Sunday, December 1, 2013

मधेसवादी पार्टीहरूले मुद्दाका हिसाबले आफ्नो मौलिक पहिचान नै देखाउन सकेनन्। – जेपी गुप्ता

-  मधेसका मुद्दा असफल या नेपाली जनताले मधेसका मुद्दालाई अस्वीकार गरेको भन्दा पनि मधेसवादी पार्टी र मधेसी नेताहरूले तत्कालीन समयमा राखेको दृष्टिकोण वा उनीहरूको कार्यनीतिको पूर्णरूपेण असफलता हो।
-  सबैभन्दा महत्त्वपूर्ण कारण मधेसी पार्टीहरू एक भएर चुनावमा जानसक्ने अवस्था हुँदाहुँदै विभिन्न जातीय आधार निर्माणतिर लागेर आफू–आफूबीच नै थप वैमनश्यता बढाउनु। एकता भाव प्रदर्शन गरी एउटै मुद्दामा केन्द्रित रही चुनावमा जानुपर्थ्यो, त्यसो हुन सकेन। यस्ता अनेक कारण छन् जसले मधेसी पार्टीलाई यस्तो नराम्रो परिणाम भोग्न विवश तुल्यायो।





० मधेसमा मधेसी दलहरूले निर्वाचनमा नराम्रो पराजय भोग्नुपर्यो, यसको कारण के हो जस्तो लाग्छ तपाईंलाई ?
– कारण त धेरै हुन सक्छन्, तर सङ्क्षेपमा भन्नुपर्दा मधेसका पार्टीहरू ०६४ सालको संविधानसभामा आएपश्चात् उनीहरूले सत्ताको स्वादमा मधेसी मुद्दाको विसर्जन गर्ने मार्ग अवलम्बन गरे। अर्थात्, ज्वलन्त मधेसी मुद्दामा केन्द्रित नरही उनीहरू विभिन्न राजनीतिक दलहरूलाई सत्तामा पुर्योउने भर्यारङको भूमिकामा मात्रै देखापरे। यो कुरा मधेस वा मधेसी जनताले प्रस्टसँग अनुभूत गरे कि मधेसी पार्टीहरूको ध्यान मधेसी मुद्दामा नभई सत्ताका लागि रहेको छ। यस्तै केही संवैधानिक र कानुनी कुराहरू पनि रहेका छन् जसमा मधेसी पार्टीहरूले प्रारम्भदेखि नै ध्यान दिएनन्। जस्तो कि मतदाता नामावलीमा नागरिकताको अनिवार्यता, निर्वाचन क्षेत्र वृद्धिबारे निरपेक्ष भाव राख्नु र त्यसपछिको सबैभन्दा महत्त्वपूर्ण कारण मधेसी पार्टीहरू एक भएर चुनावमा जानसक्ने अवस्था हुँदाहुँदै विभिन्न जातीय आधार निर्माणतिर लागेर आफू–आफूबीच नै थप वैमनश्यता बढाउनु। एकता भाव प्रदर्शन गरी एउटै मुद्दामा केन्द्रित रही चुनावमा जानुपर्थ्यो, त्यसो हुन सकेन। यस्ता अनेक कारण छन् जसले मधेसी पार्टीलाई यस्तो नराम्रो परिणाम भोग्न विवश तुल्यायो।
० मधेसी नेता वा दलहरूले अपनाएको एजेण्डा असफल भएको त होइन ?
– मधेसका मुद्दा असफल या नेपाली जनताले मधेसका मुद्दालाई अस्वीकार गरेको भन्दा पनि मधेसवादी पार्टी र मधेसी नेताहरूले तत्कालीन समयमा राखेको दृष्टिकोण वा उनीहरूको कार्यनीतिको पूर्णरूपेण असफलता हो।
० यतिबेला आएर मधेसी जनता सङ्घीयता चाहँदैनन् जस्तो पनि देखियो नि, काङ्ग्रेस र एमालेलाई मात्रै विश्वास गरेका किन होला र ?
– यो प्रश्नको आशय त काङ्ग्रेस र एमाले सङ्घीयता चाहँदैनन् भन्ने रहेको बुझिन्छ, तर काङ्ग्रेस र एमालेले पनि सङ्घीयताको कुरामा त जोड दिइरहेकै छन् नि। काङ्ग्रेस र एमालेले पनि पहिलेको सङ्घीयताविरोधी छविबाट आफूलाई बाहिर निकालेको छ। यसपटकको निर्वाचन प्रचारका क्रममा उनीहरूले व्यक्त गरेका प्रतिबद्धताका आधारमा हामीले यो स्पष्टै अनुभूति गरेका छौँ । यथेष्ट जोड दिएका छन् सङ्घीयताको मुद्दामा उनीहरूले। अपितु, मधेस र माओवादीले चाहेकोभन्दा सङ्घीयताको स्वरूपमा उनीहरूको फरक दृष्टिकोण देखिन्छ। तसर्थ, उनीहरूको विजयलाई सङ्घीयताको विरोधको जनादेशका रूपमा लिनु वा बुझ्नु सही हुँदैन।
० एक मधेस प्रदेशको मुद्दा मधेसले छोडेजस्तो छ नि, यसले पनि मत–परिणाममा फरक पार्योर कि ?
– आ, यसपटक अर्को एउटा विडम्बनापूर्ण कुरा यो पनि भयो कि जसरी मधेसले मधेसको बारेमा एउटा निश्चित धारणा राख्दै आएको थियो, मधेसी दलहरू उक्त धारणामा अडेर रहन नसकेझैँ देखियो। उपेन्द्र यादव, विजय गच्छदार, राजेन्द्र महतो र महन्थ ठाकुरहरूले पनि मधेसमा विविध प्रदेशको कुरा ल्याए। यसले गर्दा मधेसवादी दल र अन्य दलहरूले अघिसारेका एजेण्डामा आममधेसी जनताले खास अन्तर पाएनन्। मैले भन्न खोजेको के भने मधेसवादी पार्टीहरूले यसपटकको निर्वाचनमा मुद्दाका हिसाबले आफ्नो मौलिक पहिचान नै देखाउन सकेनन्। यसको नकारात्मक असर सोझै मतपरिणाममा देखिएको छ।
० यसपटकको निर्वाचनको परिणाम हेर्दा त क्षेत्रीय दलहरूको औचित्य पनि सकियो जस्तो छ नि ?
– चुनावी राजनीतिमा यस्तो देखिएला, हो, चुनावी राजनीतिमा यस्ता कुराहरू भइराख्छ। हिजो नेपाली काङ्ग्रेसले कमजोर जनादेश पाउँदा काङ्ग्रेसको औचित्य समाप्त भयो भन्ने मानसिकता केही मानिस वा केही समुदायमा थियो। तर, पाँच वर्षपछि भएको चुनावले त्यस धारणालाई गलत सावित गरिदियो। यस हिसाबले मलाई लाग्छ कि सङ्घीयताको कुरा, भाषाको कुरा र यस्तै अन्य मुद्दाहरू सर्वकालिक कुराहरू हुन्। पार्टीहरू बितेर गए पनि यसका बारेमा वस्तुपरक दृष्टिकोण कायम रहन्छ। यो दायित्व आजका दिनमा काङ्ग्रेस र एमालेको काँधमा गएको छ। सङ्घीयता, राज्यको रूपान्तरणको विषयलाई व्यवस्थित गर्न उनीहरूले सकेनन् भने आगामी दिनमा उनीहरूको असफलता छरप्रस्ट रूपमा देखिने नै छ।
० यसपटकको चुनावी परिणामले मधेसमा नयाँ शक्तिको आवश्यकता औँल्याएको हो कि होइन ?
– यो सत्य या तथ्यलाई स्वीकार गर्न म कत्ति पनि हिच्किचाउँदिनँ। मधेसी जनताको भावनालाई मौजुदा मधेसी दल र नेताहरूले प्रतिनिधित्व गर्न नसकेको स्पष्टै छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र उपेन्द्र यादवहरूको मधेसी मोर्चाको सम्पूर्ण रूपकै असफलता हो। मधेसी पार्टीहरूले अब पुरानै दृष्टिकोणबाट अगाडि बढ्न खोज्नुको साटो या मधेसका सवाललाई अनुत्तरित राख्नुभन्दा पनि यी सवालको समाधानका लागि मधेसी जनताको निम्ति उन्नत दृष्टिकोणका साथ सोचेर अगाडि बढ्नु अपरिहार्य छ। मलाई लाग्छ कि आफ्ना मुद्दाहरूको शान्तिपूर्ण तवरले समाधानका लागि नयाँ रूपमा अघि बढ्नुपर्छ भन्ने मधेसमा धेरै ठूलो जनमत छ। जो नेता असफल भए, जनताबाट तिरस्कृत भए, उनीहरूको विकल्पचाहिँ खोजिनुपर्दछ भन्ने चुनावको परिणामको सन्देश हो भन्ने मलाई लाग्छ।
साभार- घटनाविचार साप्ताहिक


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete