Wednesday, September 18, 2013

सीमापारि सर्दै व्यापारी

आन्दोलन र सशस्त्र समूहका चलखेल तथा तिनबाट उत्पन्न अराजकताले मधेशको बन्दव्यापारलाई सीमापारि धकेलिदिएको छ।
नवीन झा, जलेश्वरमा

“कहिले भारतीय त कहिले नेपाली नम्बरका फोनबाट पैसा माग्ने, नदिए जे पनि हुन्छ भन्थे। बच्चाहरूको नाम र उनीहरू पढ्ने स्कूलको नाम सुनाउँथे। त्यसमाथि दिनहुँको बन्द–हड्ताल त छँदैथियो।” यो भनाइ महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरबाट तीन किलोमिटर दक्षिणको भारतीय बजार भिठ्ठामोडका होलसेल किराना व्यापारी ऋषिकुमार मुरारकाको हो। उनी जलेश्वरमा दशौं वर्ष पुरानो कारोबार बन्द गरेर दुई वर्षअघि भिठ्ठामोड पसेका हुन्। भिठ्ठामोडका अधिकांश ठूला पसल मुरारका जस्तै 'अशान्त मधेश' बाट पलायन भएर आएका नेपाली व्यापारीले चलाएका छन्। वर्ष दिनअघि भिठ्ठामोडमा 'खुश्बू वस्त्रालय' खोलेका रामजसो दास जलेश्वर नजिकैको मरैय बजारमा २५ वर्षदेखि चलेको कपडा पसलमा ताला लगाउनु पर्दा तरक्क आँशु झ्रेको बताउँछन्। अर्का विस्थापित नेपाली व्यापारी विक्रम अग्रवाल भन्छन्, “जलेश्वरमा टिक्न केसम्म गरिनँ? मारवाडी भएर मदिरा पसल समेत खोलें। तर, केटाहरूको समूहले आएर खान्थे र पैसा माग्दा पार्टीको मान्छेलाई हेप्ने भन्दै धम्की दिन्थे।”

सुनसान शहर

जलेश्वरनाथ महादेवको मन्दिर भएको मिथिला क्षेत्रकै एउटा प्रमुख धार्मिकस्थल हो, जलेश्वर। पाँच वर्षअघिसम्म नेपालका विभिन्न जिल्ला र भारतबाट आउने मानिसहरूको घुइँचो लाग्ने मन्दिरमा मधेशी–पहाडी सरोबरी देखिन्थे। अहिले जलेश्वरमा पहाडी र भारतबाट आउनेहरूको त कुरै छोडौं, स्थानीयहरूको चहलपहल हेर्न पनि साप्ताहिक हाट नै पर्खनुपर्छ। बुद्धिजीवीहरू यसका लागि मधेश आन्दोलनपछिको राजनीतिक परिस्थितिलाई जिम्मेवार ठहर्‍याउँछन्। जलेश्वर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपु साह भन्छन्, “परिस्थिति यस्तै रहने हो भने जलेश्वर पूरै सिद्धिन्छ।” सरकारी कार्यालयमा काम परेर आउनेहरूबाट मुश्किलले धानिएका महेन्द्र चोक छेउछाउका करीब दुई दर्जन चियानास्ता पसल– जलेश्वरको सम्पूर्ण व्यापारिक गतिविधि यति नै छ, अहिले। ४० वर्षदेखि जलेश्वरमा स्थापित जलान, सर्राफ, मुरारका लगायतका व्यापारिक परिवारमध्ये गएको पाँच वर्षमा कोही भारत त कोही नारायणघाट र काठमाडौं सरेका छन्। उवासंघका उपाध्यक्ष साह जातीय सद्भाव र आर्थिक जीवनका पाटाहरू बुझदै नबुझ्ी मधेशको नाममा गरिएको राजनीतिले जलेश्वरको मात्र हैन, पूरै मधेशको आर्थिक जीवन बर्बाद पारेको बताउँछन्। मधेशी जनअधिकार फोरमका तर्फबाट पूर्व सभासद् अभिषेकप्रताप साह पछिल्लो समय तराई–मधेशका व्यापारीहरू सशस्त्र समूह र माओवादीदेखि प्रशासनसम्मको शिकार भएका बताउँछन्। उनका अनुसार, प्रशासनका मानिस व्यापारीसँग पेट्रोल–डिजल माग्छन् भने माओवादी चन्दा र सशस्त्र समूह फिरौती असुल्छन्। मधेशमा बिग्रेको बन्दव्यापारको प्रतिबिम्ब राजस्व संकलनमा स्पष्ट देखिन्छ। आर्थिक वर्ष २०६६/६७ मा रु.२७ करोड ४३ लाख ५२ हजार राजस्व संकलन भएको जलेश्वर भन्सार कार्यालयमा २०६७/६८ मा रु.१३ करोड ९६ लाख १० हजार मात्र उठ्यो।

माओवादीको उपहार

२०५२ सालमा पश्चिम पहाडबाट सल्किएको माओवादी हिंसाको झिल्को महोत्तरी आइपुग्दा अरुण खेम्का जलेश्वरको मिनी बजारमा वरफ उद्योग चलाइरहेका थिए। माओवादीको विगविगीसँगै हैसियत भन्दा बढी चन्दाको माग हुन थालेपछि खेम्का परिवार उद्योग बन्द गरेर भिठ्ठामोड पुग्यो। अहिले भिठ्ठामोडमा सबभन्दा चल्तीको 'नेपाल–भारत साडी संगम' चलाइरहेका खेम्का भन्छन्, “उताको जति माया लागे पनि यता आएर राम्रै गरेछु भन्ने लागेको छ। उता त अहिले पनि व्यापार गरेर बाँच्ने अवस्था छैन।”२०६२/६३ को जनआन्दोलनलगत्तै मधेश आन्दोलन भयो। तर, आन्दोलनपछि मधेशमा शान्ति होइन, माओवादीले रोपेको हिंसाको बीउ फस्टाउने वातावरण बन्यो। व्यापारी र पहाडी समुदाय राजनीतिको आवरणमा खुलेका सशस्त्र आपराधिक समूहको निशानामा परे। कसैले चाहेर पनि उद्यम गर्न सक्ने अवस्था रहेन। भिठ्ठामोडमै इलेक्ट्रोनिक्स सामानको होलसेल पसल चलाइरहेका महोत्तरी थरुवाहीका दिलीप मण्डलले आफ्नै ठाउँमा काम गर्न चाहे पनि संभव नभएपछि यता आएको बताए। धवौलीका नजाम साफीले पनि चार वर्ष गाउँमै चलेको टेलरिङ पसल भिठ्ठामोड सारेका छन्। सधैंको बन्द, हड्तालमाथि चन्दा आतंक र असुरक्षा थपिएपछि छोड्नुपरेको उनले बताए। साफी भन्छन्, “चौबीसै घण्टा परिवारको को कहाँ कतिबेला अपहरणमा पर्ने र कति रुपैयाँ बुझाउनुपर्ने हो भन्ने त्रासमा बस्नु परेपछि पलायन हुनुपर्‍यो।”

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं यस इमेल मा चासो सम्पर्क LUS हो भने हामी, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete