Monday, September 16, 2013

तराईका तेस्रोलिङ्गी

कानुनी मान्यता पाए पनि तराईमा अझै तेस्रोलिङ्गीहरू सामाजिक उपेक्षाको सिकार भइरहेका छन्।

नवीन झा



पाँच वर्षदेखि तराईमा क्रियाशील तेस्रोलिङ्गी-अधिकारकर्मी परिना चौधरी तराईको सामाजिक संरचनामा तेस्रोलिङ्गी-अधिकारवादीहरू परिचय लुकाएर काम गर्न बाध्य भएको बताउँछिन्। हालै आफ्ना पाँच सहकर्मीसँगै तालिममा काठमाडौँ आएकी परिनासँग २२ पुसमा भेट्दा उनीबाहेक अरूले आफ्नो परिचय खोल्न चाहेनन्। उनकी एक साथीले यो संवाददातालाई भनिन्, “मैले आफूलाई सार्वजनिक रूपमा चिनाएँ भने समाज त परको कुरा, घरमै पनि बस्न सक्ने वातावरण हुँदैन।”

नेपालगञ्जलाई कार्यक्षेत्र बनाएकी परिनाका अनुसार बाँके र बर्दियामा सात हजार भन्दा बढी तेस्रोलिङ्गी उनीहरूको अभियानमा आबद्ध छन्। “तेस्रोलिङ्गी हुनु भनेको शारीरिक अपाङ्गता हुनु न हो”, उनी भन्छिन्, “तर समाजमा अरू अपाङ्गता भएका र हामीलाई हेर्ने दृष्टिकोणमा धेरै भिन्नता छ। तराई-मधेशको सङ्कीर्ण परम्पराले हामीहरूलाई गिज्याइरहेको छ।”

२०५७ सालमा एसएलसी पास गरेर पढ्न काठमाडौँ आएकी परिनाले यहाँको वातावरणमा आफूलाई असहज महसुस गरी नेपालगञ्ज फर्केर पढाइलाई निरन्तरता दिइन्। पुरुषको जस्तो शारीरिक बनोट भए पनि सानैदेखि महिलाहरूका क्रियाकलापप्रति आकर्षित उनले समाजले गलत रूपमा हेर्ने डरले १० कक्षा पढ्ने बेलासम्म आफूलाई सार्वजनिक गरिनन्। काठमाडौँ आएर आफ्नो अधिकार बारेमा ज्ञान हुन थालेपछि मात्रै उनमा तेस्रोलिङ्गीको अधिकारको वकालतमा लाग्नुपर्छ भन्ने धारणा विकास भयो।

नेपालगञ्जमा काम शुरु गर्दा परिनाले समाजबाट अपहेलना मात्र होइन, ढुङ्गामुढा समेत खाएकी थिइन्। डेढ वर्षअघि नेपालगञ्ज जैसपुरको मुस्लिम बस्तीमा पुग्दा स्थानीय सामाजिक अगुवाहरूले उनी र उनका साथीलाई समाज बिगार्न आएका भनेर गाली गरी फर्काइदिएका थिए। तर परिना भन्छिन्, “अहिले त्यही ठाउँलाई लक्ष्य बनाएर हामीले सचेतना कार्यक्रम चलाएका छौँ।” परिनाका अनुसार मधेशको समाजमा तेस्रोलिङ्गीको सङ्ख्या धेरै छ, तर उनीहरू आफ्नो धार्मिक-सामाजिक मान्यताका कारण बाहिर आउन सक्दैनन्। परिनासँग काठमाडौँ आएका तेस्रोलिङ्गी साथीहरू मधेशी-बाहुन थिए।

नेपालमा सन् २००१ मा तेस्रोलिङ्गी अधिकारकर्मीले ब्लु डायमण्ड सोसाइटीको नाममा सङ्गठित भएर यस विषयमा काम गर्न थालेपछि काठमाडौँ लगायतका केही ठाउँमा उनीहरू आफ्नो अधिकारप्रति सचेत हुँदै अगाडि आएका हुन्। पछि सर्वोच्च अदालतले तेस्रोलिङ्गीले आफ्नो स्वतन्त्र पहिचानका आधारमा नागरिकता लिन र अन्य सरकारी कामकाजमा संलग्न हुन पाउने फैसला गर्‍यो। तर परिना भन्छिन्, “तराई मधेशका जिल्लामा अझै पनि धेरै तेस्रोलिङ्गी आफ्नो स्वतन्त्र परिचयका आधारमा नागरिकता लगायतका कामकाजमा संलग्न हुन नसक्ने अवस्था छ। त्यहाँ यो अभियानका लागि ठूलो चेतनामूलक कार्यक्रमको खाँचो छ।” उनी आफैँ नेपालगञ्जमा वेस्टर्न स्टार नेपाल नामक संस्था खोलेर यो अभियानलाई अगाडि बढाउँदै आएकी छन्।

नेपालगञ्ज मात्र होइन बारा, रौतहट, धनुषा र सुनसरीमा पनि तेस्रोलिङ्गीको अधिकारको आवाज उठ्न थालेको छ। मैथिली संस्कृतिविद् तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका संस्कृति विभाग प्रमुख प्राज्ञ रामभरोस कापडी तराई-मधेशको समाज दिनप्रति दिन खुला र सहज हुँदै गएको बताउँछन्। उनका अनुसार पहिला-पहिला सङ्कीर्णताका कारण यस्ता व्यक्तिलाई सार्वजनिक ठाउँमा देख्ने वित्तिकै जिस्क्याउने चलन थियो, पछि विस्तारै यस्ता गतिविधि न्यून हुँदै गइरहेका र उनीहरू पनि सचेततापूर्वक अगाडि आउन थालेका छन्। “तर ग्रामीण क्षेत्रमा अझै पनि यस्तो समस्या विद्यमान छ”, कापडी भन्छन्, “शहरी क्षेत्रमा चाहिँ उनीहरूको गतिविधि बढ्दै गएकाले सामाजिक धारणा बदलिँदैछ।”

जनकपुरका अधिकारकर्मी सञ्जय चौधरी धनुषामा मात्रै १० हजार भन्दा बढी तेस्रोलिङ्गी भएका बताउँछन्। “यस क्षेत्रमा काम गर्न अझै धेरै चुनौती छ। समाजदेखि घरपरिवारसम्म राम्रो नजरले हेर्दैनन्”, उनी भन्छन्, “तर पनि विस्तारै सुधारका लक्षणहरू देखा पर्दैछन्।” जनकपुर जस्ता शहरबजारमा तेस्रोलिङ्गीहरू विस्तारै खुलेर आउन थाले पनि ठूलो जनसङ्ख्या भएका ग्रामीण भेगमा अहिले पनि उनीहरू यस्तो कुरा लुकाइहेका छन्।

Source - http://nepalihimal.com/news.php?id=4721

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं यस इमेल मा चासो सम्पर्क LUS हो भने हामी, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete