Saturday, November 2, 2013

महाकविले भने- आई वान्ट टु डाई

महाकवी लक्ष्मीप्रसाद देवकोटा बिशेष 
रामहरि जोशी
महाकवि लक्ष्मीप्रसाद देवकोटासँग मेरो पहिलो भेट कलकत्तामा भएको थियो। यो सन् १९४९ तिरको प्रसंग हो। म त्यति बेला कलकत्ता विश्वविद्यालयमा कानुनको विद्यार्थी थिएँ। कलकत्ता विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीले ‘हिमाञ्‍चल छात्र संघ’ स्थापना गरेका थिए। स्थापनापछि केही समय निष्क्रिय त्यो संस्थालाई हामीले नै सक्रिय बनाएका थियौं। त्यसलाई सक्रिय बनाउन नेपालका साथै दार्जिलिङ र सिक्किमका साथीहरूको विशेष योगदान थियो। म हिमाञ्‍चल छात्र संघको साहित्य मन्त्री थिएँ।

हामीले ‘हिमाञ्‍चल’ नामक स्मारिका पनि प्रकाशित गर्‍यौं। त्यही संस्थाले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई अभिनन्दन गर्न कलकत्तामा आमन्त्रित गरेको थियो।
महाकवि देवकोटा त्यसताक बनारसमा थिए। नेपालको राणा शासनले कविका स्वच्छन्द भावलाई प्रकट हुन दिइरहेको थिएन। राणाशासनको त्यो साँघुरो, संकुचित र निसास्सिने कालखण्डमा महाकविको कल्पनाले स्वतन्त्र ढंगले उडान भर्न पाएन। त्यसैले उनी खुला आकाशको खोजी गर्दै भारतमा स्वनिर्वासित जीवन बिताइरहेका थिए। बनारसबाट त्यस बेला भट्टराई बन्धुहरूले साप्ताहिक ‘युगवाणी’ प्रकाशित गर्थे। महाकवि त्यस पत्रिकाका सम्पादक थिए।
हिमाञ्‍चल छात्र संघको निमन्त्रणा पाएपछि महाकवि देवकोटा ‘युगवाणी’ का संस्थापक सम्पादक नारायणप्रसाद भट्टराई र ईश्वर बरालका साथ कलकत्ता आए। मलाई सम्झना छ, सन् १९४९ को जनवरी १६ मा महाकविको अभिनन्दन गरिएको थियो। कलकत्ताको कलेज स्ट्रिटको महाबोधी सोसाइटीको हलमा गरिएको कविवरको अभिनन्दनमा हिन्दी तथा बंगालीका मूर्धन्य साहित्यकारहरूको उपस्थिति थियो। अभिनन्दनपछि कविवरले गरेको भाषण बेजोड थियो। 
साहित्य तथा भाषाका बारेमा उनले अंग्रेजी भाषामा धाराप्रवाह भाषण गरेका थिए। उनले भनेका थिए, ‘अब एउटा साझा विश्वभाषाको खाँचो छ।’ उनले अंग्रेजीमा भाषणमात्र गरेनन्; ‘झंझावीर’, ‘पाषाण कालको कविता’, ‘बाघले बच्‍चा किन खान्छ’ शीर्षकका कविता सुनाएका थिए। रोचक दृश्य त के थियो भने महाकविले अंग्रेजी कविता तामाङ सेलोको लयमा सुनाएका थिए।
महाकवि कलकत्तामा एक महिनासम्म बसे। त्यही अवधिमा उनले महात्मा गान्धीका बारेमा पनि कविता लेखेका थिए। अंग्रेजी भाषामा ‘बापु’ शीर्षकमा साठीवटा चतुर्दशीय पदहरू (सोनेट्स) उनले कलकत्तामै रहँदा लेखे।
मैले भेट्दा उनी सधैं मानसिक तनावमा भएको पाएँ। पहिलो भेटमै मैले उनको मनमा कुनै न कुनै मानसिक अन्तद्र्वन्द्व चलिरहेको छ भन्‍ने आभास पाएको थिएँ। केही महिनाअघिमात्र महाकविका माइला छोराको निधन भएको थियो। त्यसको शोक र घरको सम्झनाले होला, महाकवि करिबकरिब विक्षिप्‍त अवस्थामा थिए। उनी कसैसँग धेरै बोल्दैनथे। उदास मुडमा एक्लै बसिरहन्थे।
महाकवि कलकत्ता आएकै दिनको प्रसंग हो। म र जयनारायण गिरी पार्क सर्कसस्थित इस्लाम क्यासलको तीनतले घरमा बस्थ्यौं। देवकोटा पनि त्यही घरमा हामीसँगै थिए। एकाएक मध्यरातमा केही खैलाबैला भयो। हामी निद्राबाट जाग्यौं। थाहा भो, मध्यरातमा देवकोटा उठेर तीनतले घरको झ्यालनेर पुगेर बाहिर केही हेर्दै रहेछन्। धन्न, नारायणप्रसाद भट्टराई र ईश्वर बरालको निद्रा खुल्यो र देवकोटालाई बडो मुस्किलले तानेर पलङमा ल्याएर बसाले। केही समय ढिला भएको भए महाकविले के गर्थे भन्‍न सकिन्‍नथ्यो।
पलङमा बसेपछि महाकवि बर्बराउन थाले। उनले भनेका सबै कुरा बुझिएन। तर, लामो सुस्केरा हालेर भनेको एउटा वाक्य म सम्झन्छु। देवकोटाले भनेका थिए, ‘आई वान्ट टु डाई, आई वान्ट टु सी गड।’ (म मर्न चाहन्छु, म ईश्वरलाई हेर्न चाहन्छु।)
मर्न चाहने र ईश्वरलाई भेट्न चाहने उनको त्यो मानसिक अवस्था देखेर हामी मर्माहत भएका थियौं। कुनै ठूलो पीरका कारण उनमा जीवनप्रति नै निराशा घनिभूत भएको मैले पाएँ। तर, आश्चर्य त के भने त्यो घटनाको ठीक दुई दिनपछि आफ्नो अभिनन्दन समारोहमा कविले धाराप्रवाह भाषण गर्दा र अंग्रेजीमा तामाङ सेलोमा कविता सुनाउँदा भने उनमा मैले त्यो निराशा कतै देखिनँ। उनी उत्साहित, जोश र प्रसन्‍नताका साथ कविता सुनाइरहेका थिए।
लाग्थ्यो, जीवनका सारा पीडा र निराशारूपी विषलाई आफूले पान गरेर महाकवि नीरकण्ठजस्तै सारा विश्वलाई साहित्यको अमृतपान गराइरहेका थिए। अहिले त जो पनि कवि छन् तर मैले त्यसै दिन महसुस गरेँ, कवि हुन कति कठिन हुँदो रहेछ।
साभार -http://annapost.com/special/news10447 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete