलन र भौगोलिक द्वन्द्व निम्त्याउन सक्छ ।
मधेशभित्र रहेको बहुविविधता र बहुलतालाई स्वीकार गर्नुपर्ने अवस्था छ । मधेशीहरूको विचार र मधेशीहरू प्रतिको विचारलाई सामञ्जस्यताका साथ सम्मानजनक परिचय दिन सकिएन वा यी सम्पूर्ण विचारहरूलाई एउटा दर्शनको रुपमा स्थापिय गराउन सकिएन भने मधेशवाद स्वतः अन्दाजमै सीमित रहिरहन्छ जुन हाम्रो नेपाली समाज र भूगोलका निमित्त हितकर नहुन सक्छ । त्यसैले मधेशी अन्दाजलाई वादमा परिणत गरिनुपर्छ ।
हुनत कुनै पनि जात, समुदाय वा स्वार्थमा “वाद” जोड्दैमा “वाद” हुँदैन । त्यसको राजनीतिक आधार हुनैपर्छ । वाद का लक्षणहरू बारे खोज्दै जाँदा तीन वटा प्रमुख सूत्रहरू पाइन्छ ।
पहिलो – विचारहरू नीतिमा र नीतिहरू अन्दाजमा प्रष्फुटित भएपछि त्यसको रुपान्तरण वादको रुपमा हुनजान्छ ।
दोस्रो – “वाद” हुनका निमित्त सिद्धान्त, पहिचान, भूगोल, प्रणाली र संरचना हुनुपर्छ ।
तेस्रो – राजनीतिक, आर्थिक, सांस्कृतिक र सामरिक गरी “वाद” को चारवटा आधारहरू हुनुपर्छ ।
हुनत संसारभरि अस्तित्वमा रहेका सम्पूर्ण वादहरूमा माथिकै सबै आधार वा गुणहरू गणितीय परिणमझैं अंक र अंग मिलेकै छन् भन्ने पनि होइन । यद्यपि मधेशवादलाई कतिपय नेता र राजनीतिक विश्लेषकहरूले स्थानीयवाद र जरावादको संज्ञा पनि दिन्छन् तर मेरो अध्ययनमा मधेशवाद भनेको छुट्टै नयाँ वाद हो । वाद स्थापित हुन चाहिने प्रमुख आधार र गुणहरू मधेशवादमा पाइन्छ ।
मधेशीहरूको जीवन र जगतलाई बुझ्ने जीवनपरक दर्शन नै मधेशवाद हो । सरल भाषामा भन्ने हो भने मधेशसम्बन्धित कुरा गर्नु नै मधेशवाद हो ।
एक प्रान्त बहुसंस्कृति वा एक संस्कृति बहु प्रान्त बीचको द्वन्द्व मधेशमा छ । मधेशवादलाई जरावादको रुपमा व्याख्या गरिनु हुन् । यदि मधेशवाद ‘स्थानीयवाद वा जरावाद’ भयो भने त्यहाँ गैरमधेशी वा अन्य समुदाय अटाउन गाह्रो हुन्छ । यसलाई अर्थ राजनीतिको रुपमा हेरिनुपर्छ । मधेशवादलाई आन्तरिक उपनिवेशवादको प्रतिवादको रुपमा सीमित गर्न मिल्दैन । अर्थ राजनीतिको वैकल्पिक वादको रुपमा मधेशवादलाई स्थापित गर्न सकिन्छ ।
अतः मधेशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रुपान्तरणसँग सम्बन्धित वाद नै मधेशवाद हो । गतिहीनतालाई स्थायित्व र परिवर्तनशीलतालाई अस्थिरताको अर्थमा बुझ्दा नामबिनाको दर्शन र मार्ग बिनाको खोलालेझै अन्ततः माटो र जीवनलाई भययुक्त बनाई राख्छ । मधेशवाद चाहिएन भने मधेश अन्दाजतिर जान्छ जुन जोखिमपूर्ण हुनसक्छ । त्यसैले मुलुककै आधाभन्दा बढी जनसंख्या रहेको मधेशी समुदाय र सिंगो राष्ट्रको सामाजिक, आर्थिक विकास, अखण्डताको सुनिश्चितता र विकसित तथा समृद्ध नेपाल निर्माणका निमित्त मधेशवादलाई वादकै दर्जा दिन जरुरी छ ।
यो कार्यपत्र राजनितीशास्त्र अन्र्तगत मधेशवाद शिर्षकमा विद्यावारिधी गरिरहेका राजेश अहिराजले मंगलवार मधेशवादी राजनीतिमा युवाको भूमिका, नामक कार्यक्रममा प्रस्तुत गरेका थिए । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete