Sunday, December 29, 2013

भारतमा मधेसी विद्यार्थीको पीडा

सुजित केशरी 
 मधेसका विभिन्न जिल्लाबाट अध्ययनका लागि भारत जाने परम्परा धेरै पुरानो भए पनि हालका वर्षहरुमा भारतमा अध्ययनका लागि जाने मधेसी विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। काठमाडौँ वा पहाडका अन्य सहरमा मधेसी विद्यार्थीलाई भारतीय भनेर हेपिएका कारण, मधेसका अभिभावक आफ्ना छोरा–छोरीलाई भारतमै पढाउनु तुलनात्मकरूपमा सुरक्षित ठान्छन्।

भारत अध्ययनको सिलसिलामा रहेका मधेसी विद्यार्थीलाई प्रथम पीडा भारतीय रेलयात्रामा सुरु हुन्छ। जसरी रेल उत्तरी बिहार र पूर्वी उत्तर प्रदेश नाघ्छ, अनि सुरु हुन्छ, त्यत्तिकै स्थानीयहरुको रेलमा ताण्डव। भोजपुरी, मैथिली वा अवधी, थारु भाषा बोल्नेहरुलाई बिहारी भन्दै सिटबाट गालिगलौजका साथ उठाइन्छ। दोस्रो चोट तब लाग्छ, जतिखेर गन्तव्यमा पुगिसकेर बस्नका लागि भाडामा कोठा खोजिन्छ, मकान मालिकले जब कहाँको बासिन्दा भन्ने प्रश्न सोध्छ, नेपाली भनेर उत्तर दिँदाखेरी सबले यस्तो शंकाको साथ हेर्छन कि मानौं उसको अगाडि आतंकवादी उभिएको होस्। जति नागरिकता देखाउँदा पनि ऊ भनिराख्छ– 'तुम तो नेपाली नही लगते' र अवैधरूपमा नागरिकता लिएको आतंककारी होला भनेर शंका गर्छ। प्रष्ट्याउँदै जाँदा र अझै प्रमाणहरु देखाउँदा बिहार तथा पूर्वी उत्तर प्रदेशबाट बसाइँ सरेर नेपाल बसेका भगौडा भन्छन्। नेपालका पहाडी इलाकामा भारतीय भनेर हेपीएका मधेसी विद्यार्थी जब भारतमा पनि सोही व्यवहार पाउँछन् तब उनीहरु आफ्नो पहिचानबारे अलमलिन्छन्। त्यसपछि धेरैले त नेपाली देखिने आफ्नो रङ रूपदेखि लिएर भोजपुरी, मैथिली तथा थारु भाषा बोल्नै बन्द गर्छन्।

तेस्रो झट्का तब लाग्छ जब केही समस्या आइपर्दा नयाँ दिल्लीस्थित नेपाली राजदूताबास धाउनुपर्ने हुन्छ। दूताबासका द्वारमा खटिएका पालेहरुले मधेसी अनुहार हेर्नेबित्तिकै जतिसुकै नेपालीमा प्रश्न गरे पनि झर्केर हिन्दीमा जवाफ दिन्छन्। प्रायःजसो मधेसीलाई कार्यालय द्वारभित्र प्रवेश नै दिइन्न। यदि कसैगरी कोही मधेसी कार्यालयभित्र प्रवेश पाए पनि त्यहाँ खटाइएकी महिलाले मधेसीहरुसँग गाली गलौजकै शैलीमा व्यवहार गर्छिन्। धेरै कठिनाईपछि यदि केही गरी उक्त महिलाले दूतावासका कुनै सम्बन्धित कर्मचारीलाई भेट्न दिइछ भने पनि प्रायःजसो मधेसीको काम त्यहाँ हुँदैन, जब कि पहाडी मूलका साथीहरुको नहुने काम पनि भइरहेको हुन्छ। दूताबासले भाषा संस्कृतिको जगेर्नाका लागि विभिन्न कार्यक्रम राख्दा मधेसीलाई प्रतिनिधित्व गराइँदैन र भोजपुरी, मैथिली, अवधी तथा थारु भाषामा कार्यक्रम सञ्चालन पनि गराइँदैन। त्यसको कारण सायद दूताबासमा एउटा पनि मधेसी कर्मचारी नहुनु पनि हुन सक्छ।

चौथो प्रमुख समस्या अध्ययन स्थलमा स्थानीय सहकर्मी तथा शिक्षकहरुमा मधेसी पहिचानबारे अनभिज्ञताका कारण आफू मजाकको पात्र हुनुपर्ने दुःखद् अनुभुति नै हो।

यी त भए केही सर्वविदित केही साधारण उदाहरण मात्रै, यस्ता हजारौं समस्या केवल आफ्नो पहिचानका कारणले मात्रै भारतमा मधेसका विद्यार्थी भोग्न बाध्य भइरहेका छन्। यस्ता पीडाहरुको मानसिक, पारिवारिक, सामाजिक असरहरुलाई कागजमा उतार्न धेरै गाह्रो छ। उच्च शिक्षाको सपना बोकेर विदेशिएका मधेसी विद्यार्थीहरु रातभर सुत्न सक्दैनन् तर त्यसको कारण पढाई नभई आफूमाथि किन यति साह्रो अपमानजानक व्यवहार भइरहेको छ भन्ने खोतल्नु नै हुन्छ। धेरै विद्यार्थी पढाई छाडी घर फर्कन्छन् कति त त्यहाँ बसे पनि फेल भइरहेका हुन्छन्। यसको प्रमुख कारण तिनीहरु पढाईमा कमजोर भएर होइन कि यस्ता दुःखहरुले उनीहरुको ध्यान अन्यत्र मोडिनु नै हो।

अब मधेसका हरेक शिक्षित तथा पढे/लेखेका व्यक्तिहरुले सोच्नुपर्ने बेला आएको छ कि हामी स्थानीय स्तरमा शिक्षाको गुणस्तरीयतामा कहिले ध्यान पुर्‍याउने? कहिलेसम्म मधेसका सोझासाझा विद्यार्थीले काठमाडौँ तथा भारतका विभिन्न सहरमा आफ्नो अमूल्य समय वेदनामा छट्पटिएर बिताउने? मधेसका अभिभावकले सोच्नैपर्ने बेला आएको छ कि के शिक्षाका लागि अर्थको पूर्ति गरिदिनु मात्रै अभिभावकको कर्तव्य हो त?

पहिचान : कतिको आवश्यक?
नेपालमा पहिचानको मुद्दा नयाँ नभए पनि एक दशकदेखि यो मुद्दा नेपाली राजनीतिको केन्द्रमा छ। नेपालको सन्दर्भमा पहिचान भनेपछि जातीय, भाषिक तथा क्षेत्रीय पहिचानको कुरा नै मुखरित भएर आउँछ। नेपालका मधेसी तथा जनजातिले शाहवंशको उदयदेखि हालसम्म यहाँका शासक वर्गले आफ्नो पहिचानलाई नै राष्ट्रिय पहिचानका रूपमा रूपान्तरित गरी गैरखसहरुको पहिचान षड्यन्त्रपूर्ण तरिकाले विलुप्त पार्न खोजिएको आरोप लगाउँदै आएका छन् पहिचान समुदायको परिचयसँग गाँसिएको हुन्छ।

मधेस आन्दोलनपूर्व अधिकांश पहाड तथा हिमालका बासिन्दाले मधेसी भनेको जनकपुरको वरपर बस्ने सानो समुदायका रूपमा ठान्ने गर्थे। केही कामको सिलसिलामा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज जस्ता सहरमा आउँदा त्यहाँ देखिने मधेसी समुदायलाई भारतीय ठान्थे र सोहीअनुरूपका व्यवहार पनि गर्थे। एक दशकदेखि नेपालका अर्धशिक्षित मधेसी तथा जनजाति जनसंख्या पनि विदेशी रोजगारका लागि भारत तथा अन्य देशमा जान थालेका छन्। मधेसीहरुले जतिसुकै आफू नेपालको बासिन्दा भने पनि पत्याउने कोही भेटिँदैन। कसैले पत्याए पनि भारतका बिहार तथा पूर्वी उत्तर प्रदेशबाट बसाई सरेको होला भनेर मात्र पत्याउँछन्। यसको पछाडि विदेशीहरुको अल्पज्ञान र हेपाहा प्रवृत्तिलाई मात्रै दोष दिनु भनेको आफ्नो आङको भैंसी नदेख्नु र अर्काको आङको जुम्रा देख्नुजस्तै हो ।

वर्तमान नेपाल र नेपालीबारे विदेशीहरुको मानसपटलमा बसेको धारणा शताब्दियौंदेखि यहाँका खस शासकहरुले गरेको झुट तथा षड्यन्त्रको खेतीको परिणाम हो। शोषित उत्पीडितहरुलाई विदेशी भगौडा बनाई निमुखा र अशिक्षितहरुलाई सदाका लागि दास बनाउने क्रुर तथा लज्जाजनक कायरता हो। मधेसीका छोराछोरी अझै पनि अशिक्षाको अन्धकारमा बल्भि्करहेका छन्। यदि समयमा शासकहरुले आफ्नो अक्षम्य भूल सुधारेनन् भने आज अन्धकारमा रहेका मधेसीहरु भोलि ज्ञानरूपी ज्वालामुखी नबन्लान् भन्न सकिन्न ।



सी.ए. अन्तिम वर्ष अध्ययनरत्, दिल्ली
साभार - नागरिकन्युज डट कम

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete